रुपन्देहीका किसान महंगोमा बोरिङ गाड्दै

नेपालबहस संवाददाता
मंसिर ६, २०७८ सोमबार १८:२३:२३

लक्ष्मण पौडेल
६ मंसिर, बुटवल । रुपन्देहीमा सिँचाइका लागि जडान भएका डिप ट्युबेल वर्षौसम्म मर्मत सम्भार हुन सकेका छैनन् । डिप ट्युबेल मर्मत नहुँदा करिब १० वर्षदेखि रुपन्देहीको भूमिगत सिँचाइ प्रभावित भएको छ ।
जलउपभोक्ता समितिलाई २०५८ सालमै हस्तान्तरण गरिएका १६९ वटा ट्युबेलमध्ये २४ वटा पूर्णरुपमा बन्द भएका छन् भने ४० वटाको क्षमता खस्किएको छ ।
डिप ट्युबेल बिग्रेर मर्मत सम्भार हुन छाडेपछि रुपन्देहीका किसानले महंगोमा बोरिङ गाड्न थालेका छन् । कतिपय किसानले आफ्नै लगानीमा स्यालो ट्युबेल जडान गरेका छन् भने कतिपय स्थानीय पालिकाहरूले पनि अनुदानमा उपलब्ध गराएका छन् ।
रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिंचित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल ‘भूमिगत सिँचाइ’ निर्माण सुरु भएको थियो । तर, किसानको बेवास्ता र सरकारले मर्मत सम्भार नगर्दा झण्डै साढे दुई अर्ब रुपैयाँलागतको भूमिगत जल सिँचाइ अलपत्र छ । रोहिणीका किसान रामकिसुन चौधरीले डिप ट्युबेल बन्द भएपछि आफ्नै लगानीमा बोरिङ गाडेको बताए ।
‘महंगोमा बोरिङ गाडेर सिँचाइ गर्दा उत्पादन लागत बढ्छ । अहिले धेरै किसानलाई डिप ट्युबेल बिग्रेकाले समस्या भएको छ’, उनले भने । विश्व बैंकको दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ परियोजना निर्माण सम्पन्न भएको थियो ।
जसअन्तर्गत १६९ वटा डिप ट्युबेल निर्माण भएका थिए । १६ वटा आफै अर्थात अटिजन सिस्टमबाट मात्र चलेको भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका सूचना अधिकारी मोहनकुमार नेपालले बताए ।
डिप बोरिङसहित तीनवटा विद्युत सवस्टेशन निर्माण र करिब दुई सय किलोमिटर कृषि सडकसमेत ग्राभेल भएको थियो । तर, अधिकांश सडक भत्किएका छन् भने केही अतिक्रमणमा परेका छन् ।
भूमिगत सिँचाइ रुपन्देहीका १३ स्थानीय तहमा फैलिएको छ । ट्युबेल बन्द हुने र सिँचाइ क्षेत्र घट्दै जान थालेपछि तीन वर्षअघि संघीय सरकारले तीन वर्षे मर्मत योजना बनाएर १८ करोड ३३ लाख रुपैयाँ छुट्टयाएको थियो ।
बन्द भएका सबै ट्युबेल मर्मत गरेर सञ्चालन गर्न सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएको सूचना अधिकारी नेपालले बताए । ‘अहिले पनि मर्मत संभारका लागि बजेट अभाव छ । बजेट नभइकन बन्द भएका र बिग्रिएका डिप ट्युबेल मर्मत गर्न सकिँदैन’, उनले भने ।
२०३३ मा सुरू भएको आयोजना २०५४ देखि २०५८ सम्म निर्माण सम्पन्न गरी जल उपभोक्ता समिति गठन गरेर हस्तान्तरण गरिएको थियो । उपभोक्ता समितिलाई हस्तान्तरण गरेको वर्ष २०५८ मै नेपाल सरकारलाई आयोजनाले डिप ट्युबेल हस्तान्तरण गरेको हो ।
निर्माण सम्पन्नपछि संरक्षण र व्यवस्थापनको जिम्मा उपभोक्ता समितिले हेर्छ भने मर्मत सम्भार र क्षेत्र विस्तारको काम भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन भैरहवाले गर्दै आएको छ ।
रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरूमा २० हजार हेक्टर जमिनको सिँचाइ डिप ट्युबेलले भएकोमा अहिले घटेर १५ हजारमा सीमित भएको छ । भूमिगत जलस्रोत सिँचाइ अन्य सिँचाइ व्यवस्थापनको तुलनामा उपयुक्त मानिन्छ । बन्द ट्युबेल लामो समय सञ्चालनमा नआउँदा किसानले सिँचाइका लागि अन्य विकल्प खोज्न थालेको सूचना अधिकारी नेपालले बताए ।
रुपन्देहीमा भूमिगत स्यालो तथा सिँचाइ आयोजना अन्तर्गत एक हजार ९९४ वटा स्यालो ट्युबेल पनि जडान भएका छन् । जडान गरिएका स्यालो ट्युबेलले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
जय महाकाली स्यालो ट्यूबेल जल उपभोक्ता समिति मर्चवारका राधेश्याम यादवले स्यालो ट्युबेलको प्रयोग गरी सिँचाइ गरिरहेको बताए । ३५-४० फिटको गहिराइबाट पानी निकाल्न सकिने र बिजुली नभएको ठाउँमा पनि सजिलैसँग कम खर्चमा सञ्चालन गर्न सकिने भएकाले यो ट्युबेलको माग बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार