भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण बनाउन १४ सयबढी सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १८:३०:२४
२७ चैत, काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का (बिष्केट) जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन १४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा बिस्केट जात्रामा हुलदंगा र ढुंगा हानाहान हुने गरेकाले विशेष सुरक्षा प्रवन्ध मिलाइएको भक्तपुर प्रहरीले जनाएको छ ।
जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ ।
रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न ९५० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी परिचालन गरिने छ । २ सयको सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिने भएको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने सांस्कृतिक एवं ऐतिहासिक महत्वको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ ।
आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार विहान सद्भाव ¥याली तथा जनचेतना कार्यक्रम समेत गरिएको छ ।
सचेतना कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको उपस्थिति रहेको थियो ।
सचेतना कार्यक्रमपछि टौमढीमा आयोजित सभामा संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । भक्तपुरको सभ्यता र संस्कृतिलाई जोगाउन सद्भाव ¥यालीको महत्वबारे चर्चा गरे ।
कार्यक्रममा आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताए । प्रमुख प्रजापतिले जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने र जात्रालाई सहज रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।
गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको प्रसिद्ध बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै बिस्का जात्रा समन्वय, सहकार्य र समझदारीको आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गरिन् ।
सचेतना कार्यक्रम सुरु हुन अगाडि भक्तपुर–९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट सुरु भएको सद्भाव ¥याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर–७ का वडाध्यक्ष उकेश कवांले पनि बोलेका थिए ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलमा तानेर लैजाने परम्परा छ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो ।
रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।
बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिन्छ ।
लिंगो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । लिंगो ढालिसकेपछि भैरवनाथ र भद्र्रकालीको रथलाई गाहिटी पुर्याई एकापसमा जुधाइन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।
जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
टोखामा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
पुष १४, २०८१ आइतबार
हुम्लामा लगातार हिमपात, सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित
पुष १४, २०८१ आइतबार
आइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार