छविलाल उर्फ कोवाः नेपाली राजनीतिका अस्थिर पात्र, अन्त्यमा ‘प्रचण्ड’
केदार भट्टराई (काका)
असोज २५, २०७९ मंगलबार २३:२:२२
२५ असोज, काठमाडौं । हालको नेपाली राजनीति अस्थिर छ । यसका कारक हुन् स्वघाेषित राजनेता भनिने दलका नेताहरू । नेता धेरै होलान, राजनीति स्थिर हुनका लागि देशमा त्यही खालका नेता चाहिन्छ । २००७ सालको क्रान्तिका नायक बीपी काेइरालालाई मानिदै आएको छ । जतिबेला उनको नेतृत्वमा नेपाली कांग्रेस थियो । त्यो समयमा अहिले कम्यूनिष्ट भन्नेहरुका नायक पुष्पलालको नाम त्यो आन्दोलनमा धेरै आउँदैन् ।
२०४६ को दोस्रो जनआन्दोलनका नायक गणेशमान सिंह भए । त्यो आन्दोलनमा पनि धेरै नेताको समान योगदान थियो । तर, दुई आन्दोलनका नायक बने बीपी र गणेशमान । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेताहरुको जोडबलमा २०४६ आएको थियो । २०३६ को नेतृत्व पनि कांग्रेसले गर्यो । कम्युनिष्ट पनि थिए । तर, नाइके भनिएकाहरुपछि दरवार छिरे । त्यो आन्दोलन राजावादी र विपक्षीहरुका बीचमा थियो ।
अहिले नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे नाम सर्वत्र छ। तर, उनका सुरुदेखिका नामको वर्णन शेषनागलाई पनि भन्न गाह्रो छ । सुरुका छविलाल र अहिलेका प्रचण्ड पनि हरेक भाषणमा आफुलाई क्रान्तिको नायक भनिरहेका छन् । इतिहासकारहरु सही भए पूर्व कम्यनिष्ट नेताहरुको नामसँग पनि उनी जोडिएका छन् । २०५२ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा माओवादी जनआन्दोलन सुरु भएको हो । उनी पछि गएर मात्रै अध्यक्ष भएका हुन् र हालसम्म पनि कायम छन् ।
दश वर्षे सशस्त्र बिद्राेहकाे नेतृत्व सफल पारेको भरमा उनी अहिले आफुलाई क्रान्तिको नायक भनिरहेका छन् । तर, कायम रहेको लोकतान्त्रिक जनआन्दोलनका नायक भने नेपाली कांग्रेसका तत्कालिन सभापति गरिजाप्रसाद कोइराला नै भए । यसमा पनि सबै पार्टीका नेताको सहभागिता रहेको थियो । हालका एमाले अध्यक्ष केपी शर्मा ओलीका विषयमा मात्रै त्यो आन्दोलनलाई लिएर कुरा उठिरहेको छ ।
अब लागौँ अहिलेका प्रचण्डतिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले नेपाली राजनीतिको सबैभन्दा अस्थिर नेताको रुपमा चिनिएका छन् । यधपि देशको पछिल्ला राजनीतिक घटनाक्रमहरु उठाउने र समायोजनमा लाने भूमिका उनको ठूलो छ ।२०७४ मा देउवालाई धोका दिएर एमालेसँग साँठगाँठ गर्न पुगेका प्रचण्डले कारणमा ओलीलाई राखेर फेरी पार्टी फुटाएर पुरानै ठाउँमा ल्याए । नेकपा फुट्नुको कारण थियो, उनी प्रधानमन्त्री हुन नपाउनु ।
शान्ति प्रक्रियामा आएदेखि उनका भनाई ठेगानमा भेटिएका छैनन् । उनैले देशको नेतृत्व गर्न पाए । सिंगापुर बनाउने भनिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको चुनावमा उनकै नेतृत्वमा दुइतिहाई आएको हो । तर, एकजना प्रधानसेनापतिको कारण उनको सरकार ढल्न पुग्यो । पछि संयुक्त सरकारको प्रधानमन्त्री बन्दापनि एकचरणको स्थानीय तह सरकारको निर्वाचन गराउनु बाहेक अरू कुनै काम हुन सकेन ।
ओली सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने श्रेय पनि उनैलाई जान्छ । यसकारण पनि उनी कँही स्थिर देखिएनन् । अहिले आएर यही सरकारले आगामी मंसिर ४ गते आम निवार्चन घोषणा गराउँदै छ । गठबन्धन सरकार भएकाले यो चुनाव पनि सोही अनुसार भइरहेको छ ।
प्रचण्डको अर्को अस्थिर विषय भनेको उनले हरेक पटक फेरेका निर्वाचन क्षेत्र हुन । उनी अहिलेसम्म एउटा मात्रै क्षेत्रबाट चुनाव लडेका छैनन् । यसपटक गोरखा पुगेर उनले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको उनी आफै सुनाउँदै हिडिरहेका पनि छन् ।
ईतिहासकारहरुका अनुसार प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए । स्टालिनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो । उनका अर्का आदर्शपुरुष लेनिनको वास्तविक नाम पनि भ्लादिमिर उलियानभ हो । तर नाम फेर्ने विषयमा प्रचण्डले ती चर्चित नेताहरूलाई पनि पछि पारेको कम्युनिष्ट नेताहरू बताउँछन् ।
नारायणी विद्या मन्दिर चितवनमा कक्षा १० मा पढ्दै गर्दा छविलाल दाहालबाट नाम फेरेर पुष्पकमल दाहाल राखेका प्रचण्डले भूमिगतकालमा आफ्नो नाम पटकपटक परिवर्तन गरे । पञ्चायतविरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए । उनी ०४६ सालको जनआन्दोलन र ०४७ सालमा भएको कट्टर बामपन्थी दलहरूको एकतामा पनि सार्वजनिक भएनन् ।
यसबीचमा उनका नाम कल्याण, विश्वास, निर्माण र प्रचण्ड आदि भए । आफ्नो नाम जस्तै पार्टीको नाम पनि उनले सबैभन्दा धेरै फेरेको गठबन्धन हो । संसदीय राजनीतिमा आएपछि कहिले एमाले र कहिले कांग्रेस त कहिले मधेशवादीसहित साना दलहरूसँग बनाएको गठबन्धन पनि उनले पटकपटक नै फेरिसकेका छन् । माओवादीले नै अघि सारेको मुद्दाका कारण २०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि उनको दल पहिलो भयो तर बहुमत पाएन । त्यसपछि प्रचण्डले सरकार बनाउन नेकपा एमालेसँग गठबन्धन गरे ।
प्रधानसेनापति रुक्माङगत कटुवाललाई हटाउने उनको निर्णयपछि एमालेले सरकार छोड्यो र प्रचण्डको दल प्रतिपक्षमा गयो । उनले विपक्षी दलहरूको मोर्चा बनाए । प्रचण्ड नेतृत्वको मोर्चामा एकपटक २७ वटासम्म दलहरू सहभागी थिए । प्रधानसेनापति हटाउन आफूलाई साथ नदिएपछि टुटेको एमालेसँगको गठबन्धन प्रचण्डले फेरि २०६७ मा फेरि सुरु गरे र एमालेका तात्कालिक अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बन्न सहयोग गरे ।
निर्धारित समयमा संविधान नबनेपछि पहिलो संविधानसभा विघटन भयो । दोस्रो संविधानसभापछि कांग्रेस एमालेको गठबन्धन बन्दा प्रचण्ड एक्लिए । संविधान जारी भएपछि प्रचण्डले एमालेको साथ छोडे । केपी ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गराउँदै प्रचण्ड आफैँ प्रधानमन्त्री बने, नेपाली कांग्रेसको साथ लिएर । कांग्रेससँग प्रचण्डको ठूलो वैचारिक अन्तरमात्र थिएन कांग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा तिनै व्यक्ति थिए जसले २०५९ सालमा आफू प्रधानमन्त्री हुँदा माओवादी नेताहरूको टाउकाको मूल्य तोकेका थिए ।
कांग्रेससँग गठबन्धन बनाएपछि एमालेसँग बनेको कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै प्रचण्डले संविधान जारी भएपछि हुँदै गरेको संघीय निर्वाचनमा एमालेसँगै चुनावी गठबन्धन गरे। गठबन्धन पार्टी एकतामै पुग्यो । ओलीसँग उनको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्ड एमालेसँग एकतापछि बनेको नेकपाबाट बाहिरिने तरखरमै रहेका बेला अदालतले एकता बदर गर्ने निर्णय गर्यो । अब प्रचण्ड पुरानै पार्टीमा फर्किएर फेरि कांग्रेससँग गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा चुनाव लड्दैछन् । बाँकी दैव भरोसा ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार