सहकारीले गर्दा सर्वसाधारणलाई दशैं मान्न सकस !
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १२:२९:८
अनुसा थापा / भक्तपुर
नेपालीहरुको महान चाड दशैं आउन अब एक महिना मात्र बाँकी छ । दशैं लागेसंँगैं किनमेल गर्नेको भीड पनि उत्तिकै हुन्छ । यसबेला सर्वसाधारणलाई सबैभन्दा धेरै रकमको खाँचो पर्दछ । वषौंभरि कमाएको पैसा थोपाथोपा गरी सर्वसाधारणले सहकारीमा जम्मा गरेका छन् । तर, सहकारी नै डुबेपछि बचतकर्ताहरु अलपत्र परेका छन् । चाडबाडलाई खर्च हुन्छ, घरखर्च टर्छ भनेर अलिअलि गरेर जनताहरुले खाइनखाई बचत गरे । अहिले उक्त बचत नै जोखिममा परेको छ ।
सहकारीमा समस्या देखिन थालेपछि जनता पनि पिरोलिएका छन् । दशैं कसरी मान्ने भन्ने पीरले उनीहरुलाई सताएको छ । किनमेल गरेर बेलैमा गाउँ फर्किऊ भन्नेहरुको बिचल्ली भएको छ । टाढाटाढाका जनता घर जान तम्तयार भइसकेको छन् । तर, सहकारीले पैसा फिर्ता नदिँदा उनीहरुले किनमेल गर्न पाएनन् । सहकारीकै कारण उनीहरु घर गएर खुसीका साथ दशैं मान्न पनि नपाउने भए । चाडबाड मनाउन र खाँचो पर्दा चाहिन्छ भनेर जम्मा गरेको रकम फिर्ता नपाएपछि त जनता दशैं मनाउनबाट वञ्चित नै हुने भए ।
अर्कोतिर उनीहरुको बचत रकम पनि डुब्ने भयो । किनमेल गर्न र पैसा नभएर योचोटिको दशैंमा घर जानेको संख्या पनि ओरालो लाग्न सक्छ । खाली हात घर फर्किने कुरा भएन् । उता, जान आउने खर्चको पनि बन्दोबस्त मिलाउनुपर्यो । सहकारीमा पैसा निकाल्ने भीड ह्वात्तै बढेको छ । आफ्नो खातामा १० लाख रुपैंया छ । तर, १५ दिनमा पाँच हजार दिन्छु भन्छन् सहकारी । पाँच हजार लगेर के गर्ने ? पाँच हजारको अहिले के नै आउछ ? लुगा किन्नपर्यो, मिठोमसिनो खानपर्यो, गाडीभाडा चाहियो अनि यति जाबो रकम निकाल्नलाई यत्रो सकस ।
आफूले राखेको पैसा निकाल्नलाई अहिले सर्वसाधारणलाई धेरै सास्ती भएको छ । निकाल्नु छ आफ्नो पैसा तर कर्जा मागेभन्दा पनि चर्को छ । नभागेको सहकारीले यसरी कोटा सिस्टममा पैसा दिइरहेको छ भने डुबिसकेको सहकारीमा खाता हुने जनताको हाल झन बेहाल छ । कतिपय सहकारी त बचतकर्ताको बचत नै बोकेर कुलेलम ठोकिसकेका छन् । सहकारी भाग्दा जनता बिचल्लमिा परेका छन् । यो वर्षको दशैंमा धेरैलाई समस्या हुने भयो । कि ऋण लिएर दशैं मान्नुपर्यो कि त नमानिकन थपक्क बस्नुपर्यो ।
ठूलाले त दशैं नमानिकन बस्न सक्लान् । तर, बालबच्चा र पाहुनाले त बुझ्दैनन् । दशैं हो भनेपछि बालबच्चाले मिठोमसिनो खान र राम्रो लाउन खोजिहाल्छन् । बल्लतल्ल वर्षदिनमा आउने चाड भएकाले सबैले रमाइलोसँंग मनाउन चाहान्छन् । सहकारीले कतिपयको दशैं नै उजाड बनाइदिनेछ भने परिवारमा दरार आउने निश्चित छ । अहिलेको दशैंमा एउटाले धुमधामका साथ दशैं मनाउछ अर्को टुलुटुल हेरेर बस्छ । छिमेकीको घरमा रमाइलो भइरहदा उसको घर बेरंगीज हुन्छ ।
सहकारीबाट पीडित भएकाहरुको गुनासो धेरै छन् । बुझ्दैनबुझी पैसा राख्दा आफ्नो दुःखको कमाई गुमेकोप्रति उनीहरु थकथकी मान्छन् । यता, धेरै ब्याजको लोभमा परेर सहकारीमा पैसा राख्नेको अभाव छैन् । हामी नेपालीहरु चोट लाग्नुअघि कहिल्यै पनि सचेत बन्दैनौ । चोट नलागेसम्म नदुख्ने भएकाले पनि नेपालीहरु सचेत नबनेका हुन् । सहकारीको हकमा पनि त्यही भयो । सहकारी जोखिममा पर्यो भनेर बाहिर नआएसम्म कसैले चासो देखाएनन् । तर, जब सहकारी डुब्यो भनेर धमाधम सार्वजनिक हुन थाल्यो त्यसपछि मात्र हाम्रो होश खुल्यो ।
गाउँदेखि शहरसम्म, बुढादेखि भुरासम्म एउटै चर्चा चलेको छ । सहकारीले ठग्यो, हामीलाई डुबायो । सहकारीले सिधासाधी जनतालाई त ब्याजको लोभमा फसायो र जनता फसे पनि । तर, मुलुककै प्रतिष्ठित व्यक्तिहरुको रकमसमेत सहकारीले चुलुम्मै डुबाइदियो । भुपु उपराष्ट्रपति, भुपु सचिवलगायत थुप्रैको पैसा सहकारीले सिध्याइदियो । ठूल्ठूला उद्योगपतिलाई समेत सहकारीले छोडेन् । एउटा साग बेच्नेदेखि लिएर नेतासम्मको पैसा सहकारीले सखापै पार्यो । सहकारीले जनतादेखि कर्मचारीलाई ठग्न छोडेन् ।
राजनीतिक दलको आडमा सहकारीले जनता ठगेको हो । राजनीतिक पार्टीका झोलेहरुले सहकारी सञ्चालन गरेका छन् । सहकारी महासंघ खोल्ने, जनता ठग्ने । राजनीतिक दलकै आडमा आज जनता ठगिएका हुन् । सहकारीमा भएको जनताको १० खर्ब रुपैंया डुब्दा राजनीतिक दलहरु किन मुखमा ताला लगाएर बसेका छन् ? आजसम्म कुनै पनि पार्टीले सहकारीमा देखिएको समस्या र जनतामा परेको पीरको बारेमा बोलेका छैनन् । यतिखेर ९१ लाख जनताको घरमा रुवावासी चलेको छ ।
तरपनि राजनीतिक दल नबोल्नु भनेको यहाँ केही रहस्य भएको स्पष्ट बुझिन्छ । सहकारीले ठगेको र लुटेको विषयमा राजनीतिक दल मौन बस्नुलाई जनताले कसरी बुझ्ने ? पर्दाभित्र बसेर राजनीतिक दलले सहकारीलाई जनता ठग्न सिकाएका हुन् । आज जनता उठीबास लाग्नुमा राजनीतिक दलको ठूलो हात छ । सहकारी महासंघका जिम्मेवार व्यक्तिहरु अझै पनि सहकारीमा त्यस्तो केही समस्या देखिएको छैन् भनेर जनतालाई झुक्काइरहेका छन् । बजारबाट पैसा उठाउनका लागि सहकारी महासंघक विभिन्न बहाना बनाइरहेको छ ।
सहकारीमा यत्रो समस्या देखिँदा पनि केही होइन् भने महासंघले टार्न खोजिरहेको छ । सहकारी विभागले नियमन नगर्दा पनि यस्तो भएको हो । विभागले अझै पनि सहकारीमा भएको समस्याबारे बोल्न चाहेको छैन् । न जनतालाई सचेत बनाउनतिर विभाग लाग्छ । जनतालाई निर्धक्क भएर नबस्न र आफ्नो बचत भएको सहकारीमा गएर बुझ्न त विभागले सुसुचित गराउनुपर्ने हो । तर, सहकारी विभागका पदाधिकारीहरु यति पनि गर्न सक्दैन् । सहकारीमा यस्तो अवस्था निम्तिदाँ पनि विभाग बोल्न नचाहनुले यसमा विभागको पनि मिलोमतो भएको देखिन्छ ।
विभागसमेत सहकारीका दलाली सञ्चालकहरुको पछि लागेको छन् । विभागले चासो नदेखाउनु र अनुगमन गर्नुको कारण आर्थिक चलखेल पनि हुनसक्छ । जनतालाई अब सहकारीमा पैसा नराख, बेलैमा सचेतना जगाऊ भनेर विभागले सूचना जारी गर्नुपर्ने हो । सरकारले कर लिनका लागि भकाभकी सहकारी दर्ता गर्न दियो । तर, अहिले सहकारीले जनतालाई मर्नु न मोटाउनु भएको बेला सरकार नै चुप लागेर बस्यो । जनतालाई पीरले सताएको बेला पनि सरकारलाई चैन छ ।
मुलुकभरका अधिकांश सहकारी डुबिसकेको छन् । सहकारी दिनपिच्छे भागेका छन् यो क्रम अझै पनि बढ्ने देखिन्छ । घरजग्गा, सेयर र गाडीमा गरिएको लगानीले सहकारीलाई नै चपेटामा पर्यो । अहिले सहकारीका सञ्चालकहरु हामीले कर्जा उठाउन सकेनौं भनिरहेका छन् । तर, जनताले त जथाभावी लगानी गर भनेर पैसा राख्न दिएका थिएनन् । हाम्रो लगानी उठेन् हामी तपाईको पैसा फिर्ता गर्न सक्दैनौं भनेर सहकारीले भन्न पाउछन् ? हिजो लिने बेलामा हासेर, मख्ख परेर लिएको थियो । तर, आज दिने बेलामा दाँतबाट पसिना आएको छ ।
अब व्यापारी र सर्वसाधारणले पैसा राख्दैनन् । भएको पैसा पनि धमाधम निकालिदै छ । सहकारीमा पैसा राख्यो भने व्याजको लोभमा सावा पनि डुब्ला भनेर जनताले बुझिसकेका छन् । बजारमा घरजग्गा, सेयर र गाडीमा पुरै मन्दी आएको छ । यी क्षेत्रमा कोही पनि लगानी गर्न चाहदैनन् । हिजो एक कित्ता तीन हजारमा किनेको सेयर आज एक सयमा बिक्री हुदैन् । आनाको ३० लाखमा किनेको घडेरी आधा दाममा बेच्छु भन्दा पनि किन्ने भेटिदैनन् । सवारी साधनमा पनि उही हाल छ । नयाँ गाडीको दर्ता गर्नेबित्तिकै आजको भोलि भाउ घट्छ ।
अब सहकारीले कसरी आफ्नो लगानी उठाउछ ? सहकारीले आफ्नो लगानी उठाउनका लागि फेरि पनि बजार चलायमान हुनुपर्छ । घरजग्गा, सेयर र गाडीको मूल्य पुनः उकालो लाग्न आवश्यक छ । सहकारीबाट कर्जा खानेहरु किस्ता तिर्न नसकेर हात उठाइसकेका छन् । ब्याज मँहगो भएकाले उनीहरु हामी तिर्न सक्दैनौं भनिसकेका छन् । जमानीमा ऋण लिनेहरु पनि टाप कसिसकेका छन् । सहकारीले कर्जा पनि उठाउन नसक्ने र जनताको पैसा पनि फिर्ता गर्न नसक्ने भएपछि विकल्प के रह्यो ?
सहकारीको कारणले मानसिक रोगी र आत्महत्या गर्ने बढ्ने भए । सहकारीले गर्दा गरिबी र सुकुम्बासीको संख्यामा उकालो लाग्ने भयो । अब सहकारीमा पैसा राख्ने क्रम रोकौं । यो जुनसुकै बेला पनि भाग्न सक्छ, त्यसैले विश्वास नगरौं । आफ्नो पैसा सुरक्षित छ कि छैन् जाँचबुझ गरौं । सरकार आफैपनि सहकारीको पक्षमा छ त्यसैले पैसा फिर्ता आउला भनेर कल्पना नगर्दा पनि हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार