कुण्ठित राजनीतिका चर्तिकला
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २०:५४:२०
संसार गतिशील समयसँगै दौडिरहेको परिवर्तनशील राजनीतिक भेलभित्र बगीरहेपछि हरेक ढुङ्गामुढा, बाधाअड्चन आदि इत्यादिको सामना पनि पक्कै गरिरहेको हुन्छ । समयमै बाँध बानेर किनारा बिराएपछि मलिलो लेदो हालेर गोडमेल गर्नेहरु उहिल्यै उन्नतिशील बनिसके, तर बाढीको मज्जा र चाख लिई कम्मरमा हात राखेर भेलकै लतमा उत्तेजित हुनेहरुले भने नीतिगत वृक्षारोपणको अवसर गुमाउनु पर्यो ।
हेर्दाहेर्दै भेल शान्त बनिसकेको थियो, तर भेलले पहिरो फुटाएपछि रजैयाको झरीमा भिज्नेहरु चाहिँ बगरको पुच्छारमा पुगेर मात्र उत्तेजनाबाट बाहिरिए, के गर्नु ? अब समयसँगै दौडेको त्यो राजनीतिक भेलले बिहार नाघिसकेछ । सो पश्चात् मुलुकको राजनीतिमा धार लगाउन त त्यसै ढिला भै गयो । १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्नेहरु खै कता गए ? जुगौ बितिसक्दा पनि मुलुकमा विकासिलो अभिवृद्धि ठप्प मात्र छ , कारण कुण्ठित राजनीति ।
हो, यस्तै दोस्रो विश्व युद्धको सामना पश्चात् विश्व शान्ति स्थापना भएको थियो । अब आर्थिक समृद्धिले फड्को मार्नुपर्ने ज्ञान मगजमा आइसकेको थियो र त्यसै विचार समाएर चल्नेहरु नै हुन २१ औं शताब्दीमा विकसित राष्ट्रको दर्जामा पुगे भने शासनसत्ताको लोभ र सौदाबाजीको काँडेतारमा अल्झिन पुगेका मुलुक भावनात्मक उत्तेजनाको सिकार बन्न पुगे । तिनैले त सोच्दा सोच्दै आजको परिप्रेक्षमा समेत अविकसितको खुट्लिको नाघ्न सकिरहेका छैनन् ।
यसै सन्दर्भमा नेपाली राजनीति पनि आजको दिनको वैशालु यौवनमा दाम्लो फुकेर बड्केको बाछो झै बिनालक्ष्य दौडिरहेको छ, सायद बुढेसकालमा मुलुकका राजनेतामा बढेको उत्तेजनाले पो हो कि ? यो सबैको जिज्ञासाको विषय बनेको छ । राजा फालेर के पायौँ ? जनन्दोलनपछिको परिवर्तन खै ? हाम्रो जुगौदेखिको राजनीतिक संघर्ष केका लागि थियो ? सङ्घियताले के दिलायो ?
खोक्रा राष्ट्रवादीको आश्वासन कहिलेसम्म ? यी सबै वर्तमानमा हरेक नेपाली नागरिकको मनमगजमा उत्पन्न भइरहेका उत्तरविहिन प्रश्न भन्न बाध्य हुनुपरेको छ, जसको सबै दोष विचौलिया, नालायक र भ्रष्ट नेता भनौदाको सिंहासनमा रहेको अड्डा जमात र लुछालुछी नै हो । नातावाद, कृपावाद, अनियमितता, अपारदर्शीता, लाजविहिनता, स्वार्थ, दलाली जस्ता विकृतियुक्त घिनलाग्दा अभ्यासले नेपाली राजनीति अनकन्टार जङ्गलमा गैडा सिँगौरी खेल्ने आहाल सरह कसो नबनेको होला र ?
यो प्रतियोगिताको दुनियाँमा आर्थिक समृद्धिको लडाइँ लडेर राष्ट्रलाई समृद्धको बाटोतर्फ धकेल्न त कहाँ हो कहाँ उल्टै देशलाई खर्बौ विदेशी ऋणमा चुर्मुम्म डुबाउन पछि नहट्ने भरौटेहरुले हाम्रो इतिहास, नीतिगत पाइला र सिङ्गो नेपाली राजनीतिलाई नै लाजनीतिमा परिणत गरिसके, । लाज जनतालाई लागिसक्यो, मुलुकको शिर र गौरवता विश्वसामु निहुरिसक्यो तर भ्रष्टवादीहरु अझै सुरुवालको इजार तान्दै कुर्सिमा पदासिन छन्।
सरकार संविधानलाई होच्याएर असंवैधानिक कदम चाल्ने, नीतिगत पाइला र मर्यादाको ख्याल नगरी एतिहासिक योजनालाई लत्याई नागरिकको पेटमा छुरा हान्ने कहिले सम्म हँ ? संविधान तिम्रो बाजेको पुर्ख्यौली सम्पत्ति हो ? त्यसो त सबक सिकाउन प्रतिपक्षी र सरकारको लाचार कार्यविरोधी अनेकौ विधि अप्नाइरहेछ्न, तर सबैको माग र आवाज उखानसँगै घाममै सुकिरहेका छन, सरकार कानमा तेल लगाएर बसिरहेको छ । विचरा के गरोस बहुमत असुल्नु छदैछ, आखिर विश्वास त नागरिक कै मत न हो ?
लोकतन्त्र, समानता, राष्ट्रवाद, स्वरोजगार र समृद्ध नेपालको मुद्दा लिएर तिमी हिजो लडेको साँचो हो, तर के आज चाहिँ संसद विघटन र पुनर्गठनको हिच्चाकिच्ची ,बालुवाटार र सिंहदरबारको जग्गा समाएर सर्वोच्च धाउनु मात्र तिम्रो मुल मुद्दा हो रु बलात्कारी र देशद्रोही विरुद्ध कतिपटक अदालत धायौ ? हरे कति सहनु नेपाली जनताले, प्राकृतिक स्रोतको विनाश र खोला नदि तटबन्ध गर्नुको साटो दिनहुँ अवैध उत्खनन गर्नाले वरिपरि बसोबास गर्ने बासिन्दामा पिउने पानी र दिनचर्या चलाउने स्रोतसाधन सुक्दै र लोप हुँदै गैरहेका छन,अनि यहाँ कुरो चुरे दोहन परियोजनामा आधारित बनेको छ । अरे जनतालाई सुखसन्तुष्टी प्रदान गर्ने कुन समृद्ध सपनाको माध्यम हो यो ?
आदिवासीलाई आकाशको छानो दिएर सरकार राजमार्गमाथि पुल निर्माण गर्छ, सर्वहाराको जागरुक भाषण लगाएर सरकार मजदुरको पसिना र रगत जुका सरह चुसिरहन्छ, महामारी र राष्ट्र सङ्कटको घडीमा सरकार पार्टीको चाजोपाजो मिलाउनै व्यस्त छ । अब यिनलाई नालायक, स्वार्थी र विचौलिया नभने कस्लाई भन्ने ? सरकार तिमी कुन लोकतान्त्रिक पद्धतिको सिमाङ्कन भित्र पर्छौ ?
यत्तिमात्र कहाँ हो र ? हप्तै पिच्छे मन्त्रीमण्डल फेरबदल वाह, हिजो संविधान जारी हुन नपाइ ‘संविधान २०७२’ लाई लिएर पुत्ला जलाउने देशद्रोहीहरुलाई आज हातमा लिएर मन्त्रीको शृपेच ओडाउने अनि त्यही संविधानमाथि शपथ खुवाउन तल्लिन छन् महाशयहरु । अचम्म लाग्छ, आश्चर्य चकित हुन्छु अनि पारो तातेर आउँछ, राष्ट्रभक्तिको काँचो रगत उम्लेर आउँछ कि जब सुन्छु सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अखण्डता माथिको हस्तक्षेपलाई उजागर गरेर बहुराष्ट्र निर्माण गर्ने रे ? विखण्डित बहुराज्य निर्माणका लागि अखण्डता फुटाउने रे ?
जनमुक्ति आन्दोलन मच्चाउने रे ? यता सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्दै मुस्कुराउछन् प्रधानमन्त्री । थुइक्क तिम्रो राष्ट्रियता घिनलाग्दो तिम्रो ‘वाद’ विस्तार ।
अन्तत अब चुप नबसौँ, यी भष्ट्रवादी र दलालहरु सकिनै पर्छ, धार दोब्रेको ‘कुण्ठित’ नेपाली राजनीति सिधा बनाउनै पर्छ, । हाम्रो खियाँ परेको नीतिमा धार लगाउनै पर्छ, जनता सचेत हुनै पर्छ, नागरिक जाग्नै पर्छ, अब राजनीतिक अभ्यासमा मात्र अल्झिनु बेकार छ । यो प्रतियोगात्मक दुनियाँमा मुलुकले काँचुली फेर्ने अब एउटै मात्र उपाय आर्थिक समृद्धिको लडाइँ र अर्थ व्यवस्थाको व्यवस्थापन नभए कुण्ठित राजनीतिलाई लिएर समृद्ध नेपालको सपना साकार गर्न खोज्दा खोज्दै कलियुग अन्त्य भएको पत्तै नहोला ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार