पर्सा १ का मतदाताले नयाँ इतिहास बनाउने गरी मलाई नै अनुमोदन गर्दैछन् : प्रदीप यादव
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार १९:४१:५५
४ कात्तिक, बीरगञ्ज । २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना पछि भएका कुनैपनि आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ ले दोहोर्याएर प्रतिनिधि चुनेको छैन । उम्मेदवारहरु दोहोर्याएर चुनावमा नहोमिएका होइनन् , तर मतदाताले दोहोर्याएर आउने उम्मेदवारलाई जनमत दिएको देखिँदैन । राजेन्द्रबहादुर अमात्य, करिमा बेगम पछिल्लाे समयका ज्वलन्त उदाहरण हुन् । पर्सा क्षेत्र नम्बर १ ले चुनावै पिच्छे नयाँ अनुहारलाई मात्रै अनुमोदन गर्दै आएको छ ।
यसपटक यही परीक्षामा छन् निवर्तमान मन्त्री प्रदीप यादव । उनी पुनः अनुमोदन हुन्छन् हुँदैनन् आउँदो मंसिर ४ गते हुने मतदान कुर्नु पर्ने हुन्छ । तर यादव भने पुनः यही क्षेत्रबाट जनमतबाट दोहोर्याएर अनुमोदन हुँदै विजयी मात्रै नभई नयाँ इतिहास नै रच्ने जोशका साथ चुनावी मैदानमा छन् । प्रस्तुत छ, उनै निवर्तमान वन तथा वातावरण मन्त्री प्रदीप यादवसँग नेपालबहसका लागि मधेसप्रदेश प्रमुख आविद हुसेनले गरेकाे कुराकानी ।
१) चुनावी घरदैलो, रोड शो गरिरहनु भएको छ, कत्तिको सहज लागि रहेको छ र ?
सहज र असहज मान्छेले कसरी लिन्छ भन्नेमा भर पर्छ । म त सँधै जनताकै दुखसुख र सेवामा जनतासँगै रहेकाले मैदान असहज देख्दिन । चुनाव भनेको मतदाताको मन जितेर मत लिने कुरा हो । मैले त मतदाताको मन जित्ने गरी थुप्रै काम गरेर देखाएको छु । अहिले मेरो क्षेत्रमा तपाई आउनु हुन्छ भने यहाँ बनेका हरेक सडक, नाला मेरै प्रयासमा बनेका हुन् । कतिपय योजना निर्माणधीन अवस्थामै छन् । विद्यालय, स्वास्थ्य चौकी जस्ता संस्थाहरुको स्थापना तथा स्तारोन्नति गर्ने काम गरेको छु । यहाँका जनताको सुखदुखमा सँधै सँगै छु, साथमै छु । मन्त्री हुँदा पनि म काठमाडाैं मै डेरा जमाएर बसिन । हर समय आफ्नो ठाउँमा बसेर आफ्ना मतदाताको सेवामा सँधै लागिरहेकाले मैदान असहज मैले देखेको छैन । घरदैलो, रोड शो मा जाँदा मतदाताको अपार आत्मीयता र समर्थन पाइरहेको छु , यसले मलाई थप उत्साहित बनाइरहेको छ ।
२) यो क्षेत्रले अहिलेसम्म दोहोर्याएर कसैलाई पनि जिताएको छैन, तपाईँलाई पनि थाहा छ यो कुरा । थाहा हुँदाहुँदै फेरि चुनावी दौडमा हामफाल्नु भएको छ । डर लाग्या छैन् हारिएला भन्ने ?
हो, मलाई थाहा छ । यो क्षेत्रले अहिलेसम्म कुनै पनि प्रतिनिधिलाई दोहोर्याएर मौका दिएको छैन । मतलब दोहोर्याएर कसैले पनि जितेका छैनन् । यस्तो किन भयो भनेर कसैले खोजेको छ त ? कारण त पक्कै होला । जसलाई यहाँका मतदाताले विश्वास गरेर जिताए, जितेपछि उसले मतदातालाई बिर्सेको हुनसक्छ । मतदाताको सुखदुखबाट टाढा भएको हुनसक्छ । आवश्यक पर्दा नभेटिएको हुनसक्छ । यस ठाउँका विकासका लागि गर्नुपर्ने काम नगरेको हुनसक्छ । अर्को कुरा आम मतदाता वा भनौँ यहाँका जनतालाई सहज हुने गरी गरिदिनु पर्ने अति आवश्यक कामहरुमा समन्वय नगरिदिएको पनि हुनसक्छ । त्यसैले मतदाताले दोहोर्याएर नजिताएका हुन सक्छन् ।
तर म त पदमा हुँदा पनि नहुँदा पनि यही ठाउँका लागि काम गरिरहेको मान्छे । यहीँ जन्मे, यहीँ हुर्के , यो नै मेरो घर , अनि यो नै मेरो संसार । यहाँका सबै मेरा परिवार । यो सिद्धान्तमा हिडेको मान्छे मैले सदैव यहाँका नागरिकको भलाईका लागि, यस क्षेत्रको विकासका लागि काम गरेको छु र गर्दै पनि छु । मेरो पालामा जति काम भए, यसअघिका प्रतिनिधिको पालामा भएको देखाउन सक्नु हुन्छ ? पक्कै पनि भएनन् । गर्न सकेनन् उनीहरुले । त्यही भएर उनीहरु दोहोरिन सकेनन् । मलाई के विश्वास छ भने यसपटक आम मतदाताले दोहोर्याउने मात्रै होइन नयाँ इतिहास नै कायम गराउने गरी मलाई नै अनुमोदन गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।
३) जसपाले मधेसको मुद्धा बिर्सियो, त्यही भएर एमालेसँग गठबन्धन गर्यो भन्ने खालको आरोप छ । यसले चुनावमा प्रभाव पार्दैन ?
जसपाले मधेस र मधेसीको मुद्धा कसरी बिर्सन सक्छ ? त्यो कसैले आरोप लगाउँदैमा हुने कुरा हो र ? जसपा मधेस र मधेसीको बलिदानीबाट जन्मिएको, शहिदको रगतबाट सिंचिएको पार्टी हो । त्यतिकै बिर्सने कुरा हुन्छ ? हुनै सक्दैन । हाम्रो त रगतको कणकणमा मधेस र मधेसीको मुद्धा छ । पहिचान, संघीयता मधेसी आन्दोलनकै कारण स्थापित भएको हो नि । प्रदेशको नामाकरण गरेर पनि हामीले मधेसीको पहिचान दिलाउन केही हदसम्म काम गरेकै छौँ नि । यो त कसैले बिर्सने कुरा त होइन होला । त्यसैले मधेसीलाई अधिकार सम्पन्न बनाउने मुद्धा, मधेसको पहिचानको मुद्धामा हामी सँधै अडिग भएर लडिरहेका छौ । लडिरहन्छौँ । त्यसमा कोही कसैले शंका गरिरहनु पर्दैन ।
अर्को कुरो रह्यो एमालेसँगको चुनावी तालमेलको । एउटा कुरा के स्पष्ट हुनुस् भने हामीले एमालेसँग गठबन्धन गरेकै होइन, चुनावी तालमेल मात्र गरेको हो । यो बारेमा पनि मधेसी जनता स्पष्ट हुनुपर्नेछ । हामी सत्ताधारी दलसँगको गठबन्धनमा सत्तामै थियौँ । तर यो चुनावमा सत्ताधारी गठबन्धनले जसपा पार्टीलाई नै नामेट गराउने षड्यन्त्र गर्यो । जसपाको थ्रेस होल्ड पनि नकटोस, राष्ट्रिय पार्टी पनि नबनोस भन्ने षड्यन्त्र गरेर हामीलाई खुम्च्याउने षडयन्त्र गरियाे गठबन्धनमा ।
यत्रो लडाई लडेर अधिकार लेख्ने बेलामा पाखा लगाउन खोजेपछि विकल्प त खोज्नै पर्यो नि । त्यही विकल्पमा एमालेसँगको चुनावी तालमेल मात्र गरिएको हो, गठबन्धन होइन । यसमा कसैले अन्यथा लिन पर्ने अवस्था छैन । हामी रहे हाम्रा मुद्धाहरु रहन्छ । हामी नै नरहे ती मुद्धाहरु त बागमतीमा लगेर बगाउने काम हुन्छ । यिनीहरुले बगाइदिन्छन् । अनि हामी सँधै अधिकारविहीन भएर तड्पिनु पर्ने बाध्यता आइलाग्छ । त्यसैले हामीले हाम्रा बाँकी रहेका अधिकार प्राप्त गर्न एमालेसँग चुनावी तालमेल गरेर चुनावी मैदानमा उत्रेका हौँ । र योसँगै म के आग्रह पनि गर्छु भने जसपा एमालेका साझा उम्मेदवारलाई मत दिएर विजयी बनाइ दिनु होला मतदाताले ।
४) यो क्षेत्रमा सत्ता गठबन्धनकै अनि अन्य स्वतन्त्र उम्मेदवारहरु पनि छन् । तपाईँलाई चाहिं प्रतिष्पर्धा को सँग छ जस्तो लाग्या छ ?
वास्तवमा भन्नुहुन्छ भने मेरो प्रतिष्पर्धा कसैसँग पनि छैन । म त यहाँका नागरिकको घरदैलो चुलोचौकामा पुगेको मान्छे । सबै मतदाताको सद्भाव, माया, आशिर्वाद पाउनेमा म ढुक्क छु । केही नगरी काठमाडाैंमा बसेर एकैपटक यहाँ आएको भए प्रतिष्पर्धा गर्न पर्ने हुन्थ्यो होला । तर म त यही रहेर सँधै सेवा गरिरहेको मान्छेलाई मतदाताहरुले चिन्नु भएको छ । कसले के कति गर्न सक्छ भन्ने राम्रो सँग थाहा छ हाम्रा मतदाताहरुलाई । सक्षमलाई जिताउने हो, गर्न सक्नेलाई जिताउने हो भन्ने कुरा सबैले बुझेका छन् । पटकपटक अवसर पाएर केही नगर्नेहरुलाई होइन, गरिरहेको र गर्न खोज्ने, गर्न आँट गर्नेलाई जिताउनु पर्ने रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ । घरदैलोका क्रममा मतदाताले पनि यही भन्ने गरेको पाएको छु । त्यसैले मेरो प्रतिष्पर्धा कसैसँग छैन ।
५) सत्ता गठबन्धन कमजोर छ त उसो भए ?
मैले अरुको कमजोरी के छ के छैन भनेको होइन । मैले त आफ्नो कुरा गरेको हो । तपाईहरुले नै पनि मूल्यांकन गर्न सक्नु हुन्छ नि । यसअघि ४ नम्बर क्षेत्रबाट जितेर केही काम नगरेका नेता ज्यु अहिले त्यहाँबाट भागेर १ नम्बरमा गठबन्धनको उम्मेदवार बनेर आउनु भएको छ जसलाई यस क्षेत्रका कतिपय मतदाताले चिनेका पनि छैनन् । म सोध्नु चाहन्छु, सत्ता गठबन्धनका अहिलेका उम्मेदवार बनेका नेता ज्युले यसअघि आफू जितेको ठाउँमा के गरे ? अनि उनी जितेपछि मतदातासँग कतिको साथमा रहे भन्ने कुराहरु त तपाईहरुलाई छर्लङ्गै छ । त्यसैले अहिले चुनावमा व्यक्तिको व्यक्तिगत चरित्रले पनि ठूलो प्रभाव पार्ने गरेको छ । हामीले जिताएर पठाएपछि उसले के काम गर्यो त भन्ने कुरा मतदाताले हेरिरहेका हुन्छन् नि । पाँच वर्ष हेरेपछि चित्त नबुझे जनताले फाल्न सक्छन् । त्यसैले त जनता जर्नादन भनिएको हो नि । मैले त यो क्षेत्रका लागि मात्रै होइन समग्र जिल्लाकै विकासका लागि उपलब्धिमुलक काम गरेको छु । नेपालमै सबैभन्दा ठूलो खुला चिडियाखाना बनाउन म मन्त्री भएकै बेला बजेट छुट्याएर काम अघि बढाए । अन्य विकास निर्माणका काम त निरन्तर गरिरहेकै छु । त्यसैले अरुको भन्दा मैले आफ्नो कुरा गर्ने गरेको छु । जे मैले गर्न सक्छु त्यो भनिरहेको छु । जे गरेको छु त्यो सुनाई रहेको छु ।
६) अन्त्यमा भन्न पर्ने केही छ ?
फेरि पनि उही भन्छु, काम गर्नेलाई मत दिनुहोला । तपाईको मत अमूल्य छ । यो अमूल्य मत खेर जान नदिनुहोला भन्न चाहन्छु । चुनावमा मेरो जीत भए पनि नभए पनि म त तपाईसँगै रहने छु । रहँदै आइरहेको पनि छु । त्यसैले खेर नजाने गरी सही व्यक्तिलाई मत दिएर जिम्मेवारी सुम्पनुहोला भन्ने चाहन्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार