सत्ता मोलमोलाई कि कम्युनिष्ट एकता ? कांग्रेसलाई सत्ताबाट झार्न काम लाग्ला, जनतालाई भने उस्तै
भेषराज पोखरेल
असार १८, २०७९ शनिबार २१:२५:३०
नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए । प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट शक्तिले आन्दोलन चलाए, जनताले साथ दिए । राजतन्त्र हटेर संविधानसभाद्वारा गणतान्त्रिक संविधान बन्यो । जनताले देशमा राजनीतिक स्थायित्व र विकास खोजेकामा पार्टीहरु यी दुवै कुरामा चुके । कांग्रेसको आफ्नो बाटो छँदैछ, कम्युनिष्ट नेताहरुले राजनीतिक स्थायित्व, विकास र जनजीवनमा आमूल परिवर्तन तथा समानता भन्दै आएकामा २०७४ को आमनिर्वाचनबाट लगभग दुई तिहाई बहुमत आउँदासमेत नेताहरुमा पलाएको दम्भका कारण टिकाउन सकेनन् ।
पछिल्लो समय पुनः कम्युनिष्ट एकताको प्रसंग जोडतोडका साथ उठाउन थालिएको छ । प्रायः सबै कम्युनिष्ट नेताहरु पछिल्लो समय अस्तित्वको संकटमा गुज्रिरहेकाले उनीहरुको राजनीतिक भविष्य सुरक्षित गर्न पनि एकताका लागि विभिन्न खालका भेटवार्ताका क्रमले प्राथमिकता पाइरहेका छन् । नेताहरुको अनावश्यक दम्भका कारण छिन्नभिन्न भएका कम्युनिष्ट शक्तिहरु पुनः एक भएर जालान् ? कि नेताहरुको बेमेल उस्तै रहेर एकता कहिल्यै नपाक्ने वीरबलको खिचडी बन्ने होला ?
लगभग दुईतिहाईका साथ कम्युनिष्ट सरकार चलाइरहेको नेकपा फुटेर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेर सरकारै फेरिँदा पनि एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेसलाई विकासविरोधी भनेर लल्कारेरै तल झार्न सकिन्छ भन्ने लागेको थियो । उनले माओवादी केन्द्रका बादलसहित केही नेतालाई लिएपछि शक्तिआर्जन गर्न सकिन्छ र माओवादीलाई कमजोर पार्न कुनै अप्ठ्यारो पर्नेछैन भन्ने ठाने । अन्तिम समयमा १० जना नेता आफूतिर तानेपछि एकीकृत समाजवादी पार्टीको रुपमै रहनेछैन भन्ने लागेको थियो । स्थानीय निर्वाचनको परिणामले त्यसलाई फेल ख्वाइदियो ।
कांग्रेसले ४० प्रतिशत स्थानमा मात्रै चुनावी तालमेल गर्दा पनि आफूभन्दा धेरै माथि गएकाले अब फेरि कम्युनिष्ट पार्टीहरुसँग एकता नगर्ने हो भने कांग्रेसलाई हराउन सकिँदैन भन्ने ओलीलाई लागेको देखिन्छ । अर्को, गठबन्धनलाई टुटाएर कुनै शक्तिलाई भएपनि आफूतिर तान्न सके कांग्रेसलाई कमजोर पार्न सकिने हिसाबकिताब गरेको देखिन्छ । जसका कारण केपी ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवदेखि लिएर पुष्पकमल दाहाल प्रचण्ड र एसका नेताहरुसँग वार्ता गरिसकेका छन् । उता नेकपा फुटलगत्तै पुनः एकता अभियान चलाउने भन्दै फरक समूह बनाएका बामदेव गौतमले पनि एकता अभियान राष्ट्रिय दल नै खोलेर एकताको खिचडी पकाउने दाउमा छन् ।
स्थानीय निर्वाचनको परिणाम, केपी ओलीको सक्रियता र लगभग सबै कम्युनिष्ट पार्टीका शीर्ष नेता तथा अन्य तहका नेताहरुको राजनीतिक भविष्य खतरामा पर्ने देखिएपछि एकताको नाममा सबै नेताहरुमा सक्रियता, खट्पटी तथा छलपटी सुरु भएको छ । यसले पूरो राजनीतिलाई गतिहीन र लुलो बनाउने खतरा बढेको छ । एमालेलाई अरु राष्ट्रिय मुद्दा उठाउने, संसदमा छलफल गर्न बाध्य पार्ने र समाधान निकाल्नभन्दा कसरी गठबन्धन सरकारलाई टुटाउने ? जसले गर्दा केपी ओलीदेखि त्यसपछिका चल्तापुर्जा नेताहरुको राजनीतिक भविष्य सुरक्षित गर्न सकियोस् भन्ने ध्याउन्न छ ।
अर्को, माओवादी केन्द्रले स्थानीय निर्वाचनमा तेस्रो स्थान प्राप्त गरे पनि सामान्य रुपमा गयो भने प्रचण्ड वा अरु दोस्रो, तेस्रो तहका नेताहरुको राजनीतिक अस्तित्व रक्षा गर्न सकिँदैन कि भन्ने डर देखिन्छ । उनीहरुले केपी ओलीसँग वार्ता चलाउँदा कांग्रेसलाई दबाबमा पार्न सकिन्छ भन्ने लागेको छ । सके नेताहरुको भविष्य सुरक्षित रहने गरी ओलीसँग एकता पनि हुनसक्छ, नभए त्यही दबाबले कांग्रेससँगै बढी सिट लिन पाइएला भन्ने लागेको देखिन्छ ।
स्थानीय निर्वाचनको परिणामले एकीकृत समाजवादीका नेताहरुमा आफूहरुको अबको राजनीतिक भविष्य सुरक्षित हुन्न कि भन्ने डर बढेको छ । जसले गर्दा पछिल्लो समय उनीहरुमा छट्पटी सुरु भएको स्पष्ट देखिन थालेको छ । वामदेव गौतमलाई कम्युनिष्ट एकता नभए राजनीतिक अस्तित्व नामेट हुने लाग्ने भयो नै तर उनीसँग न दह्रा नेता पछाडि छन् न विशेष नीति नै छ ।
भविष्यले कस्तो परिणाम देखाउने हो, त्यो त अहिले नै अनुमान गर्न गाह्रो छ तर यो कम्युनिष्ट एकताको भाष्यले अचम्मसँग सबै नेताहरुको मोलमोलाई गर्ने क्षमता बढाइदिएको छ । एमाले अध्यक्ष केपी ओलीलाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नै परेन । गठबन्धनलाई टुटाउने र सकेसम्म एकता, नभए सहकार्य, त्यो पनि नभए असन्तुष्ट नेता भित्राउने रणनीतिमा लागेको अवस्थामा कसले प्रश्न उठाउने ? एमालेका अन्य नेतालाई राजनीतिक अस्तित्व बचाउन निरन्तर प्रयास भएकोमा खुशी नलाग्ने कुरै भएन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यो एकता प्रसँग ज्यादै ठूलो राजनीतिक अस्त्र बन्न गएको छ । आफ्नो अन्य नेताको अस्तित्व बच्ने गरी एमालेसँग एकता भए के फरक पर्यो ? भएन भने यही सक्रियताले कांग्रेससँग बढी सिट लिन सकिएला । वर्षमान पुनदेखि अन्य नेताहरुले कम्युनिष्ट एकता हाम्रो मूल लक्ष्य हो, भनेकै छन् । अझ माओवदीका नेताहरुले यही अस्त्र प्रयोग गरेर पार्टीमा पनि मोलमोलाई शक्ति बढाउँदै छन् । अर्को, एसका नेताहरुले पनि पार्टीभित्र यही हतियार प्रयोग गर्दै छन् । भर्खरै मन्त्रीहरु परिवर्तनमा पनि नेताहरुको अभिव्यक्तिले यसैलाई देखायो ।
कम्युनिष्ट एकता कसरी र किन ? यी प्रश्नको उत्तर पाउन भने कठिन छ । एमाले अध्यक्ष केपी ओलीले एकता वा सहकार्यको कुरा जबर्जस्त उठाए पनि उनमा रहेको दम्भ कम भएको छ र ? उनले प्रचण्ड, माधव नेपाल तथा अन्य कम्युनिष्ट नेताको अस्तित्व स्वीकार्न तयार होलान् त ? अर्को, प्रचण्ड र नेपालले पनि ओलीको नेतृत्व स्वीकार्न तयार भएको देखिँदैन । छुट्टै रहँदा आफ्नो र नेताहरुको अस्तित्व नरहने अवस्थामा र एमालेमा अतित्व रहने अवस्थामा मात्रै एकता वा सहकार्य गर्न तयार हुनेछन् । उनीहरुमा रहेको दम्भ पनि हटेको छैन ।
कम्युनिष्टका ठूला दलहरु, सकेसम्म सबै नेता एक ठाउँमा आएर विशेष नीतिका साथ अगाडि बढ्ने हो भने कांग्रेसलाई रोक्न अवस्य सकिनेछ तर छुट्टै कम्युनिष्ट नीति राज्यसंयन्त्रमा लागू गर्ने अवस्था भने छैन । यसको मुख्यकारण कम्युनिष्ट दलका प्रायः सबै शीर्ष नेता दलाल पुँजीपतिको सहयोगमा आफ्नो शासन अगाडि बढाउने नीति लिएका छन् । दलालभन्दा टाढा रहे शीर्ष नेताहरुले पार्टी चलाउनै नसक्ने अवस्था बनाएका छन् । दोस्रो, तेस्रो तहका नेताहरुको त दलालहरुसँग प्रत्यक्ष सम्बन्ध देखिन्छ । उनीहरुले त्यो सम्बन्ध कुनै मूल्यमा पनि टुटाउन चाहन्नन् । यस्तो अवस्थामा एकताले जनतालाई के देला ? सोच्ने पालो पाठकको ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार