स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकायको जिम्मेवारी तोकियो
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १७:८:१८
१४ चैत, काठमाडौं । गृहमन्त्री नेतृत्वमा रहेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायले गर्नुपर्ने कामको जिम्मेवारी तोकेको छ ।
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी खटाइनेछ । सुरक्षा समितिको बैठकले विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको छ ।
गृहमन्त्रालयकाअनुसार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीतिअनुसार विकट स्थानमा निर्वाचन सामग्री ढुवानीको जिम्मा सेनालाई दिएको हो । निर्वाचनका लागि मतपत्र छपाइसम्बन्धी सुरक्षाको जिम्मा पनि सेनालाई दिइएको छ ।
निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मीको अभाव हुने हुँदा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्दै आएको महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरुको सुरक्षा व्यवस्थाको जिम्मा पनि सेनालाई दिइएको छ । आपतकालीन उद्धारमा जनशक्ति र सामग्री परिचालनका लागि हेलिकोप्टर परिचालन गर्ने जिम्मेवारी सेनालाई दिइएको छ ।
यस्तै निर्वाचनको समयमा भेटिन सक्ने विष्फोटक पदार्थलाई निष्कृय पार्न बम डिस्पोजल टोली परिचालन गर्ने जिम्मेवारी पनि सेनालाई दिइएको छ । यसका लागि मतदान केन्द्र नजिकै सेनाको तैनाथी रहने छ भने जिल्लाको सुरक्षा संवेदनशीलताका आधारमा सेनालाई परिचालन गरिने छ । मतदानको समयमा बाहिरी सुरक्षा घेरामा सेना परिचालित हुने र सेनाले आवश्यकता अनुसार हवाई गस्ती समेत गर्नेछ ।
समितिको बैठकले कारागार र विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई पनि निर्वाचन सुरक्षामा खटाउने भएको छ । अब त्यसको जिम्मेवारी सेनाले लिनेछ । मतदानको ३० दिनअघिबाट सेनालाई पनि पट्रोलिङमा खटाउने व्यवस्था एकीकृत सुरक्षा नीतिमा गरिएको छ ।
निर्वाचनको समयमा न्यूनतम बल प्रयोग गर्न पनि सबै निकायलाई भनिएको छ । सशस्त्र प्रहरी बललाई निर्वाचनको दोस्रो घेरामा प्रयोग गर्ने भनिएको छ । साथै, सुरक्षा उपस्थितिका लागि विभिन्न क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गर्ने जिम्मा पनि सशस्त्र प्रहरीलाई दिइएको छ । हरेक स्थानीय तहमा सशस्त्र प्रहरीलाई परिचालन गर्ने निर्णय भएको गृह स्रोतको भनाइ छ ।
निर्वाचनको पहिलो घेरामा प्रहरीलाई खटाइने छ । प्रहरीकै नेतृत्वमा एक लाख म्यादी प्रहरी पनि मतपेटिकाको सुरक्षार्थ खटिनेछन् । सामान्य, संवेदनशील र अति संवेदनशील सुरक्षा चुनौति भएका मतदान केन्द्रमा आवश्यकता अनुसार तीन प्रहरीदेखि ८ म्यादी प्रहरीसम्म पहिलो सुरक्षा घेरामा खटिनेछन् ।
जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार जनशक्ति परिचालन प्रहरीले गर्ने मन्त्रालयले जनाएको छ । निर्वाचनको समयमा ड्रोन प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिइएको छ ।
मतदान सकिएपछि मतगणना स्थलको सुरक्षा गर्ने जिम्मेवारी पनि प्रहरी र म्यादी प्रहरीलाई दिइएको छ । लाइसेन्स प्राप्त हतियारहरु पनि निर्वाचन अवधिभर प्रहरी कार्यालयमा राख्ने जिम्मा प्रहरीलाई दिइएको छ । जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार निर्वाचन अघि, निर्वाचन अवधिभर र निर्वाचनपछिका अन्य कार्यमा पनि सशस्त्र प्रहरीलाई खटाउने भनिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना संकलन, विश्लेषण तथा सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ । यसका लागि विभागले नयाँ सूत्र र सुराकीको परिचालन गर्न सक्ने पनि भनिएको छ । मतदान अघि दल र उम्मेवारहरुको प्रचारप्रसारलाई स्वच्छ, स्वस्थ र हिंसारहित ढंगले सञ्चालन हुने वातावरण बनाउन पनि सूचना समन्वय गर्न भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार