घर डराएर खरानीको आगो ताप्न शेरबहादुर देउवालाई कसले र किन उत्प्रेरित गरिरहेको छ ?
यज्ञप्रसाद भट्टराई
असोज १३, २०७९ बिहिबार २३:४९:४४
नेपाली कांग्रेसको गौरवशाली इतिहासमा बिस्तारै खियाँ लाग्दै जान थालेको देखिदैछ । पार्टीभित्रको बिरोध र मनमुटावले बिग्रहको रुप लिन थालेपछि नेपाली कांग्रेसको भविष्य समेत अन्यौलमा पर्नसक्ने अनुमान गर्न थालिएको छ । पार्टीभित्रै विश्वासको पर्खाल निरन्तर भत्किन थालेपछि नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ता तहमा अहिले व्यापक नैराश्यता उत्पन्न हुन थालेको देखिदैछ ।
नेपाली जनताले नेपाली कांग्रेसलाई त्यसै मन पराएका भने होईनन् । बिगतमा नेपाल आमाका महान सपुतहरुले जन्माएर नेपाली माटो र हावापानीले सिंञ्चित गरेर फलाएको समाजवादको बृक्ष भएका कारण मन पराएका हुन । बिगतमा निष्ठावान र आदर्शवान नेतृत्वले जसोतसो बचाएको बिश्वासको धरातलमा टेकेर उभिएको नेपाली कांग्रेस वर्तमानमा आईपुग्दा गलत नेतृत्वको चक्रब्यूहमा आएर फसेको भने स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसैले वर्तमानका नेता भनाउँदा कम्युनिष्ट पार्टीका कठपुतलीहरुको हातमा लुकाईएको कुशुलेको नाच झैं कम्युनिष्टहरुले जता नचाए त्यतै नाचेका कारण नै नेपाली कांग्रेसलाई मन नपराएका हुन् ।
बिगतमा नेकपा नामको कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक विवाद जस्तो भाँडभैलो अहिले नेपाली कांग्रेसभित्र देखिएको छ । कांग्रेसभित्र बिद्रोह रोपेर बिष फलाउन उद्दत नेपालका केही कम्युनिष्ट पार्टीहरुको चाहनाले बिस्तारै सार्थकता समेत पाउँदै जान थालेको देखिदैछ । कांग्रेस नेतृत्वमा फुट ल्याउन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु ज्यान फालेर लागेको स्पष्ट रुपमा देख्न सकिन्छ । एकातर्फ माओवादी केन्द्र नामको कम्युनिष्ट पार्टी कांग्रेसको एउटा समूहलाई उचालेर गठबन्धनका नाममा कांग्रेसभित्र बिग्रहको खेल खेलिरहेको छ भने अर्कोतर्फ नेकपा एमाले नामको कम्युनिष्ट पार्टी कांग्रेसको अर्को समूहलाई उचालेर कांग्रेसमा फुट ल्याउन खोजिरहेको देखिन्छ । यी दुबै कम्युनिष्ट पार्टीहरु नेपालमा नेपाली कांग्रेस एक भएको देख्न नसक्ने राजनीतिक दलहरु हुन भन्ने कुरा नेपाली कांग्रेसले नबुझ्दासम्म नेपाली कांग्रेसमा यस्ता बिचलनहरु भने आईरहने छन् ।
नेपाली कांग्रेसभित्र स्पष्ट दुई धार रहेको गत चौधौ महाधिवेशनले देखाईसकेको छ । यी दुवै धारहरु अत्यन्तै शक्तिशाली भएका कारण पनि कांग्रेसभित्र समान हैसियतको प्रश्न उठने गरेको देखिन्छ । सत्ता र संगठनमा रहेका नेतृत्वले अवसर प्राप्त गर्नबाट बञ्चित समूहलाई पेलेर जाने लिँडेढिपीका कारण नेपाली कांग्रेस भित्रको यो बिद्रोह सतहमा आएको हो भन्ने कुरा अब लुकाउने कुरा पनि रहेन । यसलाई मंसिरमा हुन गैरहेको प्रदेश तथा संघीय निर्वाचनमा गरिएको एकलौटी सीट वितरणले थप उत्षर्गमा पुर्याएको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा समानुपातिक सीट वितरण र आफ्ना परिवारका सदस्यलाई सबैभन्दा बढी महत्व दिएका कारण पनि कांग्रेसभित्र बिद्रोहको ज्वाला सल्किएको हुनसक्छ ।
नैतिक दवावदेखि बिद्रोह र विभाजनसम्मका कार्यक्रमहरु सतहमै आईपुग्दा पनि वर्तमान पार्टी सभापति कानमा तेल हालेर प्रचण्डको किचन क्याबिनेटको नेता भएर बस्नु सिंगो नेपाली कांग्रेसका लागि लाजमर्दो कुरा हो । नेपाली कांग्रेसको शेखर समूहले शुरु गरेको बिद्रोहको चरणबद्ध आन्दोलनले यथार्थमा नेपाली कांग्रेसलाई धराशायी बनाउँदै लगिरहेको कुरा नबुझ्ने नेतृत्व तहको लाचार मनोवृत्ति र केवल आफ्ना गुटका नेता तथा कार्यकर्ताहरु मात्रै कांग्रेस हुन भन्ने वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाको हठवादिताले यसलाई थप मलजल गरिरहेको देखिन्छ । सिंगो संगठनको नेतृत्व गर्न नसक्ने वा फरक मतलाई समेत समेटेर लान नसक्ने सभापति देउवाको कमजोरीपनको पराकाष्ठ नै भन्नु पर्दछ, जसलाई उनले पूर्व नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा देखिनै निरन्तरता दिईरहेका छन् ।
नेपाली कांग्रेसको बिद्रोहको ज्वाला भण्डारबाट आँगनसम्म आईपुगेको छ । बिगत दिनहरुमा देखिएका समस्याहरुलाई थामथुम पार्न सफल बन्दै आउनु भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिनुपर्ने अवस्थासम्म आईपुग्दा पनि माओवादीकै सहयोगमा चुनाव जितिने रटान दिएर बसेका छन् । घर डढाएर खरानीको आगो ताप्न शेरबहादुर देउवालाई कसले र किन उत्प्रेरित गरिरहेको छ ? यसभित्र देश भित्रकै शक्ति छ या बिदेशी शक्तिकेन्द्रको पनि घुसपैठ भैसकेको छ ? भन्ने कुरा भने अहिलेसम्म बुझ्न सकिएको छैन ।
हिजो आफ्नै दलका अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न पछि नपर्ने प्रचण्डका पछाडि लागेर नेपाली कांग्रेस कहिल्यै जनताको भरोसा र विश्वास जित्नसक्ने अवस्थामा पुग्न सक्दैन भन्ने कुराको आभाष दिलाउन सक्ने देउवाका कोही पनि सल्लाहकार नरहेको देख्दा दुःख लाग्छ । पार्टीभित्र विचार समूहहरु हुनु कुनै अनौठो कुरा होईन तर आफ्नै दलका शीर्षस्थ नेताहरुलाई लत्याएर विपक्षी दलका लगौटीमा लुटपुटिनुलाई चाहि आठौं आश्चर्यका रुपमा लिनुपर्ने हुन्छ ।
वर्तमान गठबन्धन नेकपा एमाले हराउन या केपी शर्मा ओलीलाई तह लगाउन बनेकै थिएन । यो गठबन्धन त ओलीले गरेको संविधान बिरोधि गतिविधिको अन्त्य गर्नका लागि बनेको थियो । तर नेकपा माओवादी केन्द्र देशबाटै बढारिने भयले जसरी शेरबहादुर देउवासँग फेबिकोलले टाँसेको प्लाई झैं टासिए, तब नेपाली कांग्रेसमा बिद्रोहको बिजारोपण भएको हामी सामान्य कार्यकर्ताहरु पनि सहजै अनुमान लगाउन सक्छौ । अहिले कांग्रेस वृत्तमा एउटै चिन्ताले सताईरहेको छ कि के यो गठबन्धन नामको सत्तारोहणको भर्याङ्ग ओली जीवित रहुञ्जेलसम्मका लागि हो ? कि माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने अभियान सफल बनाउन बिदेशीले बुनेको जालो पुरा गराउन सम्मलाई हो ? या नेपाली कांग्रेसमा बृहत्तर एकता कायम गरि यसै निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार निर्माण गर्नका लागि सम्म हो ?
बिगत ३० बर्ष भन्दा बढी नेपालको शासनसत्तामा रहेर देशको नेतृत्व गरिसकेको अनुहारहरुलाई नेपाली जनताले चिनिसकेका छन् । यस्ता दुर्गन्धित अनुहारहरु फेरी पनि निर्वाचनको प्रयोगशालामा गालेर नयाँ गहना बनाउला भन्ने दिवासपना हामीले नदेखे पनि हुन्छ । विश्व राजनीतिलाई नजिकबाट नियाल्न सक्ने वर्तमानका नेपाली नागरिकहरु अब यस्ता भ्रष्ट र अपराधीको ट्याग लागेका नेताहरुलाई त्यति सजिलै विश्वास गर्लान भन्ने कुनै गतिलो आधार समेत बन्न सकेको अवस्था अहिलेसम्म सृजना हुनसकेको देखिदैन ।
भर्खरै सम्पन्न स्थानीय निर्वाचनले दलहरुप्रतिको बितृष्णाको उदाहरणीय झापड नेपाली जनताले दलहरुलाई दिईसकेका छन् । यस्तो बिषम परिस्थितिमा नेपाली कांग्रेस एकताबद्ध भएर जनतामा जानुपर्ने अवस्थामा आफैभित्रको बिरोध र बिद्रोहको दलदलमा फसेर बस्नु किमार्थ उचित कदम होईन । अहिले पनि नेपाली जनताहरु नेपाली कांग्रेस कुनै पनि कम्युनिष्ट नामका पार्टीहरुसँग कुनै पनि प्रकारको गठजोड नगरी आफ्नो घोषणापत्र लिएर आउन भन्ने चाहनामा छन् । नेपाली कांग्रेसका तमाम नेताहरु पनि नेपाली कांग्रेस एक्लै र एकताबद्ध भएर जनताका माझमा जानुपर्ने तर्क गरिरहेको अवस्थामा यस्ता गठबन्धनले कुनै पनि उल्लेख्य उपलब्धि हात पर्ला भन्ने कुनै गतिलो विश्वास लिन सक्ने अवस्था देखिदैन ।
आफ्नो शासनकालमा कहिले सुन काण्ड, कहिले बिमानकाण्ड, कहिले रिसोर्ट काण्ड त कहिले एमसीसी र कहिले नागरिकता काण्ड, कहिले रोशनी त कहिले बाँसुरी काण्डमा मुछिएका नेताहरुलाई अगाडि लगाएर अब पनि कसरी निर्वाचनमा जनताका माँझमा मत माग्न जानु दलका लागि अत्यन्तै कठिन परिस्थिति देखिएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस बिभाजित मानसिकता लिएर जनतामा जानु राम्रो पक्ष हुँदैन । यसका लागि गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्दै एक्लाएक्लै निर्वाचनमा जानु आवश्यक छ । यसले नेकपा एमालेलाई सजिलो पर्छ भन्ने अगणित आंकलनबाट नेपाली कांग्रेसको नेतृत्व बाहिर आउन जरुरी छ । नेपाली कांग्रेसमा एकताको भरपर्दो बिश्वास र सन्देश नेपाली जनतालाई दिनसक्ने हो भने चिरा चिरा भएर फुटेका नेपालका कम्युनिष्ट पार्टीहरुबाट डराउनु पर्ने कुनै अवस्था नै देखिदैन ।
तर नेपाली कांग्रेसभित्र त्यस्तो कुनै एकताको भरपर्दो आधार तयार होला भन्ने बिश्वास अब देखिन छोडेको छ । वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा कम्युनिष्टको बुई चढेर आफ्नै पार्टीका नेता डा. शेखर कोइरालाले नेतृत्व गरिरहेको समूहमाथि मार हान्ने गलत सोचका कारण जनताले शेरबहादुर देउवालाई बिस्तारै निकम्मा सभापतिको रुपमा परिभाषित गर्न थालेका छन् । छिमेकीसँगको गठजोडका भरमा परिवारमा बिग्रह ल्याउने यस्ता अविवेकी अभिभावकलाई जब नेता तथा कार्यकर्ताहरुले चिन्दै जान थाल्नेछन् तब यस्ता अभिभावकको टेक्ने र समाउने दुबै लौरो भाँचिनेछ । त्यसपछि न त यस्ता नेतालाई कार्यकर्ताले सम्मान गर्छन् न त मतदान नै ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार