कांग्रेसमा डा. शेखर लोकप्रिय बन्दै, भावी सभापतिमा दर्बिलो उपस्थिति
यज्ञप्रसाद भट्टराई
असार १३, २०७८ आइतबार २१:६:३५
नेपाली कांग्रेसको चौधौं महाधिवेशन जति जति नजिकिदै छ त्यति त्यति राजनीतिक सरगर्मी पनि बढीरहेको छ । नेपाली कांग्रेसमा नेतृत्व लिने र दोहोर्याउने शक्तिका बीचमा नै अहिले प्रतिस्पर्धा हुने देखिएको छ । लामो समयसम्म नेपाली कांग्रेसको एकछत्र नेतृत्वमा रहेका केही पुराना नेताहरुलाई भने वर्तमानमा उदाएका आशालाग्दा युवा नेताहरु आगामी नेतृत्वका लागि तगारो बनिरहेको अनुमान गरिएको छ ।
एउटा जीवन्त पार्टीमा नेतृत्वका लागि प्रतिष्पर्धा हुनु सामान्य प्रजातान्त्रिक प्रक्रिया हो तर पटक पटक आफुमात्रै पार्टी र सरकारको नेतृत्वमा रहिरहनु पर्छ भन्ने सोचाई रहनु नेतृत्वको अहंमता र भूल हो भन्ने तर्क पनि अहिले कांग्रेस वृत्तमा गर्न थालिएको छ ।
नेपाली कांग्रेसले नेपाली राजनीतिमा देखाएको उपस्थिति, राजनीतिक परिवर्तनको लडाईमा लिएको अहम नेतृत्व र शान्ति प्रक्रियाका लागि खेलेको भूमिका नेपाली जनताले भुलिसकेका छैनन् । कम्युनिष्ट पार्टीहरु बर्खामा उम्रिएका च्याउ सरह पनि नदेखिएपछि हिजो केही होला कि भनेर कम्युनिष्ट पार्टीलाई भोट हालेका नेपाली नागरिकहरु पनि बिस्तारै फेरी नेपाली कांग्रेसतर्फ नै आकर्षित हुन थालेका छन् । नेकपा नामको शक्तिशाली कम्युनिष्ट पार्टी टुक्राटुक्रा बनिसकेपछि झण्डै दश लाख क्रियाशिल सदस्यता रहेको नेपाली कांग्रेस फेरी नेपालकै सबैभन्दा ठूलो दलको रुपमा फेरी स्थापित भैसकेको छ ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले पुनः सभापति बन्ने ईच्छा देखाएपछि अबको कांग्रेस नेतृत्वमा कस्ले बाजी मार्ला भन्ने यसै अनुमान गर्न सकिने अवस्था रहेन । बिद्यार्थी राजनीतिबाट कांग्रेस नेतृत्वमा आएका र बिगत ३० बर्षदेखि निरन्तर नेपाली राजनीतिमा छाएका देउवा गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा बढी देशको प्रधानमन्त्री बन्ने नेताका रुपमा चिनिन्छन् ।
पार्टी फुटाएर गएर पनि पुनः पार्टीमा प्रवेश गर्दा समेत सिंगो पार्टीको सभापति बन्ने संभवत नेपालको ईतिहासकै पहिलो ब्यक्ति हुन शेरबहादुर देउवा । उनै देउवाको पुनः पार्टीको सभापति बन्ने चाहनाले नेपाली कांग्रेसभित्र चरम ध्रुवीकरण र गुटगत अभ्यास फेरी बल्झिने संभावना बढेर गएको देखिन्छ । यसै गरी कांग्रेस भित्र सभापतिका लागि युवा नेतृत्वमा देखिएको आकांक्षाले पनि आगामी चौधौं महाधिवेशन अत्यन्तै प्रतिस्पर्धी हुन देखिएको छ ।
बिगत तेह्रौं महाधिवेशनमा कोइराला परिवारले आफ्नो हातमा रहेको राजनीतिक बागडोर रामचन्द्र पौडेललाई सुम्पियो । शेरबहादुर देउवासँग झिनो मतको अन्तरले पराजित भएका रामचन्द्र पौडेललाई यसपटक भने कोइराला परिवारले समर्थन गर्ने वातावरण देखिदैन् । नेपाली जनताका बीचमा अत्यन्तै लोकप्रिय बनेका डा. शेखर कोइराला पनि चौधौं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदको दर्बिलो उम्मेदवारका रुपमा खडा हुने निश्चित छ ।
नेपाली जनताले नेतृत्व परिवर्तनको आवाज उठाईरहँदा जनताका बीचमा अत्यन्तै लोकप्रिय बनेका डा. शेखरले यसपटकको नेपाली कांग्रेसको सभापति जित्ने प्रशस्तै आधारहरु देखिएका छन् । उनका केही सान्दर्भिक उदगारहरुले आम नेपाली जनता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको मन जितिरहेको छ । डा. शेखरले भनिसकेका छन् कि म नेपाली कांग्रेसको सभापतिमा मात्र बसेर पार्टीलाई क्रियाशिल बनाउँदै बिकृत राजनीतिलाई सुसंस्कृत बनाउने अभियानमा लाग्ने छु ।
यसले अब देश हाँक्ने जिम्मा युवाको काँधमा आईसकेको छ भन्दा अत्युक्ति हुने छैन् । अब ६० काटेका नेताहरु हैन देशले खोजेका र जनताले रोजेका युवाहरुबाटै देशले प्रधानमन्त्री पाउने छ । डा.शेखरको अभिभावकीय भुमिकाले तमाम युवाहरुमा कांग्रेस किन बन्नु पर्छ र ? हाम्रो देशमा नेपाली कांग्रेसको आवश्यकता र महत्व के र कति छ ? भन्ने कुरा बुझ्नेछन् । यति कुरा निर्धक्कका साथ भन्न सकिन्छ कांग्रेसको नेतृत्व डा. शेखरले सम्हाल्ने बित्तिकै नेपाली कम्युनिस्ट आन्दोलनमा आँधिवेरी आउनेछ । बिदेशी झण्डा फालेर हरेक नेपाली जय नेपालको अतिप्रिय नारा लगाउँदै कम्युनिस्ट पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर आउनेछ ।
डा. शेखरको एउटै मात्र भनाई रहेको छ, अहिले देशले बिकासको बाटो बिर्सियो । नेता देख्ने बित्तिकै जनता तर्सिनु पर्ने दिन आयो । राजनीतिक अभिष्ठ पुरा गर्ने गलत परम्पराले निरपराधले अनाहकमा सजाय पायो । अपराधीलाई राजनीतिक संरक्षण दिने गलत परिपार्टीले बीपी कोइरालादेखि गणेशमानजी हुँदै किसुनजी र शुशिल दाको समेत बदनाम गरायो । कृष्णप्रसाद कोइरालाले २००० साल भन्दा अघि देखेको सपना किन अहिलेसम्म साकार हुन पाएन ? कांग्रेस भनेकै जनताको सुखदुखको साथी हो भन्ने भावना किन अहिलेको कांग्रेस नेतृत्वमा आएन ? यही कुराहरु मैले देश दौडाहाको क्रममा आम नेपाली नागरिकहरुबाट पाएको छु । विश्वास गर्नुस, यही कुरा पुरा गराउन म राजनीतिमा आएको छु ।
सभापतिका रुपमा आफुलाई उभ्याएपछि डा. शेखरले आफुले देश बिकासको खाका कोरिसकेको बताएका छन् । कांग्रेसका पुराना र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई समेत उनले आफुभित्र अटाएका छन् । युवा नेतृत्वलाई साथमा लिएर समावेशी र सबल कांग्रेस बनाउने अभियान थालेका डा. शेखरले भनेका छन्, “देश बिकासको महान अभियान कुनै अमुक पार्टीको घोषणापत्र र नीति तथा कार्यक्रमले मात्रै पुरा हुँदैन । जनताको प्रत्यक्ष सहभागिता बिना कुनै पनि विकास आयोजना पुरा हुँदैन । जनताका दुखमा जुन नेताको मन रुदैन, त्यस्ता दल र नेतालाई नेपाली जनताले सधै साथ दिईरहनु पर्छ भन्ने कुनै बाध्यता हुँदैन । नेतृत्वमा रहने ब्यक्तिहरुको एउटै मात्र सोच र चाहना हुनुपर्छ कि देशलाई कसरी छिटो भन्दा छिटो बिकासको बाटोमा अगाडि बढाउने । हरेक नेपाली जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम लागु गरेर कसरी देशबाट यथाशक्य चाँडो गरिबी र बेरोजगारी घटाउने ।”
यिनै कार्यक्रम र योजनासहित अहिले डा. शेखर नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अगाडि आएका छन् । लामो समयपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक निष्ठावान र आदर्शवान नेता पाएका छन् । डा. शेखरको राजनीतिक यु टर्नले कांग्रेसभित्र निभ्न लागेको दियोमा बर्तन भरिएको आभास हुँदै गैरहेको छ ।
डा. शेखर भन्छन्, “म प्रधानमन्त्री बनौंला, सुख सुविधा भोगचलन गरौंला, सरकारी कोषको दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउँला, केही डनवान र धनवानलाई विकास आयोजनाको ठेक्कापट्टा मिलाई दिएर राज्यको ढुकुटी स्वाहा पार्दै आफ्नो ब्यक्तिगत फाईदा पुरा गरौला, आफन्त र नातागोतालाई राजदुत र जीएम बनाई दिउला, देशको राजधानी र अन्य ठुला शहरहरुमा घर घडेरी किनौला, बिदेशी बैंकमा भएभरको देशको अर्थतन्त्र थुपारेर बोनस खाउँला भनेर नेपाली कांग्रेसको सभापति बन्न लागेको हैन । म नेपाली कांग्रेसको नाममा लागेको दाग मेटाउन चाहन्छु, जनताबाट टाढिदै गएको नेपाली कांग्रेसको सम्बन्धलाई पुनः एकपटक गाँस्न चाहान्छु । जब गरिब नेपाली पनि शिक्षा र स्वास्थ्यमा समान अधिकार उपयोग गर्दै खुशी हुन्छन्, त्यही गरिब नेपालीको वास्तविक हाँसोका साथ हाँस्न चाहन्छु ।”
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
गठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?
जेठ ९, २०८१ बुधबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार