राजनीतिमा सबैभन्दा ठूलो खेलाडी को ?
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बिहिबार १:१:२
♦अनुसा थापा / भक्तपुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस र मधेशी दल उपेन्द्र यादव दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भन्यो, गठबन्धनभित्र त्यही नै चल्छ । मानौं मुलुकको राजनीति नै प्रचण्डको हातमा छ । प्रचण्डको हात समाएर हिडिरहेका अन्य पार्टीलाई आउँदो चुनावमा जनताले भोट दिन्छ ? शेरबहादुर देउवा, माधव नेपाल, गगन थापा र उपेन्द्र यादवलाई कान्छी औंलामा राखेर प्रचण्डले फनफनी घुमाइरहेका छन् ।
सरकार देउवाले नभई प्रचण्डले चलाएको भन्दा पनि त्यति फरक नपर्ला । प्रचण्ड राजनीतिमा कति चतुरे छन् भन्ने कुरा हरेक जनतालाई थाहा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने उनी नै हुन् । यता, पद चैट् बनाएर ओलीलाई भित्तामा पुर्याउने पनि प्रचण्ड नै हुन् । प्रचण्डले नौटंकी र नाटक गर्न राम्ररी जानेका छन् ।
उनी घुर्की लगाउन, छिनमै कुरा फेर्न, रुन र हाँस्न जानेका छन् । आफ्नो फाइदाका लागि जुनै हदसम्म जाने व्यक्ति हुन्, प्रचण्ड । २०६४ सालको चुनावमा जनताले माओवादीलाई भारी मतका साथ पहिलो पार्टी बनाए । तर, कांग्रेस र एमालेको हातेमालोले उनको प्रधानमन्त्री पद एक झट्कामै गयो । प्रधानमन्त्री पद गुमेर रन्थनिएका प्रचण्ड अहिले यता चिप्किने र उता लस्किने काम गरिरहेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँग नजिक भएर उनी सरकारमा गएका छन् । २०७० सालको चुनावमा माओवादी थोरै सीटमै सीमित बन्यो । २०७४ मा पनि माओवादीले सोचेअनुसार नतिजा पाएन् । न्यून सीटमै थन्कियो । जनताले भोट नदिएपनि कांग्रेसलाई भर्याङ बनाएर २०७० साल पछि पनि उनी प्रधानमन्त्री बने । जनताले नपत्याएपनि माओवादीका नेताहरु सरकारमा गइरहेका छन् । सरकारको मुख्यमुख्य मन्त्रालय माओवादीको कब्जामा छ । अनि जनताले भोट नदिएर माओवादीलाई के फरक पर्दो रहेछ ?
माओवादीलाई जनताले सानो पार्टी बनाएपनि प्रचण्डले अन्य पार्टीका नेतासँग लटपट गरेर सरकार चलाइरहेका छन् । माओवादीले काम गर्न नसकेको प्रमाण त जनताको आँखा अगाडि छ । २०५२–२०६३ सालसम्म जनयुद्ध गर्यो । परिवर्तनको बाढी ल्याउने भन्दै माओवादीले एक दशक बढी युद्ध गर्यो । १७ हजार नेपाली युद्धमा परेर मरे । अझै पनि कति बेपत्ता छन् । सरकारको सम्पत्ति त्यतिबेला कति क्षति भयो कति । माओवादीले मुलुकमा परिवर्तन ल्याउने, देशलाई अर्कै उचाइमा पुर्याउने आश्वासन दियो तर काम गरेर देखाउन सकेन् । माओवादीले राम्रो काम गर्ला भन्ने विश्वास गरेका जनताले पनि उसलाई जिताए । एक सय २१ क्षेत्रबाट माओवादी प्रत्यक्ष निर्वाचित भएर आएको थियो । केही क्षेत्रमा थोरै मतान्तरका कारण माओवादीका उम्मेदवार हारेका थिए । माओवादीले जनताको साथ पाउने भयो र आगामी पाँच दशक उसले सरकार चलाउछ भन्ने डर अन्य शीर्ष पार्टीहरुलाई पर्यो । त्यसपछि ओली, देउवा, महेश बस्नेत र गगन थापाले कोठे राजनीति शुरु गरे ।
कोठे राजनीति शुरु गरेपनि प्रचण्डले बुझेनन् । भर्खर जंगलबाट बाहिर आएका प्रचण्डले कुटनीति बुझेनन् । जब प्रचण्डले अन्य पार्टीबाट धक्का पाए, अनि मात्र उनले कोठे राजनीति बुझे । न कांग्रेस र एमालेले संविधान बनाउन दिए न उनले बनाउन सके नै । कांग्रेस र एमालेले यसको फाइदा उठाए । माओवादीले केही गर्न सक्दैन्, संविधान पनि बन्दैन भनेर जनतामा भ्रम फैलाउने काम भयो । माओवादीलाई सिद्धयाउनका लागि यी दुई पार्टी जयान फालेर लागिपरे । जसको नतिजा २०७० सालको चुनावमा देखियो । मुलुककै ठूलो पार्टी बनेको माओवादी बेस्सरी पछारियो । सानो पार्टीमै संकुचित भयो ।
२०६५ सालमा पुनः प्रधानमन्त्री बनेका प्रचण्डले नौ महिना पनि प्रधानमन्त्री चलाउन पाएनन् । २०६४ सालको चुनावमा माधव नेपालले दुई क्षेत्रबाट चुनाव हारेका थिए । तर, चुनाव हारेका व्यक्तिलाई मनोनित सांसद बनाइयो । २०६६ सालमा प्रचण्डकै बलमा माधव नेपाल प्रधानमन्त्री बने । उनले वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । त्यही माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउनका लागि माओवादीले ठूलो आन्दोलन गर्नुपर्यो ।
उनी हटेपछि झलनाथ खनाल आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै प्रचण्डको शरणमा पुगे । अनि झलनाथले पनि प्रधानमन्त्री खाए । उनले पनि प्रधानमन्त्री भएर सिन्को भाँचेनन् । जनता र राष्ट्रका लागि केही काम गरेनन् । त्यसपछि झलनाथलाई हटाएर बाबुराम भट्टराईलाई माओवादीले प्रधानमन्त्री बनायो । पहिले नै बाबुरामलाई प्रधानमन्त्री बनाउनुपथ्र्यो । पाँच वर्षको अवधिमा संविधान बनाउन र देशको विकास गर्न भनेर जनताले भोट दिएर पहिलो पार्टी बनाएको थियो । तर, एमाले र कांग्रेसले त जनताको दिमागमा माओवादीका बारेमा नराम्रो छाप छोडेको थियो । बीचमा बसेर यी दुई पार्टीले भड्काउने काम गरे ।
माओवादीको समर्थनमा माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनु ठूलो गल्ती थियो । आफू हटेपनि माओवादीभित्र त थुप्रै नेताहरु थिए । तर, घरका लाई विश्वास नगरेर प्रचण्ड बाहिरका व्यक्तिहरुको खोजीमा निस्किए । बाबुराम भट्टराई, मोहन वैद्यलाई प्रधानमन्त्री बनाइदिएको भए पार्टी फुट्दैनथ्याे । देशमा विकास पनि हुन्थ्यो संविधान पनि बन्थ्यो । जनताको विश्वास अटल रहिरहन्थ्यो । माधव नेपाल र झलनाथ खनालले प्रचण्डको राजनीति तहसनहस बनाइदिए । माओवादी पार्टी ध्वस्तै बन्यो र जनताबाट पनि नङगियो ।
२०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वालुवाटार र थानकोटको मातातीर्थको सयौं रोपनी जग्गा व्यक्तिको नाममा पास गरियो । भट्टराईले पनि संविधान बनाउन सकेनन् । अलिकति पनि विकासको क्रियाकलाप अघि बढ्न सकेनन् । अन्तमा सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा २०६९ साल चैत १ गते सरकार बन्यो । रेग्मीको सरकारले २०७० सालमा चुनाव गरायो । २०७० सालको चुनावमा माओवादी गम्भीर घायल भयो । जनताले नपत्याएपछि माओवादी पहिलोबाट झरेर तेस्रोमा आइपुग्यो । प्रचण्ड छाँगाबाट खसेझैं भए । त्यतिखेर उनले बल्ल कांग्रेस र एमालेको कुटनीति बुझे ।
तर, सबै कुरा सुधार्नका लागि धेरै ढिला भइसकेको थियो । २०६४ सालमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएर आफूले प्रधानमन्त्री खाएको भए त्यतिखेर नै संविधान बन्थ्यो । ५० वर्षसम्म माओवादी पहिलो पार्टीमा यथावत रहिरहन्थ्यो । गिरिजालाई राष्ट्रपति नदिनु नै माओवादीका लागि अभिशाष बन्यो । जब चुनाव हार्यो तब माओवादीलाई आफूले गरेको गल्तीको आभास भयो । गिरिजालाई राष्ट्रपति नदिएकोमा थकथकी लाग्यो ।
माओवादीको खंखुर विरोध गर्नेमा केपी ओली, महेश बस्नेत र गगन थापा थिए । माओवादीलाई कमजोर बनाउने यी तीन जना हुन् । आफू स्थापित हुनका लागि पनि विरोध गरियो । चर्चामा आउन र चुनाव जित्नका लागि तीन जना मिलेका थिए । तर, यसको प्रतिकार माओवादीका कुनै नेताले गर्न सकेनन् । माओवादीकै विरोध गरेर महेश बस्नेतले चुनाव जिते । केपी ओली र गगन थापा पनि सत्तामा गए । तर, माओवादी जहाँको त्यही रहयो । तर, पछिल्लो समय राजनीति ठ्याक्कै उल्टो बनेको छ ।
ढिलो भएपनि प्रचण्डले राजनीति र कुटनीति बुझे । प्रचण्डले एमाले पार्टी फुटाएर टुक्राटुक्रा बनाइदिए । जनताबाट भोट लिएर सरकारमा जान नसक्ने अवस्थामा एमाले छ । माधव नेपाल र झलनाथ खनाललाई आफ्नो झोले बनाइदिए । कांग्रेस पनि चार टुक्रामा बाँडिने अवस्थामा छ । शेरबहादुर देउवा प्रचण्डको पछिपछि हिड्छन् । गगन थापा एकातिर रामचन्द्र पौडेल अर्कोतिर । पार्टीभित्रै घमाशान चल्छ । कांग्रेसलाई पनि फुट्ने अवस्थामा छ । कांग्रेसको समय सकिदैं गएको छ । अहिले कांग्रेसका कार्यकर्ताहरुले प्रचण्डलाई आरोप लगाउन थालिसकेका छन् । माओवादीले गर्दा आफ्नो पार्टी फुट्न लागेको कार्यकर्ताहरुले पत्तो पाइसकेका छन् ।
आगामी मंसिर ४ गते हुन लागेको चुनावमा माओवादीको योजना देखिनेछ । कांग्रेस, एमालेलगायत अन्य पार्टी नराम्ररी पछारिने छन् । चुनाव पछाडि प्रचण्डले अन्य पार्टीलाई फनफनी घुमाउँछन् । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर प्रधानमन्त्री खान्छन् । चुनावपछि प्रचण्डकै नेतृत्वमा सरकार बन्छ । जनताले भोट पाएपनि राजनीति शक्ति प्रचण्डको हातमा हुन्छ । कांग्रेस र मधेशी दललाई जसरी माओवादीले नचाइरहेको छ त्यसको नतिजा चुनावपछि देखिन्छ । यसपछि फेरि एमालेसँग मिलेर प्रधानमन्त्री खाने दाउ प्रचण्डको छ । राजनीतिको बाउ प्रचण्ड हुन्, उनीसँग कसैले सक्दैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार