उज्वल थापा: परिचय, राजनीतिक लाईन र चर्चा !
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार २०:३९:५७
परिचय :
स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७, हालको अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा (रायमाझी) का दुई सुपुत्र मध्ये जेठा सुपुत्रका रुपमा उज्वल गोदार थापाको २०३३ पुष महिनामा थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौंमा जन्म भएको हो ।
उनले काठमाडौंस्थित भोटेवाहलमा रहेको अरनिको बोडिङ् स्कुलमा १ देखि ३ कक्षासम्म र त्यसपछि ४ कक्षादेखि उच्च मावि स्तरसम्मको अध्ययन बुढानीलकण्ठ स्कुलमा गरेका हुन् । त्यस लगत्तै उच्च शिक्षा हासिल गर्नकोे लागि थापा अमेरिका हानिए । प्राविधिक विषयमा उच्च शिक्षा आर्जन गरेपछि केही समय अमेरिकामा रोजगार गर्दै आएका थापा नेपालको राजनीतिक क्षेत्रमा सुधारको खाँचो देखेर केही गरौँ भन्ने भावनाका साथ २०६३/०६४ मा स्वदेश फर्के ।
उनकी श्रीमती एयरहोस्टेजको रुपमा कार्यरत छन् । थापाका बुबा, आमा र श्रीमतीसहित परिवारका सदस्यहरु काठमाडौंस्थित महाराजगन्जमा बस्दै आएका छन् । उनका भाई सुदीप गोदार थापा हाल स्पेनमा बस्दै आएका छन् । उनले स्पेनीस (स्पेनमा जन्मे हुर्केकी महिला) विवाह गरेर उतै बसेका हुन् ।
राजनीतिक लाईन :
थापाका बुवा उदयबहादुर नेपाली कांग्रेस प्रतिबन्धित हुँदा देखिनै कांग्रेसमा सक्रिय थिए । २०२४/०२५ तिरको समयमा हो, कांग्रेसका संस्थापक नेता, महामानव बीपी कोईराला निर्वासित जीवन विताएका बेला बीपीसँग भेट हुन् नेपाली कांग्रेस स्याङ्जा स्वतन्त्रता सेनानी स्वर्गिय शिवकुमार अधिकारीको संगत र सामिप्यताले उदयबहादुर बनारस पुगे ।
बीपीसँगको भेटपछि शिवकुमार र उदयबहादुरले बनारसमै अध्ययन र भूमिगत अवस्थामा कांग्रेसको संगठनमा काम गरे । अध्ययन र संगठनका काम गर्दागर्दै उदयबहादुर थापा भारतको राजस्थानमा कृषि विषय अध्ययन गर्न पुगे । २०३३ सालमा नेपाली कांग्रेसले लिएको राष्ट्रिय मेलमिलापको नीति अनुरुप उनीहरु नेपाल फर्किए । नेपाल फर्किएपछि उदयबहादुर आफ्नो घर भेडाबारीमा बस्दा शिवकुमार समेत ५-६ महिना उदयको घरमा लुकिछिपी बस्न बाध्य भए । किनकी अधिकारीलाई पञ्चायती शासकले मुद्दा लगाएको थियो ।
बीपीको सिद्धान्तबाट प्रशिक्षित उदयबहादुर बीपीका जेष्ठ पुत्र प्रकाश कोइरालाको हितैषी बन्न पुगे । तत्कालिन समयमा उदयबहादुरको परिवार सबै कांग्रेसमा क्रियाशिल थिए । संयोगले २०६२/०६३ को जनआन्दोलनपछि नेपालमा गणतन्त्र आयो, स्वभाविक रुपमा त्यो गणतन्त्र ल्याउने अभियानको नेतृत्व नेपाली कांग्रेसको थियो । गणतन्त्र बीपीको सिद्धान्त होईन भनेर कांग्रेसबाट प्रकाश अलग भए । हितैषी मित्र प्रकाश कांँग्रेसबाट अलग भएपछि उदयबहादुर पनि कांग्रेसबाट अलग हुने निधो गरे । प्रकाश र उदयबहादुर गणतन्त्रसँगै कांग्रेसबाट अलग हुनुको नाताले दुबैको सरसंगत कस्तो थियो र कुन हदसम्म थियो ? भन्ने कुरा स्पष्ट हुन्छ ।
कांग्रेसी रहनसहनमा हुर्केका थापा अमेरिकाबाट स्वदेश फर्किएपछि विवेकशील नेपाली समूह स्थापना गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको शुभारम्भ गरे । उनको नेतृत्वमा विवेकशीलले नेपाल बन्द छैन् भन्ने उद्घोष, हत्या हिंसामा आधारित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान र स्वास्थ्य र शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने नेपालीहरुको मन छुने नारा दिएर अगाडी बढ्न थापाले पाईला चाले ।
पहिलो संविधानसभामा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका विवेकशीलका केही सदस्यहरु समय अन्तरालसँगै दोस्रो संविधानसभामा राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए । उनीहरुले तत्कालिन समयमा मतदाताको उल्लेख्य मत हासिल गर्न त सकेन तर चर्चाका हिसाबले विजय सरह नै थिए !
नेपालको नयाँ संविधान २०७२ बनेपछिको पहिलो आम चुनावमा रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र थापाले हाकेको विवेकशील नेपाल दल मिलेर बनेको विवेकशील साझा पार्टीमार्फत भाग लिएका थिए । स्याङ्जाली थापा र पत्रकारिता क्षेत्रका मिश्र पार्टीको सहअध्यक्ष बनेका थिए तर एकता केही समयमै तोडियो । जुट्ने र छुट्ने क्रम जारी छ ।
राजनीतिक उपलब्धीलाई हासिल गर्दै जाँदा नेताको प्रवृत्तिमा आमुल परिवर्तन र नेताले होईन की जनताले परिवर्तनको अनुभूूति गर्नु पाउनु पर्छ भन्ने आचरणका पक्षपाति थापा नेपाली राजनीतिमा प्राप्त उपलब्धीलाई परिष्कृत शैलीबाट उपभोग र उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने शालिन र भद्र शैलीका राजनीतिज्ञ थिए ।
बीपी कोइरालाको सैद्धान्तिक प्रशिक्षणमा शिवकुमार अधिकारी र उदयबहादुरको सम्बन्धका बारेमा थप प्रष्ट पार्दै जिल्ला विकास समितिका पूर्व सभापति रामबहादुर थापाले लेखकलाई भन्छन :- प्रकाश जी, उहाँहरुको सम्बन्ध त असाध्यै प्रगाढ थियो । म ठूलो बाजेको नाति र उदय कान्छो बाजेको नाती भएर पनि अधिकारी र उदयको सम्बन्ध दाजुभाई सरह नै थियो । आफू र उदय थापा परिवारकै भएपनि अधिकारीसँगको सम्बन्धमा उनले यर्थाथ बताए ।
र चर्चा :
विकेकशील साझा पार्टीका नेता उज्वल थापाको जेष्ठ १८ गते मंगलबार निधन भएको छ । युवा अवस्थामै सुगरको बिरामी थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण (एक्मो) उपयोग गर्दै उपचारको क्रममा ४४ वर्षको उमेरमा निधन भएको हो ।
थापालाई संक्रमण सँगसँगै निमोनिया देखिएपछि ग्रान्डी अस्पतालमा उपचार गर्दागर्दै (एक्मो) विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपनि थापाको मृत्यु हुनुभन्दा अघिल्लो दिनको रिर्पोट भने कोरोना नेगेटिभ आएको थियो । थापासँगै काठमाडौंमा परिवारका अन्य सदस्यको स्वास्थ्य परिक्षण गर्दा श्रीमतीसहित परिवारका अधिकांश सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
थापालाई संक्रमण भएको पुष्टि भएसँगै सामाजिक सञ्जालहरुमा उनको स्वास्थ्यलाभको कामनासहितको सन्देशबाट ठूलो संख्याले शुभेच्छा प्रकट गरिएको थियो । थापाको उपचारको लागि आर्थिक सहयोगको याचना गरेपछि त अस्वभाविक रुपमा ठूलो रकम संकलन समेत भएको थियो ।
थापाको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा दर्जनौ पटक शुभेच्छा प्रकट गरेका तर स्वर्गारोहणसँगै नेपाल तरुण दल स्याङ्जाका उपाध्यक्ष तथा साहित्य क्षेत्रमा क्रियाशिल रविन के.सी. लेख्छन् :-
उज्जवल दाईसँग २०७२ सालमा पहिलो पटक स्याङ्जामै भेट हुँदा उहाँ स्याङ्जाली भएको त्यतिबेला मात्र थाहा पाएको थिएँ । निर्माणको क्रममा रहेको नेपालको संविधान र राज्य पुनर्संरचनाको बारेमा उहाँले राखेको पृथक विचारबाट म प्रभावित समेत थिएँ । नेपालमा वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका स्याङ्जाली होनहार युवा उज्जवल दाईको निधनको खबरले अत्यन्तै दुःख लागेको छ । हार्दिक श्रद्धाञ्जली !
थापाको स्वर्गारोहण भएको अपुष्ट खबर बाहिरने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाका कोषाध्यक्ष तथा रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदार समाजको सामाजिक लिंक सार्वजनिक गर्दै लेख्छन् :-
गोदार बंशका एक नक्षत्र तपाई उठ्नु पर्छ, देशलाई तपाईको खाँचो छ, तपाई प्रति सबैको सद्भाव र प्रार्थना छ । यो हेर्न र सुनेर आफ्नो योगदान र आवश्यकता थाहा पाउन पाउनुपर्छ, अनि भूमिका निभाउनु पर्छ । शिघ्रस्वास्थ्य लाभको कामना दाजु । विश्वास छ सबैको प्रार्थना सुन्नेछन् । हामी तपाईको पर्खाइमा प्रार्थना गरिरहेछौं ।।।
यी त समेदवना र श्रद्धान्जली अपर्ण गर्ने प्रतिमुलक सन्देशको साभार मात्रै हो । व्यक्तिगत सम्बन्घ, दलगत सम्मान अलग छन् । सामाजिक सञ्जालमा के पनि देखियो भने, थापालाई चिन्दै नचिनेका र जान्दै नजानेका चिन्न र जान्न समेत चाँसो नराख्ने क्षेत्रका व्यक्तिहरुबाट समेत समवेदना व्यक्त भए ।
यसबाट के कुरा स्पष्ट छ भने, आजको राजनीति, राजनीतिज्ञ, राजनेताप्रतिको वितृष्णा तीव्र रुपमा फैलिदा मौलाउँदा समेत थापाप्रति भावना देखाउनेहरु यथेष्ट छन् । भावनाहरु भावना मात्रै रहुन, भावनात्मक हुनु जरुरी छैन् । अलविदा उज्वल थापा दाई !
(लेखक : प्रकाश डोटेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य र नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व सभापति हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार