एमसीसी निर्णायक मोडमा, शीर्ष नेताहरुको दौडधुप तीव्रः के देउवाले गठबन्धन तोड्दै संसदबाट अनुमोदन गर्लान् ?
नेपालबहस संवाददाता
माघ २७, २०७८ शुक्रबार ०:१४:२६
२७ माघ, काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले । गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो ।
एमसीसीको अध्यक्षमा अमेरिकी विदेशमन्त्री रहने गर्छन् । वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा कूटनीतिक मर्यादा विपरीत अर्को देशको विदेशमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्र बाहिरिएपछि निकै आलोचना पनि भयो । आलोचना यसकारण झन् बढी भयो किनभने प्रचण्डले उक्त पत्र नपठाएको दाबी गर्दै आएका थिए । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले नै उक्त पत्र सार्वजनिक गरेपछि प्रचण्डलाई राजनीतिक र कूटनीतिक रुपमा अप्ठेरो अवस्थामा पु¥यायो ।
पत्रमा देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदन गर्न थप समय उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यति मात्र होइन उनीहरुले २०२२ फ्रेब्रुअरी २९ भित्र एमसीसीलाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्रमा गरेका थिए । एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच दूरी बढीरहेको बेला देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । यसले सत्तारुढ दलहरुबीच झन् दुरी बढाइदियो ।
‘प्रम देउवा र अध्यक्ष क।प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकार गरिने छैन,’ पत्र सार्वजनिक भए लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेको यो ट्वीटले सत्तारुढ गठबन्धनबीच एमसीसीले दुरी बढाएको पुष्टी गर्छ ।
यसको केही दिनअघि मात्र केही मिडियाले प्रधानमन्त्री ‘देउवाले एमसीसी संसदबाट अनुमोदन नभए गठबन्धन तोडिने’ जनाएको भन्दै समाचार सामाग्री प्रस्तुत गरेका थिए । ‘कुनै भ्रममा नपरौं, प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ माओवादी नेता श्रेष्ठले उतिखेरै खण्डन गरेका थिए, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’
अहिले, सक्तारुढ दलहरुमध्ये सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्नुपर्ने अडानमा छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।
एमसीसीलाई लिएर सत्तारुढ दलहरु दुई कित्तामा बाडिरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्रले एमसीसीलाई लिएर प्रचण्डले खेल्दै आएको दोहोरो चरित्र उदाङ्गियो । प्रधानमन्त्री देउवाले यसअघि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमसीसीका विषयमा छलफल गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले सरकारले संसदमा एमसीसी टेवल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन् ।
यसैबीचमा यही माघ २३ गते आइतबार देउवा र प्रचण्डको पत्र सार्वजनिक भएपछि शीर्ष दलका नेताहरुको दौडधुप बढेको छ । देउवाले एमसीसी अनुमोदन गर्न माओवादी लगायतका दलले सहयोग नगरे गठबन्धन भत्काएर पनि अघि बढ्ने संकेत गरिसकेका छन् । उनकै पार्टीका नेताहरुले देउवालाई यस्तो गर्न दबाब दिइरहेका छन् ।
पत्र सार्वजनिक भएकै दिन माघ २३ गते देउवाले बालुवाटारमा ओली र प्रचण्डलाई बोलाई छलफल गरेका थिए । छलफलमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने धारणा राखेका थिए भने ओलीले सरकारको औपचारिक धारणा सार्वजनिक भएपछि एमालेले आफ्नो धारणा राख्ने बताएका थिए ।
देउवा गठबन्धन तोडेर भनेपनि एमसीसी अघि बढाउने मुडमा रहेको बुझेपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला माघ २५ गते एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । गठबन्धन तोडेर अघि बढ्न देउवालाई सल्लाह दिंदै आएका कोइरालाले ओली एमसीसीको वहानमा कांग्रेस भित्र खेल्न खोजेका हुन वा होइनन् भन्ने बुझ्न चाहेका थिए । स्रोतका अनुसार भेटमा ओलीले एमसीसीको वहानमा कांग्रेसभित्र आफूले खेल्न नचाहेको स्पष्ट पारेका थिए ।
एमसीसीलाई लिएर बुधबार अर्थात् माघ २६ गते प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्तामा उनीहरुले एमसीसी मुद्दामा साझा धारणा बनाएका थिए । साझा धारणा बनाएर प्रचण्ड र नेपालले बिहीबार (आज) बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा अर्थात संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने अडान राखेका थिए ।
यसैबीचमा माघ २६ गते राखिएको प्रतिनिधिसभाको बैठक एक साता पर सारिएको थियो । देउवा संसदमा एमसीसी टेवल गर्ने पक्षमा थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसी मुद्दामा आफ्नो पूर्व दल माओवादीलाई साथ दिंदै आएका छन् जसले गर्दा उनको आलोचना पनि भइरहेको छ ।
सापकोटाको भूमिकालाई लिएर एमाले मात्र होइन पछिल्ला दिनहरुमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता पनि असन्तुष्ट बनेका छन् । कांग्रेसका नेताहरुले सभामुख सापकोटालाई हटाएर भएपनि एमसीसी अघि बढाउनुपर्ने दबाब सरकारलाई दिइरहेका छन् ।
बिहीबार नै प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई भेटिपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा एमसीसी र गठबन्धनका विषयमा छलफल भएको थियो । बैठकमा डा. रामशरण महतले एमसीसी असाध्यै राम्रो भएको भन्दै ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफूलाई बोलेको कुरा लेखेर दिन महतसँग आग्रह गरेका थिए । ‘बैठकमा एसीसी अनुमोदन गर्न गठबन्धन तोड्नु परे पनि तोडेर अघि बढ्नु पर्ने कुरा उठेको छ,’ कांग्रेस नेता डा. शशांक कोइरालाले भने ।
पछिल्ला घटनाक्रमले देउवा तत्काल संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने कुरामा प्रष्ट रहेको देखाएको छ । यसको लागि गठबन्धन तोडेर पनि अघि बढ्न उनले चाहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी भने गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु हालकै अवस्थामा एमसीसी अनुमोदन गर्ने पक्षमा पनि छैनन् ।
यी सबै घटनाक्रमले एमालेलाई निर्णायक बनाएको छ । देउवाले गठबन्धन तोडेर अघि बढ्न चाहे एमालेको विश्वास जित्न आवश्यक छ । गठबन्धन जोगाउने हो भने माओवादी, एकीकृत समाजवादी लगायतका दलको साथ लिई एमसीसी सम्झौता संशोधन गर्नुपर्ने देखिन्छ । तर यो त्यति सहज हुनेछैन किनकी उनले अमेरिकालाई एमसीसी पास गर्ने भनि आफैले दिएको मिति नजिकिदै छ । फेब्रुअरी महिना भित्र एमसीसी पास गरिसक्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार