देउवापछि कांग्रेसमा कति बलिया छन् महामन्त्री थापा र वरिष्ठ नेता कोइराला
केदार भट्टराई (काका)
भदौ १९, २०७९ आइतबार २०:१६:३५
१९ भदौ, काठमाडौं । झण्डै एकमहिना अगाडिदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सीट बाँडफाँडमा सहमति जुटाउन प्रयासरत छन् । एकले अर्कोलाई गलाएर बढीभन्दा बढी सीट आफ्नो पक्षमा पार्ने कसरत जारी छ । आज (आइतबार) पनि कार्यदलसहित गठबन्धनमा सीट भागबण्डाबारे छलफल हुँदैछ ।
अहिलेसम्म कुल १६५ सीट मध्ये कसले कति लिने भन्ने कुरामा सहमति नभएपनि ८० र ८५ कै हाराहारीमा गएर दलहरु अड्किएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिसम्म गठबन्धन बचाएर लानका लागि लचकता देखाइरहेका छन् भने कांग्रेसमै वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा १०० सीटको बटमलाइनमा अडिएर बसेका छन् ।
कांग्रेसमा सभापति देउवा ८० देखि ८५ को बीचमा चित्त बुझाउने पक्षमा देखिएपनि वरिष्ठ नेता कोइराला र महामन्त्री थापा १०० भन्दा तल झर्दा एक्लै चुनावमा जानु बेश हुने पक्षमा अडिक छन् । यसले पनि नेपाली कांग्रेसमा सभापति देउवापछि वरिष्ठ नेता कोइराला र महामन्त्री थापाको पकड कति छ भन्ने कुराको मुल्यांकन कांग्रेसभित्रै सुरु भएको छ ।
कोइराला र थापाको अडानले अहिले कांग्रेसमा देउवालाई निकै दवाव पनि परेको छ । उनले निर्धक्कसँग गठबन्धनमा कांग्रेसको सीट संख्याको बटमलाइन दिन सकेका छैनन् । उनलाई आफ्नै समूहका नेताहरूको आकांक्षा व्यवस्थापन गर्न र शेखर कोइराला समूहको दबाब थेग्नसमेत कठिनाई भइरहेको छ । गठबन्धनको बैठक चलिरहेकै बेला नेता कोइराला र एमाले अध्यक्ष केपी ओलीबीचको भएको छलफलले पनि देउवालाई झस्काएको अनुमान गरिँदैछ ।
पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनलाई मात्रै प्राथमिकता दिने हो भने पार्टीमै विद्रोह आउन सक्ने चेतावनी कोइराला समूहले दिएको छ । ओली र कोइरालाबीचको भेटमा गठबन्धन नगरी अलग–अलग निर्वाचन लड्ने विषयमा छलफल भएको बताइए पनि ओलीले कोइरालासँग सामान्य राजनीतिक कुराकानी मात्र भएको बताएका छन् । देउवालाई १०० सीट भन्दा तल जानुपरे एक्लै चुनाव लड्नुपर्ने दवाव पनि कोइराला र थापाले दिइरहेका छन् ।
कोइरालाले सयभन्दा कम सीटमा सम्झौता नगर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका बेला कार्यदल सदस्यसमेत रहेका महामन्त्री थापाले पनि बैठकमै सयभन्दा कम सीटमा सम्झौता नहुने अडान राखिरहेका छन् । सय सीट पनि नपाउने हो भने कांग्रेसभित्र असन्तुष्टि बढ्ने कोइरालाको जस्तै थापाको पनि भनाई आएको छ । तर, कांग्रेसमा उनीहरुको भनाईले कति अर्थ राख्छ र सभापतिले कति र कस्तो मुल्यांकन गइरहेका छन् भन्ने कुराले अर्थ राख्ने नेताहरु बताउँछन् ।
अर्कोतर्फ सीट बाँडफाँड र उम्मेदवार चयनमा पनि सभापति देउवा जत्तिकै दवावमा देखिएका छन् महामन्त्री थापा पनि । उनले उम्मेदवारका लागि नाम सिफारिस गर्न जारी गरिएको परिपत्रमा हस्ताक्षर त गरे तर, त्यसमा राखिएका प्रवाधानले धरै शीर्ष नेताहरु रिङआउट भएका छन् । समानुपातिकमा दाहोरिन नपाउने प्रावधान बाहिरिएपछि नेताहरुलाई महामन्त्रीको हैसियतले व्यवस्थापन गर्नुपर्ने बाध्यता थापामा छ । तर, उनीहरुलाई व्यवस्थापन गर्ने ठाँउ छैन् ।
यस्तै प्रत्यक्षतर्फ तीन जना भएकोमा महिला अनिवार्य नगरिएकाले महिला नेतृहरुले पनि थापाप्रति नकारात्मक टिप्पणी गरिरहेका छन् ।उता, समानुपातिकमा एक महिला अनिर्वाय भनिएपनि कलस्टर नछुट्टाइएकाले यसमा पनि थापाको विरोध भइरहेको छ । महिलामा पनि खसआर्य, दलित, जनजाजी, मधेशी, पिछडिएको क्षेत्र र वर्गको वर्गीकरण गरिएको छैन् । थापा आफैले पनि बाहिर भाषण गर्नुभन्दा पदमा पुगेपछि व्यवस्थापन गर्न गाह्रो भएको कुरा बताएका छन् ।
केन्द्रीय समितिमा बहुमतमा रहेका सभापति देउवाले अन्त्यमा पार्टीभित्र सहमति नजुटे बहुमतका आधारमा निर्णय गराएर सीट संख्यादेखि उम्मेदवार चयनसम्ममा हस्तक्षेप गर्न सक्ने सम्भावन उत्तिकै छ । अहिले सभापति देउवाले महामन्त्री थापालाई पार्टीका विवाद आउने आन्तरिक कामको जिम्मा दिइरहेका छन् । यसले पनि सीट बाँडफाँडदेखि उम्मेदवार चयनसम्म महामन्त्री थापालाई साथमा लिएर अगाडी जाने सोचमा देउवा देखिएका छन् ।
सभापति देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भन्दा थापालाई महत्वपूर्ण काममा अघि सार्नुको कारण उनी कोइराला पक्षका हुन् । थापालाई मनाउँदा कोइराला पक्षलाई पनि सहजताकासाथ मिलाएर लान सकिने अनुमान देउवाको छ । तर, पार्टी भित्रका तल्लो तहका नेताहरुले भने सीट संख्या र उम्मेदवार चयनमा कोइराला र थापाले देउवाका अगाडि कति दम देखाउन सक्छन भन्ने कुरा हेरिरहेको बताइन्छ ।
यता, सत्ता गठबन्धनभित्रको कुरा गर्ने हो भने पनि मुख्य दुई दल कांग्रेस र माओवादीले आगामी निर्वाचनपछि बन्ने सरकार निर्माणको अंकगणितलाई रणनीति बनाएर भाग खोजिरहेको देखिन्छ । माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जसरी हुन्छ आउँदो निर्वाचन पछि दास्रो शक्तिका रुपमा आउने रणनीतिमा रहेका छन् । उनलाई एमालेभन्दा एक सीट भएपनि माथि जानुपर्ने भूत चढेको नेताहरू बताउँछन् ।
प्रचण्डका कारण निर्वाचन क्षेत्र बाँडफाँट र सीट संख्याको निर्णय लिन गठबन्धनलाई सकस परेको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ अहिले सीट भाबण्डाको हलो अड्काउने मुख्य अस्त्र बनेको देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको लक्ष्य पनि प्रधानमन्त्री हुने नै छ । आइतबार बिहान देउवा र दाहालबीच करिब एक घन्टा वान–टु–वान छलफल पनि यसै विषयमा भएको छ ।
नेताहरुका अनुसार अहिले सीट संख्यामा भइरहेको रस्साकसीले निर्वाचन परिणामपछिको राजनीतिक परिस्थितिप्रति दुवैजना ढुक्क हुने स्थिति नरहेको संकेत गर्छ । त्यसैले दुवै नेताले सीट संख्या बढी लिन चाहिरहेका छन् । कांग्रेसले अन्य साना दल लिएर सरकार निर्माण गर्न नसक्दा आफ्नो पार्टी निर्णायक शक्ति हुने दाहालको बुझाइ छ ।
कांग्रेस नेताहरूले गठबन्धन बैठकमा दाहाल लचकजस्तो, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कडा रूपमा प्रस्तुत हुनुका पछाडि पनि दाहालको रणनीतिसँग जोडेर हेर्ने गरेका छन् । माओवादीसँग पार्टी एकीकरण गर्ने गृहकार्य चलिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई ७० भन्दा बढी सीट दिन नसकिने अडान दोहार्याएका छन् । नेपालको भनाइपछि कांग्रेसका थापा र कोइरालाले थप असन्तुष्टि जनाएका छन् । थापाले आजको गठबन्धन बैठकमा यो विषयलाई कडाइका साथ उठाउने भएका छन् ।
देउवा भने गठबन्धन जोगाउन लचक हुन तयार देखिएका छन् । सीट संख्या नमिलेकै आधारमा गठबन्धन भत्किए माओवादी एमालेसँग मिल्न सक्ने भय देउवामा छ । त्यसैले उनी केही सीटमा लचकता देखाएर पनि गठबन्धन जोगाउने पक्षमा देखिन्छन् । त्यस्तो छनक उनले बिहीबारको बैठकमा दिइसकेका छन् ।
देउवानिकट एक नेताका अनुसार उनले बैठकमा ‘८६ प्लस दुई’ को प्रस्ताव गरेका थिए । कांग्रेसले ८८ सिट लिएर दुई सीट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छाडिदिने प्रस्ताव देउवाको थियो । समझदारीमा जाँदा ९० सीटभन्दा घट्नै नहुने अडान कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री थापाले लिएका थिए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार