एमालेको चुनावी दाउः अरु दलका असन्तुष्टलाई भित्राएर जित निकाल्ने, गठबन्धनका दलहरुको रणनीति के ?
भेषराज पोखरेल
साउन २४, २०७९ मंगलबार १५:२:२३
सरकारमा संलग्न पाँच दलीय गठबन्धन संघ र प्रदेश निर्वाचनमा कायमै राखेर अघि बढ्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले दबाबमा पर्न गएको विश्लेषकको बझाइ छ । एमाले दबाबमा त छ नै सो दलले नयाँ अवसर पर्खेर बस्ने रणनीति पनि बनाएको छ । सो रणनीति अनुसार पाँच दलीय गठबन्धन चुनावमा तालमेल गर्दा कतिपय प्रभावशाली नेताहरु प्रत्यक्ष निर्वाचनमा टिकट नपाउने अवस्था आउने आँकलन गर्दै त्यस्तो अवस्थामा ती दलमा चरम असन्तुष्टि बढेर जानेछ र त्यसबेला त्यस्ता नेताहरु आफ्नो पार्टीमा तान्ने रणनीतिमा छ ।
स्थानीय निर्वाचनका बेला एमालेले अन्य दलका नेता, कर्ता भित्राउने लहर नै चलाएको थियो । केही प्रभाव भएका स्थानीय स्तरका नेताहरुलाई तत्कालै टिकट दिने र केन्द्रीय स्तरका नेताहरुलाई उपयुक्त पद थमाएको थियो । अहिले पनि प्रभावशाली नेता आए टिकट दिने रणनीतिमा छ । अहिले एक त कांग्रेससँग सिट बाँडफाँडमा किचलो हुने अर्को, यो विषय समाधान भए पार्टीहरुभित्रै टिकट नपाउनेको संख्या उल्लेख्य हुने उसको बुझाइ देखिन्छ । यस्तो अवस्थामा एमालेसँग तालमेल गरेर जानुपर्छ भन्ने एकीकृत समाजवादी र माओवादी केन्द्रका असन्तुष्ट नेताहरुलाई आफ्नो पार्टीमा ल्याएर बलियो बन्ने रणनीतिमा नेताहरु भएको देखिन्छ । एमाले पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुंगले अवस्था, परिस्थति कस्तो आउँछ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।
एमालेले आँकलन गरेजस्तै अवस्था आयो भने केही हदसम्म पाँच दलीय गठबन्धनलाई दबाबमा राख्न सक्नेछ । त्यसो भएन भने पनि एमालेले स्थानीय निर्वाचनमा जस्तै राप्रपा, बीपी कांग्रस, परिवार दलदेखि यो निर्वाचन विशेष भएकाले उम्मेदवारको मनोनयनसम्म अन्य साना दलसँग सहकार्य हुन सक्ने देखिन्छ । सरकार सञ्चालक दलहरुबीच सिट बाँडफाड सहज नहुने कांग्रेस पदाधिकारी बैठकले औंल्याएको छ ।
कांग्रेस बाहेकका दलहरुले कांग्रेस र अरु दलहरुलाई सिट आधा–आधा हुनुपर्ने अडान राख्ने मनस्थितिमा देखएको छन् । यसो गर्दा कांग्रसको बहुमतमा रहने योजना सफल नहुने देखिन्छ । यस्तो अवस्थामा कयौं प्रभावशाली नेताहरुको चुनावी क्षेत्र अरु दललाई दिनुपर्ने अवस्था आउँछ । त्यस बेला पार्टीभित्र असन्तुटि बढेर जाने हुँदा त्यसको व्यवस्थापन गर्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र उनी वरिपरिका नेताहरुलाई हम्मे पर्नेछ । कांग्रेससँग मोलमोलाइ बढाउन सरकारमा रहेका कांग्रेस बाहेकका दलहरुले एकीकृत मोर्चा बनाएर जाने योजनामा छन् । सो मोर्चालाई बामपन्थी–समाजवादी मोर्चाको नाम दिने बताएका छन् । यसले कांग्रेस दबाबमा छ ।
आगामी निर्वाचनलाई एमाले, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा बाहेकका अन्य साना बामपन्थी दलहरु पनि मोर्चा बनाएर एकीकृत रुपमा निर्वाचनमा जाने योजनामा देखिएका छन् । मोहन वैद्य, सीपी मैनाली, नेत्रविक्रम चन्द, आहूतिदेखि अन्य कम्युनिष्ट दलहरुको मोर्चा बन्ने तयारीमा छ ।
यो गठबन्धनलाई कतिपय स्थानमा एमालेले तालमेल गरेर उपयोग गर्न सक्छ भने कतिपय स्थानमा बाम–समाजवादी मोर्चाले उपयोग गर्न सक्छ जसले गर्दा परम्परागत राजनीतिक समीकरण परिवर्तन हुने सम्भावना छ । आफूलाई खाँटी कम्युनिष्ट भन्दै आए पनि ती साना दल तथा तिनका नेताहरुले राजनीतिमा दह्रो उपस्थिति देखाउन सकेका छैनन् । न सिद्धान्तबाट जनतालाई आकर्षित गर्न सकेका छन् न सरकारले गरेका गलत र कमजोरीको सशक्त विरोध गरेर जनताको मन जित्न सकेका छन् ।
अब त्यसरी बस्न हुँदैन, मैदानमै उत्रिएर अस्तित्व साबित गर्नुपर्छ भन्ने ती दलका नेताहरुलाई लागेको देखिन्छ । यसले वामपन्थी नेताहरुबीचमा पनि नीति र नेताहरुबीच प्रतिस्पर्धा हुने अवस्था आउने हो कि भन्ने देखाएको छ । पछिल्लो समय दलहरुले देश डुबाए, हामीले देशलाई परिवर्तन गर्छौं भन्दै स्वतन्त्र उम्मेदवारी दिने तथा दल दर्ता गरेर अगाडि आउन खोज्ने समूह पनि सक्रिय छन् । उनीहरुको खास सिद्धान्त नभएको र देशलाई नै परिवर्तन गर्न सक्ने मोडालिटी नभए पनि व्यक्तिगत रुपमा केही व्यक्तिलाई जनताले आफ्नो मत दिन सक्ने देखिएको छ । यसले पनि गठबन्धनका दलहरुलाई चुनौती बढाएको छ ।
कांग्रेसले पनि एमालेको रणनीति, सरकारमा संलग्न अरु दलको गठबन्धन गरेर जाने रणनीति र अन्य अवस्थालाई आँकलन गरेर होला मधेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्य गरेर जाने रणनीति बनाउने तयारीमा देखिएको छ । यसले कांगे्रसलाई केही राहत दिन सक्छ ।
केपी ओलीले गरेका संविधानविपरीत प्रतिनिधिसभा विघटनका विरुद्ध एक भएका दलहरु निर्वाचनमा जाँदा पूरै रुपमा विभाजित भए भने उनीहरुको स्थिति कमजोर बन्न जानेछ । सकेसम्म सहमति गरेर सिटको भागबण्डा मिलाउने, निर्वाचनमा क्षमतावान् उपयुक्त नेताहरुलाई टिकट दिने नभए सिष्ट प्रतिपर्धा गर्ने हो भने उनीहरुले जनतालाई आफूतिर तान्न सफल होलान् । होइन भने फेरि पनि ओली नै बलियो हुने वातावरण बन्न सक्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार