प्रहरीमा सुरु भयो नयाँ आईजीपीको चर्चा, बढुवासँगै सिंह र धानुक पनि दाबेदार
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २३:५७:४७
१७ चैत, काठमाडाैं । नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् ।डीआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रबीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् ।
यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । ती मध्ये आठजना जनपद तर्फका छन् भने एकजना प्राविधिकतर्फका छन् । ती आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ ।
अब एआईजीपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
पन्त भने वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन् । जसले गर्दा उनी आईजीपीको दौडबाट बाहिरिने छन् । आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरिबहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन् ।
सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आईजीपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ ।
अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ ।
अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन् ? यो आम चासोको विषय छ । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धीरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए ।
हालका आईजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डीआईजीमा बढुवा भए ।
त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए, त्यो पनि दरबन्दी थप गरेर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो ।
अस्वाभाविक छलाङ मारेका पोखरेल आईजीपीको प्रबल दाबेदार हुन् । तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ ।निर्वाचनमा आफूहरूलाई असहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणको छ । जसले गर्दा दुवै जनाको रुचीमा पोखरेल परेका छैनन् । आईजीपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा । उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन । तर, वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एकजना बढी दाबेदार हुन् ।
डीआईजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनीहरू एआईजीमा बढुवा भएका छन् । आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन् । एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए ।
सिंहलाई देउवाले आईजीपी बनाउन चाहेका छन् । सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरियतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन् ।
नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन् । सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ । जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन् । हुन त सिंह डीआईजीमा छैटौं र धानुक आठौं वरीयताक्रममा छन् । तर, प्रधानमन्त्री देउवाले सिंहलाई आईजीपी बनाउने ललगभग निश्चित छ ।
उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीनजना डीआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार