कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २१:१०:३९
-शङ्खर पहाडी
११ वैशाख, सर्लाही । सर्लाहीमा कृषि वन विकास कार्यक्रम प्रभावकारी देखिएको छ ।जमिनको वहुउपयोग, आयआर्जन तथा जीविकोपार्जन सुधार र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सर्लाहीमा कृषि वन विकास कार्यक्रम लागू भएको हो । पछिल्लो समय ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराई बढ्न थालेपछि ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझो रहेको छ । कृषि वनबाट बाँझो जग्गाको सदुपयोग गर्ने सरकारको लक्ष्य छ ।
सर्लाहीको हरिवन नगरपालिका –३, ४ र ५ का विपन्न किसान अहिले तरकारी उत्पादनमा व्यस्त छन् । उनीहरु यतिखेर नदी उकास र बगरमा तरकारी उत्पादनमा व्यस्त रहेका हुन् । नदी उकास खेर गइरहेको वनक्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानलाई तरकारी बेच्न भ्याइनभ्याइ भएको हो ।
तरकारी बिक्रीबाट घर व्यवहार चलाउन सहज भएको हरिवन नगरपालिका–३ मोहनपुरकी तरकारी उत्पादक किसान गङ्गाकुमारी ब्लोनले बताए । उनका अनुसार युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन विकास कार्यक्रममार्फत आफूहरुले तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेको हो । मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्षसमेत रहनुभएकी ब्लोनले हाम्रो समूहमा ६० जना विपन्न किसान छन् । आफूहरुले खुर्सानी, करेला, लौका, काँक्रा, फर्सि, चिप्ले भिण्डीलगायतका तरकारी उत्पादन गरिरहेको उनको भनाइ छ ।
कृषि सामुदायिक वन समूह निर्माण गरेर उत्पादन गरेको तरकारी बिक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको उनले बताए । “तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौँ, त्यो पैसा कहिलेकाहीँ बिउबिजन, विषादी किन्न पैसा अभाव भएको समयमा समूहका सदस्यले पालैपालो चलाउने गरेका छौँ”, अध्यक्ष ब्लोनले भने, “सामुदायिक वनको खाली पर्ती र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि आफ्नो घरव्यावहार चलाउन सहज भएको छ ।” पहिले पैसाको मुख देख्न पाइन्नथ्यो, अब त तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेको र यसले घरव्यवहार चलाउन सहज भएको उनको भनाइ छ ।
त्यसैगरी हरिवन नगरपालिका–४ की अजमिरी खातुनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी भइरहेको बताए । समूहकी कोषाध्यक्षसमेत रहनुभएकी उनले पनि आफ्नो जग्गामा खर्बुजा, काँक्रा, बोडी, भन्टालगायतका तरकारी लगाएका छन् । उनले समूहमा मिलेर लगाइएको तरकारीले राम्रो बजार लिएको बताए। ग्रामीण स्वयम सेवक समाज हरिवनले २५ बिघामध्ये झण्डै करिब २० बिघामा किसान समूह बनाएर सामूहिक तरकारी खेती सुरु गरेको हो ।
हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गइरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट वडा नं ३ का ६० घरपरिवार, वडा नं ४ का २४ र वडा नं ५ का ८६ घरपरिवार गरी करिब दुई सय विपन्न परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसार्इंले बताउनुभयो । उहाँका अनुसार कृषि वन विकास कार्यक्रमअन्तर्गत सुरु गरिएको तरकारी खेतीबाट विपन्न परिवारले राम्रो आन्दानी लिन सुरु गरेका छन् ।
विपन्न परिवारका किसानले गरेको परिश्रम र बगाएको पसिनाको फल लिन थालेपछि उनीहरुको दैनिकीमा निकै परिवर्तन आएको हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताउनुभयो । उहाँका अनुसार गरे के हुँदैन भन्ने उनीहरुले सावित गरिदिएका छन् । किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, परवल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानीलगायतका तरकारीबाट राम्रो लाम्दानी दिन थालेको उपप्रमुख पौडेलको भनाइ छ ।
डेढ वर्षअघि ग्रामीण स्वयमसेवक समाज हरिवनले युएनडिपीसँग विपन्न नागरिकको क्षेत्रमा काम गर्न सम्झौता गरेर हरिवन नगरपालिकाभित्रका खाली, पर्ती, नदी उकास र खेर गइरहेका सामुदायिक वन क्षेत्रका जग्गा उपलब्ध गराइ सुरु गरेको तरकारीखेती अहिले नमूना बन्दै गएको हरिवन नगरपालिका–४ का वडाध्यक्ष धनबहादुर वाइवाले बताउनुभयो । उहाँका अनुसार विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उद्देश्यअनुरुप नगरपालिकाले खेर गइरहेका जग्गा उपलब्ध गराएपछि २५ वर्षे सम्झौता अनुसार जग्गाको वर्गीकरण गरेर खेती गर्न दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनुभयो । उनका अनुसार त्यसपछि ती जमिनमा लगाइएका अन्य बिरुवा हुर्केपछि वन समूहलाई नै हस्तान्तरण गरिने छ ।
ग्रामीण स्वयमसेवक समाज हरिवनले विपन्न किसान छनोट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर, सामुदायिक वनका जग्गामा खनजोत गरेर तरकारी खेती सुरु गरेको थियो । आफैले मल, बिउबिजन, विषादीदेखि खनजोतका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराएर तरकारी खेती सुरु गरेको हो । किसानले उत्पादन गरेको तरकारी अहिले देशका २० भन्दा बढी बजारमा पुग्ने गरेका छन् ।
किसानलाई आवश्यक पर्ने मल, बिउबिजन, विषादी, सिँचाइका लागि बोर्डिङसमेत युएनडिपीले नै उपलब्ध गराएको कृषि प्राविधि एवं युएनडिपीका फिल्ड निर्देशक सुरेश खनालले बताए । उनका अनुसार नगरपालिकाले विद्युत् लाइन उपलब्ध गराएको छ । किसानले प्लटप्लटमै कृषि मिटरसमेत जडान गरिसकेका छन् । “अहिले तपाई त्यस क्षेत्रमा जानुभयो भने अच्चम्भित हुनुहुन्छ । पहिले कस्तो थियो अहिलेको अवस्थामा कस्तो छ । किसानले धेरै मेहनत गरेका छन्”, उनले भने।
फलफूल, तरकारीलगायत कृषि वन विकास, विस्तार र प्रवद्र्धन गरी यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन यस क्षेत्रमा सहुलियत ऋण उपलब्ध गराउने, कृषि वनमा आधारित उद्यमहरूको प्रवद्र्धन र विस्तार गर्ने सरकारले नीतिगत व्यवस्था गरेपछि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नमा सहयोग पुगेको छ । यहाँका तीन वडाबाट सुरु गरिएको कृषि वन विकासकार्यक्रम अन्य वडामा पनि विस्तार गर्नसके त्यसले नागरिकको आर्थिकस्तर माथि उकास्न सहयोग पुग्नुका साथै हरियाली प्रवद्र्धन र वातावारण संरक्षणमासमेत टेवा पुग्ने विश्वास नगरपालिकाको छ ।
विपन्न वर्गको आर्थिक अवस्था उकास्नु र उनीहरुको जीविकोपार्जनमा टेवा पुर्याउनु नै संस्थाको उद्देश्य रहेको युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजयप्रसाद सिंहले बताए । उनका अनुसार आफूहरुको योजनाअनुरुप नगरपालिकाले खेर गइरहेको जमिन उपलब्ध नगराएको भए अहिलेको सफलता प्राप्त हुने थिएन । त्यस्तै किसानले पनि धेरै मेहनत गरेका कारण उनीहरुको जीवनशैली नै फेरिएको उनको भनाइ छ । विपन्न किसानको आर्थिक अवस्था उकास्न कृषि वन विकास कार्यक्रम लागू गरेर राम्रो काम गरेको ग्रामीण स्वयमसेवक समाज हरिवनका अध्यक्ष दधिराम पौडेलले बताए । उनका अनुसार किसानले अझै मेहनत गरे अरु सहयोग गर्न समेत दातृ निकाय तयार रहेको बताए ।
लखनदेही नदी किनारमा रहेको नदी उकास तथा हरिवन नगरपालिका ३,४ र ५ मा खेर गइरहेको खाली, पर्ती जमिनमा सुरु गरिएको तरकारी खेतीबाट विपन्न किसान लाभान्वित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
पुष १६, २०८१ मंगलबार
किबीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
पुष १५, २०८१ सोमबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार