सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १७:४३:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak12-e1660803027672_7lKXohAabt.jpg)
♦पूर्णप्रसाद मिश्र
२ भदौ, काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।
काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्नुहुन्छ । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उहाँले सुनाउनुभयो । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ ।
आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन ।
केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।
सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।
यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन ।
आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।
सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् ।
कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ । अन्य स्थानमा पनि केही काम बाँकी छ । हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ ।
वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ । सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् ।
स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउनुहुन्छ । धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उनले सुनाए।
पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताउनुभयो । सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् ।
पुलको अत्तोपत्तो छैन
ढिलोचाँडो सडक बिस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक बिस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ ।
करोडौँ लागतमा सडक बिस्तार भएपनि पैदल मार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताए ।
सडक बिस्तार भएपछि सवारी तीव्रगतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी किशोर उमेरका चालकले तीव्रगतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो । सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।
सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ । यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार