सभामुख अग्नि विरुद्ध किन आगो बाल्दैछ संसदमा एमाले !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शनिबार ३:२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/UML-Samsad-e1631098930823_2Sip3d6yB7.jpg)
प्रतिनिधिसभाका बैठकहरू संसदको प्रतिपक्षी एमालेले जबरजस्ती रोकेर ठप्प बनाईरहेको छ । संसदविरुद्धको जोरजुलुम उसको नयाँ कार्यशैली होइन । विगतमा एउटा सिंगो हिउँदे अधिवेशन नै उसले चल्न नदिएर ठप्प बनाईदिएको थियो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा । संसदमा एकताका एमालेको विरोधको शैली संसदका टेबुल–कुर्सी र माइक भाँच्ने, झगडा गर्ने, सभामुखको आसन अगाडि पुगेर नारावाजी गर्ने, संसदको कारवाही ठप्प पार्ने र संसद सचिवालयबाट त्यसबापतको तलब–भत्ता, बैठक भत्ता, ट्याक्सी खर्च सबै लिने गर्दथ्यो ।
अहिले पनि त्यो स्तरको चरित्रबाट एमाले माथि उठ्न सकेको छैन । यतिबेला एमालेको विरोध सरकारतिर होइन, सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध लक्षित छ । एमालेले सांसदबाट निष्काशन गरेका केही सांसदलाई सभामुख सापकोटाले निष्काशनको स्वीकृति नदिएको आक्रोशले गर्दा आफैँले नियुक्त गरेका सभामुखका विरुद्ध एमाले खनिइरहेको छ ।
यी हुन् सभामुख सापकोटा
केपी ओली प्रधानमन्त्री भएको बेला सभामुख नियुक्त भएका अग्निप्रसाद सापकोटाको सन्दर्भमा भन्ने गरिन्थ्यो, ‘खड्ग र प्रचण्डको घर्षणले पैदा भए सभामुखमा अग्नि’ ! ठूलो विवाद, घर्षण, हठ, अडान र जोडपछि उनी राज्यको एक महत्वपूर्ण अंगको प्रमुख हुने भए, तर उनी आफैँमा निर्विवाद अनुहार होइनन् । सर्बोच्च अदालतको संवैधानिक ईजलाशमा मुल्तबी रहेको हत्याको मुद्दामा मुछिएका र द्वन्द्वपीडितले चर्को विरोध गरेका पात्रलाई नै पूर्वमाओवादी अध्यक्ष प्रचण्डले किन सभामुख बनाईछाडे ? सापकोटालाई सभामुख हुनु जति आतुरी थियो, त्यो भन्दा कयौँ गुणा उनलाई सभामुख बनाउन प्रचण्डलाई आतुरी देखिन्थ्यो ।
उनीमाथि काभ्रेका अर्जुन लामाको २०६२ बैशाख १६ गते अपहरणपछि हत्या गरेको, लामापत्नी पूर्णिमाया लगायतको किटानी जाहेरी, सो अपहरण र हत्याका मतियार भनिएका सूर्यमान दोङ्, ‘आधारभूत प्रमाण’ र यसअघि सर्बोच्च अदालतले नै मुद्दा फैसला नहुन्जेल हरेक १५ दिनमा निजका गतिविधिहरूको जानकारी गराउनु पर्ने र अदालतले खोजेका बखत उपस्थित हुनुपर्ने शर्तमा उक्त ज्यानमुद्दा हाललाई स्थगित गरेको आदेश जिउँदै छ ।
सभामुख हुनुअघि २ पटक मन्त्री भईसकेका सापकोटा २०६८ जेठ ६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा बहाल रहेकै अवस्थामा सर्बोच्च अदालतले प्रधानमन्त्री, गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नाममा उनलाई उक्त मन्त्रीपदबाट किन नहटाउने भन्ने कारण देखाऊ आदेश जारी गरेको थियो । एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फे सबै मापदण्डमा सभामुख हुन योग्य हुँदाहुँदै पनि प्रचण्डले आफ्नै हजुरियालाई आकाश–पाताल जोड्नु परेको थियो ।
एमालेसँग एकीकृत भएको माओवादी पक्ष र प्रचण्डको पत्ता साफ हुँदै जाने र ओलीले आफूलाई क्रमशः पाखा लगाउँदै जाने ‘खतरा’ खास कारण थियो । सभामुखमा प्रचण्ड आफ्नै विश्वासपात्रलाई राख्न चाहन्थे । प्रचण्डले आफूसहित तत्कालीन नेकपा सचिवालयका पाँच नेताको वामदेव गौतम निवासमा भेला गरेर ओलीमाथि दबाब बनाउने रणनीति अंगीकार गरेका थिए ।
वामदेवको स्वार्थ संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभाको सांसद प्रधानमन्त्री हुन पाउने बाटो खोल्नु थियो । नौसदस्यीय सचिवालयमा बहुमत सदस्य अर्कोतिर हुँदा ओली दबाबमा परेका र आफ्नो प्रधानमन्त्री पद नै धरापमा परेको टड्कारो महसुस उनलाई हुनथाल्यो । प्रचण्डले बीचको अवधिमा नेकपाका नेता माधवकुमार नेपालसँग लगातार हेलमेल बढाएर ओलीमाथि दबाब बनाएका थिए । करिब दुईतिहाई संसदीय समर्थनको सरकार भएर पनि सभामुख चयनमा अभुतपूर्व फोहोरी खेल र प्रक्रिया चलाएर सापकोटालाई सभामुख बनाउन निर्णय गरियो ।
द्वन्द्वकालीन अपराधले प्रचण्डलाई बढ्तै लखेट्ने गरेको र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई अर्धन्यायिक रुपमा र कानुनी हैसियतले सशक्त बनाएर आफूलाई खतरामा पार्ने हदसम्म संसद र सो आयोगमा कुनै क्रियाकलाप हुन नपाओस भन्नेमा प्रचण्ड चनाखो छन् । त्यसैले आफू प्रधानमन्त्री हुँदाका विवादास्पद महान्यायाधिवक्ता रमन श्रेष्ठलाई उनले यसअघि आयोगको प्रमुख आयुक्त बनाउन लगभग सहमति जुटाईसकेका थिए । तर केके भएर त्यो प्रयास असफल भएपछि उनी यस मामिलामा कांग्रेस सभापति शेरबहादुर देउबासँग हिमचिम बढाउन थाले ।
किनकि २०५८ मा आफ्नै पार्टी नेपाली कांग्रेसले माओवादीलाई दमन गर्न संकटकाल नलम्ब्याउ भन्दाभन्दै अटेर गरेको विषय काँग्रेसभित्र मात्र विवाद भएको थिएन, अन्तर्राष्ट्रिय समुदायको लागि पनि अर्घेलो देखिएको थियो । संकटकाल लगाएर गरिएका हत्याका पीडितहरूले देउबाविरुद्ध पनि धेरै उजुरी दिएका छन् । देउबा र प्रचण्डलाई ती मुद्दाबाट बच्न आपसमा हिमचिम बढाउनु नै थियो । त्यसै क्रममा काँग्रेसको पनि समर्थन जुटाएर अग्नि सापकोटालाई सभामुख बनाउने मौका प्रचण्डलाई मिल्यो ।
सभामुख सापकोटा र मोहन वैद्यको नाता
राजनीतिको प्रारम्भदेखि नै प्रचण्डको निरन्तर निकट र विश्वासिलो भएर क्रियाशील, ०५२ देखि भूमिगत, सिन्धुपाल्चोकको कुबिण्डेमा पुख्र्यौली घर भएका, त्यसै क्षेत्रबाट ३ पटक संविधानसभा सदस्य तथा सांसद निर्वाचित ६५ वर्षीय सापकोटा ०३४ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भए । २०३३ सालदेखि स्थानीय शिक्षकका रुपमा कार्यरत उनी १५ वर्षको शिक्षण पेशा छोडी ०४८ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भए । ०६८ सालमा सूचना तथा सञ्चार र ०७२ मा वन तथा भूसंरक्षण मन्त्री भए । २०६१ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा माओवादीको सभामा नेपाली सेनाले गोली चलाउँदा यिनी घाईते भएका थिए । माओवादी नेता मोहन वैद्य ‘किरण’ र सभामुख सापकोटा सम्धी हुन् । किरणकी छोरी चेतनासँग सभामुखका छोरा दीपकको वैवाहिक सम्बन्ध गाँसिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार