राजनीतिको अँध्यारो यात्राः कांग्रेस र कम्युनिष्ट शीर्षनेताको तुष्टिका लागि युवानेताले भविष्य गुमाउँदै
भेषराज पोखरेल
असोज ३०, २०७९ आइतबार १५:५४:३४
संघीय गणतान्त्रिक शासन प्रणाली, जनताले बनाएको संविधान, प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिहरुका राजनीतिक दलहरु भएको प्रजातान्त्रिक अर्थात् लोकतान्त्रिक देश । नेपालको कति ठूलो अहो भाग्य, जनता कति ठूला भाग्यमानी होलान् ? लोकतन्त्रका यस्ता विशेष गहना भएपनि दलका शीर्ष नेताका कारण देश र जनताका लागि भाग्य होइन, अभिसाप बन्दैछन् । यिनै प्रजान्त्रिक दल मानिने कांग्रेस र लोकतान्त्रिक मानिने कम्युनिष्ट दलहरुका शीर्ष नेता र तिनका आसेपासे नेताहरुका राजनीतिक स्वार्थका लागि देश र जनताले उज्यालो भविष्यको तिलाञ्जली दिनुपर्ने अवस्था आएको छ ।
दलका शीर्ष नेता र उनका आसेपासेको राजनीतिक तुष्टिका लागि चुनावी गठबन्धन, तालमेल तथा अन्य दलका नेताहरु पार्टी प्रवेश गराउने लहर चलिरहेका छन् । शीर्ष नेता र यिनका राजनीतिक घेराले समानुपातिकमा आफ्ना दलमा जीवनको ठूलो हिस्सा खर्चेका नेता होइन, दलाल पुँजीपति, अर्को दलबाट प्रवेश गराइएका र आफ्ना श्रीमती,. पीए, नातासम्बन्ध तथा स्वार्थसम्बन्ध पूरा गर्नेलाई उम्मेदवार बनाएका छन् । प्रत्यक्षमा पनि यी दलका कतिपय होनहार युवा नेताहरुले प्रतिस्पर्धा गर्न टिकट नै नपाउने अवस्था बढेर गएको छ । यसले राजनीतिको लोकतान्त्रिक मूल्यलाई कुल्चँदै अँध्यारो सुरुंगतिर धकेलिदिँदै छ ।
यसपटक कांग्रेसले समयमै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्यो । २०७४ मा समानुपातिकमा नपरेका नेताहरुलाई मात्रै यसपटक समानुपातिकको बन्दसूचीमा समावेश गर्ने निर्णय गरियो । कस्ता व्यक्तिलाई समानुपातिक उम्मेदवारका लागि बन्दसूचीमा समेटियो त ? प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी, गृहमन्त्री पत्नी, देउवाका प्रेस सल्लाहकारदेखि सबै उनीहरुका घेरामा रहेका नेताहरु । यस्तो सूचीमा दलाल पुँजीपतिहरुको पनि ठूलै उपस्थिति रह्यो ।
देउवा र उनको राजनीतिक समूहले पार्टीभित्रको सशक्त प्रतिस्पर्धी अर्थात् ४० प्रतिशत मत भएको र युवाको दह्रो उपस्थिति रहेको शेखर कोइराला समूहलाई पाखा लगाउने प्रयास गर्यो । थोरै दश प्रतिशतमा सीमित गर्ने प्रयास गर्यो । यसको व्यापक विरोधपछि करिब ३५ प्रतिशत भागबण्डा गरिएकाे छ । सो समूहको दह्रो विरोध भएर गठबन्धनमै असर पर्ने अवस्था आएपछि सभापति देउवाले सुधार गर्ने आश्वासन दिएपनि प्रत्यक्षमा भने २१ प्रतिशतमा सीमित गरिदिएर पेल्ने नीति यथावत रहेकाे सन्देश दिएका छन् । अझ कांग्रेसको समानुपातिक सूचीलाई हेर्दा आफन्त र आसेपासे, अर्को दह्रो पैसा आउने व्यक्तिलाई समानुपातिकमा ठाउँ दिइयाे। यो अवस्था प्रजातान्त्रिक प्रक्रियालाई नै अँध्यारो सुरुंगतिर धकेल्ने प्रपञ्च नभएर के हो ?
एमालेको अवस्था कस्तो छ त ? आगामी निर्वाचनमा बहुमत ल्याउने उद्घोष गर्ने एमालेले समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोट अध्यक्ष र उनको वरिपरिका नै परेका छन् । दलाल पुँजीपति नपर्ने कुरै भएन, यो त उनीहरुको अभीष्ट नै हो । पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर आएका दश नेतालाई सार्वजनिक आममाफी नमागे प्रत्यक्ष उम्मेवार नबनाउने ओलीले भीम रावल र घनश्याम भूसाल जूता प्रखर नेतालाई टिकट नै दिएनन् । माओवादीबाट आएका नेताहरुको पनि बफादारी परीक्षण गर्ने नीति लिइएको छ ।
माओवादीमा पनि उही अवस्था छ । नेतृत्वकै आसेपासे र धन खर्च गर्न सक्ने दलाल पुँजीपति व्यक्ति समानुपातिक र प्रत्यक्षमा परेका छन् । प्रत्यक्षमा पनि खर्च गर्न सक्ने तथा अध्यक्षको तजबिजमा चल्ने नेता परेका छन्, जसले गर्दा होनहार युवाको राजनीति भविष्य अन्योलमा पर्ने अवस्था आएको छ । मधेश केन्द्रित दलहरुमा नेतृत्वले न्यायपूर्ण व्यवहार गर्न नसक्दा दल छाडेर अर्को दलमा जाने लहर चलेको छ । दल छाड्नेहरुले उही नेतृत्वका आसेपासे उम्मेदवारीमा छनोट हुने र आफूहरु नपर्ने भएकाले पार्टी छाडेको बताइरहेका छन् । अहिले सबै पार्टीले अरु पार्टीबाट आउने प्रभावशाली नेताहरुलाई टिकटसहित स्वागत गरिरहेका छन् अझ एमालेले आफूविरुद्ध रहेका गठबन्धनका दलहरुबाट आउने नेताहरुलाई टिकटसहित भित्राउने लहर नै चलाएको छ ।
ठूला दलका शीर्ष नेताहरुले एक त समानुपाति बन्दसूचीमा आफन्त र आसेपासेलाई प्राथमिकता दिने अर्को, प्रत्यक्षमा पनि पहिलो, त्यस्तैलाई प्राथमिकता दिने, दोस्रो, गठबन्धन मिलाउन प्राथमिकता दिने, पार्टी नेताहरुलाई त्याग गर्न भन्ने, तेस्रो अरु दलबाट भित्राइएकालाई सजिलैसँग टिकट दिँदा पार्टीका सम्भावना भएका नेताहरु राजनीतिक प्रतिस्पर्धाको रेसबाट बाहिर परेका छन्। यस्तो अवस्थामा ती नेताहरु पार्टीलाई उठाउने भन्दै सक्रिय हुने कि नहुने ? कति दिन हुने ? राजनीतिक प्रतिस्पर्धाबाट बाहिर पारिएका नेताहरु निर्वाचनका बेला सक्रिय भए भनेपनि पछि उनीहरुलाई नेतृत्वले कुनै पनि भूमिका नदिने निश्चित छ । अझ उम्मेदवार बनाइएकाहरुले हारे भने उनीहरुलाई धाँधली गरेर हराए भनेर निहुँ झिक्दै अपमानित गरिनेछ ।
अहिलेसम्मको नेपालको राजनीतिक अभ्यासलाई हेर्दा कुनै पनि दल र तिनका शीर्ष नेताले युवा नेताहरुलाई नेतृत्वमा स्थापित गर्न चाहेको देखिएको छैन । नेतृत्व क्षमताको विकास गरेको देखिएको छैन । अबको गतिशील समयमा युवा नेताहरुलाई सबैतिरबाट अवरोध गरिरहने हो भने उनीहरु कति दिन पार्टी भनेर लागिरहलान् ? अर्को, नेतृत्वका अक्षम आसेपासे, दलाल पुँजीपतिहरु र नीतिको होइन पदका लालची नवप्रवेशीहरुलाई प्राथमिकता दिने तर भविष्य भएका, भविष्य बनाउन सक्ने, नीतिमा प्रतिबद्ध नेताहरुलाई राजनीतिबाट बाहिर पार्दा कस्तो प्रजातन्त्र वा लोकतन्त्रको सिर्जना होला ? अक्षम आसेपासे, दलाल पुँजीपति र नवप्रवेशीले पार्टीलाई कति दिन थामिरहलान् ?
एमालेमा त अति सीमित नेताबाहेक अरु कसैले पनि ओलीमाथि प्रश्न उठाउँदैनन्, ओलीमाथि नै आफ्नो भविष्य देख्छन्, नेतृत्वको समान अवसरका कारण होइन नि, कहीँ न कहीँ लाभ लिन पाइन्छ भनेर । नेपाली कांग्रेसमा भने देउवामाथि प्रश्न उठाउने धेरै युवा नेताहरु छन् । उनीहरुलाई सकेसम्म पन्छाउन प्रयास गरियाे । यो कांग्रेसका लागि अत्यन्तै खतरनाक अवस्था हो । ठूला राजनीतिक दलहरुमा देखिएको यस्तो अवस्था प्रजातन्त्र वा लोकतन्त्रका लागि अत्यन्तै खतरनाक अवस्था हो । यसले देशमा अराजकता सिर्जना गर्न बाटो दिने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार