महामन्त्रीद्वय नै विधेयकविरुद्ध उत्रिएपछि देउवा संकटमा, गठबन्धनमा पनि उस्तै रँडाको
केदार भट्टराई (काका)
असार २७, २०७९ सोमबार १९:४७:१३
२७ असार, काठमाडौं । पार्टी सभापतिपछि शक्तिशाली मानिने दुई महामन्त्री नै संवैधानिक परिषद सम्बन्धि विधेयकको विरुद्धमा उत्रिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संकटमा परेका छन् ।
यसले आफ्नै पार्टी र सत्ता सहयात्री दलबाटसमेत देउवाले समर्थन नपाउने निश्चित जस्तै बनेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा राष्ट्रियसभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयकको विपक्षमा उभिएका मात्र छैनन् यो विधेयक संसदमा पेश गर्नुको कारणसहितको जवाफ पनि मागेका छन् ।
गत बुधबार प्रधानमन्त्री देउवाले संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेस गरेका थिए । उक्त विधेयकको चौतर्फी आलोचना भइरहँदा कांग्रेसकै महामन्त्रीद्वय थापा र शर्मा विपक्षमा उभिएका हुन् ।
तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो उक्त विधेयकको विपक्षमा उनीहरु उभिएका हुन् । तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध जनाएको थियो । तर, अहिले सोही प्रकृतिको विधेयक सरकारले ल्याएपछि यसको विरोधमा थापा र शर्मा उभिएका हुन् ।
ललितपुरमा सोमबार आयोजित कार्यक्रममा गगन थापाले सो विधेयक मंगलबारभित्र फिर्ता हुने बताए । आइतबार कांग्रेस पदाधिकारीले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त विधेयक फिर्ता लिन आग्रह गरेको महामन्त्री थापाले जानकारी दिए । उनका अनुसार मंगलबारसम्ममा सो विधेयक फिर्ता हुनेछ ।
‘पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो । संविधानविपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो । सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन । हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं ? पाउँदैनौं । हिजो गलत थियो भने आज पनि गलत छ । हामीलाई गल्ती गर्ने छुट छैन भनेर आइतबार पदाधिकारीहरूले देउवासँग भनिसकेका छौँ । आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ,’ गगन थापाले कार्यक्रममा भने ।
यस्तै अर्का महामन्त्री शर्माले ओली सरकारले ल्याएको अध्यादेशसँँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । उक्त विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद् छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने सबै सांसदले यो विधेयकको विरोध गरेका छन् । सरकारले संवैधानिक परिषद सम्बन्धि विधेयक राष्ट्रियसभामा पेश गरेपछि त्यसप्रति सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरुले विरोध जनाएका हुन् । सरकारले संविधानको मर्म विपरित विधेयक ल्याएको आरोप दलका नेताहरुले लगाएका छन् । विधेयकको चर्को विरोध गर्नेमा प्रमुख प्रतिपक्षी दलभन्दा सत्तारुढ दलका नेताहरु बढी देखिएका छन् ।
अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको प्रावधान हुवहु समेटी वर्तमान सरकारले विधेयक ल्याएको आरोप विभिन्न दलका नेताहरुको रहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा प्रस्तुत गरिएको संवैधानिक परिषद् ऐन संशोधन सम्बन्धि विधेयक पाँच दलीय गठबन्धनमा अविलम्ब छलफल गर्नुपर्ने माग गरेका छन् । यसमा सार्वजनिक बहस पनि हुनुपर्ने उनले जनाए ।
‘संवैधानिक परिषद ऐन संशोधन विधेयकको हकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत ल्याएको र हामी सबैल बिरोध गरेको प्रावधान नै ल्याउन खोज्नु नैतिक र उपयुक्त हुन सक्दैन् । यस्तो दोहोरो मापदण्ड प्रदर्शन नगरौं,’ माओवादी नेता श्रेष्ठले भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा विधेयक पेश गरेको आरोप लगाएका छन् । उनले तत्काल विधेयक फिर्ता गर्न सरकारलाई आग्रह समेत गरेका छन् । ‘संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु । सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराइले भने ।
नेकपा एमालेका अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री देउवाले सर्वस्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । ‘देउवासँग डेमोक्रेसीसँगै हिड्नै सक्दैन, हेज्मोक्रेसी र सर्वस्तावाद मात्र सँगै हिड्ने गरेको इतिहास छ । अब गगन र विश्वप्रकाशतिर एकसाथ प्रश्न फर्कियो –के अहिले गठबन्धन सरकारले ल्याएको अध्यादेश अग्रगामी हुन् ? हिजो २८ –३० महिना बैठकमा नगएर आजित गराउने देउवाले अहिले कति पल्ट बैठक डाके ?,’ बाँस्कोटाले प्रश्न गरेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार