कांग्रेस आफ्नै कारणले गम्भीर राजनीतिक धर्मसंकटमाः कसले लगाउला पार ?
भेषराज पोखरेल
साउन ३१, २०७९ मंगलबार २१:२२:३
३१ साउन, काठमाडाैं । गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा गम्भीर धर्मसंकटमा फस्दै जाने अवस्थामा देखिएको छ । यस्तो धर्मसंकट कसले ल्याइदिएकाे होला ? कस्तो धर्मसंकट होला ? सबै कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी र सहकार्य पनि नगरी नहुने अवस्थामा भएकाले जनताको चासो कांग्रेसतर्फ हुने नै भयो । निर्वाचन नजिकिँदै जाँदा सबै राजनीतिक दलहरु तात्न थालेका छन् ।
एमालेले जसरी पनि बहुमत ल्याउने भन्दै कार्यकर्तालाई सक्रिय बनाउन थालेको छ । गठबन्धन सरकारमा रहेका दलहरुबीच फाटो ल्याउन नसकेपछि राप्रपासहितका अन्य दलहरुसँग सहकार्य गर्ने गृहकार्यमा एमाले देखिएको छ । सरकारबाहिरका अन्य साना कम्युनिष्ट दलहरुसँग भने एमालेको सहकार्य हुने अवस्था देखिएको छैन । उनीहरुले पनि चुनावी गठबन्धन गर्ने तयारी गरिरहेका छन् ।
यही अवस्थामा सरकारमा संलग्न दलहरुबीच सीट बाँडफाँडका लागि माथापच्ची चलिरहेको छ । कांग्रेसले स्थानीय निर्वाचनको परिणाम र अहिलेको राजनीतिक अवस्थामा बहुमत ल्याउन सकिन्छ भन्नेमा छ । गठबन्धनका अन्य दलहरु भने कांग्रेसलाई बहुमतको अवस्थामा जान दिने होइन कि चरम मोलमोलाइ गरेर वा धम्क्याएर जसरी पनि आफ्नो अवस्था मजबुत बनाउन चाहन्छन् । प्रायः सबै नेताको राजनीतिक भविष्य सुरक्षित गराउन चाहन्छन् ।
वर्तमान राजनीतिक अवस्थामा कांग्रेस बहुमतको अवस्थामा पुग्ने सपना देख्दै आफ्नै कारणले धर्मसंकटमा फस्दैछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनको पक्षका नेताहरुले तल्लो तहसम्मका नेता, कार्यकर्ता र जनताको बलमा भन्दा गठबन्धनकाे बलमा चुनाव जित्ने बढी विश्वास गरिरहेका छन् । संस्थापन इतर पक्षका नेताहरुले गठबन्धन सोचेर, विश्लेषण गरेर मात्रै गर्नुपर्छ, त्यसो गरिएन भने आफ्ना ऐतिहासिक गढ पनि ढल्नेछन् भन्दा सभापतिले नै २०७४ को निर्वाचनमा एक्लै जित्यौ ? अब जितेर देखाऊ भन्दै चर्को बोल्ने गरेका छन् ।
अहिले कांग्रेस यति धर्मसंकटमा छ कि गठबन्धनलाई अगाडि बढाउँदा उसको बहुमतको कल्पना धूलिसात हुनेछ र गठबन्धन गर्दा कांग्रेसलाई साइजमा राख्ने भरमग्दुर प्रयास हुनेछ । सकेसम्म कम्युनिष्ट शक्तिसँगै सहकार्य गर्नुपर्छ, कांग्रेसभन्दा एमाले ठीक भन्ने धारका नेताहरु प्रशस्त भएका कम्युनिष्ट घटकहरुले कस्तो मोलमोलाइ गर्लान् ? ४१ प्रतिशत पालिकामा मात्रै गठबन्धन भएको स्थानीय निर्वाचनमा गठबन्धन नभएको भए कांग्रेसले हार्थ्याे भन्ने मानसिकतामा संस्थापन पक्ष भएकाले पनि गठबन्धनका दलहरुले बढी सिट माग्न उत्साहित भएका देखिन्छन् । यस्तो अवस्थामा एक त कांग्रेस खुम्चने सम्भावना बढी छ अर्को, कार्यकर्ता र आमजनताले पनि कांग्रेसलाई नै मत दिने कुनै निश्चितता हुनेछैन ।
गठबन्धन गर्दा कांग्रेसले महत्वपूर्ण पद गुमाउनुपर्ने छ । आलोपालो प्रधानमन्त्री बन्नुपर्ने, राष्ट्रपति गठबन्धनका दललाई छाड्नुपर्ने तथा अन्य पदहरु पनि कांग्रेसले छाड्नुपर्नेछ । प्रधानमन्त्री आलोपालो गरेर चलाउँदा प्रजातन्त्र वा लोकतन्त्र कहाँ बच्छ ? अहिलेको गठबन्धन सरकारका मन्त्रीहरुको काम, मन्त्रीहरुको हेरफेरको शृंखलाले जनता अत्यन्तै दुखित छन् । अर्को, कांग्रेसको गम्भीर क्षति सिद्धान्तको ह्रास पनि हुनेछ ।
आमकार्यकर्ता र आमजनताले कांग्रेसलाई विशेष मान्ने आधार के ? संविधान रक्षाका लागि गरेको गठबन्धन त सही थियो तर शासन विधि, सुशासनविहीन अवस्था, भ्रष्टाचार, दलालीकरण ओली सरकारको भन्दा कम नहुनु कांग्रेसको गन्तव्य हो र ? देउवा विशेष अवस्थामा गठबन्धनको नेता बन्न सफल त भए तर कांग्रेसले दिनुपर्ने शासनसंयन्त्र स्पष्ट देखिनु पर्दैन ? सुशासन, भ्रष्टाचारविहीन र दलालीकरणरहित शासनसंयन्त्रको मूल्यमा जनताले गठबन्धन सरकार साटेको हो र ? यसको दोष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल वा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले बोक्ने छैनन्, त्यो सबै दोष कांग्रेसले नै बोक्नुपर्नेछ । यही चुनावी तालमेलमा थोरै यताउता हुनेबित्तिकै यसको स्पष्ट चित्र देखिने छ ।
कांग्रेसको अर्को गम्भीर संकट के हो भने जेनतेन केन्द्र र प्रदेशका सीट बाँडफाँड मिले पनि निर्वाचनमा गठबन्धनका दलहरुको भनेजस्तो परिणाम आएन तर एमालेसँग मिल्दा सरकार बन्ने अवस्था आए जुनसुकै समय र अवस्थामा गठबन्धन टुट्न सक्नेछ । अर्को, कांग्रेसको राम्रो परिणाम आएन भने पनि खेदिने छ । यो कुरा कम्युनिष्ट नेताहरुकै अभिव्यक्तिले स्पष्ट गरेको छ ।
अर्को, परिणाम राम्रो आयो तर कांग्रेसले महत्वपूर्ण पद नदिए पनि एमालेसँग मिलेर जान कुनै आश्चर्य मान्नुपर्ने छैन । यो पनि कांग्रेसलाई पल्लो छेउमा पुर्याउने गतिलो हतियार बन्ने निश्चित छ । अर्को, स्थानीय निर्वाचनले एउटा चित्र स्पष्ट गर्यो, निर्वाचनमा अब स्थानीय दलालीकरणले मौलाउने अवस्था आयो, अब कुन नेतालाई हराउने वा जिताउने ? तिनै दलाल समूहको हातमा गयो । जसले मोटो रकम लिएर वा पछि लाभ लिने शर्तमा विशेष नेताहरुलाई पनि आफ्नै क्षेत्रमा हराइदिने । यस्तो अवस्थालाई कांग्रेसले कुन हतियारले निरस्त गर्न सक्ला ? यो पक्कै पनि सजिलो छैन ।
कांग्रेसलाई गम्भीर संकटबाट पार लगाउन महाधिवेशनको ऊर्जालाई भरपूर मात्रामा उपयोग गर्न सक्नुपर्छ । देख्नलाई प्रशिक्षण दिने, निर्देशन दिने, भित्र–भित्र एकले अर्कालाई पेल्ने नीति लिने हो भने अन्तरघात अवश्य मौलाउने छ र आफ्नै कारणले हार्नेछ । अर्को, चुनावी तालमेल आंशिक रुपमा मात्रै गर्दा कांग्रेसलाई लाभ हुने स्थानीय निर्वाचनले पनि देखाएको छ । अर्को, जनतालाई कांग्रेसले स्पष्ट सन्देशसाथ आशा जगाउन सक्नुपर्छ । नभए कांग्रेस संकटको भूमरीमा फस्न कसैले रोक्न सक्नेछैन । म नै सबै हो, मैले गर्दा नै कांग्रेस टिकेको हो भन्ने नेतृत्वको मानसिकताले कांग्रेसलाई राजनीतिक संकटको डिलमा पुर्याउने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार