मुलुकलाई निकास दिन कांग्रेस वैचारिक बहसमा केन्द्रित होस्ः प्रतिपक्षी
सरला बैजु
मंसिर २२, २०७८ बुधबार १८:३२:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-e1638944715516_QlLqNtsGa2.jpg)
नारायण न्यौपाने
२२ मंसिर, काठमाडौं । सहयात्री राजनीतिक दलले १४औँ महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।
प्रमुख प्रतिपक्षलगायत दलले मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको प्रजातान्त्रिक दल हुुनाको नाताले नेपाली समाजले खोजेको मागलाई सम्बोधन गर्ने वैचारिक र राजनीतिक बहसमा केन्द्रित हुन कांग्रेसलाई आग्रह गरेका हुन् ।
कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकका प्रमुख तीन अंग प्रभावकारी नभएको परिस्थितिमा मुलुकलाई निकास दिन गम्भीररूपमा सोचेर नीतिगत बहस चलाउन सुझाव दिए ।
पूर्वसभामुखले भने, “संसद्ले काम गर्न सकेको छैन, न्यायपालिका ध्वस्तै छ, मुलुकमा अहिले धेरै विषय उठेका छन्, यस्तो अवस्थामा कांग्रेस महाधिवेशनको तयारीमा छ, उसले सोच्नुपर्छ, अहिलेको स्थितिबाट देशलाई कसरी बाहिर निकाल्ने भन्नेबारेमा ।”
कांग्रेसको अधिवेशन सफलताका लागि शुभकामना दिँदै एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, “सबै राजनीतिक दलका अधिवेशन लोकतान्त्रिक विधि र प्रक्रियाअनुरुप सफलतापूर्वक हुनुपर्छ, यसले देशको संसदीय प्रणालीलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता छ । यही मान्यतामा उभिएर कांग्रेसलाई मेरो शुभकामना रहन्छ ।”
‘उत्साह, एकता र रुपान्तरण सफल बनाऔँ’ भन्ने नारा तय गरिएको कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । नेपालको प्रजातान्त्रिक दलका रूपमा विश्वमै पहिचान राखेको कांग्रेसले यसपटक महाधिवेशनका लागि प्रतिनिधि छनोटमा पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जहानियाँ राणा शासन, प्रजातन्त्र र गणतन्त्र स्थापना, प्रतिगमनविरुद्धलगायत नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको योगदान रहेको बताए । उनले भने, “कांग्रेस आन्दोलनको पक्षधर हो र यसले नेतृत्वका लागि मात्र नभएर नीतिमा बहस गर्नुपर्छ ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले कांग्रेस देशमा एउटा प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित रहेको बताए। सांसद कर्णले प्रजातन्त्र भनेको संसदीय व्यवस्था मात्रै भन्ने ठान्न नहुने र विकास अघि बढाउने सुस्पष्ट नीति र विचार हुनुपर्ने बताए ।
उनले नागरिक समानता र गरिबी निवारण नभएसम्म प्रजातन्त्रले स्थायित्व पाउन कठिन हुन्छ भन्ने विषयमा महाधिवेशनमा छालफल हुनुपर्ने बताए ।
मुलुकको अनुभवी दलका कार्यकर्ताका हैसियतले कांग्रेसका चार हजार ७०० प्रतिनिधिले शुक्रबारदेखि सुरु हुने महाधिवेशनबाट नयाँ कार्यकालका लागि सभापति, उपसभापति र महामन्त्री दुई–दुई, सहमहामन्त्री आठसहित १३४ पदाधिकारी एवं सदस्यको चयन गर्ने छन् ।
नेपालको संसदीय अभ्यासमा निकै खारिएको कांग्रेसले विसं २०१५ को आमनिर्वाचनमा प्रतिनिधिसभामा ७३, २०४८ मा १११, २०५१ को उपनिर्वाचनमा ८३ र २०५६ मा पुनः १११ स्थानमा विजय हासिल गरेको थियो । मुलुकमा सशस्त्र संघर्षको शान्तिपूर्ण राजनीतिक रुपान्तरणका लागि निर्णायक भूमिका खेलेको कांग्रेसकै अगुवाइमा २३८ वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भएको थियो ।
राष्ट्रिय जनान्दोलन –२ को सफलतापछि पुनःस्थापित ३३० सदस्यीय व्यवस्थापिका –संसद्मा पनि सबैभन्दा ठूलो दलका रूपमा रहेको कांग्रेस विसं २०६४ मा ६०१ सिटका लागि भएको निर्वाचनमा भने ११४ सिटमा खुम्चिएको थियो । विसं २०७० को दोस्रो संविधानसभामा सबैभन्दा ठूलो अर्थात् २०७ सिटका साथ संसद्मा पुगेको कांग्रेसकै अगुवाइमा सात दशक लामो नेपाली जनताको चाहना र बलिदानको उपलब्धिका रूपमा संविधानसभाबाट संविधान जारी गर्न सफलता प्राप्त भयो ।
नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले कांग्रेस नेपालको सामन्तवाद विरोधी आन्दोलनको संर्घषशील राजनीतिक दल भएको जनाउँदै विसं २०७२ को संविधान कांग्रेस र कम्युनिष्ट पार्टीबीच सहमतिको दस्तावेजका रूपमा जारी भएको बताए ।
सांसद पोखरेलले भने, “राणाविरोधी आन्दोलनका क्रममा स्थापना भएको कांग्रेस सहिद, जेलनेल भोगेको राजनीति हो । शासकीय स्वरुप र अरु केही प्रश्नमा मतभेद भए पनि अहिले पनि मिलेर सरकार चलाइरहेका छौँ ।”
प्रतिगमनविरोधी आन्दोलनमा मिलेर नै संघर्ष गरिएको स्मरण गर्दै पूर्वमन्त्री पोखरेलले संविधानको रक्षा र लोकतन्त्रलाई अघि बढाउने सन्दर्भमा पाँच दलबीच मतैक्यता भएकै कारण अहिले पनि सरकारमा मिलेर काम गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए ।
अधिवेशनमा सक्रिय कांग्रेस कार्यकर्ताले वैचारिक बहस भने कम गरेकाले वैचारिक र राजनीतिक बहसमा केन्द्रित हुन सत्ताको नेतृत्व गरेको दललाई सुझाव दिए ।
विसं २०७४ को संसदीय निर्वाचनमा दोस्रो ठूलो दलका रूपमा ६३ सांसदसहित सदनमा प्रवेश गरेको कांग्रेसले पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको नेतृत्व लिन सफल भएको छ ।
पार्टीका पूर्वसभापति बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र महेन्द्रनारायण निधिलाई आदर्श व्यक्तिका रूपमा ग्रहण गर्ने कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पनि मुलुकको राजनीतिमा विशिष्ट योगदान दिएका छन् ।
पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको लोकतान्त्रिक आन्दोलनमा पटक पटक अगुवाइ गरेको कांग्रेस ऐतिहासिक राजनीतिक दल भएको प्रतिक्रिया दिए ।
उनले भने, “प्रत्येक राजनीतिक दलले महाधिवेशनमा वैचारिक बहस अघि बढाउनुपर्नेमा त्यसमा कमी आएकाले कांग्रेसले यस महाधिवेशनमा वैचारिक बहसलाई केन्द्रित गरोस् भन्ने शुभकामना र शुभेच्छा प्रकट गर्छु ।”
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार