उम्मेदवार छान्न देउवाले बनाए ‘कोर टीम’,समानुपातिकमा दाम लिएर टिकट दिने रणनीति अंगीकार
केदार भट्टराई (काका)
भदौ ३१, २०७९ शुक्रबार २१:५६:२०
३१ भदौ, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि ७७ जिल्लाबाट साढे सात हजारभन्दा बढीको नाम सिफारिस भएर आएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटलाई प्राथमिकतामा राखेर उम्मेदवार छान्न सात जनाको ‘कोर टीम’ बनाएको रहस्य खुलेको छ । उनले उम्मेदवार चयनका लागि नयाँ रणनीति अंगीकार गर्दै गोप्य रुपमा यो टीम बनाएको बुझिएको छ ।
उच्च स्रोतमार्फत नेपालबहसलाई प्राप्त जानकारीअनुसार सभापति देउवाले बनाएको ‘कोर टीम’मा उपसभापति पूर्णबहादुर खड्का, नेता गोपालमान श्रेष्ठ, प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण, नेता एनपी सावद, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मधेशबाट फरमुल्लाह मन्सुर वा खानेपानी मन्त्रीसमेत रहेका सहमहामन्त्री उमाकान्त चौधरीमध्ये एकजनालाई राख्न भनिएको छ । आज शुक्रबार मधेशबाट दुइमध्ये एकलाई ‘कोर टीम’मा राखेपछि यो टीमले काम अगाडि बढाउने छ ।
देउवाले संस्थापनइतर समूहका नेताहरुलाई जानकारी नै नदिई प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार छनोटको मापदण्ड नै बनाएको जानकारी उच्च स्रोतले दिएको छ । उक्त उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति देउवाले आगामी निर्वाचन पश्चात संसदीय दलको नेतामा श्रीमति आरजु देउवा राणालाई उठाउने र उक्त समयमा हात उठाएर समर्थन गर्ने प्रतिबद्धता जनाएकाहरुलाई मात्र प्रत्यक्षको टिकट दिने रणनीति अंगीकार गर्न ‘कोर टीम’लाई निर्देशन दिएका छन् ।
सभापति देउावले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा अस्वस्थ्य रहेको अवस्थामा गोप्य रुपमा यस्तो टीम बनाएका छन् । शर्मा मिर्गौलामा पत्थरी देखिएपछि त्यसको अप्रेशन गरेर अस्पतालबाट भर्खरै डिस्चार्ज भएका छन भने थापालाई डेँगु संक्रमण भएको छ । उनीहरु दुवै अहिले सक्रिय रुपमा उम्मेदवार छान्ने कार्यमा सहभागी हुनसक्ने अवस्थामा छैनन् । संस्थपनइतर समूहका वरिष्ठ नेता डा। शेखर कोइराला पनि यतिबेला नेता कार्यकर्ता भेटघाटमै व्यस्त देखिएका छन् ।
नेपाली कांग्रेसमा टिकट वितरणका लागि संसदीय समिति गठन गर्नुपर्ने विधानमा व्यवस्था छ । संसदीय समितिले स्थानीय, प्रदेश तथा प्रतिनिधि तथा राष्ट्रियसभाको टिकट वितरण गर्छ । तर, उनले यसको सट्ट ‘कोर टीम’ बनाएका छन् त्यो पनि गोप्य रुपमा । पार्टीको विधानको परिच्छेद ८ धारा ३१ मा संसदीय समिति सम्बन्धी व्यवस्था छ । उक्त धारामा २५ सदस्यीय संसदीय समिति ९बोर्ड० बनाउने व्यवस्था छ ।संसदीय समितिमा पार्टी सभापतिनै प्रमुख हुन्छन् भने महामन्त्रीहरू केन्द्रीय संसदीय समितिको महामन्त्री र अन्य पदाधीकारीहरू समितिको पदेन सदस्य रहने व्यवस्था हुँदाहुँदै देउवाले बोर्ड गठन नगरी कोर टीमलाई जिम्मा दिएका छन् ।
उक्त टीमले जिल्लाबाट सिफारिसमा परेका र त्यसमा पनि खारिएका संस्थापन पक्षका नेताहरुलाई मात्र टिकटका लागि नाम छनोट गर्ने बताइएको छ । ‘कोर टीम’ले नाम छनोट गरेपछि उनीहरुलाई बोलाएर निर्वाचित भएर आएपछि देउवाले गर्न खोजेका निर्णयमा हो मा हो मिलाउने प्रतिबद्धता जनाउनुपर्ने छ । देउवाले भोली पत्नी आरजुलाई संसदीय दलको नेतामा प्रस्ताव गर्दा उनीहरुले त्यो प्रस्तावको समर्थनमा उभिनुपर्ने छ । यसरी प्रतिबद्धता नजाउने नेताहरुलाई टिकट नदिने निश्चित गरिएको स्रोतको भनाइ छ ।
सभापति देउवाले पत्नी आरजुलाई प्रधानमन्त्री बनाउन वा आफै प्रधानमन्त्री हुने शक्ति आर्जनका लागि पनि संसदीय दलको नेता बनाउन खोजीरहेको बताइन्छ । संस्थापनइतर पक्षका नेताहरुले भने यसको सुइकोसमेत नपाएको स्रोत बताउँछ । देउवा आफै प्रधानमन्त्री बन्ने अवस्था आएमा संसदीय दलको मुख्य सचेतकमा आरजु रहनेछिन् । संस्थापनइतर समूहबाट सभापतिका प्रत्यासी वरिष्ठ नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापाले भोली प्रधानमन्त्रीको दावी पेश गर्नसक्ने सम्भावना देखेपछि देउवाले टिकट वितरणबाटै आरजुलाई अगाडि बढाउने वातावरण मिलाउन यस्तो रणनीति लिएको बताइन्छ ।
यता, असोज ३ गतेभित्र समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने बाध्यतामा कांग्रेस रहेको छ । बन्दसूची सच्याउने वा नाम फेरबदल गर्ने मिति असोज १६ गतेसम्म रहेकाले अहिले धेरैको नाम राख्ने र पछि छाँटकाँट गर्दा पार्टीलाई चन्दा स्वरुप एक सीट बराबर रकम ताकेरै उठाउनुपर्ने जिम्मा पनि ‘कोर टीम’ले पाएको छ । समानुपातिकमा दिनै पर्ने केही बाहेक अरुले दाम नतिरी सीट नपाउने रणनीति अंगिकार गरिएको स्रोत बताउँछ । महिला र क्लस्टरमा पनि यही रणनीति अंगीकार गरिएको छ ।
कांग्रेसको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका नेताको संख्या नै साढे सात हजार छ । केन्द्रले क्षेत्रीय समितिहरूलाई एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक महिलासहित दुई जनाको नाम मात्रै पठाउन परिपत्र गरेको थियो । तल्ला तहबाट सबै आकांक्षीको नाम केन्द्रमा पठाउँदा एउटै निर्वाचन क्षेत्रबाट ३०–४० जनासम्मको नाम आएको स्रोत बताउँछ ।
उच्च स्रोतले दिएको जानकारी अनुसार कांग्रेसमा सबैभन्दा बढी नाम वाग्मती प्रदेशबाट सिफारिस भएका छन् । यस प्रदेशमा करिब २ हजार आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा सदस्यमा मात्र करिब साढे तीन सयको दाबी छ । मधेस प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ करिब ४ सयको नाम सिफारिस भएको छ । दुवैतर्फ समानुपातिकमा ६ सयभन्दा बढी नाम सिफारिस छन् ।
प्रदेशगत रूपमा हेर्दा प्रदेश १ बाट संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि १ हजार ३ सय ९६ जनाको नाम केन्द्रमा आएको छ ।लुम्बिनीबाट प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका लागि २ सय ६०, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि ५ सय २१ जनाको नाम केन्द्रमा आएको छ । गण्डकी प्रदेशबाट दुवैतर्फका प्रत्यक्ष र समानुपातिक गरेर हजारभन्दा बढीको नाम सिफारिस भएको छ ।
सुदूरपश्चिमबाट संघमा ७२, समानुपातिकमा १ सय २ जनाको नाम सिफारिस भएको छ । प्रदेशमा प्रत्यक्षमा २ सय ५३ र समानुपातिकतर्फ ५ सय ४ जनाको नाम केन्द्रमा आएको छ । कर्णाली प्रदेशबाट प्रतिनिधिसभाको प्रत्यक्षमा ३२, समानुपातिकमा ६१, प्रदेशसभातर्फ प्रत्यक्षमा १ सय २३ र समानुपातिकमा २ सय ६० जनाको नाम सिफारिस भएको छ ।
कांग्रेसको विधानमै समानुपातिकमा लगातर दुई पटक दोहोर्याउन नपाउने व्यवस्थाका कारण बहालवाला समानुपातिक सांसद सिफारिसमा परेका छैनन् । यस्ता सांसद प्रतिनिधिसभामा मात्रै ४० जना छन् । उनीहरूले प्रत्यक्षतर्फ टिकट नपाए संसद्को ढोका बन्द हुनेछ ।गठबन्धनका कारण प्रत्यक्षको सीट घट्ने र समानुपातिक दोहोरिन नपाउने व्यवस्थाले दलितहरू मर्कामा परेको स्रोत बताउँछ ।
यसरी सफिारिस भएर आएका नामबाट उम्मेदवार छनोट गर्नुपर्ने छ । आएका सिफारिसमा भरसक आफ्नो पक्षकालाई प्राथमिकता दिएर निर्वाचित हुँदा बहुमत हुने गरी नाम पठाउन ‘कोर टीम’लाई देउवाको निर्देशन छ । उनले प्रत्यक्ष तर्फ उम्मेदवार भएकाहरुलाई पार्टीले दिने सहयोग रकम र लाग्ने खर्च समानुपातिकमा कर्न्फम भएकाहरुबाट उठाउने तयारी गरेका छन् । रकम बुझाएर टिकट पाउनेहरुको सीट भने सुरक्षित रहने स्रोतको भनाइ छ । सभापति देउवाको यो रणनीतिले कांग्रेसका इमान्दार नेताहरु टिकट पाउनबाट बन्चित हुने भएका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार