कति दिन चल्छ ट्राफिक प्रहरी महाशाखाको नौटंकी ?
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २३:३१:४६
♦ अनुसा थापा / भक्तपुर
२७ साउन, काठमाडाैं । हाल काठमाडौंमा हर्न बजाउन निषेध गरिएको छ । काठमाडौंका मेयर बालेन्द्र साह र ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीले तामझामका साथ ‘नो हर्न’ को उद्घाटन गरेका थिए । तर, उद्घाटन चाँहि भयो कार्यान्वयन भएन । यसो हेर्दा यसपाली पनि यो उदघाटनमै सीमित हुने देखिएको छ । अहिले पनि निजी र सार्वजनिक यातायातले जथाभावी हर्न बजाउँदै हिँडेको पाइन्छ ।
सरकारको नियम काइदा अटेर गरेर हिँड्नेलाई ट्राफिक प्रहरीले छुट दिएको छ । न अनुगमन गर्छ न कारबाही । चर्चाका लागि मात्र यो अभियान थालिएको हो भन्न स्पष्ट बुझिएको छ । यसअघि २०७३ चैतमा पनि ‘नो हर्न’ अभियान सञ्चालनमा ल्याइएको थियो । ट्राफिककै नेतृत्वमा चैतभर जनचेतना फैलाउने काम भयो । उनीहरुलाई सम्झाउने, बुझाउने तर जरिवाना नगर्ने निर्णय भएको थियो ।
त्यस्तै, वैशाख १ गतेबाट हर्न बजाउनेलाई कारबाही गर्ने भनेर ट्राफिक प्रहरी अग्रसर बनेका थिए । केही दिन त नौटंकी पनि चल्यो । अन्ततः यो निर्णय पनि त्यत्तिकै तुहियो । योसँगै चप्पल लगाएर चालकले सवारी साधन चलाउन नपाउने भनिएको थियो । त्यस्तै, सहचालकलाई पनि जुत्ता अनिवार्य गरिएको थियो । चप्पल चिप्लिन सक्ने, चालकको खुट्टा अड्किएर दुर्घटना हुनसक्ने भएकाले ट्राफिक प्रहरीले यो नियम लागू गरेकाे थियो । जुन दराजमा थन्कियो, लागू हुन पाएन् । नम्बर प्लेट स्पष्ट राख्नुपर्ने, केरिएको नम्बर प्लेट राखेमा र ठूलो आवाज निकालेर मोटरसाइकल चलाएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो । मिटरमा यात्रु नबोक्ने र हमज गर्न खोज्ने ट्रयाक्सीलाई पनि नियमन गर्ने कानूनको दायरामा ल्याउने ट्राफिक प्रहरी महाशाखाले जनाएको थियो । ट्राफिक प्रहरीहरु सिभिल भएर सार्वजनिक यातायातको अनुगमन गर्ने भनेर निस्किएका पनि थिए ।
सार्वजनिक यातायातका चालक र सहचालकले कस्तो व्यवहार गर्छन् ? सरकारले तोकेको जत्तिभन्दा बढी भाडा उठाइरहेका छन् कि ? विद्यार्थी र जयेष्ठ नागरिकले छुट पाएका छन् कि छैनन् ? ट्याक्सी मिटरमा हिँडेको छ कि छैन् ? यस्ता विषयमा अनुगमन गर्न ट्राफिक प्रहरीलाई साधा भेषमा खटाउने महाशाखाको निश्कर्ष थियो । गाडीहरुले स्टपमा रोकेर मात्र यात्रु चढाउन र ओराल्न पाउने भनेर कार्यक्रम ल्याएको थियो ।
लामो रोडमा चल्ने गाडीहरुको टिकट काउण्टरमा निगरानी राखिने भनेर आश्वासन पनि दिइएको थियो । महाशाखाले यत्रो कार्यक्रम त ल्यायो तर सबै कागजमै सीमित भयो । ट्राफिकका हाकिमलाई आफ्नो अनुहार मिडियामा देखाउन रहर लागेकाले उनले यति धेरै निर्णय गरे । तर, सबै दराजमा थन्कियो । छिनका लागि जनतालाई आशा देखाउने र निमोठ्ने काम ट्राफिक महाशाखाले गर्यो ।
ट्राफिक महाशाखाले ट्राफिक नियम नमान्ने सवारी साधनलाई नै कारबाही गर्न सकेको छैन् । फुटपाथ त सवारी साधन पार्क गर्ने स्थल बनेको छ । नो पार्किङमा सवारी साधन लामबद्ध पार्क गरेर राखेको हुन्छन्, तर ट्राफिक प्रहरी अनदेखा गर्छन् । बिदाको दिन चल्ने सरकारी वा संस्थानका गाडीलाई कारबाही गर्न पनि महाशाखा चुकेको छ । भाडाको गाडीले जथाभावी सवारी साधन रोकेर यात्रु चढाउने ओराल्ने गर्दा ट्राफिक प्रहरी के हेरेर बसिरहेका छन् ?
सार्वजनिक यातायात एउटा बस स्टपमा लगभग १० मिनेटदेखि आधा घण्टासम्म रोकेर राख्छ । अगाडिको गाडीले गर्दा पछाडि पुरै जाम भइसकेको हुन्छ । तर, ट्राफिकलाई अलिकति पनि चासो छैन् । कतिपय ठाँउमा त ट्राफिक नै छैनन् । बस, माइक्रोबस र ट्याम्पोले सिटभन्दा बढी यात्रु बाेकेर यात्रा गराइरहेका छन् । नक्कली सिट हालेर समेत ढोकासम्म यात्रु झुण्डाइएको हुन्छ ?
ढोकामा झुण्डाउदा यात्रु खस्यो भने यसको जिम्मेवारी को ? ट्राफिक गैरजिम्मेवार हुँदा यातायात व्यवसायीले मनोमानी चलाएका हुन् । सरकारले एकबाट पाँच किलोमिटरसम्म २० रुपैयाँ भाडा तोकेको छ । तर, चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्छ । ट्याक्सीले मिटरमा यात्रु बोक्न मान्दैन् भने छोटो दुरीमा जान त मरिगए पनि टेर्दैन् । अहिले पनि २० वर्ष नाघेका सवारी साधनहरु बाटोमा गुडिरहेका छन् ।
तर, सरकारले आयु पुगेका सवारी साधन विस्थापन गर्ने भनेर निर्णय गरेको छ । बाटामा २४ देखि २७ वर्ष कटेका थोत्रा, पुराना सवारी साधन गुड्दा पनि ट्राफिक हात बाँधेर बसेको छ । न बिलबुक चेकजाँच हुन्छ न कारबाही । स्कुलका बसहरुले समेत सिटभन्दा बढी विद्यार्थी हालेर दौडाइरहेको छ । यतातिर अनुगमन गर्न पनि ट्राफिक चुकेको छ । अफिस टाइममा सामान बोक्ने ढुवानी गाडीहरु गुडिरहेका छन् ।
यस्ता सवारी साधनलाई पनि कारबाही गरेको पाइदैन् । मापसे गरेर दिनदहाडै सवारी साधन चलाउने क्रम पनि रोकिएको छैन् । जसले दुर्घटनालाई बढावा दिएको छ । मापसे गरेर सवारी चलाउनेलाई कारबाही नगर्दा दुर्घटना हुने क्रम बढेको छ । भाडाका गाडी चलाउने चालक र सहचालकले अभद्र व्यवहार गर्यो, राम्रो व्यवहार गरेन्, जथाभावी बोले भनेर यात्रुहरु गुनासो गर्छन् । चर्को भाडा असुल्ने, जथाभावी रोक्ने, सिटभन्दा बढी यात्रु कोच्ने लगायतका आनीबानी देखेर यात्रु आजित भइसकेका छन् । यता, यात्रुले उजुरी गर्ने प्रभावकारी व्यवस्थासमेत गरिएको छैन् ।
यात्रु ठगिए भने कहाँ गएर उजुरी गर्ने ? १०३ नम्बर जतिबेलै पनि व्यस्त हुन्छ । फोन उठिहाले पनि त्यस्ता सवारी साधनलाई कारबाही हुने होइन् । अधिकांश सवारी साधन कागजपत्र नै छैन् । तापनि निस्फिक्री बाटोमा डुलाइरहेका हुन्छन्, सवारी धनी । कागजपत्र चेकजाँचमा समेत ट्राफिकको ध्यान जान सकेको छैन् । ट्राफिक प्रहरी महाशाखा नालायक हुँदा राज्य चल्लै छ ।
यात्रुले पनि बिनासित्ती मँहगो भाडा तिरिरहेका छन् । ट्राफिक प्रमुखको कारणले राज्य र जनतालाई कतिसम्म नोक्सानी भयो । यातायात व्यवसायीहरु दिनभर यात्रु ठग्छन् र पुग्ने कमाउछन् । अनि आफूहरुलाई पैसा पुग्नेबित्तिकै ६ बजे नै गाडी ग्यारेजमा लगेर थन्काउछन् । बेलुकी साँझ पर्न नपाउँदै बाटोमा सार्वजनिक यातायातको चाप निकै कम भइसक्छ । तर, यसतर्फ हालको ट्राफिक प्रमुख चौधरीलाई केही मतलब छैन् ।
मिडियाबाजी गर्ने तर सुधार्न नखोज्ने । मुलुकका सबै जनता सडक र सार्वजनिक यातायातसंग जोडिएको भएपनि यहाँ सबैभन्दा धेरै लापरवाही छ । ट्राफिक प्रमुखले केही गर्न नसकेपछि उनलाई सरुवा गर्नुपर्छ भन्ने माग उठेको छ । पद सम्हालेको यत्रो दिन बितिसक्दा पनि जनताले उनलाई सडकमा अनुगमनमा निस्किएको सायदै देखेका होलान् । पहिले त साताको एकदिन भएपनि ट्राफिक प्रहरी भ्रमणमा निस्किथे अहिले त त्यो पनि ठप्प भयो ।
ट्राफिक जाम, दुर्घटना र प्रदुषण कसरी कम गर्ने ? यसको लागि केही समाधान खोज्न सकेकी छैनन् । गृह मन्त्रालय र यातायात मन्त्रालयलाई सुझाव दिनसमेत उनले सकेकी छैनन् । दुई पाङग्रे सवारी साधन मात्र विस्थापन गर्न सक्यो भने ट्राफिक जाम कम सकिन्छ । २० वर्षे सवारी साधनलाई चल्न दिनुहुन्न । यो सार्वजनिक यातायातमा मात्र लागू भएको छ । अब निजीमा पनि यो नियम लागू गर्नुपर्यो ।
उनले जिम्मेवारी ट्राफिक प्रहरी प्रमुखको सम्हालेकी छिन् तर जतिबेला पनि फुटबलकै कुरा सुनाइरहेकी हुन्छिन् । फुटबलमा रुचि नै छ भने महाशाखा छोडेर उतैतिर लागे भइहाल्यो । कसरी जनतालाई सेवासुविधा दिने ? चासो छैन् । मिडियामा छाउन भने भ्याइनभ्याइ छ । गृहले २४ घण्टाभित्र उनलाई सरुवा गरेर काम गर्ने ल्याउनुपर्यो । कुर्सी ढाकेर बस्नुबाहेक त केही काम छैन् ।
सार्वजनिक यातायात अपुग भएर सर्वसाधारणलाई काममा जान र फर्किन निकै नै गाहे भएको छ । २०७४ साल बैशाख १ गतेदेखि सार्वजनिक यातायात बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म चलाउनुपर्ने भनेर यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको थियो । तर, यातायात व्यवसायीकै दबाबमा त्यो पनि कार्यान्वयन भएन् । उनीहरुको रोड परमिट र सवारी साधन दर्ता पनि खारेज भएन् ।
बिहानबेलुका भाडाका गाडी पाउन निकै मुश्किल छ । राजधानीजस्तो ठाँउमा चाहिएको बेलामा सवारी साधन पाइदैन् । बिहान ६ बजे गाडी निकाल्छन् सवारी चालक अनि बेलुका ६ बजे नै थन्काउछन् । साझा यातायातको पनि उस्तै पारा छ । सार्वजनिक यातायातको अभाव हुँदा कि त ट्याक्सी कि पठाओ चढ्नुपर्ने बाध्यता छ । यात्रुवाहक सवारीले यात्रु बोक्छन् तर टिकट दिदैनन् । यातायात व्यवसायीको ठगीधन्दा मौलाउदो छ । जनताको कुरा न यातायात व्यवस्था विभागले सुन्छ न ट्राफिक महाशाखाले । यी दुवै निकाय यातायात व्यवसायीको छायामा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार