बालेन सर ! मत बाँडिएको हैन मन भाँडिएको हो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शनिबार ०:३१:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/balen-e1652684345487_fodgiPrQbM.jpg)
♦दीपक खनाल
अहिले काठमाडौं शहरमा मात्र होइन देशभर बालेन्द्र साह(बालेन)कै चर्चा छ । कार्यालय, पानीपँधेरा, गाईगोठ, गोठाला, चियापसल, स्कुल, क्याम्पसमा बालेनकै कुरा हुन्छ । दुई चारजना मानिस जम्मा भयो कि बालेनकै बारेमा बहस चल्छ । सामाजिक सञ्जाल त बालेनकै विषयले भरिने भइहाल्यो । बालेनको कुरा नराखे मानिसले समाचार माध्यमसमेत हेर्न छाड्लान् भन्ने डर छ ।
भारतका कतिपय समाचार माध्यमले समेत बालेनको समाचारलाई पछ्याउन थालेका छन् । काठमाडौं महानगरपालिकाको मतगणना स्थलमा बालेनका डाइहार्ट फ्यानहरूले माहौल तताएर समाचार माध्यम र सामाजिक सञ्जाललाई मसला थपिरहेकै छन् । देशविदेशमा रहेका युवाको माँझमा झन् उनी हाइ हाइ बालेन दाई भईरहेका छन । उनको बुबाको पृष्ठभूमिलाई लिएर कसैले उनलाई राजाको मान्छे त कसैले माओवादीको पूर्वकार्यकर्ता भनेका छन् । जसले जे भनेपनि, जजसको मान्छे भएपनि सबैलाई उनीबारे नबोली, नलेखी नहुने स्थिति बनेको छ । त्यसैले यहाँ पनि उनका बारे विभिन्न कोणबाट विश्लेषण गर्नैपर्ने भएको छ ।
राजनीतिक आँखीझ्याल
काठमाडौँ महानगरपालिका काठमाडौँको मुटु हो । यो विश्वलाई चिनाउने, राष्टको गरिमा राख्ने, बढाउने, घटाउने सुन्दर नगरी हो । त्यही भएर त भानुभक्तले उहिले नै लेखेका हुन् नि कान्तिपुरी अलाकापुरी नगरी भनेर । सिंगो देश हाँक्ने काठमाडौँको भने दुर्दशै दुर्दशा छ । फोहोरै फोहोर अनि राजनीतिक फोहोरको शहरको रुपमा चित्रित छ । कति विदेशीले त यसरी नै खिसिट्यूरी गरेर आफ्नो देशमा प्रचार गरिसके होलान् । ट्राफिक जाम, शहरी अव्यवस्था अर्काे समस्या हो काठमाडौँको । यस्तै फुटपाथ व्यापारको नाममा हुने अस्तव्यस्तताले काठमाडौँलाई सधैँ कुरुप बनाइरहेको छ ।
सामाजिक सञ्जाललाई त बालेन एण्ड सहयोगी समूहले योजनाबद्ध रुपमा प्रयोग र परिचालन गरे भने समाचार माध्यमले पनि उनलाई ठाउँ दिनु बाध्यता भयो, छ । महानगरपालिकाका मतदाताले मात्र होइन, देशविदेशमा रहेका उनका फ्यानहरूले यस्तो माहौल बनाउन सामाजिक सञ्जालबाट ठुलो भूमिका खेले । उनले पाँच वर्षदेखि नै सामाजिक सञ्जालमार्फत यस्तो जनमत बनाउँदै आए ।
यतिसम्म हुँदा पनि हाम्रो राजनीतिक नेतृत्वको ध्यान सिंहदरबार, बालुवाटार र दलका पार्टीलयबाहेक अन्त गएको देखिदैँन । काठमाडौँको मेयर बनाएर पठाएकाहरूको ध्यान पार्टीलाई कमिशन र फाइदा बुझाउँदैमा ठिक्क छ । यस्तो व्यवहारले काठमाडौँ महानगरपालिकाका जनता वाक्कदिक्क भए । यस्ता प्रतिनिधिका कारण पार्टी र तिनका नेताप्रति नै वितृष्णा बढ्यो । मन भाँचियो । यस्तो वितृष्णा हुँदाहुँदै पार्टीहरूले पुरानै अनुहार, उमेर पाकेका र नेताका आफन्तलाई उम्मेदवार बनाए । त्यही भएर सधैँ अन्तिम आन्दोलन, सङ्घर्षमा निर्णायक भूमिका खेल्ने काठमाडौँ महानगरका परिपक्व र ०७४ पछि बालिग बनेका मतदाताले बालेनलाई नै रोजे ।
मिडिया, सामाजिक सञ्जाल र बालेन
नयाँ नयाँ विषय, समाचार पस्कनु समाचार माध्यमको विशेषता हो । समाचार माध्यमले बालेनका भनाईलाई बढी प्राथमिकता दिए ठुला पार्टीका उम्मेदवारकै बराबर । सामाजिक सञ्जाललाई त बालेन एण्ड सहयोगी समूहले योजनाबद्ध रुपमा प्रयोग र परिचालन गरे भने समाचार माध्यमले पनि उनलाई ठाउँ दिनु बाध्यता भयो, छ । महानगरपालिकाका मतदाताले मात्र होइन, देशविदेशमा रहेका उनका फ्यानहरूले यस्तो माहौल बनाउन सामाजिक सञ्जालबाट ठुलो भूमिका खेले । उनले पाँच वर्षदेखि नै सामाजिक सञ्जालमार्फत यस्तो जनमत बनाउँदै आए ।
उनले समाचार माध्यम र सामाजिक सञ्जालमा आफूलाई एकदमै सन्तुलित रुपमा प्रस्तुत गर्नसके । पत्रकारका प्रश्नका जवाफ एकदम छोटकरीमा, तार्किक ढंगले, गणितीय रणनीतिक शैलीमा दिए । उनले अरु दल वा उम्मेदवारको आलोचना, गाली भन्दा पनि आफ्ना भनाई र योजना राखे । अरुको आलोचना गर्नुपरेकै अवस्थामा पनि घुमाउरो पाराले रचनात्मक रूपमा गरे ।
कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सेवकभन्दा शासकको जस्तो छ । पार्टीमै आवद्धहरू पार्टी र नेताका व्यवहार शैलीबाट सन्तुष्ट छैनन् । मुलुकभरका जनताको यस्तो अवस्था र असन्तुष्टी, निराशा छ । हो, यसैको प्रतिबिम्ब हो बालेन । यस्ता मानिसले बालेनजस्तै उच्च हाइअर्की नभएका र लो प्रोफाइलका स्वतन्त्र प्रतिनिधि खोजेका हुन् ।
उनको अभिव्यक्ति परिपक्व, शालीन र रणनीतिक देखियो । आफू कसैको प्रतिस्पर्धी भएको समेत भनेनन् । जनसेवा गर्न उठेको भनेर झन् मतदाताको मन जित्ने काम गरे । यसले गर्दा सधैँ हेट स्पिचलाई मुख्य र स्कुप समाचार ठानेर प्रस्तुत गर्दैआएको मूलप्रवाहका समाचार माध्यमबाट नै मतदाता तथा आम अडियन्सले नयाँ स्वादको सामग्री पाएको महसुस गरे ।
र्याप क्रेजी फ्यान र बालेन
भनाइ छ बैंसमा बेद कसैले पढ्दैन । अर्थात् युवावयमा लोकसंगीत, संवेदनशील गीत भन्दा पप, र्याप गीतमा मन जान्छ । त्यसले अधिकांश युवायुवतीलाई क्रेजी बनाउँछ । कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने यो उमेरका केटाकेटी र्यापजस्ता आधुनिक गीततिर आकर्षित हुन्छन् । बालेनले र्यापमा देशका विकृति, विसंगतिलाई उठाएको देखिन्छ । उनले राजनीतिक तहबाट भएका गल्ती, बेथिति, झैझगडा जस्ता विषयलाई पनि र्याप गीत बनाएर प्रस्तुत गरेका रहेछन् ।
त्यसैले यो उमेर समूहका युवायुवतीहरू गहिरो अर्थ दिने गरी लेखिने साहित्य, साहित्यिक गीत, कविताभन्दा सरल शैलीमा गाइने र्यापतिर आकर्षित भएर बालेनको फ्यान बने । कतिपय ससाना बाबूनानीले बालिग नभए पनि आफ्ना बाआमा, दाजुदिदी, हजुरबा, हजुरआमा र नातागोताका मानिसलाई एक भोट बालेनलाई दिन आग्रह गरे । यसले पनि उनीहरूको मन बालेनतिर आकर्षित भयो ।
ओलीको बोली, स्थापितको प्रस्तुति
नेकपा (एमाले)ले विभिन्न पार्टी चाहरेर एमालेमै थिग्रिएका पूर्वमेयर केशव स्थापितलाई नै उम्मेदवार बनायो । काम गर्ने आँट भएका स्थापित महिलामाथि दुव्र्यवहार गरेको आरोपमा मुछिए । उम्मेद्वार घोषणा भएलगत्तै उनका पुराना यस्ता सन्दर्भ उछालिए । त्यो समाचार माध्यम र सामाजिक सञ्जालमा भाइरल भयो । मानौँ, यतिसम्म त ठिकै थियो रे । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनको बचाऊ गरेर अभिव्यक्ति दिए । स्थापित फेरि आफैँ सार्वजनिक कार्यक्रममा महिलाप्रति नै आक्रोशित भए ।
त्यस्तो अभिव्यक्तिले आम महिलाप्रति आक्रोश मात्र जन्माएन, उनीप्रति विगतमा लागेका आरोप सही हो कि जस्तो बनायो । सायद त्यसैले काठमाडौँ महानगरबासी धेरै महिला मतदाताले उनलाई भोट दिएनन् । बालेन उनीप्रति सभ्य, शालीन र सानै व्यक्तिका रूपमा प्रस्तुत भए भने उनले अन्तर्राष्टिय ठग भनेर बालेनप्रति नकारात्मक अभिव्यक्ति दिए । यस्तै उनले विगतका चुनावमा आफूले गरेका षड्यन्त्रको कहानी आफैँले बताए चुनावको सन्मुखमा आएर । यस्ता शैलीले झन् मतदाताको मन कुँडियो, चिडियो ।
असन्तुष्ट र निराशहरूको प्रतिबिम्ब
राणाशासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म पटकपटक सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध भएपनि मुलुकको मुहार फेरिन सकेको छैन । विगतमा भन्दा केही भौतिक विकास भएपनि मानिसका जीवनचर्यामा कुनै नयाँपन आउन सकेको छैन । युवावर्ग विदेशिने क्रम रोकिएको छैन । स्वदेशमा नै रहेकाहरूले रोजगार पाउन सकेका छैनन् । हल्काफुल्का रोजगारी भएकालाई परिवार पाल्न, छोराछोरी पढाएर टिक्न र बिक्न धौधौ छ । नेकपा एकीकृत भएर फुटकै अवस्थामा पुग्यो । दुई तिहाईको सरकार कायम राख्न सकेन । राजनीतिक पार्टीको ट्याग लागेका बाहेक अरु स्वतन्त्र सक्षम बुद्धिजीवीहरूले कहीँ कुनै अवसर पाउने गरेका छैनन् । सिनियर र सक्षम भएर पनि कुनै ठाउँमा चिनिन पार्टीकै कार्यकर्ता हुनुपर्ने अवस्था बनिसकेको छ । विभिन्न बौद्धिक व्यक्ति एक किसिमले आइसोलेसन र ब्याइकटमा परेका छन् ।
तर समाचार माध्यमसँग जवाफ दिने र अन्य दल वा पार्टीको आलोचना गर्ने सन्दर्भमा उनले दिएका अभिव्यक्तिबाट उनी रणनीतिक छन् भन्ने देखाउँछ । तथापि पर्दामा एक्लै देखिए पनि मुलुकको सबैभन्दा ठुलोे महानगरपालिकाको मेयरको चुनावको तयारी, मतगणनामा जनशक्ति परिचालन, आर्थिकलगायत विभिन्न व्यवस्थापनमा उनी एक्लै भिडेका छन् भनेर बुझ्नु भ्रम हुनेछ । उनका पछि कोही रहेछन् र उनी कसैका रहेछन् भने त्यो खुल्दै जानेछ ।
आज पनि जनताले काम गर्न चाकडी, चुप्लुसी, घुसखोरी, कमिशन, भनसुन नै नभइ हुँदैन । काम गर्दाका कानुनी अल्झन विगतका जस्तै छन् । कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सेवकभन्दा शासकको जस्तो छ । पार्टीमै आवद्धहरू पार्टी र नेताका व्यवहार शैलीबाट सन्तुष्ट छैनन् । मुलुकभरका जनताको यस्तो अवस्था र असन्तुष्टी, निराशा छ । हो, यसैको प्रतिबिम्ब हो बालेन । यस्ता मानिसले बालेनजस्तै उच्च हाइअर्की नभएका र लो प्रोफाइलका स्वतन्त्र प्रतिनिधि खोजेका हुन् ।
राजनीतिक पार्टी, नेतालाई दरो दनक, चुनौती
बालेनले हारे पनि जिते पनि उनको उपस्थिति र चर्चा बहुदलीय व्यवस्था र त्यसमा विश्वास गर्नेहरू र यस मैदानका खेलाडीका लागि दरो दनक हो । चुनौती हो । उनैको जस्तै स्वतन्त्र उम्मेदवारी दिएका अन्य केही व्यक्तिले काठमाडौँ बाहिर पनि जितेका छन् । पोखरा र भरतपुर महानगरपालिकामा बालेनजस्तै व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएको भए सायद दलका उम्मेदवार हार्ने सम्भावना रहेछ । काठमाडौँ महानगरपालिकाको निर्वाचन परिणाम गजबको स्याम्पलिंग हो । यसले देशभरका जनताको भावनाको प्रतिनिधित्व गरेको छ ।
यस्तै धरानमा स्वतन्त्र हर्क सांगपांग विजयी भएका छन् । नेकपा (एमाले) बाटै टिकट पाए पनि युवा भएकाले सुनिता डंगोललाई नै अहिलेसम्म बढीले रुचाएका छन् । यसबाट सधैँ जुधिरहने पाकेका नेताप्रति अरुचि र युवाको विकल्प नभएर नै ठुला पार्टीका पाका नेता, प्रतिनिधि छानेका रहेछन् भन्ने देखिएको छ । यदि दलहरू मिलेर अब पनि सुशासन, समृद्धि विकासमा नलाग्ने हो भने खतराका दिन अब सुरु भएका छन् । बालेनहरू जन्मदैँ जानेछन् । यो दलहरूलाई सच्चिने कि सक्किने भन्ने ठुलो शिक्षा हो ।
यदि बालेनले दीर्घकालीन रुपमा राजनीति नै गर्न खोजेका हुन् र उनले आफ्नो लोकप्रियतालाई क्यास गरेर भोलि प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री निर्वाचनको पक्षमा आफूलाई उभ्याउँदै लैजान सके र जनदबाब पैदा हुँदै गयो भने त्यतिबेला नेता र दलहरूको अवस्था अनि मुलुकको राजनीतिक खेलमा कायपलट हुनेछ । दलहरूले जति ठाउँमा जितेँ भनेर मक्ख परे पनि त्यसको कुनै अर्थ रहने छैन ।
बालेनको गन्तव्य
काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि पहिलेभन्दा बढी चिनिएका र्यापर बालेनलाई धेरैले धेरै उपमा दिन थालेका छन् । भविष्यवाणी गर्न माहिर कतिपयले त उनलाई मुलुकको भावी प्रधानमन्त्री बनाइसकेका छन् भने कतिले बालेनले पार्टी खोलेर राजनीति गर्छ भन्न थालिसकेका छन् । तर बालेनले अहिलेसम्म आफ्ना पछिल्ला यात्राका बारेमा केही भनेका छैनन् । राजनीतिक प्रक्रियाबाट चुनावमा भाग लिएको र उनका गीतमा राजनीतिक विषयवस्तु पाइए पनि उनले आफूलाई राजनीतिक व्यक्ति समेत भनेका छैनन् । अहिलेसम्म उनले आफूलाई काठमाडौँको मेयरका रूपमा मात्र उभ्याएका छन् । र, त्यसलाई पनि एउटा सीईओ भन्दा बढी ठानेका छैनन्, मानेका छैनन् ।
राणाशासन ढालेदेखि आजसम्म पटकपटक आन्दोलन गरेका बलिया दल र जनताको साथ पाएका नेताले त बदल्न नसकेको मुलुक र संस्कार उनी एक्लै आउँदैमा रातारात बदल्न सकिन्छ भन्नु मृगमरीचिका मात्र हुनेछ । किनकि उनी एक मात्र ठिक भएर हुँदैन ।
बालेन एक त गायक हुन् । अर्काे इञ्जिनियर । उनले गायन क्षेत्रको लोकप्रियतालाई काठमाडौँको मेयरमा सदुपयोग गरे । इञ्जिनियरिङ् पढेकाले उनी योजना बनाएर काम गर्ने व्यक्ति हुन् भन्ने पनि देखिन्छ । उनले दलका उम्मेदवारले भन्दा नयाँ र फरक एजेण्डा अघि सारेकाले पनि विश्वास प्राप्त गरेका हुन् । यस्तै उनले अहिले मेयरमा उठ्न पाँच वर्षदेखि नै तयारी गरेका रहेछन् भन्ने कुरा उनले पाँच वर्षअघि नै राखेको फेसबुक स्टाटसबाट देखिन्छ ।
अहिलेसम्मको उनका कुरा सुन्दा उनले आफूलाई काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा मात्र ध्यान दिएको देखिन्छ । तर समाचार माध्यमसँग जवाफ दिने र अन्य दल वा पार्टीको आलोचना गर्ने सन्दर्भमा उनले दिएका अभिव्यक्तिबाट उनी रणनीतिक छन् भन्ने देखाउँछ । तथापि पर्दामा एक्लै देखिए पनि मुलुकको सबैभन्दा ठुलोे महानगरपालिकाको मेयरको चुनावको तयारी, मतगणनामा जनशक्ति परिचालन, आर्थिकलगायत विभिन्न व्यवस्थापनमा उनी एक्लै भिडेका छन् भनेर बुझ्नु भ्रम हुनेछ । उनका पछि कोही रहेछन् र उनी कसैका रहेछन् भने त्यो खुल्दै जानेछ ।
बालेनको चुनौती
बालेनको सबैभन्दा ठुलो चुनौती काठमाडौँ महानगरबासीलाई मिलाएर अगाडि बढ्नु हो । पृथ्वीनारायण शाहले काठमाडौँका तीनै राज्य जितेर सजिलै आत्मसाथ गरेको काठमाडौँको संस्कार, संस्कृतिलाई सायद यहीँ जन्मेका बालेनले सहजै स्वीकारेर, भावना बुझेर अगाडि बढ्लान् तर अहिलेसम्म हेर्दा उनमा इञ्जिनियरिङं र व्यवस्थापनको केही योजना भएपनि राजनीतिक विचार, दर्शनको स्पष्टता देखिदैँन । उनी स्पेसलिष्ट त हुन् नै आफूलाई जेनरालिष्ट बनाउने नबनाउने उनको कुरा हो । काठमाडौँको फोहोरको व्यवस्थापन, जनताका सेवामूलक कार्यको सहजीकरण र सरलीकरण गर्ने क्षमता उनमा हुनसक्छ । उनले आफ्ना मतदाताको दबाब समूह खडा गरेर र विज्ञ समूह बनाएर यी काम गर्न सक्लान् ।
तर उनको महत्वाकांक्षा हेर्दा उनी राजनीति गरेर टाढासम्म नबढ्लान् भन्न सकिन्न । उनको त्यो लक्ष्य हो भने उनमा राजनीतिक भिजन अवश्य नै हुनुपर्दछ । राणाशासन ढालेदेखि आजसम्म पटकपटक आन्दोलन गरेका बलिया दल र जनताको साथ पाएका नेताले त बदल्न नसकेको मुलुक र संस्कार उनी एक्लै आउँदैमा रातारात बदल्न सकिन्छ भन्नु मृगमरीचिका मात्र हुनेछ । किनकि उनी एक मात्र ठिक भएर हुँदैन । समाज नै रुपान्तरित हुनुपर्दछ । यसका लागि दीर्घकालीन राजनीतिक दर्शन र शक्ति चाहिन्छ । जो बालेनको समूहमा छैन । अहिले उनका पक्षमा आएको मासलाई पत्रकारिता र आमसञ्चारको भाषामा क्रिटिकल मास भनिन्छ । यस्तो मासलाई कर्कलाको पानीसँग तुलना गर्न सकिन्छ । बालेनले कुनै पनि काम गर्न नसकेमा वा चित्त नबुझ्दो काम गरेमा भोलि त्यो मास उनैविरुद्ध नै खनिन सक्छ ।
त्यसैले बालेनले जादूको छडीले झैँ आफ्नो चुनाव चिह्न लौरोले मुलुकका सबै समस्या एक्लै ठिक पार्छु भने भने त्यो परिकल्पना मात्र हुन जानेछ । किनकि उनले बुझ्नुपर्दछ कि अहिले उनीप्रति देखिएको समर्थन दिक्दारी, असन्तुष्टी र नयाँपनको खोजीको अभिव्यक्ति मात्र हो । यदि लामो समय संघर्षबाट खारिएका दलहरू र तिनका नेताहरु सच्चिए भने त्यो भन्दा ठुलो शक्ति अरु छैन र हुन पनि सक्दैन । बालेन र उनका फ्यानहरुले सोच्नुपर्दछ कि अहिले उनीप्रति मत बाँडिएको होइन, राजनीतिक दल र तिनका नेताहरूसँग भाँडिएको चञ्चले सरुवा मन उनीप्रति सरेको मात्र हो । (लेखक खनाल नेपाल प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत हुन् । पूर्व पत्रकार समेत रहेका खनालले समसामयिक विषयमा रचनात्मक टिप्पणी गर्ने गर्छन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार