राजनीतिमा पूर्वप्रहरी अधिकृतहरुको चासो, दलहरुको रोजाइमा को कहाँबाट भए सिफारिस
केदार भट्टराई (काका)
भदौ २०, २०७९ सोमबार १८:६:१८
२० भदौ, काठमाडौं । नेपाल प्रहरी संगठनको नियमित बढुवा प्रक्रियामा चित्त नबुझेर राजीनामा दिएका र कार्यकाल सकिएर नियमित अवकाश प्रक्रियाबाट घर फर्किएका पूर्वप्रहरी अधिकारीहरु धमाधम राजनीतिमा होमिन थालेका छन् । यसमध्ये केही आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिससमेत भएका छन् ।
लामो समय प्रहरी संगठनमा रहेर काम गरेका उनीहरुका लागि अवकाश जीवन राजनीतिमा बिताउने अभिलाषा जागेपछि राजनीतिक दलहरुले पनि उनीहरुलाई धमाधम पार्टीमा स्थान दिइरहेका छन् । आगामी निर्वाचनमा प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन नेपाली कांग्रेस लगायतका पार्टीहरुले पाँचभन्दा बढी पूर्वप्रहरी अधिकारीहरुलाई सिफारिस गरिसकेको छ ।
सशस्त्र प्रहरी बलका पूर्वएआईजी सुबोधकुमार अधिकारी पनि कांग्रेसबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । कांग्रेसले अधिकारीलाई स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रुपमा चिनिएका अधिकारी प्रजातन्त्र सेनानी स्वः शिवकुमार अधिकारीका छोरा हुन् । कानुनका ज्ञातासमेत रहेका अधिकारी सशस्त्र प्रहरीभित्र सक्षम,बौद्धिक र स्वच्छ छवि बनाएका अधिकृत हुन् । भावी आईजीपीको रुपमा हेरिएका अधिकारीलाई केपी ओली नेतृत्वको एमाले सरकारले अवधि बाँकी रहँदै एआईजीबाट जवरजस्ती राजीनामा दिन बाध्य पारेको थियो ।
उनको पारिवारिक राजनीति कांग्रेससँगै आबद्ध छ । उनका पिता स्व.शिवकुमार अधिकारी जिल्ला विकास समिति स्याङ्जाका पूर्व सभापतिसमेत थिए । स्व. अधिकारी कांग्रेस संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोरालाका सहयात्री हुन् । उनलाई स्याङ्जाको बमकाण्डका नाइकेको रुपमा पनि चिन्ने गरिन्छ । उनको परिवार पार्टी स्थापनादेखिनै नेपाली कांग्रेससँग आबद्ध भएकाले पनि सुवोधकुमार अधिकारीलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
त्यस्तै नेपाली कांग्रेसले कांग्रेस नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार निटक मानिएका पूर्वडीआईजी भक्तीनाथ माझीलाई मोरङ ४ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका उनको नाम जिल्ला हुँदै केन्द्रमा आउँदैछ । माझी नेपाल प्रहरीका सक्षम अधिकृतको रुपमा परिचित छन् ।
यसैगरी नेपाल प्रहरीका पुर्वएसएसपी बिक्रमसिंह थापा पनि प्रदेशसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका छन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र न.२ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिसमा परेका हुन् । थापालाई पनि नेपाली कांग्रेसले नै उम्मेदवारका लागि सिफारिस गरेको हो । नेपाल प्रहरीमा रहँदा सिंघमको उपाधिले परिचित थापा सक्षम र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित छन् ।
लुम्बिनी प्रदेशसभा सदस्यको उम्मेदवारको लागि सिफारिसमा परेका थापा नेपाल प्रहरीमा नाम चलेका र अपराध अनुसन्धानमा अब्बल अधिकृतको रुपमा चिनिन्छन् । थापा प्रहरी संगठनबाट अवकाश लगत्तै तीन वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
२०७४ को निर्वाचन अघि कांग्रेस नेतृत्वको सरकार रहेका बेला प्रहरी प्रमुखको दाबेदार रहेको पूर्व डीआइजी नवराज सिलवाल यसपटक पनि ललितपुर क्षेत्र न. १ बाट नेकपा एमालेका तर्फबाट पुनःसिफारिसमा परेका छन् । हाल प्रतिनिधिसभा सदस्यसमेत रहेका सिलवाल प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका हुन् ।
एमाले ललितपुर अध्यक्ष पुरुषोतम आचार्यले प्रतिनिधिसभाका लागि सिलवालको नाम एकल रुपमा सिफारिस भएको बताए । सिलवालले गत निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । सर्वोच्चमा किर्ते कागज पेश गरेको अभियोग लागेपछि लामो समय फरार रहेका सिलवालको नाममा रेडकर्नर नोटिस समेत जारी भएको थियो । उनले निर्वाचन जितेपछि माधवकुमार नेपालले उनलाई लुकाएर संसद भवन छिराएका थिए ।
यस्तै आईजीपीकै प्रतिस्पर्धामा रहेका पूर्वडीआईजी रमेश खरेल पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । उनी आफ्नै पार्टीबाट चुनाव लड्न लागेका हुन् । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । खरेलले उम्मेदवारी दिने घोषणा गरेको उक्त क्षेत्रबाट २०७४ को संघीय निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह विजयी भएका थिए ।
पूर्वराष्ट्रसेवकको अनुभव र सीपले दललाई पनि फाइदा हुने भन्दै दलहरुले उनीहरुलाई स्थान दिएका हुन् । यता राप्रपाबाट पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारमा रहेको बताइएको छ । उनी राप्रपाका उपाध्यक्षसमेत हुन् । राप्रपाले उनलाई प्रत्यक्ष वा समानुपातिक के बाट उम्मेदवार बनाउने भन्ने एकिन गरेको छैन् ।
संगठनमा रहँदा स्वच्छ छवि बनाएका पूर्वडीआईजी गणेश केसी ललितपुर जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए । तर २२ मतको अन्तरले उनले चुनाव हारे । उनको नाम पनि सिफारिसमा पर्ने चर्चा छ । उनी महालक्ष्मी नगरपालिकामा गत स्थानीय चुनावमा मेयरको प्रबल दावेदार थिए । अर्का पूर्व डीआइजी दिनेश अमात्यको धनकुटाबाट कांग्रेसको उम्मेदवारमा सिफारिस हुने चर्चा चलिरहेको छ । उनी महाधिवेशन प्रतिनिधि पनि हुन् ।
यस्तै यसैवर्ष कांग्रेस क्रियाशील सदस्यता लिएका पूर्व डीआईजी पूर्णचन्द्र जोशीले दार्चुलाबाट कांग्रेसको उम्मेदवार बन्न चाहेका छन् । अन्य थुप्रै अवकाशप्राप्त एसएसपी एसपी र डीएसपीहरुसमेत कांग्रेसप्रति आकर्षित भएको र उम्मेदवार बन्न चाहेको बताइन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार