काठमाडौंका भित्री सडकमा खाल्डैखाल्डा
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार २१:५०:५५
♦सञ्चिता घिमिरे
२० असार, काठमाडौं । काठमाडौं–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान छन् । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन ।
वर्षाको समय सडक हिलाम्मे हुँदा सडकमा सवारी साधनले हिलो छ्याप्ने गरेको उन्ले बताए । साँझमा सामान्य सडक आफू बिहान उठ्दासम्म खनिसकेको अधिकारीले बताए ।
उनले भने, “बिहान गाडी र मोटरसाइकलसमेत निकाल्न नसक्ने गरी खनिएको रहेछ ।” वर्षाका समयमा सडक खन्न नहुने भन्दै कतिपय स्थानीयवासीले विरोध गरे पनि नरेफाँट क्षेत्रमा अहिले धमाधम सडक खनिरहेको देख्न सकिन्छ । एकातिर ढल निकास छैन भने अर्कातिर वर्षाको समयमा सडक खनेकाले भित्री सडक अस्तव्यस्त बनेको छ ।
सङ्घीय सरकारले केही वर्षयता मुख्य सडक सबैतिर कालोपत्र थप्ने काम गरिरहँदा भित्री सडकमा भने खाल्डा भएको हो । कामपा वडा नं १० शङ्खमूल क्षेत्रमा सहजरुपमा आवागमन गर्ने अवस्था नरहेको स्थानीय नीता शर्माले गुनासो गरे ।
शर्माका अनुसार धेरै ठाउँमा खाल्डा भएकाले बालबालिका विद्यालय जाँदा वा फर्कंदा पानी छ्याप्ने गर्छ । आफूले काम परेर निस्कँदा पनि हैरान भएर फर्कने गरेको उनले बताए । उनले भने, “पानी नपरेको दिन जेनतेन हिँडे पनि पानी परेको समयमा बाटो परिवर्तन गरेर लामो बाटो हिँड्नु पर्नेछ ।”
त्यसैगरी कामपाको वडा नं १८ स्थित दमाईंटोलमा धेरै ठाउँमा खाल्डैखाल्डा भएको छ । यस वर्ष असार लागेसँगै नियमित पानी परिरहेको छ । वर्षा पहिले नै सडकमा खाल्डा परेको भए पनि पुरिएको थिएन । अहिले वर्षाका कारण सडकमा धेरै ठाउँमा र पहिलेभन्दा ठूलाठूला खाल्डो परेको स्थानीय विगुल कपालीले भने ।
उनका अनुसार सडकमा भएको खाल्डा र त्यसका कारण स्थानीयलाई परेको प्रभावका कारण वडा कार्यलयमा जानकारी गराइसकेको छ । वडाका प्रतिनिधिले महानगरमा जानकारी गराएमा खाल्डा पुरिँने स्थानीयवासीको अपेक्षा छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नयाँ पाइप खन्ने र नेपाल विद्युत् प्राधिकरणले तार अण्डर ग्राउण्ड गर्दा काठमाडौँ महानगरका भित्रि सडक खाल्डैखाल्डा भएको छ ।
वर्षाको समयमा सडक खनिँदा हिलोका कारण पैदलयात्रु र सवारी चालक दुवैलाई यात्रा गर्न गाह्रो भएको छ । राम्रो बाटो अहिले बिग्रेको र पहिले बिगारेको सडक पनि अझैसम्म नबनाउँदा वर्षाको समयमा नागरिकले दुःख पाइरहेका छन् । सडक खन्नुमा आफ्नो कमजोरी नभए पनि महानगरवासीको अनावश्यक गुनासो सुन्नुपरेको महानगरले जनाएको छ ।
महानगरपालिका प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपछि प्राधिकरण र लिमिटेड दुवैसँग यस विषयमा छलफल भएको महानगरका भौतिक पूर्वाधार शाखाका प्रमुख राम थापाले बताए ।
नगर प्रमुखको कार्यकक्षमा बैठक भएपछि पनि दुई पटकसम्म पत्राचार गरिएको र पटकपटक मौखिम भनिएकोे उनले बताए । बैठकमा र कुराकानीमा काम चाँडो गर्ने भने पनि ढिलाइ भइरहेको उनले बताए ।
खनिएको सडक नबनाउँदा अरु सडक बिग्रने प्रमुख थापाले बताए । सडक खनेको समयमा मर्मत नहुँदा महानगरवासीले दुःख पाउने गरेका छन् । प्राधिकरणलाई विद्युत् नआउँदा वा लिमिटेडलाई पानी नआउँदा गुनासो गर्ने भए पनि सडकमा खाल्डा हुँदा महानगरलाई नै गुनासो गर्ने उनले बताए ।
सडक जसले बिगा-यो उसले बनाउनुपर्ने समझदारीपत्रमा उल्लेख भए पनि खन्ने निकायले मर्मत गर्न ढिलाइ गर्दा महानगरवासीले हैरानी भोग्न बाध्य हुने गरेका हुन् ।
समयमा सडक नबनाउँदा वर्षाको पानीले थप बिग्रिरहेको प्रमुख थापाले बताए । बिगार्ने निकायले जति क्षेत्रफल बिगारेको हो त्यसमा मात्रै मर्मत गर्ने भए पनि समयमा मर्मत नहुँदा त्यसले थप ठाउँ बिगार्छ ।
सडक खन्नका लागि बालुवाटार, लाजिम्पाट, कलङ्की, डल्लुलगायतका स्थानमा मात्रै अनुमति दिइएको भए पनि अहिले धेरै स्थानमा खनिरहेको पाइएको छ । पुस र माघमा नै ती ठाउँमा वैशाख, जेठभित्रै काम सकाउने भने पनि अहिले पनि खनिरहेको देख्न सकिन्छ ।
उनले भने, “पानी, बत्तीका लागि भनेपछि स्वीकृति पनि दिनुप-यो, तर सम्झौताअनुसार काम हुँदैन ।” गोङ्गबु, सामाखुसी, नयाँ बजारलगायतका स्थानमा सहमति नदिए पनि धमाधम सडक खन्ने काम भइरहेको देख्न सकिन्छ । महानगरले स्वीकृति नै नदिएका धेरै ठाउँमा खनेको प्रमुख थापाले बताए ।
स्वीकृति दिएको ठाउँमा त सडक समयमा बनाएको छैन भने स्वीकृति नै नदिइएको ठाउँमा महानगरले केही गर्न सक्दैन । महानगरपालिकाको वर्षामा दुई महिना खन्न नदिने नीति रहेको छ । यो समयमा सहमति र स्वीकृति नदिने गरिएको भए पनि पहिले दिइएको सहमतिका आधारमा खनिरहेको उनले बताए।
सामान्यतया सबैतिरका सडकमा वर्षाका समयमा खाल्डाखुल्डी बढी देखिन्छ । पानी जम्दा गाडीको चक्काले उछिटेर झन बढी खाल्डा हुनेहुँदा महानगरले त्यसका लागि एक महिनादेखि कन्सट्रक्सन एम्बुलेन्स सञ्चालन गरिरहेको छ । यहीबीचमा खाल्डाखुल्डी पुरिएको र कतिपय ठाउँमा काम भइरहेको उनले बताए ।
‘कन्स्ट्रक्सन एम्बुलेन्स’ मा दुई एम्बुलेन्स र १० जना जनशक्ति मात्रै भए पनि एकैपटक धेरैतिरबाट माग भइरहेको प्रमुख थापाले बताए । यसरी खाल्डा पुर्ने काम एउटै ठाउँमा नभएर ठाउँठाउँमा हुने भएकाले बढी समय लागेको उनले बताए ।
स–सानो कामलाई मिलाएर गर्नुपर्ने र सडकमा सवारीसाधन पनि व्यवस्थापन गर्नुपर्ने हुँदा बढी समय लाग्ने उनले बताए । बिहान, बेलुका र दिउँसो ३२ वटै वडामा काम भइरहेको छ । उनले भने, “एकैपटक नभ्याए पनि गुनासोका आधारमा गरिरहेको छौँ, गुनासो र हामीले गर्ने कामको सन्तुलन अझै मिल्न सकेको छैन ।”
समयसमयमा सडक खनेको लामो समयसम्म नपुर्ने गर्दा महानगरवासी कामपालाई नै गुनासो गर्छन् । कुनैकुनै ठाउँमा एउटै ठेक्कामा खन्ने, पुर्नेदेखि कालोपत्रसम्मको हुन्छ ।
त्यस्तोमा महानगरले कानुनीरुपमा पनि काम गर्न मिल्दैन । तर खन्ने र पुर्ने मात्रै गरी सम्झौता भएको र लामो समयसम्म काम नभएको पाइएमा आफैँले पनि पुर्ने गरिएको उनले बताए ।
उनले भने, “लामो समय काम नगर्दा हामीलाई नै लागत दिनु हामी गर्छौंभन्दा उनहरु सकेसम्म तोकिएको कम्पनीमार्फत नै काम सम्पन्न गर्न ।” महानगरपालिकाले गत महिनाबाट नागरिकको गुनासो सुन्न सुरु गरेको थियो । त्यसमा सडक खाल्डाखुल्डी भएको गुनासो १५ देखि २० प्रतिशत छ ।
भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी नागरिकको गुनासो सडक खाल्डाखुल्डी भएर आवतजावत कठिन भएको भन्ने छ । फोहर, नक्सा पास र वडाबाट दिने सेवाको गुनासो पछि सडकका गुनासो रहेको पाइन्छ ।
कामपाले बर्सेनि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजन गर्दै आएको छ । आगामी आवका लागि पनि महानगरले रु ११ अर्ब बजेट छुट्याएको छ । चालु आवमा पनि भौतिक पूर्वाधारको रु नौ अर्ब सात करोड बजेट विनियोजन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार