पितृ श्रद्धाको श्राद्धः विज्ञानले नकार्न नमिल्ने र पूर्वीय दर्शनको चुरो पितृ श्राद्ध
भेषराज पोखरेल
भदौ २६, २०७९ आइतबार १९:२३:२५
२५ भदाै, काठमाडाैं । पूर्वीय धर्मसंस्कारमा विभिन्न प्रकारका यज्ञहरु गर्ने शास्त्रीय मान्यता छ । देवयज्ञ अति महत्वपूर्ण मानिन्छ । देवयज्ञ जत्तिकै पितृयज्ञलाई पनि लिइन्छ । देवताले यज्ञ-यागादि, जप, तप, भक्ति गर्नाले शक्ति, आरोग्यता, ऐश्वर्य आदि दिन्छन्, नगरे पनि स्वाभाविक रुपमा अन्य सबै प्राणीले पाउने प्राकृतिक सम्पत्ति पाइन्छ, पुरुषार्थ गरे पनि पाइन्छ । पितृले भने सन्तानले पितृयज्ञ गरे शक्ति, आरेग्यता, ऐश्वर्य, सन्तान आदि दिन्छन्, नगरे हरिदिन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
पितृयज्ञ श्राद्ध हो । श्राद्धमा पनि मुख्यतः एकोदिष्ट र पार्वण अर्थात् महालय श्राद्ध गृहस्थहरुका लागि अति जरुरी मान्छि । पार्वण श्राद्धलाई सोह्रश्राद्ध पनि भनिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशीमा भएको अवस्थामा सोह्रश्राद्ध गर्ने शास्त्रीय परम्परा छ । यो समयमा आफ्ना समस्त पितृहरूको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्धकर्म अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो कुनै व्यक्ति वा समूहले चलाएको चलन मात्र होइन । पूर्वीय दर्शनको चुरो पुनर्जन्म यसैसँग गाँसिएको छ । पितृयज्ञ शास्त्रसम्मत त छ नै विज्ञानसम्मत पनि छ । आधुनिक युगमा विज्ञानले चमत्कार गरिरहँदा श्राद्धलाई कसरी बुझ्ने ? सबैले सही जानकारी राख्नुपर्ने विषय हो ।
श्राद्ध विभिन्न प्रकारका हुन्छन् तर प्रायः सामान्य गृहस्थहरुले बुझ्ने र गर्नुपर्ने कार्यका रुपमा लिइने दुई प्रकारका छन् । मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध र शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध । एकोदिष्ट श्राद्धमा मुख्यतः तर्पण, पिण्डदान सम्बन्धित पितृलाई मात्र गरिन्छ । पार्वण श्राद्धमा भने आफ्ना दिवंगत समस्त पितृलाई तर्पण र पिण्ड दान गरिन्छ । त्यसैले पार्वण श्राद्धको विशेष महत्व छ । समस्त पितृको तर्पण र पिण्डदानद्वारा उद्धार गरिने हुनाले यसलाई ठूलो पुण्यकार्य मानिएको छ ।
हाम्रो धर्मसंस्कार अनुसार पितृशक्ति पनि ईश्वरीय जस्तै विशेष शक्ति हो । त्यसैले पितृ देवो भवः भनिएको हो । पितृकार्य यज्ञ त हो तर अरू देवयज्ञ र पितृयज्ञमा भने फरक छ । देवत्व शक्ति अलि व्यापक हुन्छ, पितृशक्ति अलि सीमित हुन्छ र आफ्ना सन्तानसम्म मात्रै त्यो शक्तिको अन्तरक्रिया हुन्छ । यसलाई तर्पण, पिण्डदान जस्ता सत्कार्य द्वारा व्यवस्थित गर्नुपर्ने विधि छ । पितृयज्ञ अर्थात् श्राद्ध वैदिक मन्त्रको शुद्ध उच्चारण र विधिविधान अनुसार गर्नुपर्छ । जल तर्पण र पिण्ड दान वैदिक विधि अनुसार गर्नैपर्छ ।
पितृसम्बन्धी वैज्ञानिक पक्ष केही छन् कि ? पूर्वीय दर्शन पुनर्जन्ममा आधारित छ । मान्छेलाई जन्मसँगै प्रकृतिका अनेक रूप र स्वरूपसँग अनेक अन्तरक्रिया गरिरहनु पर्छ । समाजसँग पनि अनेकौं कार्य व्यवहार गरिरहनु पर्छ । कार्य व्यवहारका क्रममा मानिस कहिले खुशी हुन्छ, कहिले रिसाउँछ । केही प्राप्ति गरेर मनलाई प्रफुल्लित बनाउने र गुमाउँदा मन दुखित बन्ने क्रम चलिरहन्छ । अनेकानेक कार्य व्यवहार गर्ने, सोच्ने, योजना बनाउने क्रम जीवनभर चलिरहन्छ ।
जब मान्छे मर्छ, भौतिक जीवन समाप्त हुन्छ जिउँदो छँदा सोचिएका र गरिएका कामले मनमा दिने सकारात्मक, नकारात्मक प्रभाव मानिसको दैनिकीको प्रभाव सपनामा परेजस्तै मृत्युपछिको आत्मासँग सँगै जान्छन् र तिनै कार्यप्रभाव अनुसारको सूक्ष्म शरीर बन्न जान्छ । यो कुरा गीताको चौधौं अध्यायमा यसरी भनिएको छ–” रजसी प्रलयं गत्वा कर्मसंगिषु जायते तथा प्रलीनस्तमसिमूढयोनिषु जायते ।।” अर्थात् मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।
मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ भने यदि प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुर्व्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा अर्थात् आत्मिक अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो वेद, पुराण तथा गीताको निष्कर्ष हो ।
यो स्वाभाविक र विज्ञानसम्मत यसकारण छ कि मान्छेले दिनभर जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ त्यस्तै सपना देख्छ भने मृत्यु चिरनिद्रा भएकाले पहिले गरेका काम अनुसार सूक्ष्म शरीर धारण गरेर भोग्नु स्वाभाविक भयो । भड्किरहेको आत्मिक अशुद्धि र अतृप्त आत्मालाई वैदिक विधिअनुसार गरिने तर्पण, पिण्डदानद्वारा तृप्त पार्न सकिने वैदिक मान्यता हो । यो मन र भावको संगमको सूक्ष्म शक्तिसँगको अन्तक्रिया हो । ऋषिमुनिहरुले यही मानस र भाव शक्तिद्वारा ब्रह्माण्डको ज्ञान प्राप्त गरेको कुरा धर्मशास्त्रहरुले बताएकै छन् । मानिसको शरीर ब्रह्माण्डको प्रक्रिया अनुसार नै चलेको छ, तसर्थ भनिएको छ, “यत् पिण्डे तत् ब्रह्माण्डे ।”
मान्छे मरे, शरीर डढाइयो पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउने, कसरी अघाउने ? पृथ्वीका यावत् प्राणीमध्ये मान्छेको मानसशक्ति, भावशक्ति अत्यन्तै शक्तिशाली र क्रियाशील हुन्छ । मान्छेले आफ्नो मनलाई एकतृत गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ, भावशक्तिद्वारा प्रकृतिमाथि विजय पाउन सकिन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनी र महात्माहरूले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारिसकेका छन् ।
पराशक्ति (आत्मिक शक्ति) वैज्ञानिक खोजको विषय नै हो । असाध्य बिरामीलाई टाढाका शुभचिन्तकले सन्चो होस् भनेर कामना गर्दा प्रार्थना गर्दा पनि उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले समेत पुष्टि गरेको छ । आधुकि वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । यी सबै कुराले पितृशत्ति पनि मानसशक्तिको एउटा रूप तथा अवस्था नै हो भन्ने देखाउँछ भने शुद्ध मनले पवित्र सामग्री जौ, तिल, कुशको जल, सेता, पहेंला फूल, अक्षता, गाईको दूध, तामाका भाँडा, खीर आदि प्रकृतिका विशिष्ट गुणयुक्त सामग्रीहरू प्रयोग गर्दा त्यही भड्किरहेको पराशक्तिलाई एकत्रित गर्न सकिने भयो । यी कुराले सन्तुष्टि वा तृप्ति पनि दिन्छन् ।
केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्माशक्ति हुन्छ भन्ने प्रमाणित गर्छ । तिल र कुशसहित जलले तर्पण गर्दा ‘तृपतामिदं तिलोदकं तस्मैस्वधा’ भनेर दायाँ हातको बूढी अंगुठाबाट जल दिइन्छ ।
त्यस्तै पिण्ड ‘यस पिण्डो अमृतस्वरूपो अक्षयतृप्ति हेतोस्ते स्वधा’ भनेर दिइन्छ । श्राद्धमा यस्ता अरु पनि विशेष प्रकृयाहरु छन्, तिनलाई पालन गर्नुपर्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिने कुरा भएन । सकारात्मक अवस्थामा छ भने झन् विकृत हुन सक्छ ।
ब्रह्माण्डमा विकृत शक्ति रह्यो भने सबैलाई असर गर्छ । यो स्वाभाविक हो । त्यसलाई शुद्ध बनाउन सबैले प्रयत्न गर्नुपर्छ । त्यसैले आफ्ना मातृपितृ मात्र नभएर पृथ्वीभरका सबै पितृको कल्याणका लागि ‘अतीत कुलकोटिनाम् सप्तद्वीपनिवासनाम् आब्रह्म भुवनल्लोकां निदमस्तु तिलोदकम्’ अर्थात् धेरै पहिलेदेखि करोडौं कुलका मानिस जो सातै द्वीपमा बस्थे तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु भनेर जल अर्पण गरिन्छ । यो हाम्रो संस्कृतिको विशेष मान्यता हो । पूर्वीय दर्शनको उच्चता हो ।
अन्य धर्ममा जस्तो सबैलाई कब्जा गरेर अधीनमा लिने, समाप्त गरिदिने पूर्वीय दर्शनको अभिष्ट होइन, सबैको उद्धार गर्ने, कल्याण गर्ने हो । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह्माण्डको देवत्व शक्तिको एउटा अंश भएको कुरा वेदले बताएको छ । पितृभ्य स्वधायिभ्यः स्वधा नमः … भनेर यसको महत्व स्पष्ट पारेको छ । महर्षि दयानन्द सरस्वतीले आफ्नो सत्यार्थ प्रकाशमा श्राद्ध गर्नु आवश्यक छैन, देवशक्ति मात्र पुज्य हुन्छ भनेका छन् । अन्य केही सन्त, महन्त, धर्मगुरुले पनि त्यसमा बल दिएका छन् । उनीहरूले त्यसो भने पनि वेदअनुसार पितृ शक्ति विशेष प्राकृतिक शक्ति नै हो । यसको बेवास्ता गर्यो भने प्रकृतिको शक्ति सन्तुलन खल्बलिन्छ । वेदले पितृशक्तिलाई बेवास्ता गर्दा ब्रह्माण्डमा असन्तुलन आउँछ भनेको छ ।
प्रकृतिमा देवशक्ति मात्र नभएर पितृशक्तिका साथै अन्य शक्तिपुञ्ज पनि छन्, ती सबै शक्तिको सन्तुलनबाट मात्र प्रकृति सशत् रूपमा अघि बढ्छ भनेको छ । अग्नि तथा अन्य विभिन्न यज्ञ गर्दा सबै शक्तिलाई समान रूपमा आह्वान तथा पुजन गर्नु पनि यसको प्रमाण हो । तसर्थ यही प्रकृतिमा रहेको पितृशक्तिलाई पनि तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ ।
अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैं दुःख दिइरहन्छ । वेदले सबै प्राणी सुखी र स्वस्थ हुन पृथ्वी शुद्ध हुनुपर्छ, वायु शुद्ध हुनुपर्छ, आकाश शुद्ध हुनुपर्छ, तेज अर्थात् सूर्यका किरण पनि शुद्ध हुनुपर्छ, जल पनि शुद्ध हुनुपर्छ भन्छ । विज्ञानले पनि यही भन्छ । मानिसले यी कुरामा ध्यान दिन सत्मार्ग अवलम्बन गर्नुपर्छ । श्राद्ध पनि एउटा शक्तिलाई व्यवस्थित गर्ने कार्य नै हो ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार