खुट्टा गुमाएका रायभरको मुद्धा दर्ता गरी कारवाही गर्न आदेश, सरोजलाई पक्राउ गर्न प्रहरीको आलटाल
आबिद हुसेन
बैशाख १, २०७९ बिहिबार २२:५८:५७
१ वैशाख, वीरगञ्ज । अस्पतालको लापरवाहीले खुट्टा गुमाएका पर्साका एक युवा न्यायको लागि ८ महिनादेखि प्रहरी कार्यालय धाउँदाधाउँदा थकित भएका छन् । दोषीलाई कारवाही गर्ने मागको जाहेरी लिएर गत साउनमै प्रहरी कार्यालय पुगेपनि प्रहरीले जाहेरी नलिई फाईल नै फालिदिएपछि उनी थप निरास भए । प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकबाट पठाए । त्यसलाई पनि प्रहरीले सनाखत गरिदिएन । त्यसपछि उनी थप समस्यामा पर्दै गए ।
विषय हो, पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी बहुअर्वाका धर्मदेव रायभरको । गत साउनको ११ गते उनी बीरगञ्जको रामगढवाका ठग पटेलको घरमा निर्माण सम्बन्धी काम गरिरहँदा पटेलको घरको छत खसेर रायभरको खुट्टामा बजारियो । खुट्टामा गहिरो चोट लागेपछि उनलाई बीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरियो ।
उक्त खुट्टाको नारायणीमै उपचार सम्भव हुँदाहुँदै उनलाई बेहोसीको सुई लगाएर नजिकै रहेको भर्खरै खुलेको सुर्या अस्पतालको कर्मचारीको मिलोमतोमा उनलाई सुर्या अस्पतालमा पुर्याईयो । सुर्यामा चिकित्सक र घरमालिक बीचको मिलोमतोमा घाईते रायभर र उनको अभिभावकको मञ्जुरी बेगर चोट लागेको दाहिने खुट्टा काटियो । खुट्टा काटिएको कुरा रायभर होसमा आएपछि मात्रै थाहा पाए । उनको अभिभावकले पनि अप्रेशन सकिएपछि मात्रै थाहा पाए ।
रायभरको चोटग्रस्त खुट्टामा उपचारका लागि पैसा र समय दुवै धेरै लाग्नसक्ने भएकोले घरमालिकको प्रलोभनमा परी सुर्या अस्पतालका सञ्चालक डाक्टर सरोजकुमार सिंहले उपचारको झन्झटै सकिने गरी खुट्टा काटिदिएको परिवारको आरोप छ । डाक्टरले सल्लाह मात्रै गरिदिएको भए हामी छोराको खुट्टा बचाउन भरतपुर वा काठमाडाैं जान सक्थ्यौँ, रायभरकी आमा ललिता देवीले भनिन् । उनी भन्छिन्, भिख मागेरै भएपनि छोराको उपचार गर्ने थिए । तर डाक्टरले एक वचन नसोधेर घरमालिकको प्रलोभनमा परेर मेरो एउटै साहारा मेरो छोराको खुट्टा काटेर अपांग बनाईदिए ।
नारायणीमा पुर्याउँदा आफु होसमै रहेको र खुट्टा चलिरहेको रायभर बताउँछन् । चोट लागेको थियो तर मैले खुट्टा चलाएर पनि हेरेको हो काट्नै पर्ने अवस्थामा थिएन । मुख्य कुरा हामीसँग सोधिएन । त्यसमा हाम्रो आपत्ति हो, रायभरले भने । अन्यायमा परेको महशुस गरी रायभरले अस्पताल र घरमालिकलाई विपक्षी बनाई न्यायको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेर दिन गए ।
पर्सा प्रहरीका तत्कालीन प्रमुख बेलबहादुर पाण्डेको ठाडो निर्देशनमा प्रहरीले जाहेरीको फायल फाल्दियो । जाहेरी नलिएको प्रहरीले अस्पताल सञ्चालकसँगको मिलोमतोमा १ लाख ६० हजार रुपैयाँ लिएर सहमतिमा हस्ताक्षर गर्न मतियार बनेर बारम्बार रायभरलाई दबाब दियो ।
गैरकानुनी काम गरेको अस्पतालसँग पैसा लिने कुरामा रायभर सहमत हुन सकेनन् । प्रहरीले उजुरी लिएर अनुसन्धान गर्न पनि नमानेपछि उनी बाध्य भएर न्यायको लागि अदालत गए । उच्च अदालत जनकपुरको अस्थायी ईजलाश बीरगञ्जले गत मंसिर १० गते प्रहरीलाई मुद्धा दर्ता नगर्नुको कारणबारे जवाफ माग गर्यो ।
प्रहरीले रायभर उजुरी सनाखत गर्न नआएको झुटा विवरण पेश गर्यो । त्यसपछि पुनः यसै चैत महिनाको २३ गते उच्च अदालतका न्यायधीश कृष्णबहादुर थापा र अर्जुनप्रसाद कोईरालाको संयुक्त ईजलाशले रायभरको जाहेर दर्ता गरी अस्पताल सञ्चालक तथा चिकित्सकद्धय डाक्टर सरोजकुमार सिंह, डाक्टर मोनिका यादव सिंह र घर धनी ठग पटेल विरुद्द कारवाहीको प्रकृया अगाडि बढाउन प्रहरीको नाममा आदेश जारी गर्यो ।
उक्त आदेश पछि प्रहरीले जाहेरी सनाखत गरेपनि आरोपित सुर्या अस्पतालका सञ्चालक डाक्टर सरोजकुमार सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न आलटाल गरिरहेको छ । यस विषयमा पीडितसँगै जिल्ला प्रहरी पुगेको पत्रकारहरुसँग कुरा गर्दै प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले यो दर्ता गर्ने मुद्धै नभएको बताए ।
उनले अदालतको कारण बाध्य भएर दर्ता गर्नुपरे पनि यस विषयमा खासै केही निचोड नआउने भन्दै रायभरलाई थप पीडा भर्ने काम गरे । प्रहरी प्रशासन सबै शक्ति र पहुँच हुनेहरुको लागि मात्रै रहेछ भन्दै राभयर यतिबेला थप विक्षिप्त भएका छन् । घटनाका बखत अस्पतालका सञ्चालक समेत रहेका डा. सिंहले बिरामीको ज्यान बचाउनका लागि खुट्टा काट्नुपर्ने बाध्यता आईपरेको बताएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपटाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार