लुम्बिनी प्रदेश विश्वविद्यालयः मुख्यमन्त्री निर्णय उल्टाउने तयारीमा !

नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २२:२६:५०

♦ लक्ष्मण पौडेल
१ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो सरकारले लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमा स्थापना गर्ने भनेर गरेको निर्णय उल्टाउने तयारी गरेका छन् । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बाँकेको खजुरा गाउँपालिकामा प्रदेश विश्वविद्यालय स्थापनाको निर्णय गरेको थियो । त्यतिबेलाको मन्त्रिपरिषद्ले निर्णय गर्दा हालका मुख्यमन्त्री केसी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
विश्वविद्यालय सार्ने तयारी भएपछि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका स्थानीय संघर्ष समितिका अगुवाहरूलाई मुख्यमन्त्री केसीले समय नदिएपछि पत्रकार सम्मेलन गरी अघिल्लो निर्णय उल्टाए कुनै हालतमा नमान्ने चेतावनी दिएका छन् । ‘कार्यालयमा समय नदिए जहाँ गएर भए पनि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौँ र विश्वविद्यालय नसार्न दबाब दिन्छौं,’ प्रादेशिक विश्वविद्यालय लुम्बिनी प्रदेशकी संयोजक एवं पूर्वमन्त्री आरती पौडेलले भनिन् ।
बाँकेको खजुरा गाउँपालिकाले गाउँसभाबाट निर्णय गराएर विश्वविद्यालयका लागि एक सय बिगाहा जग्गा उपलव्ध गराउन जिल्ला समन्वय समितिमा पत्र पठाएपछि जिल्ला सभाले उक्त प्रस्ताव अनुमोदन गरी मुख्यमन्त्री कार्यालयमा पठाएको थियो । सोही अनुमोदनको आधारमा लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि नीति कार्यक्रममै समावेस गरेको थियो । यस्तै प्रदेश सरकारले बाँकेको खजुरामा बन्ने विश्वविद्यालयका लागि आर्थिक वर्ष २०७६/७७ मा तीन करोड, ०७७/७८ मा सात करोड र चालु आर्थिक वर्षमा १० करोड बजेट बिनियोजन गरेको थियो ।
बजेट बिनियोजन भएपछि खजुरा गाउँपालिकाले आफ्नै खर्चमा गाउँपालिकाको वडा नम्बर ८ रनियापुरमा प्राविधिकद्वारा नापी गराई जग्गा छुट्टयाएको थियो । विश्वविद्यालय स्थापनाकै शिलशिलामा तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बराल, बाँके जिल्लाका सांसदहरू, स्थानीय सरकार प्रमुख लगायतले निरीक्षण गरी उक्त स्थान उपयुक्त रहेको ठहर गरेका थिए । लगत्तै लुम्बिनी प्रदेशसभाले विश्वविद्यालय स्थापनाको निर्णय अनुमोदन गरेको थियो ।
मुख्यमन्त्रीको निजी स्वार्थमा विश्वविद्यालय सार्न लागेको आरोप
प्रदेश संसदले पारित गरिसकेको प्रादेशिक विश्वविद्यालयलाई विभिन्न बहानामा अन्यत्र सार्ने दुस्प्रयास गर्नु गैरकानुनी मात्र नभइ गैरजिम्मेवारी रहेको संघर्ष समिति संयोजक पौडेलले बताइन् । स्थानीयले मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको निजी स्वार्थमा विश्वविद्यालय सार्न खोजिएको आशंका गरेका छन् । विश्वविद्यालय स्थापनाको लागि दाङ र कपिलवस्तुका विभिन्न स्थानमा जग्गा हेर्ने काम भइसकेको छ ।
बाँकेको खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरी तयारी गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीले बताए । ‘खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएको छ,’ उनले भने, ‘दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने तयारी छ । जहाँ उपयुक्त हुन्छ त्यही राखिन्छ ।’
उनका अनुसार प्रदेश विश्वविद्यालय स्थापनाका लागि शिक्षा मन्त्रालयमा पटकपटक बैठक बसी काम अन्तिम चरणमा पुगिसकेको छ । जग्गा प्राप्तिका लागि कपिलवस्तुको बहादुरगन्जमा रहेको रामराज्य माविको २५ बिगाह जग्गा, दाङको बंगलाचुली गाउँपालिकाको पाँच सय रोपनी जग्गा र महेन्द्र संस्कृत विश्वविद्यालय दाङको १३ सय रोपनी जग्गाको अनुगमन समेत गरिएको उनले बताए । ‘विभिन्न स्थानका जग्गाको अनुगमन गरिसकेका छौं,’ उपाध्यक्ष क्षेत्रीले भने, ‘सबै स्थानमा अनुगमनपश्चात अहिले छलफल चलिरहेको छ ।’
अघिल्लो सरकारका सामाजिक विकासमन्त्री रहेका माओवादी नेता सुदर्शन बरालले भने कुनै हालतमा विश्वविद्यालय सार्न नहुने बताए । बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय सबै हिसाबले उपयुक्त रहेको र सरकारैपिच्छे निर्णय उल्टाउने परिपाटीले गलत परम्पराको थालनी हुने उनले बताए ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले सम्भाव्यता अध्ययन, जग्गाको नापजाँचदेखि बजेट समेत छुट्टिइसकेको र प्रदेशसभाले समेत अनुमोदन गरिसकेको अवस्थामा निर्णय परिवर्तन गर्न खोज्नु गैरकानुनी हुने बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफूहरूका माग अस्वीकार गरिए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । ‘विश्वविद्यालय कुनै हालतमा सार्न दिन्नौं, सार्न खोजिए संघर्षका कार्यक्रम अगाडि बढाइने छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार