वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा, सरोकारवाला निकाय नै उदासीन !

नेपालबहस संवाददाता
असार १७, २०७९ शुक्रबार २१:२१:५

१७ असार, सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए पनि यहाँका नागरिक वर्षायाममा ढुक्कले निदाउन पाउँदैनन् । प्रदेशको राजधानी मानिएको वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ ।
नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ । यसपटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ । मनसुनी विपद्ले वर्षेनी जनधनको क्षति गर्दै आए पनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय नै उदासीन छन् ।
जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा वीरेन्द्रनगर नगरपालिका बेखबर जस्तै बनेको छ । मापदण्डविपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । उपत्यकाको खोर्के, इत्राम र नेवारे खोला नै च्यापेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख ९इन्जिनियर० हरि केसी बताउँछन् ।
नियामक निकायको वेवास्ताका कारण वीरेन्द्रनगरमा वर्षेनी जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन भने गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् ।
खोला आसपास भौतिक संरचना बनाउँदा नगरबासी र नगरपालिका दुवैले ख्याल गरिएको पाइँदैन । वीरेन्द्रनगर-३ मा मात्रै पाँच सय घरधुरी बाढी र कटानको उच्च जोखिममा छन् । वडाध्यक्ष विनोद सिंह विष्टले खोला किनारमा बनेका अधिकांश घरहरूमा विपद्को जोखिम रहेको बताए । ‘चाइना पुलदेखि उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घरहरूमा विपद्को खतरा छ,’ उनले भने, ‘स्थानीयलाई खोला क्षेत्र छोडेर संरचना बनाउन भनिए पनि अटेरी गरिरहेका छन् ।’ निर्माण मापदण्डमा २० मिटर जग्गा खोलालाई छोड्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनी बताउँछन् ।
वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र भएर दक्षिण बग्ने खोर्के र इत्राम खोलामा वर्षायाममा कटान हुन्छ । उपत्यकाको तल्लो तटीय क्षेत्रमा डुवानको उस्तै समस्या छ । भरपर्दो ढल व्यवस्थापन नहुनु तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा दक्षिणी भूभागमा वर्षैपिच्छे डुवान हुने गरेको हो ।
निकास खोलामा तटबन्धन निर्माणले पूर्णता पाएन
वीरेन्द्रनगर उपत्यकाको पानी बाहिरिने एक मात्र स्थान वडा नम्बर ९ स्थित निकास खोला हो । उक्त ठाउँमा व्यवस्थित तटबन्ध नहुँदा आसपासका बासिन्दा डुवान र कटानको जोखिम व्यहोर्न बाध्य छन् । दुई वर्षअघिदेखि निकास खोला तटबन्ध निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । बाढी र डुवानको दीर्घकालीन समस्या हल गर्न निकास खोलामा तटबन्धन निर्माण गर्न लागिएको हो ।
आर्थिक वर्ष २०७७/०७८ बाट टेन्डरमार्फत काम अघि बढाइएको थियो । निवर्तमान वडाध्यक्ष सुरेश मानन्धरले बजेट अभाव हुँदा बाँकी काम पूरा हुन नसकेको बताए । उनका अनुसार हालसम्म पाँच सय मिटरमा मात्रै तटबन्धको काम भएको छ ।
वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्टले वडासँग समन्वय नै नगरी मापदण्ड मिचेर मनपरी रूपमा घर निर्माण भइरहेको बताए । ‘जोखिम बढ्दो देखेपछि नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर अहिले केही काम अघि बढाइएको छ,’ उनले भने, ‘कार्यपालिकाको बैठकमा समेत यसबारे कुरा उठेको छ ।’ वडा नम्बर ३ मा अब बन्ने घरका लागि वडा र नगरपालिका दुवैको अनिवार्य स्वीकृति लिनुुपर्ने व्यवस्थाका लागि पहल भइरहेको उनले बताए । विपद् जोखिम न्यूनीकरण गर्ने सवालमा वडासँगै नगरपालिकाले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।
खोर्के खोलासहित तटबन्धन नहुँदा उपत्यकाभित्रका खोला किनाराका धेरैजसो बस्तीहरू बाढीको जोखिममा छन् । उपत्यकाका खोलामा २०७१ मा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । उतिबेला बगरमा परिणत भएका बस्तीहरू फेरि भरिएका छन् ।
खोला किनारामा घर बनाउनु रहर नभएर बाध्यता भएको वीरेन्द्रनगर(४ का रूपसिंह विक बताउँछन् । नगरपालिकाले निर्माण गरेका सामान्य तटबन्धन बर्खाको भेलसँगै जाने भएकाले जोखिम रहिरहने उनको भनाइ छ । खोला आसपासका बासिन्दाहरू भने विपद् जोखिम कम गर्न नगरपालिकाले निर्माण गरेका संरचना दिगो नभएको गुनासो गर्दै आएका छन् । न्युजकारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
साल्ट ट्रेडिङको चैत ११ गते साधारणसभा बस्ने
फागुन १५, २०८१ बिहिबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
फागुन १५, २०८१ बिहिबार
दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा
फागुन १५, २०८१ बिहिबार
डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १३ देशका प्रतिनिधि सहभागी
फागुन १५, २०८१ बिहिबार
सडक डिभिजनले रद्द गर्यो निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का
फागुन १५, २०८१ बिहिबार
गोविन्दा र श्रीमती बस्छन् अलग-अलग घरमा
फागुन १५, २०८१ बिहिबार