भृकुटीमण्डप जग्गाभाडा प्रकरणमा अख्तियार मौनः सासु र बुहारीमै भाग नमिल्दा सम्झौता बन्यो अनिश्चित
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १९:५५:१०
२ असार, काठमाडौं । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत रहेको समाज कल्याण परिषद र त्यस अन्तर्गत काठमाडौंको मुटुमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गा भाडा प्रकरण सधैं जस्तै यसपटक पनि विवादमा तानिएको छ ।
भृकुटीमण्डप परिसरको जग्गा व्यापारिक प्रयोजनको लागि सेन्टरमा रहेको र अन्यत्रभन्दा सस्तो भाडामा पाइने भएकाले पनि यो जग्गा भाडामा लिने र दिनेबीच माथिल्लो तहकै राजनीति शक्त्तिबीच होडबाजी र रकम चलखेल हुँदै आएको छ ।
यहाँको जग्गा आफ्नो भागमा पार्नका लागि प्रस्ताव गर्नेहरुले सरकारलाई तिर्नुपर्ने सम्झौता अवधि भरको रकमभन्दा बढी रकम कमिशन स्वरुप बुझाउनुपर्ने स्थानीय व्यापारीहरु बताउँछन् । भृकुटीमण्डप हेर्ने विभाग, समाज कल्याण परिषद र मन्त्रालयदेखि राजनीतिक दलका नेतासम्म रकम नपुगी सहजै जग्गा भाडामा पाउने अवस्था नै नआउने उनीहरुको भनाई छ ।
जग्गा भाडामा दिने क्रममा भएको आर्थिक चलखेलबारे प्रमाणसहित अख्तियारमा उजुरी पनि नपरेका होइनन् । तर, अख्तियार दूरुपयोग अनुसन्धानले आयोगले यो प्रकरणमा ठूला माछा माथिसमेत हात हाल्नुपर्ने भएकाले छानविन भइरहेको प्रतिवेदन देखाएरै टार्दै आएको छ । स्थानीय व्यापारीहरुले बताएअनुसार अख्तियारबाट छानविनमा आउने टोलीले समेत भाग पाएका कारण कारवाही अगाडि नबढेको हुनसक्छ ।
अहिले जग्गा भाडा प्रकरणमा महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, समाजकल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारी र भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईकाे प्रत्यक्ष संलग्नता देखिएको छ । यसबाहेक राजनीतिक दलका नेताहरुको चासो पनि उत्तिकै देखिएको छ । रमाइलो विषय के छ भने हाल समाज कल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारी महिला बालबालिका मन्त्री एवम् परिषदका अध्यक्ष उमा रेग्मीकी बुहारी हुन् ।
सासु र बुहारीबीचमा पनि आर्थिक लनदेनको विषय नमिलेकाले भाडा सम्झौता रोकिएको र अनियमितता गरेको उजुरीबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन थालेको जनाउ दिएकाले पनि सम्झौता हुन नसकिरहेको बताइएको छ ।
स्रोतले दिएको जानकारी अनुसार आयोगले छानविन थालेको पत्तो पाएपछि समाजकल्याण परिषद्ले दुई हप्ता अघि खोलेको टेण्डर प्रक्रियाको सम्झौता गर्न अलमल गरीरहेको छ । जसले सम्झौता पत्रमा हस्ताक्षर गर्छ, उही व्यक्ति अनुसन्धान प्रक्रियाको प्रारम्भिक प्रक्रियामा तानिने भएपछि टेण्डर खुलेको दुई हप्ता बितिसक्दा पनि सम्झौता नभएको हो ।
परिषद्का उच्च पदाधिकारीको दबाबमा आह्वान गरिएको पछिल्लो टेण्डर प्रक्रियाले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नै चुनौति दिएको थियो । माथिल्लो राजनीतिक दवावले गर्दा यसअघि अख्तियारले भृकुटीमण्डपस्थित परिषद्को जग्गा कौडीको भाउँमा लिजमा दिएको निष्कर्ष निकालेको थियो ।
लामो अनुसन्धानपछि उक्त क्षेत्रको जग्गाको मुल्य प्रतिरोपनी ७८ हजार ५ सय १ कायम गरेको भएतापनि परिषद्ले भने २५ रोपनी जग्गाको न्यूनतम मुल्य ८ लाख ६ हजार ६ सय ६७ अर्थात् प्रतिरोपनी ३२ हजार २ सय ६६ रुपैया कायम गर्दै ५ वर्षका लागि लिजमा दिन बोलपत्र आह्वान गरेको थियो ।
मनोरञ्ज क्षेत्रलाई भाडामा लगाएको जग्गा भएतापनि अख्तियारले ३ वर्ष अघि नै “व्यापारिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण राजधानीको केन्द्र विन्दुको जग्गा“ भन्दै खेल क्षेत्रकै सामुन्यको इच्छुमती तरकारी बजारले व्यवसायिक रुपमा तिर्दै आएको ७८ हजार ५ सय १ रुपैयाँलाई नै जग्गाको न्यूनतम मुल्य कायम गर्दै काठमाडौं फनपार्क विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अहिले परिषद्ले काठमाडाैं फनपार्कसँगै जोडिएको विगतमा ल्याह्म पुचः ले खेल सञ्चालन गर्दै आएको २५ रोपनी जग्गा भाडामा दिन टेण्डर आह्वान गरेको हो । गत जेठ १८ गते खोलिएको टेण्डर दुई हप्ता बितिसक्दा पनि सम्झौता गर्न अलमल भइरहेको सन्दर्भमा समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले छानविन भइरहेको बताए ।
उनले के छानविन भइरहेको हो भन्ने बारे खुलासा गर्न नचाहे पनि सम्झौता गर्ने जिम्मेवारी आफ्नो भएकाले अख्तियारको अनुसन्धान दायरामा आफु नपर्ने बाटो खोजीरहेको स्रोतले बतायो । यसअघि उक्त टेण्डर पनि भृकुटीमण्डपस्थित भट्टराईकै कार्यकक्षमा खोलिएको थियो । समाज कल्याण परिषद्का कर्मचारी भने यस प्रकरणको जवाफदेही उपाध्यक्ष मोनिका भट्टराई अधिकारी हुनुपर्ने भनिरहेका छन् । ‘उपाध्यक्ष ज्यूको निर्देशनमा टेण्डरको न्यूनतम मुल्य कायम गर्ने निर्णय भएको हो’ परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले भने ।
विगतमा भृकुटीमण्डपमै खेल सञ्चालन गराइसकेका हरिगोपाल अमात्यको अमात्य इन्टरनेशनलले उक्त टेण्डर पारेको हो । मिलेमतोमा टेण्डर आह्वान गरिएको चर्चा चलिरहेका बेला पाँच वर्षका लागि कुल १२ करोड ५ लाख ३३ हजार ३ सय ४७ मा टेण्डर पारेका अमात्यलाई १३ प्रतिशत भ्याट रकम घटाएर सम्झौता गर्न खोजिएको पनि समाज कल्याणकै कर्मचारीले जानकारी दिएका छन् ।
टेण्डर प्रक्रियाले अख्तियारलाई नै चुनौति दिएको अर्थात् प्रतिरोपनी ७८ हजार ५ सय १ रुपैया भन्दा माथि न्यूनतम रकम तोकेर टेण्डर आह्वान गर्नु पर्नेमा प्रतिरोपनी ३२ हजार २ सय ६६ रुपैया मात्र हुने गरी २५ रोपनीको एकमुष्ट मासिक रकम ८ लाख ६ हजार ६ सय ६७ रुपैयाँ कायम गरियो ।
यस सन्दर्भमा भएको निर्णयमा को को पदाधिकारी, कर्मचारी सहभागी छन्, ती अनुसन्धानको दायरामा तानिने भएपछि सम्झौता कार्य लम्बिएको हो । समाज कल्याण परिषद् स्रोतका अनुसार उक्त टेण्डर रद्द गरेर अर्काे टेण्डर आह्वान गर्नु पर्ने विषयमा पनि छलफल भइरहेको छ । यद्यपि, यसपटकको टेण्डर प्रक्रियामा संलग्न पदाधिकारी र कर्मचारी भने दोषमुक्त हुन नसक्ने बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार