प्रदीप गिरिको समाजवादी अभियानः समाजवाद भुल्दै गरेका कांग्रेस र कम्युनिष्टको अबको यात्रा कस्तो होला ?
भेषराज पोखरेल
भदौ ७, २०७९ मंगलबार १२:२०:११
समाजवादी अभियानका व्याख्याता प्रदीप गिरिको अवसानले नेपालको राजनीतिक जगतलाई दुखित तुल्यायो । उनको सादगीपूर्ण जीवनशैली र निष्ठाको राजनीति नेपाली समाजलाई आशाको दियो बनिरहेकोमा त्यसको एक्कासी भौतिक रुप फेरिनाले स्तब्ध बनाएको हो ।
प्रदीप गिरि समाजवादका आरोह, अवरोहको यथार्थ व्याख्या गर्नसक्ने क्षमतावान् नेता हुन् । बीपीको प्रजातान्त्रिक समाजवाद तथा राममनोहर लोहिया, चन्द्रशेखर, विनोवा भावेजस्ता भारतीय समाजवादी नेताहरुबाट बढी प्रभावित गिरि मार्क्सवादका व्याख्याता हुन् । नेपालमा सामाजवादको व्याख्या गर्नसक्ने नेतामा गिरि कम्युनिष्ट नेताभन्दा धेरै अगाडि रहे । नेपालमा अहिले बलिया कम्युनिष्ट दलहरु र जनमत राम्रो भएपनि समाजवाद त्यसै भ्रमित बन्दै गएको छ ।
नेपाली कांग्रेसले बीपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवादलाई आफ्नो दस्तावेजमा उल्लेख गरिरहे पनि त्यसको व्याख्या, विश्लेषण र लागू गर्न सकिने अवस्थाको खोजी गर्न वास्ता गरेको छैन् । अहिले त सबै कम्युनिष्ट घटकहरु र बाबुराम भट्टराई समेत यही प्रजातान्त्रिक समाजवाद नजिक आएपनि सबै दलहरु एकठाउँमा बसेर सहमति बनाई अगाडि बढ्न सकेका छैनन् । यस्तो अवस्थामा समाजवादको साँगोपाँगो व्याख्या गर्ने र अति सादा जीवन जिउने नेता प्रदीप गिरिलाई सम्झेर गुणगान गाउनुले मात्रै कुनै अर्थ राख्दैन् ।
प्रदीप गिरि जिउँदो छँदा सबै दलले उपयोग गरे तर उनले अगाडि सारेको प्रजातान्त्रिक समाजवादलाई अगाडि बढाउन कसैले चाहेन । कांग्रेसले आफूलाई बौद्धिकहरुको पार्टी हो, प्रजातान्त्रिक समाजवादी पार्टी हो भन्ने प्रदीप गिरिजस्ता नेताहरुलाई देखाउन पायो । उनीहरुको बहस, विश्लेषण र वाद(प्रतिवादलाई उपयोग गरेर बढिरहेको कम्युनिष्ट उग्रवादलाई पनि परास्त गर्न सक्यो । एमाले र उसका नेताहरुले पनि गिरिजस्ता समाजवादीका तर्क, बहस, विश्लेषण र विश्वमा मार्क्सवादको उतार, चढावका कुरा सुनेर आफूहरुलाई केही फुँदा जोडेर फरक देखाउन खोजे ।
माओवादी नेताहरुले यसैगरी त भरपूर उपयोग गरे नै विद्रोही युद्धका बेला उनकै कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आतंकवादी हुनबाट जोगिए । गिरि जस्ता प्रखर विश्लेषकका कारण माओवादी आन्दोलनको महत्व छ, गरिबी, असमानता, क्षेत्रीय र जातीय असमानताबाट यो आन्दोलन उत्पन्न भएको हो भन्ने कुरा स्थापित भयो र यसैलाई सिद्धान्तका रुपमा स्थापित गर्न सफल भए । तर विडम्वना १ यस्ता विशेष बौद्धिक व्यक्ति जिउँदो छँदा प्रजातान्त्रिक समाजवादमा थप व्याख्या, विश्लेषण गरेर पार्टीहरुले साझा सिद्धान्त बनाउन सकेनन् ।
कांग्रेसमा त्यतिप्रखर विश्लेषक हुँदा पनि प्रजातान्त्रिक समाजवादको खाका तयार गरेर लागू गर्छौं भनेर शीर्ष नेतृत्वले सोच्दै सोचेन र युवा विद्वान् नेताहरुले पनि उनलाई मियोमा राखेर व्यापक व्याख्या, विश्लेषण गरेर सैद्धान्तिक रुप दिनबाट चुके । अन्तिम लक्ष्य समाजवाद बनाउने कम्युनिष्ट पार्टी र तिनका नेताहरुले कांग्रेसका नेता भएपनि सबैका साझा नेता प्रदीप गिरिको बौद्धिकताको भरपूर उपयोग गरेर स्पष्ट सिद्धान्त तयार गरेर निश्चित बाटो बनाउन सक्थे तर चुके । अहिले उनी रहेनन्, हाम्रा साझा नेता हुन् भन्नुको के अर्थ रह्यो र रु
अहिले नेपालका कम्युनिष्ट दल वा कांग्रेस सैद्धान्तिक रुपमा भ्रमित छन् । कम्युनिष्ट दलहरुले एकले अर्कोभन्दा आफूलाई अब्बल देखाउन खोजे पनि सैद्धान्तिक रुपमा दिग्भ्रमित छन् । परम्परागत मार्क्सवाद अब आदर्श मात्र बन्न पुग्यो, त्यसलाई लागू गर्न संसारमा कहीँ पनि सकिने अवस्था छैन । अहिलेको विश्व परिस्थितिको आधारमा हेर्दा सबै विपन्न रहेको नेपालमा मार्क्सवादको कुनै कल्पना गर्न सकिँदैन तर परिमार्जित रुपमा भने मार्क्सवादका कुनै आयामहरु लागू गर्न सकिन्छ । त्यसका लागि नेपाली समाज र आर्थिक परिवेशको सही विश्लेषण गर्न सक्ने र त्यसै अनुसार अघि बढ्न सक्ने नेता चाहिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुमा त्यसको नितान्त अभाव छ अर्थात् छँदै छैन ।
अर्को, नेतृत्व पंक्ति दलाल पुँजीपतिबाट टाढा हुन अति जरुरी छ । दलालको घेरामा परेको नेताले समाजवाद वा प्रजातान्त्रिक समाजवाद देश र जनतालाई दिन सक्दैन । यस्तो अवस्थामा अहिलेको सबैभन्दा उपयुक्त भनेको प्रजातान्त्रिक वा लोकतान्त्रिक समाजवाद हो । नेपालका सबै कम्युनिष्ट दलहरुले लोकतन्त्रलाई स्वीकारेका छन्, बहुलतालाई स्वीकारेका छन्, आवधिक निर्वाचनलाई स्वीकारेका छन् । जब लोकतन्त्रलाई स्वीकारियो भने त्यसैमा आधारिक समाजवादलाई हिम्मतका साथ स्वीकारेर अगाडि बढ्न के ले रोक्छ ?
कांग्रेसले त आफूसँग भएको मणिलाई चिन्नै सकेको छैन । पछिल्लो कालखण्डमा त कांग्रेसलाई सिद्धान्तै नभएको पार्टी भन्न लागिएको छ ।बीपीले प्रजातान्त्रिक समाजवादलाई अगाडि सारे । पछिल्लो पुस्ताले त्यसलाई विस्तृत व्याख्या, विश्लेषण र परीक्षण गर्न सक्नुपर्थ्यो । विडम्वना अर्थसिद्धान्त विदेशमा पढेका अन्ध खुला बजारवादी प्रखर विद्वानका हातमा पर्न गयो । उनीहरुले नेपालको यथार्थलाई बुझेनन्, बुझ्न सकेनन्, विदेशीकै सल्लाहमा उनीहरुकै सिद्धान्त लागू गर्दै गए । देशले आफ्नो परम्परागत शक्ति गुमाउँदै गएर अहिले पूर्णरुपमा बाह्य जगतसँग आश्रित बन्न गएको छ ।
प्रदीप गिरिले आफ्नो जीवनकालमा अर्को सन्देश पनि प्रवाह गरेर गएका छन् । उनले राजनीति कुनै पदका लागि मात्रै होइन, प्रजातान्त्रिक सिद्धान्त निरन्तर प्रवाह गर्न हो, जनजीविकालाई बहसमा ल्याउनु हो । जीवनभर यही काममा लागेका गिरि व्यक्तिको जनआवाजलाई निरन्तरता दिइयो भने संस्था जत्तिकै प्रभावकारी हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् ।
अहिले नेपालमा कम्युनिष्ट बौद्धिकहरुको खडेरी पर्दै गएको छ । उनीहरुको सशक्त भूमिका भइदिएको भए लगभग दुई तिहाई बहुमतको नेकपा खण्डित हुनुपर्ने थिएन । बाबुराम भट्टराई, माधवकुमार नेपाल, वामदेव गौतम, सीपी मैनालीदेखि अन्य दिग्गज नेताहरुले अस्तित्वको संकट व्यहोर्नुपर्ने थिएन । पूर्णरुपमा दलालीकरणको दलदलमा फस्ने थिएनन् कम्युनिष्ट पार्टीहरु । यसले नेपालमा अत्यन्तै खतरनाक अवस्था सिर्जना भएको छ । निर्वाचनका बेला दलाल पुँजीपतिबाट मोटो रकम उठाउने, खर्च गर्ने, मसलवाला दस्ता तयार गरेर चुनाव जित्ने, उनै दलालको दलदलमा फस्ने, विकासका कुरा गर्ने, बजेटमा योजना बनाउने तर कार्यान्वयन गर्नै नसक्ने अवस्था सिर्जना हुँदै गएको छ ।
कांग्रेसको हालत पनि त यो भन्दा राम्रो छैन नि । यस्तो बेला प्रदीप गिरिलाई सम्झने मात्रै होइन कि उनको जीवनदर्शनलाई मनन गरेर नयाँ पुस्ताका बौद्धिक नेताहरुले दलालीकरणका विरुद्ध, भ्रष्टाचारका विरुद्ध, नेतृत्वको दम्भका विरुद्ध सशक्त रुपमा आवाज उठाउनु आवश्यक भएको छ । यस्ता नेताहरुले जीवनवृत्तिलाई पनि परिमार्जित गर्दै लैजानु आवश्यक छ । यसो गरियो भने मात्रै गिरिलाई सम्झनुको औचित्य सार्थक हुनेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार