बीरगञ्ज महानगरपालिकाको रहस्यमय मौनताले स्पर्श हस्पिटलको ठगी धन्दामा बढोत्तरी
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १७:४६:१९
◊ कृष्ण यादवबाट
८ असार, बीरगञ्ज । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीस्थित रहेको स्पर्श मल्टिस्प्यासिलिटी हस्पिटलले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसँग एउटै शीर्षकमा फरक–फरक शुल्क लिएर लाखौँ रकम असुलेको भेटिएको छ ।
बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले गत बैशाख १६ गते उद्घाटन गरी संचालनमा आएको यस हस्पिटलले स्तरीय सुविधा नै नदिई नेपाल सरकारले तोकेको नियमको धज्जी उडाउँदै उपचारको नाममा दोब्बर रकम असुलेको अर्को नयाँ केश सार्वजनिक भएको हो ।
बीरगञ्जमा स्वास्थ्य उपचारका क्षेत्रमा सुपरस्प्यासिलिटी सेवाको अभाव पूरा गर्न ८ जना चिकित्सकहरूको अगुवाइमा स्थापना भएको यस हस्पिटलले उपचारको नाममा सरकारको मापदण्ड विपरीत बिरामी ठग्न बढी शुल्क असुल्दै आएको पटकपटक सार्वजनिक भएको छ ।
कोरोना संक्रमित भई स्पर्श हस्पिटल भर्ना भएकी पटेर्वा सुर्गाली निवासी ४६ वर्षीय राजकुमारी देवीसँग १७ दिनको अवधिमा लगभग ५ लाख रुपैयाँ असुलेको भेटिएको हो । बिरामी १७ दिनसम्ममा पनि निको नभएपछि डिस्चार्ज गराउँदा राजकुमारीको परिवारजनले हारगुहार लगाएपनि नियम विपरीत स्पर्श हस्पिटलले रकम असुलेरै छाडेको छ । राजकुमारीको १७ औँ दिनसम्म उपचार गराउँदा स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारको लागि रेफर गराउँदा नेपाल सरकारले तोकेको रकमभन्दा बढी लाखौँ रुपैयाँ असुलेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आईसीयुको बढीमा १५ हजार रुपैयाँ तोकिएको छ । सरकारको नियम अनुसार उनीसँग २ लाख २५ हजार मात्रै लिनु पर्ने थियो तर स्पर्श हस्पिटलले एक दिनको २२ हजारको दरले १५ दिनको आईसीयु शुल्क ३ लाख ३० हजार अर्थात् १ लाख ५ हजार रुपैयाँ सोझै बढी रकम तिराएको बिलबाटै प्रमाणित हुन्छ । यसैगरी स्पर्श हस्पिटलले एचडीयुको शुल्कमा समेत डेढ गुणा बढी रकम असुलेको छ ।
२५ बेडको मान्यता पाएको यस हस्पिटलको सम्पूर्ण रेखदेखको जिम्मा पाएको बीरगञ्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोका अनुसार नेपाल सरकारले एचडीयुका लागि एउटा बिरामीसँग एक दिनको बढीमा ७ हजार ५ सय मात्रै लिन पाउने मापदण्ड रहेको छ । तर, स्पर्श हस्पिटलले १३ हजारको दरले ४ दिनको ५२ हजार अर्थात् २२ हजार बढी रकम लिएको छ । जबकी पर्साको बहुदरमाई नगरपालिका वडा नं.१ निवासी ६८ वर्षीय छोटेलाल पण्डितसँग सोही एचडीयु शुल्कको १२ हजारको दरले असुलेको थियो । अर्थात् स्पर्श हस्पिटलले ठगीमा पनि १ हजार थप गरी ४ हजार बढी ठगी गरेको पाइएको छ ।
स्वास्थ्य महाशाखाका प्रमुख महतोका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार निजी अस्पतालको लागि एक दिनको उपचारवापत सम्पूर्ण खर्च २२ हजार ५ सय रुपैयाँ मात्र लिन पाउँछन् तर, स्पर्श हस्पिटलले आईसीयु र अक्सिजनको मात्रै १५ दिनसम्म प्रत्येक दिन २४ हजार ५ सय रुपैयाँ बिरामीलाई उपलब्ध गराएको बिलमै स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
महामारीको बेला जनताको सेवाको लागि खोलिएको स्पर्श हस्पिटल पटक पटक विवादमा तानिँदै आएको छ । यस हस्पिटलले बैशाख ३० गते मुक्ति राउत कुर्मीसँग लिएको बिलमा आईसीयु, चार्ज १५ हजार लिएको छ भने जेठ १० गते लालमुनी देवीसँग तिराएको बिलमा सोही आईसीयुको चार्ज १५ हजार तिराएको छ । जेठ २८ गते छोटेलाल पण्डितसँग तिराएको बिलमा सोही आईसीयुको २२ हजार र अहिले आएर पनि स्पर्श हस्पिटलले २२ हजार रुपैयाँ सोही आईसीयुको लिएको हो ।
बढी शुल्क हुनुमा काउन्टर स्टाफको गल्तीः संचालक डा. साह
स्पर्श हस्पिटलका सञ्चालकमध्येका एक संचालक डा. राजेश साहले कोभिडको लागि आईसीयु शुल्क प्रतिदिन रु. १५ हजार र एचडीयु शुल्क रु. ७ हजार रहेको बताउँछन् । उनले आईसीयु शुल्क रु.१५ हजारभन्दा बढी र एचडीयु शुल्क रु.७ हजार भन्दा बढी नहुनु पर्ने दाबी गर्दै त्यसो भएको भए बिल काट्ने काउण्टर स्टाफको गल्ती रहेको बताउँदै पन्छिन खोजे । एउटामा मात्रै गल्ती हुन सक्छ कि ३÷४ बिलमा समेत गल्ती हुन सक्छ भन्ने प्रश्नमा डा. साहले हामीले त्यति शुल्क लिन नभनेको बताउँदै त्यस्तो पाइएमा कर्मचारीलाई कारबाही गरिने र बढी पैसा फिर्ता गरिने बताए ।
कारवाहीको सट्टा बिरामीको पैसा फिर्ता गराउँदा अन्य बिरामी ठगिँदै
यस बारे वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले स्पर्श हस्पिटलले एउटा बिरामीसँग बढी शुल्क लिएको जानकारी पाएपछि सो रकम फिर्ता गराएको बताए । आफूहरू प्रत्येक दिन कसैको बिल चेक गर्न जान नसक्ने बताउँदै पीडित आफै आएको खण्डमा आफूले कारबाही गर्ने बताए । उनले हस्पिटलले नियम विपरीत काम गरेको ठहरिएमा जरिवाना तथा कारबाही गरिने दावी गरे । हस्पिटलले पटक पटक बढी शुल्क लिएको बारे आफूहरूलाई जानकारी नभएको बताउँदै पालिकाले आफ्नो काम गरिरहेको बताए ।
गल्ती गर्ने अस्पताललाई कारबाही नहुँदा अस्पतालले पटकपटक बिरामी ठग्दै
मापदण्ड विपरीत शुल्क असुल्नेलाई छानविन गर्न बीरगञ्ज महानगरको अनुगमन समिति गठन भएपनि पटकपटक बिरामीलाई ठगेको आरोपमा विवादमा आएको यस अस्पतालमाथि बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानेर पनि कुनै ठोस कदम नचालेको पीडितहरूले आरोप लगाउने गरेका छन् । कारबाही नहुँदा हस्पिटलले पटकपटक बिरामीलाई ठग्ने गरेको पीडितहरूको आरोप छ ।
अस्पतालमा उपचार गराईरहेका बिरामीहरूसँग एउटै शीर्षकमा सरकारको मापदण्डलाई धज्जी उठाउँदै फरकफरक शुल्क उठाएर ठगी गर्दै आएको सार्वजनिक भइरहँदा पनि नियमनकारी निकाय बीरगञ्ज महानगरको अनुगमन समितिले छानविन नै नगर्दा उपचारको नाममा बिरामी ठग्दै हस्पिटललाई कारबाहीको सट्टा बिल लिएर गए पैसा फिर्ता गराउने र बाँकी बिरामीलाई फेरी ठगिन दिनुले अनुगमन समितिको कुनै औचित्य नरहेको प्रमाणित हुन्छ ।
३० मिनेटमा ३० हजार शुल्क
त्यस्तै स्पर्श हस्पिटलले फेरी एक व्यक्तिलाई टाका लगाए बापत ३० हजार शुल्क लिएको सार्वजनिक भएको छ । बुधवार मोटरसाईकल दुर्घटना भई टाउकोमा चोट लागेर घाइते भएका एक युवकलाई हस्पिटल भर्ना गराउँदा ३० मिनेटमा माइनर ओटी शीर्षकमा १५ हजार, प्रोसिडर शीर्षकमा १० हजार र विभिन्न औषधी शीर्षकमा ५ हजार गरी ३० हजार रकम असुली ठगी गरेको पाइएको छ ।
टाउकोमा चोट लागेको बिरामीको सिटी स्क्यान गर्नुको सट्टा भेन्टिलेटरमा हाल्ने र ३६ घण्टापछि सिटी स्क्यान गर्ने डाक्टरले भनेपछि आफूहरूलाई शङ्का लागेर रेफर गराएको पीडितका आफन्तले बताए । उनले हस्पिटलले चलाएको औषधीको प्रयोग र बाँकी रहेको औषधी बारे बुझ्दा केही पनि नबताई उल्टै हामीलाई नै धम्काउने गरेको बताए ।
र याे पनि….
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार