नेतृत्वबिहिन भएका भातृसंस्थाहरुको अधिवेशन तत्काल गर्नुपर्नेमा वरिष्ठ नेता शेखर कोइरालाको जोड

नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार २२:२५:१२

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पुर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
हिजोदेखि जारी केन्द्रीय कार्य सम्पादन समितिको वैठकमा आज आफ्नो लिखित मन्तव्य राख्दै वरिष्ठ नेता कोइरालाले निष्ठापूर्वक पार्टी विधानको पूर्णपालना गर्नुको विकल्प नभएको बताउँदै विधानत नेतृत्वबिहिन भएका सबै भातृसंस्थाहरुलाई विधान अनुसार अधिवेशनको प्रकियामा यथाशक्य छिटो लैजानु पर्ने भनाई जोडदार रुपमा राखेका छन् ।
फागुन १० गते भित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गर्नुपर्ने तथा कांग्रेसको राजनीतिक आदर्श विपरित अन्य दलसँग अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्ने दावी गरेका छन् ।
एमसीसी परियोजनालाई संसदमा टेबुल गरि निष्र्कषमा पुर्याउनु पर्ने बताउँदै वरिष्ठ नेता कोइरालाले नयाँ क्रियाशील सदस्यता वितरण तत्काल सुरु गरि विवाद भएर थाँती रहेका पुराना क्रियाशील सदस्यताको बिधान अनुसार टुङ्गो लगाउनु पर्ने बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले राखेको मन्तव्यको अंशः
महाधिवेशन सके लगत्तै हामी चुनावी बर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टीभित्रको एकता, सद्भाव र साथीहरुको न्यायोचित व्यवस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घरभित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन । सभापतिज्युले केन्द्रदेखी वडासम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पुर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रकृया बमोजिम पुर्णता दिन आग्रह गर्दछु । मैले यो विषयलाई यसकारण प्रारम्भ मै राखेको हुँ, की पार्टीको केन्द्रीय समितिमा मनोनयन तथा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा सभापतिबाट कति न्याय र विवेक अपनाईयो भन्ने विषय बहसमै छ ।
मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पुर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । यसकारण सभापतिज्युले सानातिना कुराबाट माथि उठेर न्यायोचित र सम्मानजनक निर्णय गर्नुहुन्छ भन्ने बिश्वास लिएको छु ।
१) हाम्रा भातृ तथा शुभेच्छुक संस्था भनेका पार्टीका शक्ति हुन । आम समुदायलाई पार्टीको मुलधारसँग जोड्ने प्रमुख माध्यम हुन । त्यसकारण विधि, विधान र लोकतान्त्रिक प्रकियाबाटै यी संस्थाहरुको नेतृत्व चयन हुनुपर्छ । अहिले कतिपय भातृसंस्थाका सभापतिहरु केन्द्रीय समितिमा हुनुहुन्छ । विधानतः यी संस्थाहरु नेतृत्वबिहिन छन । कतिपय भातृ र शुभेच्छुक संस्थाहरुको समयावधि सकिएको बषौँ समेत भैसक्यो । ती सबै भातृसंस्थाहरुलाई विधान अनुसार अधिवेशनको प्रकियामा लैजानु पर्छ । कुनै पनि बहाना वा पार्टी विधानको धारा निलम्वन गरेर अगाडि जान हुँदैन । हामीले निष्ठापूर्वक पार्टी विधानको पूर्णपालना गर्नुको विकल्प छैन ।
अतः अब रत्तिभर ढिला नगरी ती संस्थाहरुलाई चलायमान बनाउन विधान, लोकतान्त्रिक विधि र प्रकृया बमोजिम नेतृत्व चयनका लागि महाधिवेशन प्रकिया अगाडि बढाउन प्रस्ताव गर्दछु ।
२) बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गते भित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरौँ भन्नेमा जोड दिन चाहन्छु ।
३) स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । अब हामीले गाउँदेखि शहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्याएका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पुर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौँ । यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ । र, मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छाप मै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु ।
यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ । यही जीतको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ । मैले यो विषय आफ्नो व्यक्तिगत धारणाका रुपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरिरहनु भएका पार्टीका साथीहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझाव र उहाँहरुको भावनालाई जस्ताको त्यस्तै राखेको हुँ ।
४) अहिले विश्वले नै कौतुहलतापुर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन । यो बिषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ । नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।
अतः एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।
५) नयाँ क्रियाशिल सदस्यता वितरण तत्काल सुरु गरौँ र विबाद भएर थाँती रहेका पुराना क्रियाशील सदस्यताको बिधान अनुसार टुङ्गो लगाऔँ ।
अन्त्यमा,कांग्रेसभित्रको एकता, सबै साथीहरुको सम्मान र न्यायोचित व्यवस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा सम्बर्धन सम्भव छ । मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ । जय नेपाल ।
डा. शेखर कोइराला
२८ माघ २०७८
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार