सातौंपटक चुनाव जितेर सुखद राजनीतिक विश्रामको खोजीमा यी पाँच शीर्ष नेता !
केदार भट्टराई (काका)
कात्तिक १, २०७९ मंगलबार २०:२४:५२
१ कात्तिक, काठमाडौं । शीर्ष तहमा पुगेका र उमेर पाकेका नेताहरुले मैदान नछोड्दा नयाँ र सक्षम युवाहरुले स्थान नपाएको गुनासो सबै राजनीतिक दलभित्र छ । कतिपय दलमा त उमेरहद लगाउनुपर्ने विषय पनि उठेका छन् । पार्टीभित्र नयाँ पुस्तालाई स्थान छाड्नुपर्ने विषय चर्को रुपमा उठिरहेका बेला केही दलका शीर्ष नेताहरु यो पटकको चुनाव जितेर मैदान छाड्ने तयारीमा देखिएका छन् ।
कांग्रेस सभापति देउवाः २०४६ सालको परिवर्तन पछि लगातार संसदीय निर्वाचनमा भाग लिदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो निर्वाचन जितेर अर्को निर्वाचनमा विश्राम लिने तयारीमा देखिएका छन् । देउवा अहिले सातौँ पटक चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिएका छन् ।
देउवा डडेल्धुराबाट वि.सं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यसयताका सबै आमनिर्वाचनहरूमा निर्वाचित हुँदै आएका छन् । देउवा प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँपटक निर्वाचित भएका थिए । वि.सं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाकाे आस गरेर आफ्नो इतिहासलाई कायम राख्ने विश्वासमा छन् ।
देउवालाई नेपाली कांग्रेस बीपी का वरिष्ठ उपसभापति कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौति दिईरहेका छन् । ०४८ सालदेखि लगातार चुनाव जितेपनि डडेल्धुराका जनताका लागि माखो नमारेका देउवालाई यो चुनाव फलामको चिउरा चपाउनु सरह भएको छ ।
यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । देउवा २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी देउवा पाँचपटक प्रधानमन्त्री भएका छन् । उनको प्रधानमन्त्री बन्ने रहर अझै बाँकी रहेपनि अर्को पटक निर्वाचन नलड्ने बताइसकेका छन् ।
वरिष्ठ नेता पौडेलः यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि यो निर्वाचन अन्तिम हो । उनी पनि देउवा जस्तै सातौँ पटक मैदानमा चुनाव जित्नका लागि प्रयन्त्न गरिरहेका छन् । नेता पौडेल सातौँ पटक चुनावी मैदानमा छन् । यसअघिका पाँच चुनाव जितिसकेका पौडेल छैटौँ पटक चुनाव जितेर प्रधानमन्त्री बन्ने दाउमा छन् । २०४८ यताका सबै निर्वाचन लडेका उनी केही ‘मिसन’ बाँकी भएकाले चुनाव उठेको उद्घोष गरिसकेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनका चुनावी कमान्डर बनेका पौडेल अहिलेको चुनावमा भने आफैँ असुरक्षित छन् । २०४८, मध्यावधि निर्वाचन २०५१, २०५६, २०६४, २०७० को निर्वाचन जितेका पौडेल २०७४ को निर्वाचनमा कृष्णकुमार श्रेष्ठसँग ६८ सय मतान्तरले पराजित भएका थिए । यो चुनावमा पनि पौडेलले ढुक्कसँग जित्न सक्ने अवस्था छैन । पौडेलले यो निर्वाचनमा कुनै बेला सँगै पार्टी र आन्दोलन हाँकेका सहयोद्धा गोविन्दराज जोशीको चुनौती कायमै छ । जोशीका अतिरिक्त पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाको पनि चुनौती हुनेछ ।
पौडलले चुनाव जितेपनि हारेपनि उनको यो अन्तिम लडाई हो । उनी पनि जीत निकालेर सुखद राजनीतिक अवकाशको बाटो खोजीरहेका छन् । पौड्ललाई पार्टी सभापति भन्दा पनि प्रधानमन्त्री बन्ने रहर ठूलो छ । एकपटक कांग्रेस संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीकै रेसमा १७ पटक पराजित भएका थिए । सधैं सभापति देउवाप्रति कडा रुपमा प्रस्तुत हुने पौडेल १४ औँ महाधिवेशन पछि भने देउवाप्रति नरम दखिएका छन् ।
एमाले अध्यक्ष ओलीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि यो सातौँ प्रतिस्पर्धा हो । उनले पनि यो निर्वाचन जितेर एक कार्यकाल सरकारको नेतृत्व गर्न चाहेका छन् । अब एक कार्यकाल सरकार र पार्टीको नेतृत्व गरेपछि शक्ति हस्तान्तरण गर्ने सोचमा ओली पुगेको उनका निकटस्थहरु बताउँछन् । यही कार्यकालबाट बिदा लिने तयारीमा रहेका ओलीलाई मिर्गौला प्रत्यारोपण गरेपछि तग्रिएर पुनः अर्को कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
ओलीले लगातार सातौं पटक संसदीय चुनाव लड्न लागेका हुन् । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी अहिले प्रचारप्रसारमा भिडिरहेका छन् । २०४८ सालयता लगातार चुनाव लड्दै आएका ओलीले मंसिर ४ को आगामी चुनावमा भारी मतका साथ जित हासिल गर्ने दाबी गरेका छन् । ओलीले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट चुनाव लडेका थिए । उक्त तीन वटै निर्वाचनमा ओली निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भएका थिए ।
२०७४ को चुनावमा वाम गठबन्धनको उम्मेदवार बनेका ओलीलाई राप्रपाको समेत सहयोग थियो । त्यसबेला ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए भने कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । यसपटक पनि झापा ५ मा एमालेबाट ओली र गठबन्धनबाट कांग्रेसका खगेन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । यसपटक कांग्रेसका अधिकारीलाई माओवादी केन्द्रसहित गठबन्धनको सहयोग छ । ओलीलाई यसपटक पनि राप्रपाले सहयोग गर्ने भएको छ ।
विजयकुमार गच्छदारः नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारले पनि सातौँ पटक चुनाव जितेर सुखद राजनीतिक विश्राम लिन चाहेका छन् । उनी अहिले चुनावी मैदानमै लडिरहेका छन् । गच्छदार पार्टी उपसभापति र उपप्रधानमन्त्रीसम्म भएका छन् । उनले यो निर्वाचनपछि आफुले राजनीतिबाट सन्यास लिने बताइसकेका छन् । उनलाई विभिन्न आर्थिक अनियमितताका आरोप लागेकाले पनि राजनीतिमा रहन असहज भइरहेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवार बनेका छन् । विजयी भए उनी सातौंपटक प्रतिनिनिधसभामा पुग्नेछन् । राजनीतिक जीवनको सुखद विश्रामको लागि अन्तिम पटक उमेदवार बनेको भन्दै गच्छदारले आक्रामक चुनावी अभियान थालेका छन् । इतिहास हेर्ने हो भने २०४८ सालयताका अधिकांश चुनावमा अपराजित रहँदै ६ वटा निर्वाचनमा उनले विजय हात पारेका छन् ।
२०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए । २०६४ पहिलो संविधानसभा तत्कालीन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधान सभामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट जितेका थिए । विगतजस्तै सदावहार रुपमा तेस्रोपटक गच्छदारसँग नेकपा एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छन् । २०७० र २०७४ को निर्वाचन उनी लगातार पराजित भएकी थिइन् ।
गच्छदारका लागि कार्यकर्ताहरुले २०७४ को निर्वाचनलाई नै अन्तिम मानेका थिए । फेरि मैदानमा आउँदैनन् भन्ने थियो । तर, यो अनुमान फेल खायो । त्यसैले पनि विपक्षीसँगको भिडन्तभन्दा पनि आफ्नै कार्यकर्ता फकाउन गच्छदारले निकै मेहनत गर्नुपरेको छ । एकजना भित्रिया सहयोगी मानिएका प्रदीप चौधरी असन्तुष्ट हुँदै प्रदेशसभामा स्वतन्त्र उमदेवार बनेका छन् । यसले पनि गच्छदारलाई यो पटक जितेर सुखद अवकाशको बाटो सहज देखिएको छैन् ।
झलनाथ खनालः यस्तै छैटौँ पटक चुनावी प्रतिस्पर्धामा आएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि अन्तिम पटक प्रतिस्पर्धा गर्दैछन् । उनलाई पनि यो पटकको चुनाव जितेर सुखद राजनीतिक अवकाशको बाटो लिनुछ । उनले आफैले पनि पटक पटक यो पटक मात्रै भन्दै आइरहेका छन् । नेकपा नेतृत्वको सरकार रहेका बेला पार्टीको आन्तरिक विवादले एमाले विभाजन हुन पुगेपछि नेकपा एसमा आएका खनाल ओली समूहसँग जाने चर्चा चलेपनि उनी गएनन् । यो चुनाव जितर विश्रामको तयारीमा उनी छन् ।
इलाम क्षेत्र नं. १ मा झलनाथ खनालको प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुँदैछ । खनालले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए । उनी २०४८ देखिका निर्वाचनमध्ये २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग बाहेक सबैमा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा १७ हजारभन्दा बढी मतले जितेका थिए । यसपटक भने उनको जितेर राजनीतिबाट बाहिरिने धोको पुरा हुन कठिन हुने स्थानीयहरु बताउँछन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार