लोपोन्मुख राउटेको फेरिँदो जीवनशैली, एकीकृत नीति ल्याउँदै प्रदेश सरकार
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार १९:५५:२१
जितेन्द्र थापा
९ असोज, दैलेख । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका नेपालका घुमन्ते जातिमध्येको एक राउटे समुदाय पनि हो । यो समुदाय पश्चिम नेपालका कर्णाली र आसपासका विभिन्न जंगलहरूमा बसोबास गर्ने गर्छन् ।
कुनै बेला घुमन्ते फिरन्ते जीवन बिताउँदै आफूले बनाएका काठका भाँडाकुँडा गाउँघरमा अन्न चामलसँग साटेर जीविका चलाउदै आएका थिए । तर, पछिल्लोे समय उनीहरूमा भएको परिर्वतनसँगै उनीहरूको पेसा पनि संकटमा पर्दै गएको छ ।
कुुनै समय अन्य समुदायको समाजसँग त्यति नजिक नपर्ने जंगलमै फिरन्ते जीवन बिताउने राउटेहरू अहिले समाजसँग घुलमिल हुन थालेका छन् । योसँगै उनीहरूको पेसा संकटमा पर्दैै गएको छ ।
लोपोन्मुख राउटेको जनसंख्या पनि निकै न्यून छ । अहिले डेढ सयभन्दा पनि कम संख्यामा छन् । केही वर्षयता उनीहरूको जनसंख्या घट्दै गएको छ ।त्यसमाथि व्यवस्थित बसोबास नहुँदा समुदायको अस्तित्व नै जोखिममा रहँदै आएको छ । पछिल्लो समय राउटेहरू थप असुरक्षित बनेका छन ।
कुनै बेला गैर–राउटे समुदायसँग घुलमिल हुँदैनथे । काठका घरायसी सामग्री बनाउने उनीहरू अन्नसँग साट्थे । पैसा छोए पाप लाग्छ भन्थे । पैसा छुनु हुँदैन भन्ने मान्यता यो समुदायमा थियो । कन्दमुल खान्थे । जंगली जनावरको सिकार गर्थे । अरु समुदायसँग व्यापारको जस्तो मात्र सम्बन्ध रहन्थ्यो, काठका सामग्री दियो त्योबापत खाद्य वस्तु लियो ।
पैसा र आधुनिकताको मोह
कुनै बेला राउटे समुदायको त्यति नजिक पर्दैन थिए । र, अन्य समुदायका मानिसहरू पनि राउटे भन्नेबित्तिकै बोल्ने साहस कसैको हुन्थेन । अहिले राउटे र अन्य समुदायको घुलमिल भइरहन्छ । अन्य समुदायसँगको घुलमिलले अहिले राउटे समुदायका परम्परागत मान्यताहरू भत्किँदै गएका छन् । उनीहरूमा पैसा र आधुनिकताको मोह बढेको छ । सरकारले राउटेलाई मासिक भत्ता नै उपलब्ध गराउँछ । यो समुदायमा पुग्ने जो–कोहीसँग उनीहरू पैसा माग्छन् । समुदायको रूपान्तरणका क्रममा त्यहाँ कतिपय विकृति पनि पसेका छन् ।
सबैसँगको सहज भेटघाटले गैर–राउटे समुदायका आनीबानी सरेका हुन् । आधुनिक दुनियाँमा विस्तारै बामे सर्न थालेको समुदाय केही वर्षयता मदिरालगायतका कुलत र विकृतिहरूले जेलिएको छ । सबैजसो उमेर समूहका राउटे मदिरामा लठ्ठ हुने गरेका छन् । यसले उनीहरूको अस्तित्व थप संकटमा परेको छ । राउटे समुदायको रूपान्तरणका लागि काम गर्दै आएका सरकारी तथा गैरसरकारी निकायहरूले भन्ने गरेका छन्– राउटेलाई रूपान्तरण गर्ने नाममा झनै विकृतिहरू भित्रिए ।
सरकारी तथा गैरसरकारी निकायले राउटे समुदायको उत्थानका लागि खर्चिएको बजेटको सदुपयोग हुन नसकेको लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का बताउँछिन ।
‘जुन उद्देश्यले यो समुदायमाथि लगानी भइहेको छ, त्यसको सदुपयोग भइरहेको छैन,’ उनले भनिन् । लामो समयदेखि यो समुदायसँग नजिक रहेर काम गर्दै आएकी खड्काले राउटेहरू थप असुरक्षित बनेकोमा चिन्ता व्यक्त गरिन् । उनका अनुसार केही वर्ष पहिलेसम्म यो समुदाय निकै शान्त थियो । आफ्नै सामाजिक मान्यताहरू थिए । जब उनीहरूको अन्य समुदायसँग आवतजावत बढेसँगै विकृतिहरू पनि भित्रिए ।
राउटे रूपान्तरण गराउने शैली नमिल्दा झनै संकट
यो समुदायको उत्थानका क्षेत्रमा काम गरिरहेका निकायको रूपान्तरण गराउने शैली नमिल्दा पनि समुदाय नै झनै जटिल अवस्थामा पुगेको अधिकारकर्मीहरूले बताउँदै आएका छन । गलत संस्कार र आनिबानी सुधार्न तथा अरु जस्तै आधुनिकतामा ल्याउने तरिका नमिल्दा समस्या भइरहेको उनीहरूको भनाइ छ । अहिले राउटे समुदायको परम्परागत पेसा पनि संकटमा छ । नयाँ पुस्तामा पुख्र्यौली पेसाको मोह हराएको छ ।
काठका सामग्री बनाउने सीप हराउँदै गएको छ । युवाहरूमा यो पेसाप्रति रूचि घट्दो छ । त्यसले गर्दा जीविकोपार्जनमा समेत समस्या आउन थालेको छ । मागेर छाक टार्नु उनीहरूका लागि बाध्यता बन्न थालेको हो । शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा छन् । राउटे समुदायको संख्या घट्दै जानुमा उनीहरूको जीवनशैली प्रमुख कारण हो । आफ्नो स्वास्थ्यप्रति समुदायका मानिसहरू सचेत छैनन् । उनीहरूलाई आधुनिक उपचार पद्धतिमा विश्वास छैन् । खासगरी राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको आएको लोपोउन्मुख जाति हो ।
अहिले उनीहरू सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइ सरेका छन् । बसाइ र खानपान व्यवस्थित नभएकाले राउटेको स्वास्थ्य नाजुक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म कुपोषित छन् । अनेक दीर्घ रोगले समुदाय ग्रसित छ । एक सय ४६ घरधुरी रहेका राउटे समुदायको संख्या हाल एक सय ३९ जना मात्र छ । गएको चैतयता मात्र यो समुदायका सात जनाको मृत्यु भएको छ ।
खानपिनको शैली पनि बदलियो
राउटेमा अचेल खानपिनको शैली बदलिएको छ । तर, स्वास्थ्यमा असर गर्ने खानपानमा उनीहरू आकर्षित छन । मदिराको कुलत र सहरिया खानपिनमा रूचि बढ्यो । त्यसले पनि राउटेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो । राउटे समुदायको जनसंख्या बर्सेनि घट्दै गएकाले उनीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा रहेको कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्का बताउँछिन् । उनले राउटे समुदायका रीतिरिवाज र मूल्यमान्यताको संरक्षण गर्दै उनीहरूलाई आधुनिकतातर्फ लैजानुपर्ने जनाइन् ।
‘मान्दै आएका चालचलनलाई पनि जगेर्ना गर्नुपर्छ । आजको परिवेशमा कोही पनि शिक्षा, स्वास्थ्य र सुरक्षित बसोबासबिना सुरक्षित बन्न सक्दैन,’ प्रदेशसभा सदस्य खड्काले भनिन, ‘यो समुदायको संरक्षणका नाममा भइरहेका विकृति रोक्न पनि जरुरी छ ।’
एकीकृत नीति ल्याउने प्रदेश सरकारको तयारी
राउटे समुदायलाई जोगाउन कर्णाली प्रदेश सरकारले संरक्षण गर्ने एकीकृत नीति ल्याउने तयारी गरेको छ । सामाजिकीकरण गर्दै मूल प्रवाहीकरणमा ल्याउन प्रदेशको सामाजिक विकास मन्त्रालयले नीतिको मस्यौदा तयार पारेको हो । उक्त प्रस्तावित नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रमहरू समावेश गरिएका छन् ।
जातीय र मौलिकताको संरक्षण गरिने, स्थायी बस्ती, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट जोगाउने लगायतका विषय नीतिको ड्राफ्टमा समेटिएको छ ।
लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखिएकाले एकीकृत नीति निर्माण थालिएको मन्त्रालयले जनाएको छ । सो नीतिको मस्यौदाबारे अहिले सरोकारवाला निकायसँग छलफल थालिएको छ । प्रदेश सरकारले ल्याउन थालेको नीति लागू हुन सके राउटे समुदायको संरक्षणसँगै रूपान्तरणमा ठूलो टेवा पुग्ने सरकारी अधिकारीहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार