बालेनले काठमाडौंवासीका लागि काम गर्न खोज्नु अपराध हो ?
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २२:४५:३५
♦ अनुसा थापा / भक्तपुर
यतिखेर काठमाडौंका बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र उम्मेदवार चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरका जनताको ध्यान खिचेको छ । उनले गरेको काम र देखाएको हिम्मत साँच्नै नै तारिफयोग्य छ । स्थानीय तहको चुनावमा काठमाडौंमा भएको राजनीतिक दलको दबदबा चिरेर अघि आएको बालेनको नाममा जनताहरु राम्रो गुनगान मात्र गाइरहेका छन् ।
काठमाडौंवासी मात्र नभई मुलुकभरका जनता उनको पक्षमा छन् । उनलाई आफ्नो काममा निरन्तरता दिन र नढगमगाउन उनीहरुले प्रोत्साहन गरिरहेको देख्न सकिन्छ । यसअघि राजनीतिक दलबाट मेयर जितेकाहरु सिन्को पनि नभाँचिकन निस्किए । सरकारी गाडी चढ्ने, सेवासुविधा लिने अनि ठूल्ठूला व्यापारीको सामुन्ने केही पनि नगर्ने । बालेनको कामको सिको अरु नगरपालिकाका मेयरले गर्ने हो भने देशको स्वरुप अवश्य नै फेरिन्छ । आफ्नो नगरको रुप फेर्न मेयरहरु नै बलियो भएर अघि बढ्नुपर्छ ।
बालेनले गरेको काम जनता र राष्ट्रको हितमा छ । केही विरोधीहरुले खुट्टा तान्न खोजेपनि जनताहरु उनको साथमा छन् । दुइचार विरोधीको मुख त उनले आफैं पनि थुन्न सक्ने क्षमता राख्छन् । भोट दिनेले मात्र नभई नदिनेले समेत बालेनको काममाथि ‘वाहवाह’ गरेका छन् । उनी चर्चाले छुट्टै उचाइमा पुगेको छ । राम्रो काम गर्यो भने जनताको साथ पाउन धेरै समय लाग्दो रहेनछ भन्ने उदाहरण उनले दिएका छन् । अरु नगरपालिकाका मेयरले पनि उनीबाट केही पाठ सिक्नुपर्छ ।
सरकारको ऐनकानून नमान्नेलाई बालेनले दरो सबक सिकाइरहेका छन् । उनी अघि हिँडेका छन् भने उनको पछाडि लाखौं जनता । घरको नक्सा पास गर्ने बेलामा अण्डरग्राउण्ड पार्किङ भनिएको ठाँउमा मँहगो बहाल लिएर पसल सञ्चालन गरिएको थियो । अवैध संरचना निर्माण गरेर मासिक लाखौं भाडा उठाउनेलाई ठिक ठाँउमा ल्याएका छन् । मोटो बहाल सीमित घरधनी लिने अनि सधैं जनताले सास्ती पाउनुपर्ने । व्यापार व्यवसाय अण्डरग्राउण्ड पार्किङमा गर्ने अनि सवारी साधन फुटपाथमा ल्याएर पार्क ।
सवारी साधन फुटपाथमा पार्क गरिदिँदा जनता सडकको माझबाट हिड्न बाध्य थिए । जसका कारण वर्षेनि सयाैँ नेपालीको दुर्घटनामा परेको अकालमा ज्यान जान्थ्यो । ट्राफिक जाम र प्रदुषण काठमाडौंमा थेगिनसक्नु हुन्थ्यो । अव्यवस्थित शहरलाई व्यवस्थित बनाउन अघि सरेका छन्, बालेन । तैपनि कतिपय विरोधीहरुले उनलाई नानाथरी गालीगलौज गरिरहेका छन् । आखिरी जनतालाई सुःख दिन खोज्नु गलत हो ? बालेनले देखाएको हिम्मत र गरेको काम अपराध हो ?
