बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार २१:४८:५८
विनोद ढुंगाना
१ कार्तिक, तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् ।
पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । नेपालीको महान पर्व दशैं बेला छ । दशैंमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा बन्द भएको मौका पारेर कोरोना कहरमा घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किएका छन् । त्यसैको प्रभावले यतिबेला बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।
दशैंको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, उनले भने । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।
पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैतदेखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दशैंपछि बन्दीपुरको पर्यटन चलायमान हुँदै गर्दा दोस्रो लहरको कोरोना फैलिएर गत वैशाखदेखि फेरि बन्द गर्नुपर्यो । विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दशैंको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको प्रधानले बताए । उनले अगाडी थप्दै भने, ‘अब बन्दीपुरको पर्यटनले गति लिन्छ कि भन्ने आशा जगाएको छ । हामीले पनि पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’
दशैंको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । उनी भन्छन्, ‘यही तरिकाले चहलपहल कायम रहीरहे बन्दीपुरे पर्यटन व्यवसायीलाई राहत मिल्छ । क्षणिक भयो भने फेरि चिन्ता थपिन्छ ।’ कोरोनाको प्रभावले बन्दीपुरको पर्यटन थलापर्दा व्यवसायीलाई बैंकको ऋण र घरभाडा तिर्न धौधौ भएको उनको भनाइ छ । बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन भएको पौडेलले जानकारी दिए । अहिले देखिएको पर्यटकको चापले बैंकको ऋण र घरभाडा तिर्न केही सहज हुने उनले उल्लेख गरे । पर्यटक बढीरहेको समय बन्दीपुर कोरोनाबाट सुरक्षित भएको प्रचासप्रसार गरेर घुम्न आउनलाई निम्तो बाँड्न आवश्यक रहेको उनले बताए ।
मौलिक शहर बन्दीपुरमा पर्यटकलाई लोभ्याउने आधार हो, भक्तपुरे शैलीमा बनेका ईट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिंगारेको टुँडाल । कोलाहालमुक्त बन्दीपुर बजार । भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे । अन्नपुर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा देखिने टुँडिखेल । मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका । विश्व प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिनेगरी बनाइएको मुकुन्देश्वरी पर्खाल ।
बन्दीपुरका यिनै गन्तव्यमा यतिबेला पर्यटकको चहलपहल देखिन्छ । र अधिकांश होटल पाहुनाले भरिभराउ छन् । बन्दीपुरमा बास बस्ने सोचले घुम्न आएका पर्यटक होटलमा कोठा नपाएर फर्कनु पर्ने अवस्था रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । दशैंले बन्दीपुरको पर्यटनमा उत्साह र उमंग ल्याएको उनी बताउँछन् । ‘कोरोनाका कारण छाएको निराशा हटाउनेगरी क्राउड देखिएको छ । पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ’, उनले सुनाए ।
अब पर्यटकलाई बन्दीपुर घुम्न आउँदा छुटको व्यवस्था मिलाउने योजना बनाएको उनले बताए । ‘बन्दीपुरलाई कोरोना फ्रि घोषणा गर्दैै छुटको प्याकेज ल्याउने योजना छ । जसले गर्दा अझै पर्यटक बढ्ने अनुमान छ’, प्रधानले भने । बन्दीपुरमा साना ठुला गरेर ७० बढी होटल रेष्टुरेन्ट छन् । बन्दीपुर बजार आसपासमा झण्डै आधा दर्जन होमस्टे सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार