कांग्रेस पदाधिकारी निर्वाचनमा विदेशी चासो
नेपालबहस संवाददाता
मंसिर २७, २०७८ मंगलबार ३:४८:४७
सभापति शेरबहादुर देउवा क्याम्पमा अत्यासको मनोविज्ञान बढ्यो कि क्या हो ! पासा पल्टिने जोखिमका जोखाना देखेपछि देउवामा अत्यास बढेको आभास पाइन्छ । कांग्रेस सभापतिमा देउवालाई मत दिएर निर्वाचित गर्नुपर्ने औचित्यको वकालत गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मंसिर २६ गते राजधानीको एक कार्यक्रममा भाषण गरे, “प्रधानमन्त्रीलाई सभापतिमा हराउने अनि निर्वाचनमा पुग है भन्दा कस्तो निर्वाचन हुन्छ ? बुझ्नुपर्छ ।
उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ निर्वाचनमा । आफैँ सभापति पदमा हारेको प्रधानमन्त्री निर्वाचनमा पुगेर कस्तो निर्वाचन गर्ने ? प्रधानमन्त्री उहाँ नै बन्नुहोला, संसदीय दलको बहुमत संख्या उहाँसँगै होला । तर, ठ्याक्कै निर्वाचनको मुखमा सभापति पदमा हराएर निर्वाचनमा जाऊँ है भन्दा कस्तो सन्देश जान्छ ? मेरो आफ्नो मान्यता छ, मनोविज्ञान सबभन्दा ठूलो कुरा हो राजनीतिमा…।” देउवा नै निर्वाचित हुने आत्मविश्वास थियो भने यसो भन्नुपर्ने आवश्यकता किन पर्यो ?
सभापतिमा कसैको पक्षमा ५१ प्रतिशत मत आएन भने दोस्रो चरणको निर्वाचनमा जानुपर्ने हुन्छ । देउवाइतर उम्मेद्वारहरूको इच्छा दोस्रो चरणमा पुगोस् भन्ने स्वतः बुझिन्छ । कारण दोस्रो चरणको निर्वाचनमा अन्य प्रतिस्पर्धीको समर्थनले निर्णायक महत्व राख्दछ । गएको तेह्रौं महाधिवेशनमा दोस्रो चरणमा मतदान गर्नुपरेको थियो, जसमा तेस्रो बढी मत पाएका कृष्णप्रसाद सिटौला पक्षको धेरै मत देउवालाई परेपछि उनी सभापति निर्वाचित हुन पाएका हुन् । उनलाई देउवा जिताउनभन्दा बढ्ता रामचन्द्र पौडेललाई सभापति हुन निषेध गर्नु थियो ।
कांग्रेसको तेह्रौं महाधिवेशन भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको चौधौं महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रधानमन्त्री देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणको निर्वाचनबाटै निर्णायक परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एकजनाले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुनुपर्ने, कांग्रेसको पार्टी विधानले व्यवस्था गरेको छ । दोस्रो चरणको मतदान आवश्यक परे मंलबार सम्पन्न गर्ने तयारी गरिएको छ।
विदेशी चासो !
कांग्रेसको यस महाधिवेशनमा अन्तर्राष्ट्रिय चासो ‘सक्रिय चनाखो चुपचाप पर्यवेक्षण’ (Active vigilant silent observation) को रुपमा भइरहेको परिसूचकहरूबाट बुझिन्छ । उपसभापति विमलेन्द्र निधिले देउवाको समूह परित्याग गरेर आफैं सभापतिको उम्मेद्वार बने । हालै उनले घोषणा गरे, “पहिलो चरणमा सभापतिको टुङ्गो लाग्ने छैन । दोस्रो चरणमा सबै उम्मेद्वारले देउवाको विपक्षमा मतदान गर्नुपर्छ…।”निधिले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्दै दोस्रो चरणमा देउवाबाहेकको समूह एक हुने सङ्केत गरे । निधिले देउवा क्याम्प छोड्नु जति महत्वपूर्ण थियो, यो घोषणा त्यति नै अर्थपूर्ण मानिन्छ ।
कांग्रेसको तेस्रो गुटका नेता कृष्णप्रसाद सिटौला कुनै पनि पदमा उम्मेद्वार नभएको घटना अर्को अर्थपूर्ण गतिविधिका रुपमा रहेको छ । उनले देउवा पक्षमा मिलेर आफ्ना पक्षधर केहीलाई उम्मेद्वार बनाएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, सहमहामन्त्रीमा उमाकान्त चौधरी लगायत कतिपय केन्द्रीय सदस्यका उम्मेद्वारहरू । उनी आफैंचाहिं किन उम्मेद्वार बनेनन् ? विदेशी गोटीचाल यसैमा देखिन्छ ।
कांग्रेसका १५-१६ जना जिल्ला सभापति आफूसँग भएको दाबी गर्ने सभापतिका अर्का उम्मेद्वार पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि निकटतम प्रतिद्वन्द्वी हुनसक्ने सम्भावना देखिन्न । कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया शुरू भएपछि उनले सार्वजनिक रुपमा नै भनेका थिए, “पार्टी फुटाएर भए पनि देउवालाई सभापति पदबाट बिदा गर्नुपर्छ” । त्यसैले दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई आफ्नो पक्षको मत खन्याउने सम्भावना एकदमै न्यून छ ।
प्रकाशमान पक्षबाट कांग्रेस उपसभापतिको उम्मेद्वार भएकी गिरिजा पुत्री सुजाता कोइराला चुनावी राजनीतिमा आफू सरिक नहुने भन्दै थिइन् । हाल उनी प्रकाशमान टिममा सामेल हुनुको बेग्लै अर्थ छ । दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेद्वार डा. शेखर कोइ्रालालाई प्रकाशमान पक्षका मत ल्याउने वातावरणको लागि सेतुको भूमिका निर्वाह गर्नुपर्ने महत्वले पनि सुजाताले प्रकाशमान टिममा सामेल हुनुपरेको देखिन्छ । विगतमा गिरिजाप्रसाद कोइरालाका विरुद्ध जेहाद छेडेका सर्वोच्च नेता गणेशमान सिंह र उहाँका छोरा वर्तमान कांग्रेस नेता प्रकाशमान सिंहको टिमसँग गिरिजा पुत्री सुजाता संलग्न हुनुपर्ने अन्य कुनै कारण छैन ।
बीपी पुत्र तथा पार्टीका महामन्त्री डा. शशांक कोइराला केन्द्रीय सदस्यको लागि मात्र उम्मेद्वार भएका छन् । तर उनलाई देउवा पक्षले आफ्नो टिममा देखाएपछि उनले विरोध गरे । यसले पनि प्रष्ट पार्दछ, उनी डा. शेखर कोइरालाको पक्षमा छन् । मौन वा प्रकट रुपमा कांग्रेस सभापतिको लागि मुख्य प्रतिद्वन्द्विता देउवा र डा. शेखर कोइरालाकै बीच हुनेछ ।
उपरोक्त गतिविधिहरू किन र कसरी भइरहेका छन् ? यी स्वचालित गतिविधि हुन् कि सञ्चालित गतिविधि ? यस्ता प्रश्नको जवाफ खोज्दै जाँदा विदेशी आँगनमा पुगिन्छ, जहाँबाट यो महाधिवेशनलाई ध्यान दिएर हेरिरहेको पाइन्छ । यो हेराइमा परिणाम यसै हुन्छ भन्ने कुनै भरोसा वायकिन छैन । त्यसैले देउवा पक्षको गुट पनि भत्किएको अवस्थामा छ र ‘संस्थापनइतर’ भनिएको पक्ष पनि तितरबितर अवस्थामा छ । जे भए तापनि पहिलो चरणबाट नतिजा देउवाको पक्षमा जान नसके दोस्रो चरणमा उनलाई निकै कठिन हुनसक्ने सबैले देखेका छन् । तर पनि सभापतिका उम्मेदवारहरूबीच दोस्रो चरणमा एकजुट हुन छलफल भएको छैन । पुराना र नयाँको मिश्रित प्रतिनिधित्व चाहने मतदाताले एउटै समूहमा मात्र मतदान गर्ने सम्भावना पनि कमै देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार