प्रधानमन्त्री देउवाको भारत भ्रमणः सामान्य लागे पनि राजनीतिक रुपमा ठूलो अर्थ राख्न सक्छ
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
चैत २६, २०७८ आइतबार ०:३२:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/bhesraj-1_DTQax0pGqm.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको तीन दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । सुरुमा राजकीय भ्रमण भनिएकोमा पछि सद्भवना भ्रमण भएको बताइयो । यो भ्रमण केही विवादित, केही उपलब्धिमूलक भए पनि सामान्य जस्तो लाग्छ । प्रधानमन्त्री देउवा पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग छलफल गरेर भ्रमणमा जाने परम्परा तोड्नु, भारत पुगिसकेपछि सीधै भारतीय जनता पार्टीको कार्यालयमा जानु, त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र तथा चर्चित धार्मिक क्षेत्र काँशीमा गएर पूजाआजामा बिताउनुलाई लिएर नेपालमा टीकाटिप्पणी भएका छन् ।
शेरबहादुर देउवाले भाराका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमासम्बन्धी विवाद दुई देशीय संन्त्रबाट समाधान गर्नुपर्ने कुरा उठाए । विद्युत् खरिदसम्बन्धी सहमति र पञ्चेश्वर आयोजना सुरु गर्ने सहमतिदेखि अन्य केही योजना अघि बढाउने सहमति त भए । ती सबैको महत्व त आफ्नो ठाउँमा छँदै छ तर प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले यो भ्रमणलाई बदलिँदो राजनीतिक परिवेशमा फरक ढंगले उपयोग गर्न खोजेको स्पष्ट देखिन्छ । नेपालको राजनीतिमा यसको कस्तो प्रभाव पर्ने हो त्यो हेर्न भने केही समय पर्खनैपर्छ ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएयता छिमेकी तथा मित्रराष्ट्रहरुसँगको भेटमा आफूलाई नेपालको अनुभवी तथा उच्च राजनीतिक नेतृत्व क्षमता भएको नेताको रुपमा प्रस्तुत गर्न चाहेको देखिन्छ । उनले विश्व वातावरण सम्मेलनमा बेलायतको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री, अमेरिकी राष्ट्रपतिदेखि अन्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँगको भेटका लागि आफैं पहल गरेर अघि बढे । ती भेटलाई औपचारिकभन्दा परिचित समकक्षीसँग हुने भेटको रुप दिन सफल भए ।
अहिलेको भारत भ्रमणको सिलसिलामा पनि उनले जिम्मेवार, अनुभवी राजनीतिक नेताको रुपमा आफूलाई उभ्याउन खोजेको देखियो । उनले भ्रमण राजकीय नभएको र सद्भावना भ्रमण भएकाले पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न आवश्यक ठानेनन् । जति अनुभवी भए पनि विज्ञहरुसँगको छलफलले घाटा गर्दैन, राष्ट्रलाई लाभै दिन्थ्यो । मलाई के गर्नुपर्छ सबै थाहा छ भन्नुलाई त्यति राम्रो भने मानिन्न ।
प्रधानमन्त्रीले यो भ्रमणलाई बदलिँदै गरेको नेपालको राजनीतिक परिवेशमा छिमेकी राष्ट्रको कूटनीतिक सम्बन्धलाई भरपूर रुपमा उपयोग गर्न चाहेको देखियो । अहिलेसम्म नेपाली कांग्रेस भारतीय राष्ट्रिय कंग्रेस पार्टीसँग नजिकी सम्बन्ध रहेको मानिएकोमा अब अवस्था बदलिएको छ । राज्यशक्ति सञ्चालन गरिरहेको राजनीतिक दल भारतीय जनता पार्टीसँग सम्बन्ध नबढाएसम्म राम्रो नहुने आँकलन गरेर देउवाले सुरुमै सरासर भाजपाको पार्टी कार्यालयको भ्रमण गर्न पुगे ।
भारतीय जनता पार्टी पनि नेपालमा आफ्नो भरपर्दो सहयोगी राजनीतिक शक्तिको खोजीमा कहिले कम्युनिष्ट दल एमालेका ओलीलाई च्याप्ने, कहिले राजावादी दलकतर्फ आँखा लगाउँदै आएको थियो । एमाले अध्यक्ष ओलीले राजनीतिक लाभ हानि हेरेर कहिले भारततिर ढल्कने, कहिले राष्ट्रवादी कार्डका रुपमा उपयोग गर्र्ने, कहिले चीनसँग सम्बन्ध बढाएर सबै कुरा बन्ने प्रचार गर्ने, कहिले पूरै बेवास्त गरिरहेको अवस्थामा शेरबहादुर देउवाले भारतीय सत्तारुढ दलसँग सम्बन्ध बढाएर राजनीतिक लाभ लिन खोजेका छन् । उनले नेपाली कांग्रेस धर्मविरोधी होइन, तिमीहरुले खोजेजस्तो शक्ति हो भन्ने देखाउन चाहे ।
पछिल्लो समय नेपालको राजनीतिमा कुनै न कुनै रुपमा धर्म जोडिने अवस्था आएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपा नेपालले ल्याएको समानुपातिक मत लोभलाग्दो थियो । कमल थापाले सांसद पद बेचेर करोडौं कमाउने लोभ नगरेको भए सो पार्टी स्थापित हुने अवस्था देखिएको थियो । यही अस्थालाई देखेर एमाले अध्यक्ष केपी ओलीले ठोरी रामजन्मभूमि भएको भन्दै रामसीतासहितका मूर्ति बनाउन लगाएर शोभायात्रा गर्दै सो ठाउँमा स्थापना गराएका छन् । रामजन्मभूमिको तथ्य के निस्कने हो ? त्यो त कसैलाई थाहा छैन तर यो विषयलाई ओलीले राजनीति लाभका लागि भरपूर रुपमा उपयोग गर्न खोजेको देखिन्छ ।
उनका अरु भाषणमा पनि ओंठे भक्ति भए पनि धर्म र संस्कार प्राथमिकतामा पर्दै आएका छन् । अब कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धन गरेर स्थानीय निवाचनमा जाँदा एमालेले राप्रपाहरुसँग गठबन्धन गरेर जाने देखिएको छ । यी दलहरुबीच विभिन्न चरणमा गठबन्धन गर्ने सम्बन्धमा वार्ता पनि चलिरहेका छन् । आफू शक्तिशाली बन्ने अवस्थामा एमाले अध्यक्ष केपी ओलीले धर्मलाई भरपूर रुपमा उपयोग गर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा शेरबहादुर देउवा पनि सचेत हुनु स्वाभाविकै हो । अर्को, कांगे्रसभित्र पनि धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेको र कांग्रेसलाई माया गर्ने ठूलो जनसमुदायले धर्मनिरपेक्ष राष्ट्र बनाएकामा राम्रो नमानिरहेकाले कांग्रेस पनि सचेत हुनुपर्ने अवस्था छँदै थियो । भारतको सत्तारुढ दल भजपा र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सद्भाव र सहकार्य बढाएर कांग्रेसले ओली होइन हामी भरपर्दा राजनीतिक शक्ति हौं भन्ने सन्देश दिन प्रधानमन्त्री आरजुको राखी, राजकीय भ्रमण रद्द गरेर सद्भावना बनाई भजपा कार्यालय भ्रमण र काँशीको धार्मिक भ्रमण गरेको स्पष्ट हुन्छ ।
लामो इतिहास भएको राजनीतिक दल र त्यसका अनुभवी नेताले बदलिँदो राजनीतिलाई आफ्नो हातबाट फुस्किन नदिन पहलै नगर्नु त समाप्त हुनु नै हो । चीनले २०७४ देखि नै नेकपा बनाउन पहल गर्नु, सो दल फुटेर छिन्नभिन्न भएपछि पनि पटक पटक पुनः एकीकरण गराउन पहल गरिरहनु, नेपालका कम्युनिष्ट पार्टीहरु र चिनियाँ कम्युनिष्ट पार्टीसँग सद्भाव र सहकार्य गर्न भर्चुअल मिटिंग गरिरहेको अवस्थामा नेपाली कांग्रेसले पनि छिमेकी राजनीतिक शक्तिको खोजी गर्नु स्वाभाविकै भयो ।
ओली कदमको विरोध गरेर अलग भई माओवादी केन्द्र सरकारमा रहेको अवस्थामा एमाले र माओवादी केन्द्रका नेताहरुले चुनावी तालमेलका लागि गोप्य वार्ता चलाइरहेका समाचर बाहिर आएका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस सशंकित हुने नै भयो । शेरबहादुर देउवाले राजकीय भ्रमणलाई सद्भावनामा बदलेर भारत जानु यसैको कडी पनि हो । राजीतिक दलहरु तथा तिनका नेताहरुले राजनीतिक लाभ हानि हेरेर आन्तरिक तथा बाह्य शक्तिसँग सम्बन्ध बढाउनु त स्वाभाविकै हो । त्यसलाई सद्भावका रुपमा सशक्त रुपमा दह्रोसँग अघि बढाए राष्ट्र र जनतालाई लाभ हुन्छ नै तर विदेशी दलको शरणमा मात्रै गए भने नेताले लाभ लेलान्, राष्ट्र र जनताले भने हार्ने नै हुन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार