हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १८:२५:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/cheti_2DYA71RpNt.webp)
♦झलनाथ खनाल
२९ जेठ, भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शंकर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आउनु भएका शंकरको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शंकर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन् ।
बैंकबाट ऋृण निकालेर व्यवसाय गर्नुभएका शंकरले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए । “एक हजार २०० भन्दाबढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शंकरले भने, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उनले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताए ।
यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरेका छन् । तीन बिघा क्षेत्रमा केरा खेती गरेका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएका छन् । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पार्यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भने, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण !”
दिनेशले केराको बीमा गरेका छन् । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए । उनले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताए । टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केराखेती गर्दै आएका छन् । उनले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराखेका छन् । टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् ।
“मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्”, विनोदले भने, “अरु किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको देखिन्छ ।” केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ । १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएका छन् । उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आएका हुन् । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताए ।
“मैले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ” टेकेन्द्रले भने, “आजसम्म मैले टनेल बनाउन सकिनँ भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौंको क्षति पुग्छ ।” उहाँले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताए ।
टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिव एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।
उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताएका छ । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताए ।“किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ”, प्रमुख जोशीले भने, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार