डिजिटल प्रविधिको दुनियाँमा मेटाभर्स के हो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार १३:७:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/mota_gKhyIdz1Y0.jpg)
१ कार्तिक, काठमाडौं । प्रविधि कम्पनीहरू र विश्लेषकहरूले इन्टरनेटको अबको परिवर्तनकारी सोचका रूपमा मेटाभर्सलाई मानेका छन्। फेसबुकका मार्क जकरबर्ग र इपीक गेम्समा टीम स्वेनेजस्ता प्रविधिका चर्चित व्यक्तित्वहरूले मेटाभर्समा लगानी गरेका छन्।
के हो त मेटाभर्स ?
आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूप जस्तो लाग्न सक्छ तर प्रविधिका केही व्यक्तिहरूका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो भनेर बीबीसीमा प्रकाशित समाचारमा जनाइएकाे छ ।
सन् १९८० को दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।
सबै खाले डिजिटल प्रविधिको दुनियाँमा छिर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गर्न सकिन्छ।
अहिले भर्चुअल रियालिटी धेरै जसो कम्प्युटर गेम खेल्न प्रयोग गरिन्छ तर मेटाभर्समा त्यो उपकरण काम, खेल, कार्यक्रम, चलचित्र वा गफगाफ सबैका लागि प्रयोग गर्न सकिन्छ।
धेरै मानिसहरूले यसलाई आफ्नै त्रिआयामिक प्रतिनिधित्व हुने पनि मान्छन्। तर मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेको कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने छैन।
कसरी मेटाभर्स चर्चित भयो ?
प्रविधिमा समय-समयमा कुनै नयाँ सोचहरू चर्चित बन्छन् र केही समयपछि बिलाएर पनि जान्छन्। तर मेटाभर्सका बारेमा धनी लगानीकर्ताहरू र ठूला प्रविधि कम्पनीले रुचि देखाएका छन् र यो कतै इन्टरनेटको भविष्य बनिहाल्यो भने पछाडि पर्न कोही चाहँदैनन्।
र अहिले सोच मात्रै भए पनि भर्चुअल रियालिटी र इन्टरनेटको गतिको विकासका कारण यो छिटै प्रविधिका रूपमा आउन सक्ने सम्भावना पनि छ।
फेसबुक किन संलग्न छ ?
फेसबुकले मेटाभर्सको विकासलाई आफ्नो ठूलो प्राथमिकता रहेको बताएको छ। भर्चुअल रियालिटीमा ओकुलस उपकरणमा ठूलो लगानी गरेको फेसबुकले सो टाउकोमा लाउने उपकरण प्रतिस्पर्धीहरूभन्दा सस्तोमा बेचिरहेको छ।
प्रतिस्पर्धी कम्पनीहरू नै किन्ने इतिहास रहेको फेसबुकले मेटाभर्स छिटै र कुनै एक कम्पनीले निर्माण गर्न नसक्ने बताउँदै अन्य प्रविधि कम्पनीसँग समन्वय गर्ने बताएको छ।
फेसबुकले हालै मेटाभर्स जिम्मेवारीपूर्ण तरिकाले विकास गर्न सहयोग गर्न गैरनाफामूलक समूहहरूलाई पाँच करोड अमेरिकी डलर लगानी गरेको छ। फेसबुकले मेटाभर्सको विकास गर्न अर्को १० देखि १५ वर्ष लाग्ने बताएको छ।
अरू कसले रुचि देखाएका छन् ?
फोर्टनाइट गेम बनाउने इपीक गेममा टीम स्वानेले पनि लामो समयदेखि मेटाभर्समा रुचि व्यक्त गरिरहेका छन्। धेरै जनाले खेल्न मिल्ने अनलाइन गेममा केही अंशहरू मेटाभर्सको सोचका रहेका छन्।
हालै फोर्टनाइटले आफ्नो उत्पादनभित्रै साङ्गीतिक कार्यक्रम र अन्य कार्यक्रमहरू प्रवर्धन गरेको छ जसले धेरैलाई के कुरा सम्भव छ भन्ने सङ्केत दिएको छ र स्वानेको मेटाभर्सप्रतिको मोह देखाएको छ। रोबलक्सजस्ता अन्य गेमहरू पनि मेटाभर्सको सोचको वरपर रहेका छन्।
त्रिआयामिक प्रविधि निर्माता युनिटीले हाम्रो विश्वको डिजिटल नक्कल बनाउन लगानी गरेको छ भने एनभिडिया नामक ग्राफिक्स कम्पनीले ओम्नीभर्स नामक त्रिआयामिक विश्वहरू जोड्ने प्रविधि विकास गरिरहेको बताएको छ।
कम्प्युटर गेमको मात्रै कुरो हो त ?
![](https://i0.wp.com/sgp1.digitaloceanspaces.com/ahimages/nepalbahasnepali/uploads/2021/10/computer.jpg?resize=720%2C405&ssl=1)
होइन ! कम्प्युटर गेमसँग धेरै कुरा मिल्ने भए पनि मेटाभर्सको मूल कुरा मानवको सामाजिक अन्तर्क्रिया नै हो। फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ।
अर्को भीआरच्यान नामक एप साथीहरूसँग भेटघाट र गफ गर्न प्रयोग भइरहेको छ। उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।
यस्तो प्रविधि छ र ?
हालैका वर्षहरूमा भर्चुअल रियालिटीको राम्रो विकास भएको छ। यसका उपकरणहरू परिष्कृत मात्रै भएका छैनन् ती बिस्तारै आम मानिसले प्रयोग पनि गर्न थालेका छन्। त्यस्तै फाइभजी प्रविधिको विकासले भर्चुअल विश्वहरू अझै परिष्कृत र पहुँचयोग्य हुन सक्छन्।
तर अहिलेका लागि मेटाभर्स सुरुआती अवस्थामै छ। तर यदि मेटाभर्स कुनै तरिकाले विकास भयो भने अर्को दशक वा त्योभन्दा लामो समय ठूला प्रविधि कम्पनीहरूले यसका लागि ठूलो खर्च र प्रतिस्पर्धा गर्ने पक्का छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फागुन ६, २०८१ मंगलबार