२०७४ सालमा चुनिएर आएका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पाँच वर्ष यत्तिकै सकाए । उनीहरुको पालामा पनि पार्किङको समस्या यस्तै थियो । तर, उनीहरुले समस्या समाधान गर्न किन खोजेनन् ? जनताले अवश्य पनि रोकेका थिएनन् । झन् काठमाडौवासीले काम गर भनेर त्यत्रो मत दिएर विजयी बनाएको होइन् । राजनीतिक पार्टीबाट आएका मेयरहरुले खटिएर अभिभावकको भूमिका निभाएको भए काठमाडौंमा स्वतन्त्र आउने ठाँउ नै थिएन् ।
जनताको प्रतिनिधि भएर आएकाहरु सेवासुविधाको भोगी भएपछि काठमाडौंका जनताले पार्टीका उम्मेदवारलाई पछारेका हुन् । काठमाडौंमा स्वतन्त्रले ठाँउ पाउला भनेर कसैले कल्पना पनि गरेको थिएन् । तर, राजनीतिक दलमाथिको विश्वास गुमिसकेपछि स्वतन्त्र चुनेका जनतालाई अहिले आएर जनप्रतिनिधि भएको महशुस भएको छ । यसअघिका मेयरझै बालेन मेयरको कुर्सीमा चिप्किएर बसेनन् । उनी आफैं स्थलगत अनुगमनमा खटिएका छन् ।
कुर्सीभन्दा माथि उठेर काम गर्न सक्नु नै गर्वको कुरा हो । भुरादेखि बुढासम्मको मुखमा बालेनकै नाम झुण्डिएको छ । बालेनले काम गरेको देखेर राजनीतिक दलहरुको मुटु नराम्ररी पोलेको छ । उनको प्रंशसा केही डाहडेहरुलाई पचाउनसमेत गाह्रो परेको छ । सारा मुलुक नै बालेनको समर्थनमा उत्रिएको बेला एकदुई जनाले विरोध जनाएका छन् । आफू पनि केही नगर्ने अनि अरुले गरेको देख्दा छाती पोल्नेहरु उनलाई असफल बनाउन खोजिरहेका छन् । नेकपा एमालेका नेता महेश बस्नेतलाई पनि बालेन अघि आउने हो कि भनेर साह्रो पिर परेको छ ।
काठमाडौंबाट एमालेको अस्तित्व गायब हुने देखेपछि उनले बालेनलाई सामाजिक सञ्जालमार्फत चुनौती दिएका छन् । सक्छन् भने सुर्यविनायकमा रहेको आफ्नो घरको नक्सा बोकेर आउन उनले बालेनलाई भनेका छन् । बालेनलाई चुनाव जिताएको काठमाडौंको जनताले हो, भक्तपुर क्षेत्र नम्बर २ काले होइनन् । भक्तपुरसँंग सरोकार नभएको विषय भएपनि बस्नेतलाई पिरो किन लाग्यो ? बालेनले आफ्नो जनताले दिएको जिम्मेवारी निभाइरहेका छन ।
त्यसमा बस्नेतलाई बोल्ने अधिकार कसले दियो ? भक्तपुरबाट जितेको भए अलिकति भएपनि बोल्न सुहाउथ्यो । आफ्नो घरमा के चलिरहेको छ थाहा छैन् तर अरुको घरमा के भइरहेको छ, त्यसमा चाहि खुब चासो छ, बस्नेतलाई । बालेनले गरेको काममा हस्तक्षेप गर्ने हक उनलाई छैन् । बस्नेत पूर्वमन्त्री हुन भने संसद् पनि हो । तर, आफ्नो कार्यक्षेत्र बाहिर गएर काम गर्न पाइदैंन भनेर उनलाई अलिकति पनि हेक्का छैन् ? अब गुण्डा महेश कि बालेन ? यसको जवाफ जनताले सुनाउनेछन् ।
भक्तपुरमा महेश बस्नेतले कति विकास गरेको छ ? जनताले राम्रोसंग देखेका छन् । नगरपालिका मेयरहरु कति जिम्मेवार छन् ? भक्तपुरको अवस्था कस्तो छ ? यसबारे त उनलाई थाहा होला । जनताको प्रश्न बस्नेतलाई,‘भक्तपुर उपत्यकाभित्र पर्छ कि बाहिर ?’ यसो हेर्दा त दुर्गम जिल्लाजस्तो देखिन्छ । न बाटोघाटो छ न कुनै सेवासुविधा । भक्तपुरका मेयर र वडाध्यक्षले के काम गरेका छन् ? यसको जवाफ उनले दिन सक्छन् ? न गुठी, सरकारी जग्गा खोजेका छन् न फुटपाथ नै हटाउन सकेका छन् ।
आफ्नो क्षेत्रका मेयर र वडाध्यक्ष केही गर्न नसक्ने अनि अरुले गरेको देखिनसहने । बालेनले जस्तो भक्तपुरका जनप्रतिनिधिले डोजर लिएर अवैध संरचना भत्काउन सक्छन् ? त्यति आँट छ ? दलालीहरुले सरकारी, गुठीका जग्गा कब्जा गरेका छन् । नक्साविपरीत घरहरु बनेका छन् । खोइ कहाँ छन् जनप्रतिनिधि ? भक्तपुरवासीले आफ्नो जनप्रतिनिधि त चिन्दैनन् होला । जनताले चिन्नका लागि उनीहरुको माझ हिँड्नुपर्छ । अभिभावक छ भनेर अनुभव गराउनुपर्छ ।
जनताको हितमा मरिमेटेर काम गर्नुपर्छ । अनि मात्र ऊ जनप्रतिनिधि हुन्छ । कुर्सीलाई प्यारो व्यक्ति कहिल्यै पनि जनप्रतिनिधि बन्न सक्दैन् । गुण्डागर्दी पृष्ठभूमिबाट आएका बस्नेत उद्योगमन्त्रीसमेत भए । आफू कुन पृष्ठभूमिबाट आएको उनको प्रयोग गर्ने शब्दबाट पत्तो पाइहालिन्छ । उद्योगमन्त्री हुँदा बस्नेतले गरेका दुई महान् कामः मोटो रकम लिएर प्रतिबन्ध लगाएको मदिरा उद्योगलाई अनुमति दिने । त्यस्तै, उपत्यकाबाहिर सार्न लागेको ईट्टाभट्टा पनि पैसा राखेर मानववस्तीका बिच सञ्चालन गर्न दिने पनि उनी नै हुन् ।
भक्तपुर क्षेत्र नम्बर २ बाट सजिलै चुनाव जित्छु भनेर फाइफुट्टी लगाइरहेका महेश बस्नेतको भ्रम पनि केही महिनामै तोडिने छ । सक्छन् भने आगामी निर्वाचनमा जितेर देखाऊ भनेर जनताले चुनौती दिएका छन् । बालेनको काम देखेर नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माको छाती पनि भत्भती पोलेको छ । पार्टीको नेताको गुलामी र चाकरी गरेर सांसद् बनेकालाई जनता र राष्ट्रको हितमा काम गर्नुपर्छ भनेर के हेक्का हुन्छ ? जनताले चुनेर पठाएको भए पो थाहा हुन्थ्यो ।
स्वतन्त्रले आफूलाई उछिनेर अघि बढेको देखेर एमालेलाई झैं कांग्रेसलाई पनि चिन्ताले सखापै पारिसकेको रहेछ । बालेनको जति खण्डन गरेपनि जनता नै साथ दिएपछि जाबो एकदुई वटा पार्टीको के नै लाग्छ । सङ्लो पानीलाई धमिलो बनाएर माछा मार्न खोज्नु अब काम नलाग्ला जस्तो छ । बालेनलाई कमजोर बनाएर अर्को चुनावमा आफ्नो पार्टी जिताउला भन्ने सपना नदेख्दा पनि हुन्छ । बालेनको कामप्रति उद्योग व्यवसायीहरु पनि अड्चन बनेका छन् ।
अरुलाई दुःख दिएर पैसा कमाउन नपाउने भएपछि उद्योग व्यवसायीले पनि आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले जबरजस्ती अवैध संरचनामा पसल राख भनेको त होइन होला । आफ्नो फाइदाका लागि जहाँ मनलाग्यो त्यही पसल थाप्ने अनि अहिले आएर अरुलाई दोष देखाउन त पाइएन् नि । उद्योग व्यवसायीलाई न जनताको माया हुन्छ न सरकारको ऐनकानून मान्नुपर्छ । एक सयको सामान पाँच सयमा बेचेर जनता ठग्न पाए उनीहरुलाई आनन्द आउछ ।
राज्यलाई कर नतिर्ने अनि केही नेतालाई चन्दा दिएर सरकारको ऐनकानून लत्याउने । उद्योग व्यवसायीहरु बाटोमा हिड्नुपर्दैन् ? आफ्नो कारणले शहर अस्तव्यस्त भएको यिनीहरुले देखेका छैनन् ? बालेनले गरेको कामप्रति त यिनीहरु झनै खुसी हुनुपर्ने हो । तर, सबैले आफ्नो र आफ्नो फाइदाको बारेमा मात्र बोले । जसले पार्टीभन्दा माथि उठेर बोल्छ ऊ जनताको नेता हो । पूरा राष्ट्रको नेता हो । केही सिमित व्यक्तिले अवरोध गर्न खोजेपनि बालेनले बाटो खोज्नुपर्छ । बालेनको पक्षमा काठमाडौंमा मात्र ६३ हजार १६७ जनता छन् । मुलुकभर त कति छन् कति । बालेनको खुट्टा तान्नेको विरोध जनताले गर्छन् । जनताले आवाज उठाउनेछन् । बालेनलाई काम गर्न दिने हो भने काठमाडौंको मुहार अवश्य पनि फेरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार