जलवायु संकटबाट नेपालमा देखिएका परिवर्तनका परिणाम र प्रभाव
चन्द्रमणि गौतम
भदौ ३, २०७८ शुक्रबार १:३:९
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन, तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ ।
फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । हिमालय क्षेत्र नजिकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ।जलवायु परिवर्तनका विश्वब्यापी असर नेपालमा के कसरी परेको छ भन्ने प्रश्नका लागि यी परिघटना नियालेर ध्यान दिऔँ त !
तराईमा गहुँ र धानको उत्पादन तथा उत्पादकत्व घट्यो भने पहाडमा सुधार देखियो । मुस्ताङमा पनि धान फल्न थाल्यो । धान पाकेपछि पानी पर्ने गर्न थाल्यो । हिमाली भेगमा छिटै बाली पाक्न थाले । मुस्ताङ–मनाङमा काठमाडौँका धेरैजसो तरकारी फल्न थाले । २०७० देखि २०७५ सालसम्म मंसिर / पुसको अन्तिमतिर हुने जाडो कात्तिकको मध्यतिरै अनुभव भयो । ओखलढुङ्गा सल्लेरीको फाप्लु बागबानीमा पुस महिनामै स्याउ फल्यो । मंसिरदेखि नै चिचिला लाग्न थालेको लोचेलिङ् जातको स्याउको फल्ने सिजन बदलिएको पाँच वर्ष भएको स्थानीय विज्ञले बताए ।
अर्घाखाँची पणेनाको सिम्ले आदि तथा सिन्धुलीको रतनचुरा, बागेश्वर, जलकन्या, तीनकन्या, बितीजोर, दुम्जा, मझुवा आदि गाबिसमा दशैँमै सुन्तला पाक्नथाले । यो अवस्था हरेक वर्ष नै हुन थालेको छ । धादिङ् र धनकुटामा तिहारमा बेच्न गरिएको फूलखेती तिहारभन्दा धेरै अगाडि नै फुलिदिएर समयमा बेच्न नपाई बारीमै सुके । उदयपुर जिल्लाको रचने, नाभेटार, जीरे, टाट्ने, द्वारेभञ्ज्याङ् लगायतका गाउँमा साविक चैत लाग्दा फुल्नेगरेको गुराँस २०७० सालको माघमै फुल्यो । हिउँ पग्लिने सिजन चैत्र ४, २०७० मा हुम्लामा हिमपात भएको थियो ।
नेपालमा सन् २०१७ मा गैरसरकारी संस्थाको कुल संख्या ४६ हजार २ सय ३५ हुँदा वातावरण, हावापानी र मौसमको क्षेत्रमा काम गर्ने भनी १ हजार सातसय भन्दा बढी, सामुदायिक तथा गामीण विकासका लागि २५ हजार ४०३, स्वास्थ्य सेवा ८७५ संस्थाहरू दर्ता भएको देखिन्छन् । यस अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ.) २४७ वटा कार्यरत देखिन्छ । यिनीहरू कहाँ के गरिरहेका छन्, सरकार इन्तु न चिन्तु छ ।
यार्चागुम्बाको उत्पादन ह्रासोन्मुख छ, यस्तै हुँदै गयो भने बिऊ पनि मासिएला भन्ने डर बढेको छ । डडेलधूरामा काफल चाँडै पाक्नथाल्यो । काठमाडौँको दरबारमार्ग र रत्नपार्कको शिरिष ढिलो फुल्यो । ‘गुँरासको राजधानी’ भनिने तेह्रथुम वसन्तपुरको मिल्के, तीनजुरे, जलजले क्षेत्रमा सिजनभन्दा पहिले नै गुँरास फूल्न थाल्यो ।
तराईमा मात्र देखिने सर्प पहाडतिर उक्लिएछन्, पहाडमा पनि देखिनथाले । ‘किङ् कोब्रा’ जातको तराईमा मात्र पाइने अति विषालु सर्प काठमाडौँमा पाइएछ । २०६९ सालमा फर्पिङमा करेँत साप भेटिएको जानकारी पाइयो । कर्णालीमा पनि लामखुट्टे लाग्न थाल्यो । चारहजार फिटमाथिको अक्षांशमा लाग्दैनन् भनिन्थ्यो, आज पाँचहजार फिटमा पनि झुल चाहिने हुनथाल्यो । सगरमाथाको आधार शिविरमा झिँगा देखिन थाले । त्यहाँ सामान्य स्वेटरले पनि काम चल्ने भएछ ।
हिमचितुवा र डाँफे घटेको अनुमान छ । चराले चाँडै बच्चा कोरल्न थालेको छ । भोटे कुकुरका भुत्ला झर्न थालेका छन्, ऊ आफ्नै थलोमा जिब्रो निकालेर स्याँस्याँ गर्न थालेको छ । २०७० माघ अन्त्यतिर रुपन्देही र कपिलबस्तु वरिपरिका ९ ठाउँमा चरा गणकहरूले पत्ता लगाएअनुसार नदी किनारमा सिमसारको कमि, घाँस मासिने क्रम र विषादिको बढ्दो प्रयोगले पर्यावरण तथा जैविक विनाश तथा असन्तुलन बढेर चराको संख्या २० देखि ८० प्रतिशतसम्म घटेको पाइयो ।
फेवाताल र रारातालको पानी घट्दो झुकावमा रहेको छ । फेवातालको पिँधमा माटोको सतह बढेको र पुरिने क्रम निरन्तर भइरहेको छ ।राजधानीलगायत देशका सबै भागमा पानीका भूमिगत स्रोत सुक्दै गएकोले सयौँ वर्षदेखिका हिटी–धारा या तिर्तिरे भए वा सुके । ०७२ बैशाखको भुईँचालोले गर्दा कुवा र इनारहरूको त्यहि हालत छ । सेतो हिँउले ढाकिने गरेका हिमशिखरहरूमा काला चट्टानहरू बढ्तै देखिन थाले । हिमपात अत्यन्त कम हुँदै काला चट्टान बढेर हेर्दाहेर्दै बेग्लै देखिनथालेपछि महालंगुर हिमश्रृङ्खलाका सगरमाथा, ह्लोत्से, पुमोरी, नुप्त्से आदि पर्वतहरू खुम्चिँदै गएका छन् ।
पहिले काठमाडौँका मानिसहरू हिउँदमा घाम ताप्न र रमाइलो मौसमका कारण पहाडबाट तराई झर्ने गर्थे । आजकाल तराईका मानिसहरू हिँउदमा शीतलहरका कारणले जाडो छल्न काठमाडौँ आउन थालेका छन् । मानिसमा क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप, चर्मरोगजस्ता रोग अस्वाभाविक गतिमा बढ्दै गए । भान्सा कोठामा मुसा र साङ्ला बढ्नथाले ।
हिमतालहरू क्रमशः पग्लिँदैछन्, गोराक्सेप, लोबुचे, थुक्ला, गोक्यो क्षेत्रका बासिन्दाहरू चिन्तित हुनथालेका छन् । मौसमविद् डा.एम.पी भट्ट लेख्छन,“विश्वब्यापी उष्णताका कारण करिब ६७ प्रतिशत हिमनदीहरूमा ह्रास आइसकेको, तथा झन्डै दुई दशकको पंक्तिकारकै अनुसन्धानको क्रममा केन्द्रीय हिमनदीहरूमा एकसय मिटरभन्दा बढी ह्रास भएको पाइएको छ ।…..विश्व प्रकृति कोष नेपाल (२००५) को एक तथ्याङ्क अनुसार नेपालमा ३२५२ हिमनदीहरू २३२३ हिमतालहरू छन्, जसमध्ये २६ वटा हिमतालहरू ठूलो खतरा निम्त्याउने खालका छन् (इसिमोड र युएन्इपी २००१) ।…..अहिलेसम्म नेपालभित्र पाँचवटा हिमताल विष्फोटनका घटनाहरू भइसकेका छन् । खम्बु क्षेत्रमा मात्रै गएका तीनदशकभित्र दुईवटा हिमताल विष्फोटनका घटना भएका थिए” (कान्तिपुर २०७०–३–३१–२) ।
कोशी नदी बेँसी (क्षेत्र) मा बाढी–पहिरो आदि अत्यधिक हुन थालेको र कृषिलगायत विकासका पूर्वाधार तथा जनजीवनमा नकारात्मक असर पर्न थालेपछि सरकारले कोशी नदी बेँसीमा पर्ने आठ उपबेँसीहरूमा मौसम परिवर्तनको प्रभाव र परिणामको अध्ययन गर्न एउटा पाइलट प्रोजेक्ट नै सुरू ग¥यो ।
२०६८ (सन् २०११) मा उच्च हिमाली भेगमा कात्तिकमै हिँउ परेर सबैलाई आश्चर्यचकित बनाइदिएको थियो । सन् २०१२ मा पनि यस्तै स्थिति दोहोरियो । यो क्रम २०७० साल बैशाखमा पनि पूर्वको ताप्लेजुङ् र पश्चिमको मुक्तिनाथ क्षेत्र (मुस्ताङ) लगायतका क्षेत्रमा हिउँ परेर त्यहाँका जनतालाई अप्ठ्यारोमा पार्यो । मंसिरमा हिउँ परेर फागुनमा सकिने क्रमभङ्ग भई विगत ५ वर्षमा चैत–बैशाखमा पनि हिउँ पर्न थालेको छ । मुस्ताङ्मा २०७० बैशाखमा पनि हिउँ परेपछि स्याउको कोपिला र औवा बालीलाई असर गरेको थियो ।
हरेक वर्ष चट्याङकाे प्रकोप बढिरहेको छ । यसको प्रहारबाट मृत्यु वा हताहत हुने मानिस र जनावरको संख्या वर्षेनी बढिरहेको छ ।मानिसको धेरै मृत्यु हुने प्राकृतिक प्रकोपमध्ये चट्याङ् पनि एउटा भएको छ । गृहमन्त्रालय भन्छ, २०७० को बैशाखदेखि चैत्र मध्यसम्ममा एकसय १० मानिस र पाँच सयभन्दा बढी जनावरले चट्याङकाे झट्काबाट ज्यान गुमाएका थिए भने १९७ जना मानिस घाइते भएका थिए । सन् १९७१ देखि २०१० को चार दशकको अवधिमा नेपालमा हुरीबतास र चट्याङ्बाट एकहजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।२०७८ सम्ममा प्राकृतिक प्रकोपमा चट्याङ्ग पाचौँ खतरा हुनआएको छ । मौसम उथलपुथलको परिणाम र प्रभाव यसमा पनि देखिन थालेको छ ।
मध्यफागुनको तापक्रम माघको शुरूमै अनुभव हुनथाल्यो । मंसिर नसकिँदै तराईमा शीतलहर चल्नथाल्यो, पुसको १-२ गते त शीतलहरले मान्छे मर्न सुरू भयो । मौसमविद्हरूले बताएका छन्, सन् १९५४ देखि २००२ सम्मको तथ्याङ्कलाई केलाएर हेर्दा मौसम उथलपुथलबाट आएको बाढी–पहिरोका कारण १५ लाख नेपालीलाई प्रत्यक्ष असर परेको छ । तिनीहरू या मरे या त तिनीहरूको घर–बास उठिबास भयो ।
२०६७ सालमा पात्रो मिलानका लागि चैत महिना हटाएर एघार महिनाको वर्ष बनाउने सम्भावना थियो । पृथ्वीको गतिको यकिन हिसाब सेकेन्डमा बचत हुँदैजाँदा सयौँ वर्षमा एकपटक यसरी मिलान गर्नुपर्ने आवश्यक देख्छन् ज्योतिष र खगोलविद्हरू । पात्रो मिलान नगर्दा पनि महिना र मौसमको तादाम्य नमिले प्राकृतिक रुप देखापर्ने गरेका छन् । अन्य मुलुकले यस्तो पात्रो मिलान पहिले नै गरिसकेका छन् ।
पहिले काठमाडौँका मानिसहरू हिउँदमा घाम ताप्न र रमाइलो मौसमका कारण पहाडबाट तराई झर्ने गर्थे । आजकाल तराईका मानिसहरू हिँउदमा शीतलहरका कारणले जाडो छल्न काठमाडौँ आउन थालेका छन् । मानिसमा क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप, चर्मरोगजस्ता रोग अस्वाभाविक गतिमा बढ्दै गए । भान्सा कोठामा मुसा र साङ्ला बढ्नथाले ।
नेपालमा सन् २०१७ मा गैरसरकारी संस्थाको कुल संख्या ४६ हजार २ सय ३५ हुँदा वातावरण, हावापानी र मौसमको क्षेत्रमा काम गर्ने भनी १ हजार सातसय भन्दा बढी, सामुदायिक तथा गामीण विकासका लागि २५ हजार ४०३, स्वास्थ्य सेवा ८७५ संस्थाहरू दर्ता भएको देखिन्छन् । यस अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ.) २४७ वटा कार्यरत देखिन्छ । यिनीहरू कहाँ के गरिरहेका छन्, सरकार इन्तु न चिन्तु छ ।
२०७१ बैशाखको मध्यमा राजधानीमा सम्पन्न भएको ६२ देशका ४०० जलवायृु विज्ञहरूको एउटा सम्मेलनमा हावापानी परिवर्तनसम्बन्धी राष्ट्रसंघीय कोषकी अध्यक्ष क्रिस्टियाना फिगरेसले भनिन् मौसम परिवर्तनका कारण उत्पन्न दुष्परिणामबाट नेपालले हरेक वर्ष आफ्नो कुल गार्हस्थ उत्पादनको एक प्रतिशत क्षति भोगिरहेको छ । यसको अर्थ बि.सं. २०७३ को मूल्यमा नेपालले जलवायु परिवर्तनका दुष्परिणामबाट कुल गार्हस्थ उत्पादनमा वर्षेनी ५५ अर्ब रुपैयाँ क्षति भोगिरहेको छ ।
सोही सम्मेलनमा विज्ञहरूले बताए, ग्रीनहाउसबाट उत्सर्जन भएको ग्यासले वायुमण्डलमा आठलाख वर्ष यताकै सबभन्दा उच्च बिन्दुको परिमाण थुपारेको छ, जसले गर्दा वायुमण्डलमाथि रहेको ओ–जोन तह पातलिएर सूर्यको किरण छानेर पृथ्वीमा पठाउने प्रक्रियामा खराबी बढिरहेको हुँदा क्यान्सर लगायतका घातक बिमारहरू बढिरहेका छन् ।
पृथ्वीबाट कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन (Carbon emission) नै पृथ्वीको तापक्रम बढ्ने र मौसम उथलपुथल हुने मूख्य कारण हो । तथ्याङ्क अनुसार नेपालबाट प्रतिवर्ष ०.३१६२ टन कार्बन उत्सर्जन हुन्छ भने अमेरिका एक्लैले प्रतिवर्ष १४८८.४७ टन कार्बन उत्सर्जन गर्छ । जलवायु परिवर्तनका दुष्परिणाम, नेपालले नगरेको गल्तीको यातना वा सजायँका रुपमा भोग्नु परिरहेको छ ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार