कसैलाई खुसी पार्न लेखिएको रचनाले समाजको प्रतिनिधित्व गर्दैन : गोतामे
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २३:२४:३४
मीरा गोतामे पेशाले शिक्षक हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर गोतामे साहित्यिक रचनामा पनि उत्तिकै रुची राख्नुहुन्छ । हाल काठमाडौं, पेप्सीकोला, टाउनप्लानिङमा बस्तै आउनुभएकी गोतामेले आफ्नो पहिलो कृति उपन्यास “निती” सार्वजनिक गर्नुभएको छ ।
गाेतामेका विभिन्न अंग्रेजी लेखहरु “द हिमालयन टाइम्स” मा, नेपाली कथा तथा लेखरचनाहरु अनलाईन संस्करण साहित्यपोष्ट, इनेप्लिज, सेतोपाटी, नेपालनाम्चा र साहित्य सागरमा प्रकाशित हुने गरेका छन् । गोतामेसँग साहित्यिक गफगाफ र विचारवहस गर्ने क्रममा हाम्रा संवाददाता सन्तोष खड्काले गर्नुभएको कुराकानी :
साहित्य र महिला मनोविज्ञान (Women Psychology) को के–कस्तो सम्बन्ध हुन्छ ?
मलाई साहित्य भनेकै मनोविज्ञान हो जस्तो लाग्छ । कुनै निश्चित दृष्टिकोणबाट साहित्य लेखिएको हुन्छ । महिला पुरुष जसको दृष्टिकोणबाट लेखिएको हुन्छ, उसकै मनोविज्ञान साहित्यमा प्रस्तुत गरिएको हुन्छ ।
तपाईं महिलावादी (Feminism) लाई कसरी बुज्नुहुन्छ ?
मलाई महिलावादी भन्नाले महिलालाई केन्द्रमा राखेर महिलाका समस्याहरु, उसको मनोविज्ञान, उसमाथिका व्यवहारहरुको बुझाई नै हो भन्ने लाग्छ ।
एउटा लेखकको साहित्यिक जिन्दगी र वास्तविक जिन्दगीमा के फरक हुँदोरहेछ ?
साहित्यिक जीन्दगीमा कल्पना हावी हुन्छ, आफूलाई जस्तो मन लाग्यो त्यस्तै मोड दिन पाईन्छ । तर वास्तविक जीवनमा त्यस्तो सम्भव छैन । परिस्थिति अनुसार आफूले व्यवहार गर्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि साहित्यमा वास्तविकता र वास्तविकतामा साहित्य मिसाउने छुट चाँहि छ हामीलाई ।
लेखकलाई के कुराले सन्तुष्टि दिन्छ ? सृजना, नाम, पैसा वा अरु केही ?
पैसाको लागी लेखिनु त व्यवसाय हो, पेशा हो । जब पैसाको लागी लेखिन्छ, तब संबेदना मर्छ । संबेदनाहीन लेखरचनाहरुले हृदयलाई छुन सक्दैनन् । कसैलाई खुसी पार्न लेखिएको लेखरचनाले समाजको प्रतिनिधित्व गर्न सक्दैन । मैले आजसम्म लेखेका लेखरचनाबाट एक रुपिँया पनि लिएकी छैन तर प्रशस्त आत्मसन्तुष्टि भने मिलेको छ । मलाई आफ्नो सृजनाले नै सन्तुष्टि दिन्छ । सृजनासँगै नाम त आइ नै हाल्छ । राम्रा सृजनाहरुमा आफ्नो नाम पढ्न पाउँदा साह्रै गर्व लाग्नु स्वाभाविक हो ।
पुरुषको अनुभव महिला सर्जकले लेख्नु र महिलाको अनुभव नारी सर्जकले लेख्नुमा के फरक हुन्छ होला ?
पुरुषको अनुभव महिला सर्जकले लेख्नु एउटा प्रयोग हो । यसमा पाठकहरु विश्वस्त हुन पनि सक्छन्, नहुन पनि सक्छन् । यस्तो प्रयोग म आफैंले पनि गरेकी छु । यो बढी कल्पनाशील नै लाग्छ । महिलाको अनुभव महिला सर्जकले नै गर्नु चाँहि बढी व्यवहारिक लाग्ने हुनाले धेरै पाठकहरु नतमस्तक हुन्छन् । महिलाका विषय महिलाले नै कलम उठाउँदा कल्पना पनि सत्य लाग्न सक्छन्, विश्वसनीय लाग्न सक्छन् ।
तपाईंले सिर्जनात्मक लेखनको लागि आख्यान नै किन रोज्नुभयो ?
आख्यान साहित्यको एउटा सजिलो माध्यम रहेछ । मैले आफ्नो विचारलाई बिषयवस्तु बनाएर उठान गर्ने यो एउटा सरल र उपयुक्त माध्यम झैं पाएँ । आफ्नो विचार र दृष्टिकोणलाई विभिन्न पात्र र संबादहरुद्वारा सबैको मनमा भिज्न सकिने शैली प्रयोग गरी बढीभन्दा बढी पाठकहरुसँग पुग्ने एउटा उत्तम माध्यम नै हो, आख्यान । म आफूलाई काव्यमा ढाल्न अझै मिहेनत गर्नुपर्ने देख्छु ।
नेपाली साहित्यमा यौन मनोविज्ञानको बारेमा किन खुलेर लेखिदैन ?
नेपाली साहित्यमा यौन मनोविज्ञानका बारेमा खुलेर लेख्न अझै केहि समय कुर्नुपर्ने जस्तो लाग्छ । समाज जस्तो छ, साहित्य त्यसैको ऐना हो । खुलेर यौनका कुरा गर्ने वातावरण नबनेसम्म खुलेर लेख्ने वातावरण बनाउन गाह्राे छ । लेख्नेलाई पनि राम्रो दृष्टिकोणले हेरिएको जस्तो लाग्दैन ।
साहित्यको लेन्सबाट हेर्दा सम्बन्ध के हो ? जिन्दगी के हो ?
साहित्यको लेन्सबाट हेर्दा जिन्दगी नै सम्बन्ध हो, सम्बन्धहरु नै जिन्दगी हो । सम्बन्धहरुबीनाको जीवन नै कहाँ सम्भव छ र यो त सम्बन्धहरुको जन्जाल हो । जति पनि साहित्यिक कृतिहरु लेखिन्छन्, सम्बन्धहरुकै गहिराई, यसकै सतहीपन, माया ममता, दुश्मनी, यसकै ईमान्दारिता र बेईमानीका बारेमा लेखिन्छन् । अझ भनौं कालजयी बन्ने कृतिहरु नै यस्तै हुन्छन् । जिन्दगीलाई म चाँहि सम्बन्धबाट अलग्याएर हेर्नै सक्दिन ।
तपाईंको सबै सपनाहरू/लक्ष्यहरु पूरा भयो भने त्यसपछी के गर्नुहुन्छ ?
मेरा सबै सपनाहरु छिट्टै पूरा हुने छाँटकाँट छैन । मेरो त बल्ल सुरुवात भएको छ । धेरै लामो बाटो हिँड्नु छ । कथंकदाचित लक्ष्यहरु पूरा भयो भने फेरि अर्को नवीन लक्ष्य निर्धारण गर्नेछु र्अनि त्यसमै लागी पर्नेछु । मेरो हात बाँधेर चाँहि बस्ने बानी छैन ।
तपाईंको पहिलो कृति “निती” को बारेमा पाठकलाई के भन्नुहुन्छ ?
“निती” मेरो प्रथम कृति हो । यो मलाई मेरो सन्तानजत्तिकै प्रिय छ । यसमा मैले हाम्रो समाजमा शिक्षित नारीहरुले भोग्नुपरेका समस्याहरुलाई शब्दमा उतार्न खाजेकी छु । यो उपन्यासमा मैले कतिपय चरित्रवान परुुषहरु र सघंर्षशील नारीहरुको कथालाई एउटै मालामा उन्ने प्रयास गरेको छु । सामाजिक सजांलले निम्त्याएका विकृतिले परिवारहरु बिखण्डन हुँदै छन् । सम्बन्धहरु नाजुक धागोजस्तै हुन्, यसमा गाँठो पार्ने काम सामाजिक सजांलको दुरुपयोगले गरेको छ । सम्बन्धमा गाँठो पर्नु अगावै सचेतता अपनाउनु जरुरी छ । त्यस्तै यो उपन्यासमा बैवाहिक सम्बन्धमा धेरैजसो महिलाहरुले नै सम्झौता गर्नुपरेको तथ्यलाई उजागर गरेकी छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
राजमौलीको नयाँ फिल्मको सुटिङमा कलाकार फोन लैजान प्रतिबन्ध
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार