३० वर्षसम्म नबनेको एउटा सडक, स्थानीयलाई सास्ती उस्तै
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार १:५९:५४
२० भदौ, झापा । झापाको दमकदेखि इलामको चिसापानी हुँदै पाँचथरको रविसम्म पुग्ने सडक निर्माण चर्चाको तीन दशक हुन लाग्यो । तीन दशकअघि सडकको ट्र्याक खोल्ने काम सुरु गरिए पनि अझैसम्म यहाँका स्थानीयलाई सास्ती उस्तै छ ।
२०५० सालपछि मेची राजमार्गको विकल्पको रूपमा निर्माण सुरु गरिएको दमक-चिसापानी सडक ‘फाल्गुनन्द मार्ग’को ट्र्याक २८ वर्षपछि खोलियो । अहिले कालोपत्रेका लागि ठेक्का पनि लगाइएको छ । तर, निर्माण कम्पनीले काम ढिलो गर्दा बर्खामा बाटो बन्द हुन्छ । यस राजमार्गलाई मेची राजमार्गको विकल्पको रूपमा मसेत चर्चा गरिँदै आएको छ ।
दमक हुँदै इलामको माङ्सेबुङ, चिसापानी र पाँचथरको रवि ४४ किलोमिटरको यात्रामा पुगिन्छ । तर, सडक समयमा कालोपत्रे नहुँदा स्थानीयका दुःख सधैँ उस्तै छन् । बर्खा लागेपछि कि त यो बाटोको विकल्प खोज्नुपर्छ वा पैदल यात्रा गरेर दमकसम्म आउनुपर्छ ।
केही दिनअघि पाँचथरको रविका विक्रम राई यही सडकमा पैदल यात्रा गरेर दमक आउँदै गरेका भेटिए । बर्खामा आएको पानीले बाटो बिग्रिएका कारण सवारी नचल्दा हिँडेरै दमक आउनुपरेको उनले बताए । ‘काम हुँदै छ भन्छन् । बर्खामा गाडी आउन सक्दैन । दिनभर हिँडेर आइपुगेँ’, उनले भने, ‘सडक नबन्दा सास्ती त कति छ कति । ४४ किलोमिटरको बाटोमा बर्खामा त माङ्सेबुङबाट दानाबारी हुँदै बिर्तामोड निस्किएर दमक आउँदा १५० किलोमिटभन्दा लामो दूरी गाडी चढ्नुपर्छ । भाडा पनि महँगो छ । त्यही भएर हिँडेरै आएँ ।’
विगतमा हिउँदमा रतुवा खोलै खोला भएर गाडी गुड्थे । बर्खामा रोकिने गरेको छ । तर, अहिले हिउँदमा खोलाको बाटो भएर हिँड्नुपर्ने बाध्यता हटेको छ । झण्डै तीन दशकमा सडकको ट्र्याक खुलेको छ । ठाउँ-ठाउँमा पुल बनेको छ । तर, सडक कालोपत्रे नहुँदा बर्खामा यात्रा नै गर्न मुस्किल हुने चिसापानीका दिलीप लिम्बू बताउँछन् । ‘बर्खामा त हिँड्ने मात्र हो । गाडी त चल्दैन । तर, विगतको तुलनामा काम त केही भएकै छ’, उनी भन्छन्, ‘तर, बाटो पिच नहुँदा हिँड्नचाहिँ सकिँदैन । पिच गर्ने भन्छन् तर कहिल्यै गर्दैनन् ।’
सरकारले चिसापानीसम्मको कालोपत्रेका लागि तीन चरणमा ठेक्का लगाएको छ । पहिलो खण्डको सात किलोमिटर सडक कालोपत्रेको म्याद सकिएको छ । तर, अहिलेसम्म निर्माण भएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै खण्डको सडक एकै पटक ४ फागुन २०७६ मा शिलान्यास गरे, जबकि पहिलो पहिलो खण्ड ठेक्का लागेको १७ महिना भइसकेको थियो ।
सडक डिभिजन कार्यालय दमकका अनुसार काम सकिनुपर्ने मिति गत पुसमै सकियो । त्यसपछि भदौसम्मका लागि समय थपिएको छ । तर, यो समयमा पनि ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए । अहिले पनि समय थप्ने योजनाका साथ ठेकेदार कम्पनी अघि बढेको छ । यो सडक निर्माणको जिम्मा महालक्ष्मी-किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन २०७५ मा २२ करोड ५९ लाख ६४ हजार ६२७ रुपैयाँमा ठेक्का लिएको थियो । तर, समय सकिँदा पनि ७०० मिटर सडक मात्र कालोपत्रे भएको पौडेलले जानकारी दिए ।
यस्तै, अन्य दुई खण्डको काम पनि सन्तोषजनक नभएको सडक डिभिजनले जनाएको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो ११ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागेको छ । दुवै सडक कालोपत्रेको जिम्मा लुम्बिनी गणपति जेभीले पाएको छ । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन २०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार ६४० रुपैयाँ र तेस्रो ५९ करोड १५ लाख ३५ हजार २३४ रुपैयाँमा ठेक्का लागेको हो । यो दुई खण्डको काम २ फागुन २०७९ मा सक्नुपर्नेछ । यसको काम करिब ३० प्रतिशत मात्र सम्पन्न भएको र काम सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
दमक(चिसापानी सडक निर्माण उपभोक्ता समिति चयनका लागि निकै ठूलो खर्च गरेर दलहरू यसको चुनावमा होमिन्छन् । राजनीतिक दलले यसलाई प्रतिष्ठाको लडाइँको रूपमा पनि लिँदै आएको छ । तर, विगतमा उपभोक्ता समितिले कामै गर्न सकेको थिएन । पछिल्लो समय गगन पुरीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । यो उपभोक्ता समितिको म्याद सकिएको पनि लामो समय भयो । तर, अर्को उपभोक्ता समिति बन्न सकेको छैन । यो समितिले ट्र्याक खोल्ने, विभिन्न ठाउँमा पुल लगाउने र कालोपत्रेको ठेक्का लगाउने काम गरेको छ । यद्यपि, नागरिकले सहज यात्रा गर्न पाएका छैनन् ।
उनीहरूले सधैँ सास्ती व्यहोरिरहेका छन् । चाँडै नै नागरिकले सहजै यात्रा गर्ने गरी बाटो निर्माण हुने उपभोक्ता समिति अध्यक्ष पुरीले बताए । ‘निर्माण कम्पनीले ढिलाइ गरेकामा हामी पनि सन्तुष्ट छैनौँ’, उनले भने, ‘ठेकेदार कम्पनीलाई छिटो गर्न दबाब दिइरहेका छौँ । चाँडै नागरिकले सहज यात्रा गर्न पाउँछन् ।’
सडक राम्रो नहुँदा यात्राका क्रममा दुर्घटनामा परेर एक जना जनप्रतिनिधिले ज्यान गुमाए । माङ्सेबुङ-४ का वडासदस्य धनबहादुर राईको गत ३० असारमा यही सडकमा दुर्घटनामा ज्यान गएको माङ्सेबुङ-४ का वडाध्यक्ष अमृतबहादुर राईले जानकारी दिए । हिलो बाटोमा राम्रो ठाउँ खोज्दै मोटरसाइकल चलाउने क्रममा सेते भिरबाट खस्दा ज्यान गुमाएको उनले बताए । यो ठाउँ पहिलो खण्डमा पर्छ ।
‘समयमा काम भएको भए यो ठाउँ गत पुसमा पक्की हुने थियो । वडा सदस्यले ज्यान पनि गुमाउनु पर्ने थिएन’, उनले भने, ‘हामीले दबाब दिँदा पनि काम साह्रै ढिलो गरे । काम गराइ हेर्दा अझै काम गर्छन् जस्तो लाग्दैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार