रोग, शोक र उमेरको बोझले थलिएकी सेढाईंको जीवन कष्टकर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १५:१६:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/birda_tZeNr1sEgv.jpg)
३० जेठ, लमजुङ ।
“उमेर भइसक्यो असी, झन् ठूलो दुःखले घेरेको
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको !!!”
जनवादी गायक जीवन शर्माले गाएको गीतका यी हरफले बोलेझैँ उमेरले ८० नाघेकी सुन्दरबजार नगरपालिका–४ अर्चल्यानीकी टीकाकुमारी सेढाईको उमेर जति घर्किँदो छ, दुःखको पहाडले त्यति नै थिच्दै गइरहेको छ ।
तातो–चिसोको ख्याल गर्दै खानपिन र स्याहारसुसार पाउनुपर्ने अवस्थाकी ८७ वर्षीया यी वृद्धा निकै दयनीय र कष्टकर जीवन बाँचिररहेका छिन् । तातो, नरम र मिठो–मसिनोको त कुरै छाडौँ साँझ–बिहानको दुःखको गाँससमेत आँसुसँग निल्दै आइरहेका छिन् । वृद्धावस्थामा हेरचाह र स्याहारसुसार गर्ने परिवार र आफन्त नहुँदा रोग, शोक र उमेरको बोझले थलिएकी सेढाईंको जीवन कष्टकर बन्दै गइरहेको हो ।
उनी लामो समयदेखि एक्लै बस्दै आएका छिन् । पुरानो घर, त्यही माथि घरको विभिन्न ठाउँमा प्वालैप्वाल परेको छ । खाने, बस्ने ठाउँ राम्रो छैन । सुत्ने ओछ्याउने नहुँदा चिसो भुइँमै सुत्दै आएका छिन् । त्यही आफू सुत्ने तथा खाना पकाउने ठाउँमा बाख्रा राखेर त्यही बाख्रा राख्ने ठाउँमै सुत्ने गरेको उनले बताए ।
उनले भनिन, “आँखाले राम्रो ठम्याइ पाउँदिनँ, हत्तपत्त कान नि सुन्दिनँ, यताउता गर्न पनि भनेको बेला नसक्ने भइसकेकाले जीवनमा धेरै दुःख भइरहेको छ ।” वृद्धाको घरमा न बिजुली बत्ती न कुनै उज्यालोको माध्यम नै छ । दिनमा जसोतसो गर्न सके पनि रातिको समयमा बाहिर शौचायलय जानु परेमा छामछाम छुमछुम गर्दै निस्कने गरेको र कुनै बेलामा त लड्ने गरेको उनले सुनाइन ।
शारीरिक र आर्थिक अवस्थामा दयनीय जीवन बिताउन बाध्य वृद्धा सेढाईंले सुखको सपना देख्न नै बिर्सिसकेकी छिन । करिब २० वर्षअघि श्रीमान् महाकान्त सेढाईको मृत्यु भएसँगै सहाराविहीन जीवनमा जसोतसो दिन बिताउँदै आएको उनले बताइन । उनले भनिन, “आफूपट्टि छ सन्तान भए पनि सबै खेर गएकाले श्रीमानले अर्की कान्छी श्रीमती ल्याए । श्रीमान हुँदा अलिअलि खानका लागि हेर्ने गर्थे, श्रीमान् बितेपछि त कान्छीपट्टिका छोराछोरीले पनि हेर्दैनन् ।”
“उनीहरु शहरमा बस्छन् । यहाँ मलाई एक छाक टार्नसमेत अरुको भर पर्नुपरेको छ”, उनले भनिन, “खानाका लागि माग्नलाई पनि अरुको घर घरै जान सक्दिनँ, कसैले ल्यायो भने, खान्छु नत्र कैयौँ दिन भोकभोकै पनि बस्दै आएकी छु । खानेपानी पनि घर नजिकै छैन, घरभन्दा तल अलि टाढा छ ।” टाढा भए पनि जसोतसो गरेर ल्याउने गरेको वृद्धाले सुनाइन । उनको दुःख यति मात्र छैन । कान्छो छोरो जन्मेदेखि अर्थात् ३० वर्षदेखि छिनछिनमै पिसाब चुहिने समस्याले सताउँदै आए पनि हालसम्म पैसा नभएकाले उपचार गर्ने कुरा स्वर्ग पुग्नुजस्तै भइरहेको उनले बताइन ।
उनले भनिन, “मर्न बरु सहिजो हुन्छ होला, बाँच्नलाई साह्रै गाह्रो भइरहेको छ । अलिअलि हिँड्न सकिरहेकी छु, बिरामी पर्दा र अझै उमेर ढल्दै जाँदा एक मुख पानी खानलाई पनि के गरेर खाने भन्ने चिन्ताले सताइरहेको छ ।” उनले वृद्धाभत्ता चार÷चार महिनामा रु १२ हजार माइती दाजुले बुझ्ने गरेको र आफूलाई रु पाँच हजार मात्रै दिने गरेको बताइन । त्यही रु पाँच हजारले चार÷चार महिनामा मिठो–मसिनो खाने गरे पनि पर्याप्त नहुँदा खानलाई समेत समस्या हुने गरेको उनको भनाइ छ ।
वृद्धा सेढाईँ पहिला सक्ने बेलामा गाउँघरमा कसैको विवाह, व्रतबन्ध, पूजाआजा भएको बेलामा सालको पात टिपेर ल्याएर दुना, टपरी बुनेर दिने र सोवापत केही रकम तथा अन्नपात लिने र त्यहीबाट जीवन चलाउथिन । केही वर्षपछि हिँड्डुल गर्नै नसक्ने अवस्थामा पुगेपछि गाउँमा उनी जान छाडेको र खानलाई पनि समस्या पर्न थालेको स्थानीयवासी टेकबहादुर गुरुङले बताए।
उनले भने, “गाउँलेले कहिलेकाहीँ दयामायाले खाना दियो भने खानुहुन्छ, नत्र आफैँ जानुहुन्न, काम पनि गर्न नसक्ने भएकाले कति दिन पटक–पटक भोकै पनि बस्दै आउनुभएको छ ।” त्यस्तै अर्का स्थानीयवासी कृष्णप्रसाद अधिकारीले भने, “वृद्धाको अवस्था देखेर पनि गाउँलेले उनको उपचार गर्नेतर्फ ध्यान दिन नसकेकाले रोगसँग लडिरहनुभएको छ । उहाँको समस्या समाधान गर्नका लागि सबै गाउँ एकजुट भएर लाग्नुपर्छ ।”
“लामो समयदेखि वृद्धाले शारीरिक अवस्था र आर्थिक अवस्थाले गर्दा विभिन्न समस्या झेल्दै आएकी रहेछीन, तर केही दिनअघि मात्र थाहा पाएँ”, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले भने, “उनको बस्ने ठाउँ राम्रो, छैन, शौचालय छैन, धारा छैन, बिजुली रहेनछ, एउटा सुत्ने खाट पनि नरहेछ, यस्तो अवस्थामा रहेका उनलाई नगरपालिकाले ती सुविधा तथा व्यवस्था गर्नेछ ।”
वृद्धामा वर्षौदेखि पाठेघरको समस्या रहेकाले उपचार ढिलो भएको छ । ढिलै भए पनि अब निषेधाज्ञा खुलेपछि सुविधासम्पन्न अस्पतालमा लगेर जाँच गर्ने र आवश्यक उपचार गरिदिने उनको भनाइ छ । उनले भने, “यस्तो अवस्था रहेको जानकारी यहाँका स्थानीय राजनीतिक दल, समाजिक अगुवा, जनप्रतिनिधि एवं वडाध्यक्षले नगरपालिकामा जानकारी दिनुपथ्र्यो, नदिँदा हालसम्म पनि जानकारी भएन”, नगरप्रमुख मिश्रले भने, “ढिलै भए पनि उनलाई राज्य नभएको अनुभूति नहोस्, राज्य तथा सरकार छ भन्नका लागिसमेत उनको विभिन्न समस्यामा साथ दिँदै समाधानतर्फ स्थानीय सरकार अघि बढ्नेछ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
अल्पमतमा परेपछि एक सेकेण्ड पनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे
असार २४, २०८१ सोमबार
लगातार वर्षाका कारण डुबान परेको कञ्चनपुर
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
मनकामना केबलकार केही समयका लागी बन्द हुने
असार २४, २०८१ सोमबार
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
असार २४, २०८१ सोमबार
एक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार