दशैंका धार्मिक र सांस्कृतिक पक्षः मौलिकता बिर्सिएर बलि दिने र नदिनेमा अल्झँदै
भेषराज पोखरेल
असोज ११, २०७९ मंगलबार १२:२२:२०
दशैं नेपालका सबै जातजातिको विशेष पर्व हो । ब्रह्माण्डीय स्त्रैण शक्तिको अर्थात् देवी शक्तिको आराधना गर्ने यो शरद ऋतु, आश्विन महिनाको शुक्लपक्षलाई विशेष मानिन्छ । यो समयमा देवी शक्ति विशेष रुपमा जाग्रित हुन्छिन् भन्ने शास्त्रीय मान्यता छ ।
हुन त संसारका सबै धर्म संस्कारका मानिसहरुले कुनै न कुनै रुपमा देवी शक्तिलाई महत्व दिएर मानेको देखिन्छ तर पनि हिन्दु संस्कार, संस्कृतिमा यसलाई विशेष रुपमा लिइन्छ । अझ नेपाल शिव क्षेत्र भएको र उनकी परा शक्ति दुर्गा, कालीको पूजा विशेष रुपमा हुनु स्वाभाविकै हो । शिव क्षेत्र भएकै कारण नेपाल पूरै रुपमा तन्त्रपद्धतिको अभ्यासस्थल पनि हो । सबै जातजातिले विभिन्न रुप, स्वरुप र नाममा यसको अभ्यास गरिहेका छन् ।
दशैंको दुर्गा पक्षमा विशेषगरी नवदुर्गाको पूजा हुन्छ । नेपालमा देशभर रहेका विभिन्न नामका शक्तिपीठहरुमा नौ दिनसम्म देवीशक्तिको पूजा हुन्छ । अति थोरै पीठबाहेक प्रायः सबै देवीपीठ अर्थात् देवीस्थानहरुमा बलि दिएर पूजा गरिन्छ । पछिल्लो समय नेपालमा बलि दिएर देवीको पूजा गर्ने चलनको विरोध हुन थालेको छ । देवी सबै प्राणीकी माता हुन्, एउटा सन्तानको तृप्तिका लागि अर्को सन्तानको हत्या चाहन्नन्, तसर्थ बलिप्रथा सर्वथा गलत हो, हटाउनैपर्छ भन्ने आवाज विभिन्न सम्प्रदाय, व्यक्ति तथा संस्थाबाट आउने गरेको छ ।
हो, जगन्माताका अगाडि सबै सन्तान बराबर हुन् तर हाम्रो वैदिक मान्यता, तान्त्रिक मान्यता आदिले प्राणीहरुका विभिन्न अवस्था तथा शक्तिका विभिन्न रुप र तिनका पूजा तथा यज्ञका अनेक रुपलाई अगाडि सारेकाले संस्कार संस्कृतिका विभिन्न आयामलाई बुझेर मात्रै यही हो भन्नुपर्ने हुन्छ । नभए एउटा जीवन्त संस्कृतिको विरोध र अपमान गरेर विधर्मीलाई मौलाउने मैदान तयार गर्न सहयोग मिल्छ ।
नेपालमा देवी शक्तिको स्थापना र पूजन विशेष खालको छ । भारतमा जस्तै दुर्गा पक्षमा देवीका माटाका पार्थिव मूर्ति स्थापना गरी पूजा गर्ने र दुर्गा पक्ष सकिएपछि नदीमा सेलाउने गरिँदैन । नेपालको पहाडमा अति प्राचीन समयदेखि पहाडका थुम्का तथा विशेष ठाउँहरुमा देवीस्थानहरु स्थापित छन् । कति सतीदेवीका अंगपतनको प्रसँग आउला, कति दुर्गाका, धेरै त नेपालमा बसोवास गर्ने जातजातिका सत्चित् स्वरुप कन्याहरु कुनै रुपमा दिवंगत भएर देवीस्वरुप प्राप्त भएको, कति शुद्धआत्मा महिलाहरु दिवंगत भएर देवीस्वरुप भएको अवस्था मानेर पूजा गरिन्छ ।
अध्ययन अनुसार ती सबै तान्त्रिक विधिद्वारा पहिचान गरेको पाइन्छ । ती देवीका विभिन्न नाम दिइएको भए पनि पूजा प्रक्रिया उस्तै खालको देखिन्छ । सबैलाई देवी कालीको अवस्थामा मानिने र बलिसहितको पूजा गरेको देखिन्छ । यो देवी शक्ति मान्ने र पूजा गर्ने प्रक्रियाले नेपालका सबै जाति ब्राह्मण, क्षत्री, मगर, गुरुङ, राई, लिम्बू तथा अरु जातिका दिवंगत कन्या तथा महिलाले देवी शक्तिका रुपमा स्थान पाएको देखिन्छ । देवी पार्वती पनि हिमालय क्षेत्रकी पुत्री हुन्, यसैगरी बनेकी । अझ यस्ता देवी ब्राह्मणभन्दा अरु जातिका बढी देखिन्छन् ।
यस्ता स्थानमा तिनै जातिकाे पुजारी रहने चलन छ । जस्तो दक्षिणकाली, मनकामना, सुपा देउराली, आलमदेवी, गढीमाईदेखि नेपालभरका अन्य अनेकौं देवीस्थान तिनै आधारमा बनेका छन् । ती स्थानमा सबै जातजातिले समानरुपमा आस्था प्रकट गरेको देखिन्छ । पछिल्लो समयमा भने गाउँशहरमा दुर्गाका मन्दिर बनाएर पूजा गर्न पनि थालिएको छ । यसले के देखाउँछ भने देवी शक्तिले नेपालका सबै जातजातिलाई अत्यन्तै सद्भावका साथ जोडेर राखेको छ । तसर्थ दशैं र देवी नेपाली संस्कृतिका सेतु बनेर रहेका छन् ।
पछिल्लो समय केही सम्प्रदायका मानिसहरु तथा पशु अधिकारवादीहरुले पशुबलि दिनु गलत हो । पशुहिंसा अपराध हो, यसले मानिसलाई हिंस्रक बनाउने मात्रै काम गर्छ, यसले दैवीशक्तिसँग कुनै सम्बन्ध राख्दैन भन्ने आवाज उठाइरहेका छन् । त्यसमा पश्चिमा क्रिश्चियन मिशनरीहरु र त्यसमा लाग्नेहरुले चर्को आवाज थपिरहेका छन् । बलिको विरोध गर्नुसम्म त ठीकै होला तर समग्र नेपाली संस्कृतिलाई नै हिंस्रक, नीच र असभ्य देखाउन ठूलो प्रयास गरिरहेको देखिन्छ । यो अत्यन्तै गलत छ ।
वास्तवमा बलि किन दिइन्छ ? वैदिक मान्यता के छ ? बलि दिनैपर्छ कि पर्दैन ? बलिको विकल्प के छ ? यी सबैका लागि वैदिक सनातन धर्म र नेपाली संस्कृतिलाई अति मिहिन रुपमा बुझौं । बलि देवीशक्ति बढाउनका लागि दिइन्छ । दुर्गा देवी अर्थात् काली देवीलाई अत्यन्तै शक्तिशाली र अत्यन्तै ऊर्जावान् स्त्रैण शक्ति र त्यही अजेय शक्तिका माध्यमबाट देवता र मानवलाई दुःख दिने दानवीय शक्तिलाई परास्त गर्ने मानिन्छ । त्यो शक्तिलाई ऊर्जावान् बनाउन बलि दिने विधान कालिका पुराणमा उल्लेख छ । “।। यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयंभुवा । अतस्त्वां घातयाम्यद्य तस्माद्यज्ञे वधोऽवधः ।।” भनेर लेखिएको छ । अर्थात् देवी देवाताको शक्ति बढाउन यज्ञका लागि पशुबलि सृष्टि भएको हो त्यसैले यज्ञमा दिएको बलिको प्रदोष लाग्दैन, बलि देऊ । तसर्थ देवीशक्ति बढाउन तान्त्रिक मान्यता अनुसार नेपालमा पशु बलिको प्रचलन रहेको देखिन्छ ।
अर्को, के पनि भनिएको छ भने पशुहरुमा विवेक हुन्न तसर्थ उनीहरुले आफैं मुक्तिको बाटो खोज्न सक्दैनन्, उनीहरुलाई मुक्ति दिन विशेष मन्त्रद्वारा बलि दिँदा उनीहरु मुक्त हुन्छन् भन्ने मान्यता छ । अथर्व वेदमा “।।माहिंस्यात् सर्वभूतानी।।” लेखिएको छ । यसको अर्थ त्यत्तिकै भौतिक सुख र तृप्तिका लागि हिंसा नगर तर विधिसम्मत रुपमा यज्ञका लागि हिंसा गर्न सक्छौ भन्ने हो । अर्को, सोमयाग, निरुढपशुबन्धयाग जस्ता वैदिक यज्ञमा पशुवध गर्नुपर्ने र त्यस्ता पशुका प्रत्येक अंगको हवन गर्नुपर्ने विधान छ । शेष मांस यज्ञ गर्ने सबैले खानुपर्छ भन्ने वैदिक मान्यता छ । वेद, पुराणहरुमा यस्तो विधान भए पनि पशु बलि दिनैपर्छ भन्ने छैन । ती शास्त्रले गरेको विधान पूरा गर्न सक्ने अवस्था पनि छैन ।
अहिले यदि सात्विक विधिले देवी साधना गरेर देवीलाई शान्त र खुशी पार्न सके फूल, चन्दन, अक्षतादेखि अन्य सात्विक वस्तुद्वारा पूजा गर्न सकिन्छ । ब्रह्मसम, देवसम, ऋषिसम ब्राह्मणले पशुबलि दिनु हुँदैन । उच्च शक्तिवाला उन्मत्त स्वरुपकी देवीको पूजा गर्ने, सुख, सुविधा, धन, ऐस्वर्य चाहनेले विधानसम्मत बलि दिनुपर्छ, कालीलाई शीतलाका रुपमा शान्त स्वरुपको पूजा गर्दा बलि दिनुपर्दैन । अझ कतिपयले बलिका विकल्पमा कुभिण्डो, काँक्रो जस्ता फलफूल काटेर बलि दिने गर्छन् ।
यहाँ भन्न खोजिएको कुरा के हो भने नेपाली संस्कृतिमा चलेको बलिप्रथा नीच धर्मको परिणाम, असभ्यताको परिणाम, सनातन धर्म नबुझेको होइन, सनातन धर्मको मूलस्थानमा प्रतिष्ठत वेद, वेदको व्याख्या गरिएको स्मृति नामले चिनिने लोकधर्म प्रतिपादन गर्ने धर्मशास्त्र, शिवजीको मुखारविन्दबाट निसृत आगमसंज्ञा पाएको तन्त्रशास्त्र, धर्मशास्त्र मानिने कालिका पुराण, देवीपुराण, भविष्यपुराण, विष्णु धर्मोत्तरपुराण, सौरपुराण, मार्कण्डेयपुराणहरुले विधान गरे अनुसार नै गर्दै आएको स्पष्ट छ ।
अहिले ती धर्मशास्त्रका विधान पूरा गर्न सक्ने अवस्था छैन । ज्ञानशक्ति, योगशक्ति, तन्त्रशक्तिको अभ्यास कमजोर बन्दै गएको छ । जसले गर्दा अब बलि नदिइकन सात्विक उपचारले पूजा गर्ने र देवी साधना त्यसै अनुसार गर्नु अति आवश्यक भइसकेको छ । यदि त्यसो नगर्ने तर बलि संस्कारको अपमान मात्रै गर्ने हो भने अनेक जातजाति जसले देवीलाई तन्त्रशक्तिको मूलरुपमा पूजा गर्छन्, वैदिक विधि जान्दैनन् तिनका लागि जीवन्त संस्कति गुमाउनुबाहेक के हुन्छ ?
अर्को, देवीशक्ति एउटा जीवन्त शक्ति हो, त्यसले पूरै नेपाललाई साधना क्षेत्र बनाइरहेको छ, त्यसलाई कसरी कायम राखिरहने ? कर्मकाण्डी र उपदेशले जीवन्त शक्ति थाम्न नसके निष्क्रिय बन्ने नै हो । तसर्थ सबैभन्दा पहिले सात्विक साधनामा सबैलाई लगाऊँ । यसो गर्न सकिएन तर विरोध मात्रै गरियो भने यसले धर्मान्तरणलाई अझ धेरै गुणा बढाउनेछ । सम्बन्धित साधकले सोच्नैपर्ला ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार