एमसीसीमा पक्ष र विपक्षका आवाजः पारितपछिका राजनीतिक असर कस्ता होलान् ?
भेषराज पोखरेल
फागुन १७, २०७८ मंगलबार २३:५६:०
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको सहयोगसम्बन्धी सम्झौता ठूलो विवादका बीच संसदबाट पारित भएको छ । सुरुमा कम्युनिष्ट पार्टीका सरकारहरुले नै एमसीसी ल्याउन प्रयास गरेका भएपनि पछिल्लो समय ती दलका नेताहरुले एमसीसीमा उल्लेख गरिएका प्रावधान नेपालको संविधानविरुद्धमा भएको र नेपालको सार्वभौमसत्ता नै धरापमा पार्ने खालका भएकाले ती बुँदा संशोधन नभएसम्म पारित गर्न नहुने अडान लिए ।
निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला संसद सचिवालयमा दर्ता गराए पनि आफ्नै पार्टीका नेताहरुको विरोधका कारण संसदमा पेश गर्न सकेका थिएनन् । अन्तिममा भने माओवादी केन्द्र र एकीकृत समाजवादी दल व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भए । याे गत फागुन १५ गते संसदबाट विधिवत् पारित भएको छ ।
संसदबाहिरका साना बामपन्थी दलहरुले एमसीसीको चर्को विरोध गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका केही नेताहरुले पनि यसको विरोध गरेका छन् । त्यसमा सर्वसाधारणको मत छँदैछ । संसदमा प्रतिनिधित्व गर्ने ठूला दलका अधिकांश नेताहरुले राम्रो भनेका छन् । पक्ष, विपक्षमा आवाज त चर्किरहेकै छन् । विरोध र समर्थनबीच अगामी दिनमा एमसीसीको विषयले राजनीतिक परिदृश्यमा प्रभाव त अवश्य पार्नेछ । ती असर कस्ता होलान् ? कुन कुन दललाई कति असर पार्ला ? अहिलेको जनचासोको विषय बनेको छ ।
नेपाल आर्थिक रुपमा अत्यन्तै कमजोर राष्ट्र हो । राज्यसञ्चालनको व्यवस्थापकीय पक्ष पनि अत्यन्तै कमजोर छ । प्रजातान्त्रिक राष्ट्र भएपनि यसलाई शक्ति दिने सामाजिक संस्थाहरु एक त छैनन्, भएका पनि मृतप्रायः छन् । जसले गर्दा राजनीतिक दलहरु पनि नीतिगत रुपमा कमजोर छन् । तिनका नेताहरु लेख्ने, बोल्ने एउटा काम अर्कै गर्न कुनै अप्ठ्यारो मान्दैनन् । यस्तो अवस्थामा सरकारमा जाने नेताहरुले व्यवस्थित राज्यसञ्चालन गर्नुभन्दा धन र शक्ति कसरी आर्जन गर्ने भन्नेतिर लाग्ने गरेका छन् । जसले गर्दा राज्यव्यवस्थामा भ्रष्टाचार र अनियमितता बढिरहेको छ ।
आन्तरिक पुँजी निर्माण हुने क्षेत्र व्यवस्थित गर्दै, जनतालाई सहभागी गराउँदै अगाडि बढ्नुपर्नेमा नेतृत्वपंक्ति जसरी पनि सत्ता र शक्ति हात पार्ने ध्याउन्नमा भएकाले दलाल पुँजीपतिहरुलाई प्रश्रय दिनपट्टि लागे । यस्तो अवस्थामा विकासका पूर्वाधारका लागि आन्तरिक पुँजीले पुग्ने कुरा भएन । विदेशी सहायता तथा ऋण स्वाभाविक रुपमा नलिइ नहुने भयो नै । आर्थिक रुपले कमजोर राष्ट्र, नेताहरु धन र सत्ता, शक्ति आर्जन गर्न दलालवृत्तिलाई प्रोत्साहन गर्ने राष्ट्रलाई विदेशी राष्ट्र र निकायले अनुदान वा ऋण सहयोग दिँदा कडा खालका प्रावधान किन नराखून् र ? जुनसुकै राष्ट्र वा निकायले अनुदान सहयोग गर्दा राष्ट्रको औकात हेरी शर्त राख्ने हुन् । एमसीसीका शर्त कडा अवश्य छन्, बीआरआईका शर्त त्यसभन्दा सरल हुने छैनन् ।
यी शर्तले भविष्यमा नेपाललाई कस्तो असर पार्लान् भन्ने आमनेपालीको ठूलो चासोको विषय बनेको छ । व्याख्यात्मक टिप्पणीले केही अर्थ राख्ला कि नराख्ला ? संसारको अवस्था र नेपालको विगतलाई हेर्दा उही कुरा आउँछ । सरकार दह्रो भए, न्यायपूर्ण शासन संयन्त्रमा प्रतिबद्ध भए, दलालवृत्ति हट्दै गए, भ्रष्टाचार हट्दै गए व्याख्यात्मक टिप्पणीले ठूलै नैतिक बल दिन्छ । यी कुरामा सुधार नभए, दलहरु आपसमा लडिरहे, सत्ता र शक्तिका लागि जेपनि गर्न तयार भए, जनताको जीवनस्तर कमजोर हुँदै गए यस्ता टिप्पणीको कुनै अर्थ रहँदैन ।
अमेरिका होस् वा चीन नेपालको राज्यसंयन्त्रका कुनै शक्तिलाई हातमा लिएर आफ्ना शर्त पूरा गराउन लागिहाल्ने छन् । भारत पनि त्यस्तै अवस्थामा खेलिरहेको त हामी देखिरहेकै छौं नि । भारतसँग भएका सन्धि, सम्झौता नेपालको पक्षमा किन कार्यान्वयन भएनन् ? कारण त्यही हो ।
एमसीसीका विषयमा यति ठूलो विवाद भयो । प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीसँग सहयोग माग्नसमेत गए । अन्त्यमा व्याख्यात्मक टिप्पणीसहित सत्ता गठबन्धनले नै पारित गर्यो । यसको असर तत्काल आउँदै गरेको स्थानीय निर्वाचनमा पर्ने सम्भावना बढी छ । कसलाई बढी प्रभाव पर्ला त ? यो विषय अति विवादित हुँदा प्रतिपक्षी दल पनि विरोधमा भएको भए निर्वाचनमा सत्ता गठबन्धनलाई ठूलै असर पथ्र्यो । एमालेले पनि शर्तसहित पास गर्न सहयोग गर्न तयार भएकाले जनताले सबै दल उस्तै रहेछन् भन्ने अवस्था बन्न गएको छ ।
तैपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिले प्रधानमन्त्रीसँग मिलेर पास गर्ने प्रतिबद्धतासहित चिठी लेख्ने, पछि चर्को विरोध गर्ने र अन्त्यमा व्याख्यात्मक टिप्पणीसहित पास गर्ने गर्दा माओवादीप्रतिको जनताको भरोसा कमजोर भएको देखिन्छ । यसको असर स्थानीय निर्वाचनमा पर्न सक्ने देखिन्छ भने एकीकृत समाजवादीले पनि शुरुमा चर्को विरोध गरेर अन्त्यमा सत्ता जोगाउन कुनै उपाय अपनाएर पास गर्यो भन्ने जनतामा पर्न गएको छ । यसले उसलाई पनि असर पर्ने देखिन्छ । पछिल्लो अवस्थाले कांग्रेस र एमाले दुवैले पारित गर्नुपर्छ भनेकाले उस्तै मान्ने अवस्था छ । अरु वैकल्पिक राजनीतिक शक्ति अगाडि नआएकाले यिनीहरुलाई नै चुन्नुपर्ने बाध्यतामा जनताको ठूलो पंक्तिले निर्वाचनमा भागै नलिने अवस्था बढी देखिएको छ ।
कांग्रेसका भ्रातृ संगठनहरुले भनेजस्तो यो राष्ट्रका लागि अति ठूलो कुरा होइन । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सहयोग अझ बढ्ने, विश्वका अरु देशको लगानी बढ्ने, सहयोग बढ्ने केही पनि हुने छैन । नेपालको राज्यसंयन्त्र कसरी अगाडि बढ्छ यस्ता कुरा त्यसैमा निर्भर गर्नेछन् । हामीले हेरिसक्यौं, भोटेकोशी, खिम्ती जलविद्युत् आयोजना बनेपछि नेपालमा विदेशी लगानी ओइरिन्छ भनियो । खोइ त लगानी ? बरु यी दुवै आयोजनाले नेपाललाई ठूलै अप्ठ्यारोमा पो पारे ।
अर्को, एमसीसीको विरोध गर्नेहरुले भनेजस्तो अमेरिकाको ठूलो हस्तक्षेप हुने, सेना नै नेपालमा आउने, यी कुरा पनि हुँदैनन् । सरकारले कुशल व्यवस्थापन गर्न सके यसबाट नेपालले फाइदा लिन सक्छ, नभए त गुमाउने नै हो । अहिलेको अवस्थामा राजनीतिक दलहरु जनताको आँखामा सही ठहरिन यसलाई सचेत रुपमा लिएर कुशल व्यवस्थापनसहित अघि बढाउनुपर्छ ।
यसलाई सही नै रहेछ भन्ने अवस्था सिर्जना गर्न सक्यो भने राजनीतिक दलप्रतिको जनताको अविश्वासको जालो हट्न सक्छ नभए यो आन्तरिक द्वन्द्वको बीउ बन्न पनि सक्छ । वर्तमान राजनीतिक दलहरुका नेताहरुप्रतिको जनाको विश्वास हटेर जाने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार